तिलकराज शर्मा पाैडेलमहान् बन्ने धुनमा
हाम्रा नेताले बेलामा बुद्धि पुर्याएकै छन् । बेलामा बुद्धि पुर्याएर नगरपालिकालाई महानगर नामकै भए पनि जतिसुकै फोहोर मैला बढे पनि विदेशी एड र विदेशी घुम्ने कोटा बृद्धि भएकै छ ।

तिलकराज शर्मा :
‘कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तो मनले चिताएको कहिल्यै पुगेको होइन । ‘कसैलाई के को धन्दा, तर घर ज्वाईंलाई खानैको धन्दा भने जस्तो आफूलाई चाहिँ महान् बन्ने इच्छा कहिल्यै पूरा भएन । राणाशासन गयो, प्रजातन्त्र आयो, प्रजातन्त्र गयो, निर्दल तन्त्र आयो, निर्दल तन्त्र गयो, बहुदल आयो । आउनेलाई आयो, जानेलाई गयो । आफ्नो त पुर्पुरो नै उस्तै, दुःख पाउने बेलामा मात्र पार्टीभित्र खोजखबर हुन्छ । मर्ने बेलामा हरियो काँक्रो भन्छन् आफ्नो त हरियो काँक्रोको त कुरै छोडौँ पहेंलो फर्सी समेत देख्न पाइएला जस्तो छैन ।
कार्यकर्तालाई नेता बन्ने रहर, नेतालाई मन्त्री बन्ने रहर, मन्त्रीलाई प्रधानमन्त्री बन्ने रहर, सबैको आ-आफ्नै रहर छ । कसैलाई पार्टी फुटेको देख्ने रहर, कसैलाई पार्टी जुटिरहेको देख्ने रहर तर आफूलाई त जुटेको होइन फुटेको देख्ने इच्छा थियो । कमसेकम एकपटकमात्र पार्टी फुटाउन पाएदेखि परराष्ट्रमन्त्री नभए पनि महामन्त्री बन्ने इच्छाचाहिँ पूरा हुन्थ्यो । महामन्त्री बन्ने सुरमा महाराजगञ्जदेखि बानेश्वरसम्म र राक्षसदेखि परमेश्वरसम्म सबैको चाकरी र भक्तिभाव पुर्याइसके तर कसैले ग्रीन सिग्नल दिएको होइन ।
चाकडी र भक्तिभाव ईश्वरको भन्दा मान्छेकै बेस हुन्छ भनेर एकजना गुरुले अर्ती दिएका थिए । तर आफ्नो त ब्याडलक मान्छे भनेर चाकडी पुर्याइएको उनलाई त ज्ञानज्योति फुरिसकेछ । बुद्धत्व प्राप्त गर्ने तरखरमा समुद्र मन्थनगरी अमृतरसको सट्टा सोमरस आविष्कार गरेर भविष्य उज्ज्वल र सुखमय बनाउने महापुरूषका फेला पारिएछ । शायद जोग्राफिकल मिस्टेक भनेको यही हो क्यारे । आफू त पार्टीभनेपछि भुतुक्क भइने कस्तो कमजोर बुद्धि । महाप्रबन्धक बन्नको लागि पार्टी बलियो होइन ‘लबी’ बलियो चाहिने रहेछ । त्यसमाथि पनि विशेष योग्यतामा नेता महोदयको भान्जा-भान्जी, साला-साली, भाइ-भतिजा, जेठी सासू ससुराको महल अन्तर्गत परी दुईचार पटक मर-मसला पुर्याइसकेको हुनुपर्नेरहेछ ।
आफ्नो त नातापाता कुलकुटुम्ब पनि नभएको कहाँ हो र, आफ्नै साख्खै मीत बाबुको भिनाजुको जेठानको छोराको ससुरा यसपटकको पजनीमा जि.एम. भएका छन् । भेट्नको लागि दुईचार पटक राजधानी पनि धाएँ । अफिसमा गयो, पार्टी कार्यालयमा जानु भएको छ भन्छन् । पार्टी कार्यालयमा गयो, पार्टीको निर्वाचनमा पर्यवेक्षक भएर जिल्ला जानु भएको छ भन्छन् । भेट कहिल्यै भएको होइन ।
सबैको आ-आफ्नै धुन छ । कसैलाई महापुरूष बन्नु परेको छ, कसैलाई महापण्डित बन्नु परेको छ । कोही महाकवि बन्ने सुरमा बेसुरका कविता फलाकेर महानिशा पर्खिरहेका छन् । कोही महन्त बन्ने धुनमा महफिल धाउँछन् । कोही महाजन बन्ने सुरमा मालदीप र कोरिया धाउँछन् । सबैको आ- आफ्नै धुन छ । तर म त महानगरपालिकामा बसेको मान्छे चानचुने हुनुहुँदैन जस्तो लाग्छ । बिनासित्तिको महामंगलमानको छोरो राहुलमान त ’महाने’ बाट महान्यायाधिवक्ता बन्ने सुरमा महाधिवेशन पर्खिरहेको छ । राजनीति हो भोलि के हुन्छ के भन्न सकिन्छ र । मन्त्रीले चाहेर केही हुँदैन महामन्त्रीले चाहे भने सत्रलाई सत्ताईस बनाइदिन्छन् । सवै पद्ले गर्ने काम हुन् क्षमताले हुने यहाँ केही पनि छैन ।
हाम्रा बाबु बूढाले पनि बेलामा बुद्धि पुर्याएनन् । पुराना विचारका बूढा वर्तमानमा नै मख्ख परेर भविष्यको कुनै ख्यालै राखेनन् । कमसेकम नाम राशि जुटाइदिने बेलामा पण्डित नबोलाई महापण्डित बोलाइदिएको भए आज यस्तो अवस्था किन हुन्थ्यो ? छोरो पाइहाले भनेर मख्ख परे । ऊ बेलामा छोरी नै पाएको भएपनि आखिर के नै हुने रहेछ र । दुइ चार वर्ष बम्बै बसेर रिटायर्ड हुँदा विदेशी एड भन्दा विदेशी एड्स नै भित्रिने सम्भावना हुन्थ्यो नै । कमसेकम छोराको नाउँ राख्दा ‘देव’ लुइँटेलका सट्टा ‘महादेव लुइँटेल मात्रै राखिदिएको भए पनि अहिलको पजनीमा महाअभियोग लगाएर निकालिएका पदहरूमा जाने महान् बाटो बन्ने रहेछ । काम होस नहाेस्, क्षमता होस् नहोस् आफ्नो हातमा पावर भएको मौकामा महान् बन्ने प्रयास गर्ने पर्छ ।
त्यसो त हाम्रा ससुरा बूढाले बुद्धि पुर्याएकै हुन् । आफ्नी छोरीको नाउँ राख्दा काली नराखी महाकाली राखेछन् नत्र अहिले मेरो घर सधैँ भाँडभैलो हुने रहेछ । कालीलाई काली मैयाँ भनेर बोलाउँदा रिस उठिहाल्थ्यो । अहिले त महाकाली मैयाँ चिया ल्याउत बा । भन्दा कालो अनुहार मसक्क मस्काउँदै भान्छा कोठातिर लाग्छे । नत्र भने महाबन्नु त कता कता महाआपत आइलाग्ने रहेछ ।
हाम्रा नेताले बेलामा बुद्धि पुर्याएकै छन् । बेलामा बुद्धि पुर्याएर नगरपालिकालाई महानगर नामकै भए पनि जतिसुकै फोहोर मैला बढे पनि विदेशी एड र विदेशी घुम्ने कोटा बृद्धि भएकै छ । खानेपानी र दिसापिसाबको ढल फुटेर एउटै भएपनि विदेशीलाई थाहा हुने कुरा भएन क्यारे- कुनै विदेशीले खनेर हेर्ने होइन । आखिर जो विदेश घुम्न गएपनि नेपाली नै त हो नि । एक पटकमा एउटा अरबपति भए ५० पटकमा पचास जना अरबपति हुन्छन् । नेपालीसँग पैसा भए कमसेकम ब्याजमा बैंकबाट लिन त पाइन्छ । त्यसैले मौका मिलाएर देशको अगाडि महान् थप्न पाएँ महादेश पनि बन्न सक्छ । आजकल म महान् बन्ने सुरमा महाराजगञ्ज र महाङ्कालस्थान दुवैतर्फ धाउँदै छु । हेरौँ के के हुँदो रहेछ ।
०००
चितवन
‘दौरासुरुवाल र टोपी आतङ्क’ (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































