सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दौरासुरुवाल र टोपी आतङ्क

कहिलेकाहीँ टोपी नलगाउँदा महिला कर्मचारीका टोली गिजाउँदै खिस्स हाँस्थे फेरि भन्सारका हाकिमले आम्दानीको ध्वाँस देखाएर डेराबाटै मेरी अधबैँसे श्रीमतीलाई उडाएर लगे, पुनर्विवाहको चक्करमा केटी खोज्दै छु ।

Nepal Telecom ad

तिलकराज शर्मा पौडेल :

म आजकल बिलखबन्दमा परेको छु । यता भन्यो उत्ता छैन, उता गयो यता छैन । यो हल्लै हल्लाको देशमा कहिले पूर्वतर्फ हात्ती आतङ्क, कहिले पश्चिमतर्फ हिंसा- प्रतिहिंसा आतङ्क त कहिले मध्य भागमा कमिशन र भ्रष्टाचारको आतङ्क । आजकल मलाई आत-आतङ्कले सताइरहेको छ । हाई ब्लडप्रेसर आतङ्कदेखि लो ब्लडप्रेसर आतङ्क र डाइबेटिजदेखि एड्स र हेपाटाइसिस आतङ्कले नराम्रोसँग आतङ्कित पारेको बेला झन् यो दौडाहा हो कि हौडाहा टोलीको आतङ्कले त झन् मेरो सातोपुत्लो नै उडाइसकेको छ । हालै नेपालभरि लागू गरेको कर्मचारीहरूको दौरासुरुवाल र ढाकाटोपी आतङ्कले अझ मलाई क्षतविक्षत पारेको छ । आफू त तराईको मधेशमा जन्मेको मान्छे यो उमेर हुँदासम्म दौरा के हो, सुरुवाल के हो,टोपी कहाँ लगाउने हो केही थाहा भएन । पहाडमै जन्मेको भए सानै उमेरमा दौरासुरुवाल टोपीसँग परिचित भइन्थ्यो होला, आफू त केवल कुर्था र धोतीसँग मात्र हेलमेल भइयो । टोपीसँग भने एकपटक सरकारी जागिर खाने क्रममा अन्तवार्ता दिन जादाँ काठमाडौंमा लोकसेवा आयोगको कार्यालयमा छिर्दा लगाएको थिएँ । दौरासुरुवाल चाहिँ कुनखाले पोशाक पर्‍यो आफूलाई थाहा भएन । हुन त आफू कर्मचारी मान्छे त्यसमा पनि नागरिकताको प्रमाण-पत्र प्राप्त गरेको खाँटी मधेसी नेपाली हुँ । राष्ट्रियपोशाकको बारेमा अनभिज्ञता प्रकट गर्नु र त्यसको बारेमा टीका टिप्पणी गर्नु राम्रो कुरा होइन । आफूलाई अलि अड लागेर मात्र कुरा कोट्याएको हुँ । दौरासुरुवाल र मयलपोश भन्छन् तर यो मयलपोश भन्नेचाहिँ के हो कुरा बुझेको छैन । सोर्स-फोर्स, चेकपोष्ट भन्ने शब्द त सुनेकै हो तर यो मयलपोशचाहिँ नौलै-नौलै लाग्यो ।

केही दिन अगाडि जिल्लामा दौडाहाटोली आएको रहेछ । टोली आउने कुरा प्रायः सबै कर्मचारीलाई थाहा रहेछ । मलाई मात्रै थाहा रहेनछ । घरमा श्रीमतीजी रजोवती भएको कारणबाट भात-भान्सा आफ्नै कार्यभारतर्फ परेको थियो, भान्सा सुन्यवस्थापनको अनभिज्ञताको कारणबाट अफिस पुग्न केही अबेर भयो । छोराछोरीलाई बोडिङ्ग पुर्‍याएर फर्किँदा त झन् निकै समय लागिहाल्यो । अफिसको गेटमा के पुगेको थिएँ, पिएनले देख्नेबितिकै जिब्रो काट्दै भन्न थाल्यो सुब्बा साहेब, यति अबेर त्यसमाथि पनि ढाकाटोपी नलगाई ? म जिल्ल परे । मैले जिज्ञासा राख्दै भनेँ ‘के भयो फेरि शाही घोषणा ? उसले भन्यो होइन होइन, जिल्लामा दौडाहा टोली आएको छ रे, हजुरको त झन् टोपी समेत पनि छैन, जागिर नै खाइदेलान् भन्ने डरले अतासिएको छु । हाकिमसाहेबले पत्तै नपाउने गरी हाजिर गरेर बजारतिर टोपी किन्न गइहाल्नोस् ।

उसको कुरा सुनेर म झन आतङ्कित हुन पुगे । पियनलाई मैले पुन प्रश्न गरे “धनबहादुर । टोपीमात्रै लगाए हुन्छ कि दौरासुरुवाल पनि सिलाउनु पर्ने हो ?” उसले भन्यो “खै हजुर हाकिम साहेबलाई चाहिँ अनिवार्य नै हो रे हामी तल्ला कर्मचारीलाई चाहिँ टोपी मात्रै भए पनि हुन्छ रे तर टोपी ढाकाकै चाहिन्छ रे । मैले पुनः भने कालो टोपी लगाए हुँदैन र । उसले हाँस्दै भन्यो, “होइन हजुर ! कालो टोपी त काङ्ग्रेसले लगाउने भएकोले सबै कर्मचारीहरू काङ्ग्रेसका फौज जस्ता देखिने भएकोले होला नि ढाका टोपी नै चाहिनेभएको” । उसको कुराले मलाई झन् सजग बनायो । अनि सोचेँ घरको कालो टोपीले पनि काम दिएन । मनमनै विचार गरे पञ्चायतकालमा कति पञ्चर्‍यालीमा भाग लिएँ, कतिलाई कुराउने र घिउ पनि चढाएँ, पन्ध्रपन्ध्र वर्षसम्म सुब्बाबाट उँभो लाग्न सकेको होइन । बहुदल आउनेवित्तिकै कर्मचारी सङ्घ चाहिन्छ भनेर नेतागिरी गर्दै कहिले गरगहन अधिकारी र कहिले पानप्रसाद भट्टराई कहाँ पुगे, आजसम्म प्रमोसन हुन सकेको छैन, बल्ल फेरि सन्ताउन-अन्ठाउन्नको यो उमेरमा प्रतिगमनले उन्मुख दौडाहाको सामुन्ने बुट्टे ढाकाको टोपी लगाएर ठिङ्ग उभिनु पर्दा मरेको जन्म भएको छ । बरू जागिर नै छोडौँ कि जस्तो पनि लागेको छ । के गर्ने र जागिर छोडौ भने पनि केटाकेटीको मुखमा माड लाग्दैन ।

जेहोस् यो दौरासुरुवाल र टोपी आतङ्कले पार्नु पीर पार्ने भयो । भर्खर गएको दशैमा ससुराली जादाँ ज्यादै हेमुलेशन हुने भयो । यस पटक त प्रमोसन भैयो भनेर भन्छु भन्नेठानेर सासू-ससुरा र साला जेठानलाई हाकिम भएको धक्कु लगाई हाले, अब ससुरालीखलक कोही अफिसमै भेट्न आए भने आफूचाहिँ ढाका टोपी टिमिक्क निधारसम्म कसेर बसेको देख्दा इज्जतचाहिँ बाँकी रहने भएन । हुन त यो महँगीको जमानामा दौरासुरुवाल भन्दा त खर्चको हिसाबले टोपी नै धेरै ठीक छ । दौरासुरुवाल सिलाउनुपर्दा कपडा पनि राम्रै हाल्नु पर्‍यो, सिलाई वर्ष पनि निकै पर्छ । दौरासुरुवाल सिलाउने सूचीकारको पनि अभाव नै रहेछ, राम्रो सिलाईको लागि काठमाडौंनै जानु पर्दोरहेछ । दौरासुरुवालको कपडा च्यापेर घर बिदा र बिरामी विदा खर्च गरेर सूचीकारको खोजीमा हिँड्नु भन्दा त टोपी नै उनेर कार्यालय कुर्नु नै उचित होला । अरु कुरा जे भए पनि यति भएपछि दशै खर्च त जोगियो । यस पटक दौरासुरुवालको भारले गर्दा कतिले दशै खर्च नै गुमाउनु पर्ने हो थाहा छैन । दशैँ आउने बेलामा छोराछोरीले दौराको फेरो र श्रीमतीले सुरुवालको इँजार तान्दा अनि हाकिमले थाहा पाउनेछन् ।

अब त अफिसमा पूरा समय बस्नुपर्ने र बेलाबेलामा दौडिँदै-दौडिँदै पाङग्रा गुड्काएर दौडाहा टोली आउने रे ! अफिसमा अनुपस्थित भएको पाएमा जागिर नै सर्लक्क निली दिन्छन् रे । भोकले भुतुक्कै भए पनि पेटमिचिमिची बस्नु पर्ने रे, कसैसँग ठुटो चुरोट मागेर चुरोट सल्काउन पनि प्रतिबन्ध छ रे । आफू त चुरोट पनि खाइँदैन, कार्यालयमा महिला पि.ए. र महिला टाइपिष्ट पनि छैनन् । कार्वाहीमा पर्ने डर पनि छैन । कार्यालयमा पूरै दशदेखि पाँच बजाएर तरकारी बजारबाट दुई मुठा रायोको साग लिएर सोझै डेरातिर लागिन्छ । हाम्रा हाकिमलाई चाहिँ मर्कै पर्ने भयो, लन्चटाइम भनेर दिउँसे पि.ए.लाई लिएर रेष्टुरेण्टमा छिर्ने ती दिन अब गए । यो दौरासुरुवालको निर्णयले महिला कर्मचारी पनि सशंकित भएका छन् ।

महिला र पुरुषमा भेदभाव हुनुहुन्न भनेर निकै आवाज उठाउँदै आइयो अब यहीँ मौका पारेर हामीलाई पनि दौरासुरुवाल र टोपी अनिवार्य गरिदिए भने अलिअलि भएको सौन्दर्य पनि गुम्ने भयो । ब्युटीपार्लरमा गएर सजाएको अनुहार र बङ्ग्याई बङ्ग्याई बनाएको सुन्दर कपाल ढाकाटोपीले छोप्दा त कुरुप नै भइन्छ होला । घरकाले हेर्ला गरे भने सौन्दर्यको प्रदर्शन गरेर बाहिरका लाई आकर्षित गर्ने चानस थियो सो पनि बाटै मेटिने भयो । चिटिक्क परेर पाउडर घसी टाइट पाइन्ट कुर्था हिल जुत्ता पड्काएर हिँड्ने बेरोजगार महिलालाई आँखा नलगाई घरबुनाको दौरासुरुवाल भिरेर निधारसम्म टोपीले छोपेर कोटभिरी रत्यौलीमा नाँच्न तयार भएजस्तो देखिने हामी जस्ता महिलालाई कल्ले आँखालाउला र भन्दै एउटी कर्मचारी गुनासो गर्दै थिइन् ।

अस्ति दौडाहा टोलीका हाकिमले एकजना महिला कर्मचारीलाई भन्दै थिए रे “अब तपाईंहरूले कार्यालय समयमा आफ्नो बच्चालाई दूध चुसाउन पनि पाउनुहुन्न । कार्यालय समयमा बच्चालाई दूध चुसाएको पाइएमा जागिर चट् ।” यो कुरा सुनेर अर्की एउटी महिला कर्मचारीले भन्दै थिइन् “हरे यो कस्तो अविवेकी निणर्य हो, आमाको दूध नै खुवाऊँ भनेर सेमिनार गोष्ठी गरेर विदेशीडलर पचाउने, हामीलाई पाँच मिनट आफ्ना बच्चालाई दूध चुसाउन नपाउने ? योकस्तो प्रतिगमनकारी चलखेल हो ?” भन्दै गुनासो बारिन् । सँगैकी अर्कीले पुनः थपिन् अभियोग लागेर आमाले जेल सजाय भोगेको अवस्थामा पनि निर्दोष बालकले जेलभित्र बसेर आमाको दूध चुस्न पाउँछ भने हामी त राष्ट्र सेवक कर्मचारी हौ । कर्मचारी महिला भएको कारणबाट झन् बच्चाले आमाको दूध चुस्न नपाउने हो भने हामी त आफ्नो बच्चालाई कार्यालयमै लिएर आउँछौ । सरकारले धाईसुसारेको दरबन्दी थप र हरेक अफिसमा झोलुङ्गाको व्यवस्था मिलाउनुपर्‍यो । होइन भने महिला कर्मचारीहरूको चोलै भिज्ने गरी दूध चर्केर बगेर जाने बच्चाले चुस्न नपाउने हुनु भएन । सँगै बसेका स्टोर किपरले ओठ लेप्राउँदै भने जाबो एउटा पानी खुवाउने पियनको दरबन्दी त बजेट छैन देश टाट भइसक्यो भनेर कट्टा गरे, पानी आफैले ल्याएर खानु परेको छ । अफिसका कुर्सीको खुट्टा भाँचिएको फेर्न सकेका छैनन् । कहाँबाट बच्चाको झोलुङ्गा बनाउलान् ।

मैले मनमनै सोचे यो दौरासुरुवाल र ढाका टोपीले मात्र प्रशासन चुस्त होइन । तालिम सेमिनार गर्ने, मनोबल उच्च बनाउने, योग्यता र नैतिकता बढाउनेतर्फ पहल गर्ने, भ्रष्टचारी र कामचोरहरूलाई निरुत्साहित पार्ने, अस्थायी कर्मचारी स्थायी गर्ने, दण्ड र पुरस्कार नीति तय गर्ने, नक्कली योग्यता पत्तालगाई कारवाही गर्ने, नातावाद कृपावाद र फरियावादलाई प्राथमिकता नदिए त भइगयो नि ! हामीजस्ता इमान्दार कर्मचारीलाई यो संघ र सङ्गठन किन चाहियो र ? तुरुन्त प्रतिबन्ध लगाए झैँ गयो नि । अर्का एकजना सुब्बा साहेब गुनासो गर्दै थिए मैले त भर्खर ५० रूपैया खर्च गरेर टिलिक्क टल्कने गरी कपालमा कालो लगाएँ मेशिनबाट कपालको डेकोरेशन गरे, त्यसको भोलिपल्टै यो ढाका टोपी लगाउने नियम बनाएर भुतुक्कै बनाइहाले ।

छेउमै बसेका वृद्ध खरदार साहेब कड्किँदै भन्न थाले “यो टोपीको निर्णयप्रति मेरो हार्दिक स्वागत छ । आफ्नो त तालुमा एउटै रौं पनि थिएन । कहिलेकाहीँ टोपी नलगाउँदा महिला कर्मचारीका टोली गिजाउँदै खिस्स हाँस्थे फेरि भन्सारका हाकिमले आम्दानीको ध्वाँस देखाएर डेराबाटै मेरी अधबैँसे श्रीमतीलाई उडाएर लगे, पुनर्विवाहको चक्करमा केटी खोज्दै छु । यो खुइले तालु यसै पनि नछोपी सुखै थिएन । टोपी लगाउनु पर्ने निणर्यले जे गर्‍यो राम्रै गयो ।” खरदार साहेबको कुरा मुनेर मलाई पनि चित्तै बुझ्यो । आफ्नो पनि टोपी किन्नु पर्ने काम बाँकी नै थियो । लागेँ टोपीको खोजीमा नारायणगढतिर ।

०००
चितवन
‘दौरासुरुवाल र टोपी आतङ्क’ (२०६५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अध्यक्ष हूँ म

अध्यक्ष हूँ म

तिलकराज शर्मा पाैडेल
आज फेरि कविता दिवस रे

आज फेरि कविता दिवस...

तिलकराज शर्मा पाैडेल
महान् बन्ने धुनमा

महान् बन्ने धुनमा

तिलकराज शर्मा पाैडेल
‘शहीद बन्ने चानसै पाइएन’

‘शहीद बन्ने चानसै पाइएन’

तिलकराज शर्मा पाैडेल
पोसाक महात्म्य

पोसाक महात्म्य

तिलकराज शर्मा पाैडेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे