रमेश समर्थनचार ठोक्तक
यी ती जनावर हुन् जो कान्जीहाउसमा सुहाउँछन् यी बहुरूपियाहरूको अनुहारमा भर नपर्नुस् महोदय पहिले खुन बगाउँछन् अनि गोहीका आँसु चुहाउँछन् ।
रमेश समर्थन :
१.
उत्तमोत्तम कृतिहरूको बहिष्कारका लागि
गुठीतिर धाउनुपर्छ अब नमस्कारका लागि
कसैले पढून्, नपढून् आफूलाई के मतलब
एउटा किताब छपाउनु छ पुरस्कारका लागि ।
२.
समयले हाहाकारी सङ्गीत बजाउन त बाँकी नै छ
परीक्षकले चुनौतीको प्रश्न बनाउन त बाँकी नै छ
साहसको डोरी अलि बलियोसित बाटेर बस् समर्थन
जीवनमा अझै दुःखको घडी आउन त बाँकी नै छ ।
३.
जीवनलाई जीवनामृत मानेर पिउन खोज्दा
मक्किएका पलहरूलाई रफु गरेर सिउन खोज्दा
‘जा समर्थन, बाँच् आफ्नो जिन्दगी’ भनेन जिन्दगीले
जीवनलाई फगत् जीवनजस्तै बनाएर जिउन खोज्दा ।
४.
दिउँसै अँध्यारो पार्छन् र उज्यालालाई रुवाउँछन्
यी ती जनावर हुन् जो कान्जीहाउसमा सुहाउँछन्
यी बहुरूपियाहरूको अनुहारमा भर नपर्नुस् महोदय
पहिले खुन बगाउँछन् अनि गोहीका आँसु चुहाउँछन् ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest






































