
जुठेल्नोका भाँडा
सुराका प्याला छन् चमच बटुका प्लेट कप छन् बसेका कुर्सीमा गजसरि उठेका उदर छन् उता भाँडो भान्सासित पर गई गर्छ जिरह जुठेल्नोको हल्ला कचकच छ चल्दै अझ पर ॥

डा. खगेन्द्रप्रसाद दाहाल :
सधैँ खाने खान्छन् ढसमस बसी छन् मुसुमुसु
हसुर्नेका वार्ता सहजसित चल्छन् खुसुखुसु
जुठा भाँडा आफैँसित कलहका छन् कति निहुँ
जुठेल्नोका भाँडासँग कचहरी चल्छ दिनहुँ ॥
ठुला साना तारे सुखसयलका होटल मुनि
अँध्याराका धन्दासहित मनका व्यञ्जन चुनी
बसेका मान्छेको कलुषित जुठोको लतपत
जुठेल्नोका भाँडा विरहसित बोल्छन् फतफत ॥
सुराका प्याला छन् चमच बटुका प्लेट कप छन्
बसेका कुर्सीमा गजसरि उठेका उदर छन्
उता भाँडो भान्सासित पर गई गर्छ जिरह
जुठेल्नोको हल्ला कचकच छ चल्दै अझ पर ॥
कुनै भाँडा आगोसित जलिरहन्छन् भरदिन
धुवाँ ध्वाँसो पोती प्रतिदिन खिइन्छन् हरदम
दुखेसाका बाढीबिच म छु सदा सुन्छु म बसी
जुठेल्नोका भाँडाबिच छु अहिले भर्दछु मसी ॥
म भाँडा माझ्नेमा नजर कसको पुग्छ र कहाँ
ठुला खान्छन् जान्छन् मति अगतिला छन् कति यहाँ
मलाई प्यारा छन् हरकिसिमका वर्तन धन
छ को खोजी गर्ने थिति नियमवाला प्रिय मन ॥
०००
झापा
Subscribe
Login
0 Comments
Oldest