साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् बन्ने धुनमा

हाम्रा नेताले बेलामा बुद्धि पुर्‍याएकै छन् । बेलामा बुद्धि पुर्‍याएर नगरपालिकालाई महानगर नामकै भए पनि जतिसुकै फोहोर मैला बढे पनि विदेशी एड र विदेशी घुम्ने कोटा बृद्धि भएकै छ ।

Nepal Telecom ad

तिलकराज शर्मा :

‘कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तो मनले चिताएको कहिल्यै पुगेको होइन । ‘कसैलाई के को धन्दा, तर घर ज्वाईंलाई खानैको धन्दा भने जस्तो आफूलाई चाहिँ महान् बन्ने इच्छा कहिल्यै पूरा भएन । राणाशासन गयो, प्रजातन्त्र आयो, प्रजातन्त्र गयो, निर्दल तन्त्र आयो, निर्दल तन्त्र गयो, बहुदल आयो । आउनेलाई आयो, जानेलाई गयो । आफ्नो त पुर्पुरो नै उस्तै, दुःख पाउने बेलामा मात्र पार्टीभित्र खोजखबर हुन्छ । मर्ने बेलामा हरियो काँक्रो भन्छन् आफ्नो त हरियो काँक्रोको त कुरै छोडौँ पहेंलो फर्सी समेत देख्न पाइएला जस्तो छैन ।

कार्यकर्तालाई नेता बन्ने रहर, नेतालाई मन्त्री बन्ने रहर, मन्त्रीलाई प्रधानमन्त्री बन्ने रहर, सबैको आ-आफ्नै रहर छ । कसैलाई पार्टी फुटेको देख्ने रहर, कसैलाई पार्टी जुटिरहेको देख्ने रहर तर आफूलाई त जुटेको होइन फुटेको देख्ने इच्छा थियो । कमसेकम एकपटकमात्र पार्टी फुटाउन पाएदेखि परराष्ट्रमन्त्री नभए पनि महामन्त्री बन्ने इच्छाचाहिँ पूरा हुन्थ्यो । महामन्त्री बन्ने सुरमा महाराजगञ्जदेखि बानेश्वरसम्म र राक्षसदेखि परमेश्वरसम्म सबैको चाकरी र भक्तिभाव पुर्‍याइसके तर कसैले ग्रीन सिग्नल दिएको होइन ।

चाकडी र भक्तिभाव ईश्वरको भन्दा मान्छेकै बेस हुन्छ भनेर एकजना गुरुले अर्ती दिएका थिए । तर आफ्नो त ब्याडलक मान्छे भनेर चाकडी पुर्‍याइएको उनलाई त ज्ञानज्योति फुरिसकेछ । बुद्धत्व प्राप्त गर्ने तरखरमा समुद्र मन्थनगरी अमृतरसको सट्टा सोमरस आविष्कार गरेर भविष्य उज्ज्वल र सुखमय बनाउने महापुरूषका फेला पारिएछ । शायद जोग्राफिकल मिस्टेक भनेको यही हो क्यारे । आफू त पार्टीभनेपछि भुतुक्क भइने कस्तो कमजोर बुद्धि । महाप्रबन्धक बन्नको लागि पार्टी बलियो होइन ‘लबी’ बलियो चाहिने रहेछ । त्यसमाथि पनि विशेष योग्यतामा नेता महोदयको भान्जा-भान्जी, साला-साली, भाइ-भतिजा, जेठी सासू ससुराको महल अन्तर्गत परी दुईचार पटक मर-मसला पुर्‍याइसकेको हुनुपर्नेरहेछ ।

आफ्नो त नातापाता कुलकुटुम्ब पनि नभएको कहाँ हो र, आफ्नै साख्खै मीत बाबुको भिनाजुको जेठानको छोराको ससुरा यसपटकको पजनीमा जि.एम. भएका छन् । भेट्नको लागि दुईचार पटक राजधानी पनि धाएँ । अफिसमा गयो, पार्टी कार्यालयमा जानु भएको छ भन्छन् । पार्टी कार्यालयमा गयो, पार्टीको निर्वाचनमा पर्यवेक्षक भएर जिल्ला जानु भएको छ भन्छन् । भेट कहिल्यै भएको होइन ।

सबैको आ-आफ्नै धुन छ । कसैलाई महापुरूष बन्नु परेको छ, कसैलाई महापण्डित बन्नु परेको छ । कोही महाकवि बन्ने सुरमा बेसुरका कविता फलाकेर महानिशा पर्खिरहेका छन् । कोही महन्त बन्ने धुनमा महफिल धाउँछन् । कोही महाजन बन्ने सुरमा मालदीप र कोरिया धाउँछन् । सबैको आ- आफ्नै धुन छ । तर म त महानगरपालिकामा बसेको मान्छे चानचुने हुनुहुँदैन जस्तो लाग्छ । बिनासित्तिको महामंगलमानको छोरो राहुलमान त ’महाने’ बाट महान्यायाधिवक्ता बन्ने सुरमा महाधिवेशन पर्खिरहेको छ । राजनीति हो भोलि के हुन्छ के भन्न सकिन्छ र । मन्त्रीले चाहेर केही हुँदैन महामन्त्रीले चाहे भने सत्रलाई सत्ताईस बनाइदिन्छन् । सवै पद्ले गर्ने काम हुन् क्षमताले हुने यहाँ केही पनि छैन ।

हाम्रा बाबु बूढाले पनि बेलामा बुद्धि पुर्‍याएनन् । पुराना विचारका बूढा वर्तमानमा नै मख्ख परेर भविष्यको कुनै ख्यालै राखेनन् । कमसेकम नाम राशि जुटाइदिने बेलामा पण्डित नबोलाई महापण्डित बोलाइदिएको भए आज यस्तो अवस्था किन हुन्थ्यो ? छोरो पाइहाले भनेर मख्ख परे । ऊ बेलामा छोरी नै पाएको भएपनि आखिर के नै हुने रहेछ र । दुइ चार वर्ष बम्बै बसेर रिटायर्ड हुँदा विदेशी एड भन्दा विदेशी एड्स नै भित्रिने सम्भावना हुन्थ्यो नै । कमसेकम छोराको नाउँ राख्दा ‘देव’ लुइँटेलका सट्टा ‘महादेव लुइँटेल मात्रै राखिदिएको भए पनि अहिलको पजनीमा महाअभियोग लगाएर निकालिएका पदहरूमा जाने महान् बाटो बन्ने रहेछ । काम होस नहाेस्, क्षमता होस् नहोस् आफ्नो हातमा पावर भएको मौकामा महान् बन्ने प्रयास गर्ने पर्छ ।

त्यसो त हाम्रा ससुरा बूढाले बुद्धि पुर्‍याएकै हुन् । आफ्नी छोरीको नाउँ राख्दा काली नराखी महाकाली राखेछन् नत्र अहिले मेरो घर सधैँ भाँडभैलो हुने रहेछ । कालीलाई काली मैयाँ भनेर बोलाउँदा रिस उठिहाल्थ्यो । अहिले त महाकाली मैयाँ चिया ल्याउत बा । भन्दा कालो अनुहार मसक्क मस्काउँदै भान्छा कोठातिर लाग्छे । नत्र भने महाबन्नु त कता कता महाआपत आइलाग्ने रहेछ ।

हाम्रा नेताले बेलामा बुद्धि पुर्‍याएकै छन् । बेलामा बुद्धि पुर्‍याएर नगरपालिकालाई महानगर नामकै भए पनि जतिसुकै फोहोर मैला बढे पनि विदेशी एड र विदेशी घुम्ने कोटा बृद्धि भएकै छ । खानेपानी र दिसापिसाबको ढल फुटेर एउटै भएपनि विदेशीलाई थाहा हुने कुरा भएन क्यारे- कुनै विदेशीले खनेर हेर्ने होइन । आखिर जो विदेश घुम्न गएपनि नेपाली नै त हो नि । एक पटकमा एउटा अरबपति भए ५० पटकमा पचास जना अरबपति हुन्छन् । नेपालीसँग पैसा भए कमसेकम ब्याजमा बैंकबाट लिन त पाइन्छ । त्यसैले मौका मिलाएर देशको अगाडि महान् थप्न पाएँ महादेश पनि बन्न सक्छ । आजकल म महान् बन्ने सुरमा महाराजगञ्ज र महाङ्कालस्थान दुवैतर्फ धाउँदै छु । हेरौँ के के हुँदो रहेछ ।

०००
चितवन
‘दौरासुरुवाल र टोपी आतङ्क’ (२०६५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
0
Would love your thoughts, please comment.x
()
x