साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘शहीद बन्ने चानसै पाइएन’

मौन धारणा गरेर बेलुका शहीद दिवसको उपलक्ष्यमा आयोजित जलपान कार्यक्रममा चार पाँच बोतल- भोढ्का र पाँच सातवटा कुखुरालाई थप शहीद बनाएर शहीद दिवस राम्रैसँग मनाई हालिन्छ ।

Nepal Telecom ad
तिलकराज शर्मा :
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा आजकल मलाई पनि शहीद बन्न मन लागेको छ । के गर्नु बेलामा बुद्धि पुर्‍याउन सकेको भए आज जहान केटाकटी मालामाल हुने रहेछन् । आन्दोलनको बेलामा तासै खेलेर समय फालियो । आजकल त तास खेलेको देख्ने बित्तिकै पुलिसको तीननेत्र बल्छ । त्यतिबेला त तास खेलेको देख्दा पुलिस पनि रमाउँथे । कति पटक त खालमा नै देख्दा पनि ठीकै छ हजुरसमय बिताउनै पन्यो, “जयनेपाल है” भन्दै एक चिम्टी सुर्ती र चुना मागेर मिच्दै बाटो लाग्थे । बेलाबेलामा जुलुस र आमसभामा नगएको पनि होइन । ‘अनिकालमा बिउ जोगाउनु, हुलचालमा जिउ जोगाउनु’ भन्ने हजुरबाको अर्तीले नै मेरो आज यो गति भएको हो ।
आन्दोलन भनेपछि आफू त सातकोष पर भाग्ने अनि कँहाबाट भनेको जस्तो हुनु । जुलुसमा झण्डा बोकेर अगाडि जान भनेपछि भुतुक्क भइने, जुलुसको पछाडिपछाडि रिट्ट त्रिपट भएको थोत्रो साइकल डोर्‍याउदै हिँड्यो अनि पुलिस देख्नेबित्तिकै लुत्त चिया पसलतिर पसेर गाई भैँसी खरिदका कुरा गन्यो अनि कताबाट शहीद बन्ने चानस पाउनु ? छोराले मौकामा हीरा फोर्नुपर्छ भन्ये के को हीरा फोर्नु ? ऊ बेलामा दुई चार जनाको घर नै फोर्न सकेको भएपनि ताउलो काम्लोको व्यवस्थाको साथै अहिले राजनैतिक पीडितमा दुई चार बिगाहा जग्गाजोड्न सकिनेरहेछ ।
आर्थिक उन्नति गर्नको लागि लोग्नेस्वास्नीको सल्लाह मिल्नु पर्छ भन्छन् । आफ्नो त भेट भएपछि कुनलाई के हुने हो डिटोल र ब्याण्डेज साथमा नै लिएर हिँडे फरक पर्दैन । मेलापात जान परेको बेला यसो महिला सङ्गठनतिर जानु, भाषणसुन्नु, जुलुसमा हिँड्नु, नेताको अगाडि पछाडि लाग्नु भन्यो टेर्ने होइन । फुर्सद भयो कि पल्लो घरकीलाई बोलाएर जुम्रा हेर्न थाल्ने, बत्ती काट्न थाल्ने, बुद्धि भनेपष्ठि एकरति पनि छैन । बेलाबेलामा नेताद्वारा कोण सभा हुँदा भाषण सुन्न जानु पँधेरोमा पँधेर्नीहरूलाई बटुलेर आफ्नो लोग्नेले आन्दोलनमा दुःख भोगेको, चुटाई खाएकोकुरा प्रचार गर्नु जेल परेको बेला आफूलाई परेको दुःख बेलिबिस्तार लाउनु पुलिसले घर घेरेको, लोग्ने जेल परेको बेला प्रधानपञ्चले जयानाम बोलेको कासवैलाई भन्नु भन्यो जति अर्ति दिए पनि काम लागेन के गर्नु स्वास्नीको बुद्धि र चतुाइमा कैयन्ले मौज गरेर बसेका छन् । कैयनका स्वास्नी लाहुरेनी बनेर विदेशबाट लोग्नेलाई डलरको ओइरो लगाइदिएका छन् । आफ्नो भने लोग्नेले केही गरेन, कतैबाट चार पैसा ल्याएन भनेर झनक र फनक गरेर थोत्रा सिल्भरका भाँडा बजाएर एकछिन घरमा बस्न सकिने होइन । कस्तो कुसाइतमा लगनगाँठो कसिएछ सम्झेर ल्याउदा मन राख्ने ठाउँ नै छैन ।
अरुका स्वास्नीतिर फर्केर हेर्दा मन विरक्त हुन्छ । कति बाठा छन् । घरको काम पनि भ्याएकै छन् । बेलाबखतमा नेताको अगाडि पनि देखिएकै छन् । कुन नेतालाई कस्तो व्यवहार गर्नुपर्छ सिकाउनु पर्दैन । अस्ति भर्खर काँग्रेसका नेता भेटघाट कार्यक्रम लिएर जिल्ला आउँदा नेताले जिल्ला नछोडेसम्म कुनै पनि समारोह र एकान्तमा समेत साथ छाडिनन् । हिजो वामपन्थी नेता आफ्नो गाउँ आफै बनाउँ भन्ने नारासहित राष्ट्रिय सहमति र पारदर्शिताका कुरा लिएर गाउँ पस्दा तिनकै स्वास्नी अगाडि र पछाडि कुद्दै थिए । उनीहरूको लोग्नेको परिचय दिँदा फलानीका श्रीमान् भनेपछि नचिन्ने कोही पनि हुँदैन। यति वर्ष जेल बसेको, यति वर्ष निर्वासनमा रहेको, यति वर्ष भूमिगत रही फलानो कामरेडको नेतृत्वमा सङ्घर्ष छेडेको, कुनै कुरा भन्न जरूरत नै पर्दैन ।
आफ्नो त स्वास्नीको संपर्कबाट एकछाक नुन पनि पैँचो पाइएला भन्नु पर्दैन झन् राजनीतिको त कुरै छोडौँ । कुरा केही दिन अगाडिको मात्र हो, सरकार परिवर्तन भएको दिन यसो वामपन्थी सायीहरूसँग सम्पर्क बढाउन पर्‍यो । “रात रह्यो अग्राख पलायो” भनेकै रहँदा बस्दा भोलि के के हुने हो । कुनै बेला आपत् पर्दा यिनको पनि सहयोग चाहिन्छ भनेर केही बामपन्थी साथीहरूलाई “भोलि मेरो घरमा चियापान है मित्र” भनेर निम्तो दिएँ । उनीहरू पनि बिहानै घरमा आइहाले । उनीहरूलाई बसौ मित्र भन्दै श्रीमतीजीलाई “चिया बनाएर ल्याउ ल” रमिता भनेको त उसको त कन्चेटका रौँ ताती सकेका रहेछन् । के को कम्युनिष्टका बामठालाई चिया, अधि नै गाई साई दुहेर डेरीतिर पठाई सकेँ । फिका चिया यिनलाई रुच्दैन होला ? भनेर स्वर फिँजाउन थाली ।
आफूलाई सुन्लान् भन्ने पीर, ज्यादै मर्नु भयो के भनौ न के भनौ ते कम्युनिष्ट भनेका कम्युनिष्ट नै हुन्, दुख चिनेका, पञ्चायतले खारेका अवसरवादका नमुनाहरू । त्यसैमध्येबाट एउटाले शिष्ट भाषामा भने- “नरिसाउनुस् भाउजू हाम्रो रगत नै रातो, झण्डा नै रातो, हामीलाई मन पर्ने रङ्ग नै रातो, जाबो चियामा केको यत्रो रणचण्डी रातै बेस हुन्छ” भनेर फिका चिया सुई सुई तन्काएर जनवादी गीत गाउँदै लागे उकालो ।
कुरो हिजो बेलुकी सात बजेतिर को हो । रेडियो नेपालबाट समाचार आउँदै थियो, समाचार सुन्दा त म तीनछक परेँ । गतसाल मेरो छिमेकी “टपरीकान्त” उराठ स्वास्नीको रात दिनको कचकच, साहूको चर्कोव्याज र घर व्यवहारबाट दिक्क भएर वनतिर लागेका थिए । एक सुरमा गएर भिरबाट सुइँकुच्चा ठोकेछन् । धेरै दिन खोजतलास गरे, फेला परेनन् तर केही दिनपछि जङ्गलमा लाश फेला पर्याे । काज क्रिया आदि वैदिक विधिअनुसार सके । कुरा पुरानो भयो । सवैले बिर्सिहाले । समाचार सुन्दा त जनआन्दोलनमा मरेको हो भनी शहीद घोषणा गरेर शहीद टपरीकान्त “उराठ” को परिवारलाई राहतस्वरूप एक लाख नगद प्रदान गरिएको छ भन्ने सुन्नेबित्तिकै श्रीमती रणचण्डी भइहाली- “ऊ अरुको त भीरबाट सुइँकुच्चा ठोक्दा पनि नगद फल्छ आफ्नो त बरर गोली चलेको ठाउँमा पठाउँदा पनि साँझपख खाने बेलामा आइहाल्छन्” भन्दै रन्किन थाली ।
आफ्नो त कर्मै यस्तै हो वा यो देशै यस्तै हो, शहीद बन्ने तर्खर कस्दा पनि एकपटक पनि चानस पाइएन । हुन त शहीद बन्ने चानस पाए पनि खास राष्ट्रियता, प्रजातन्त्र र समाजवादको लागि आफ्नो प्राण आहुति गरेका, राणा शासनको विरुद्धमा झुण्ड्याइएका शहीदतर्फ फर्केर हेर्दा के पो चैन छ र । तिनका परिवारले के राहत पाएका छन् ? शहीद दिवसको दिनमा दुई मिनट मौन धारणा गरेर बेलुका शहीद दिवसको उपलक्ष्यमा आयोजित जलपान कार्यक्रममा चार पाँच बोतल- भोढ्का र पाँच सातवटा कुखुरालाई थप शहीद बनाएर शहीद दिवस राम्रैसँग मनाई हालिन्छ ।
स्वास्नी छोराछोरीलाई राहत पुर्याउन कैयन पटक शहीद बन्ने प्रयास गर्दा पनि यस पटकलाई चानसनै पाइएन । त्यसैले मुआब्जा नै त हो आजकल “हाईवे” को बीच सडकमा हिँड्ने गरेको छु, थाहा छैन कुन ट्रकवाला वा बसवालालाई दशा लागेको छ ।
०००
तनहूँ
दौरा सुरुवाल र टोपी आतङ्क (२०६५)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
0
Would love your thoughts, please comment.x
()
x