भिम पौडेल ‘घाँसे’न्यायको भाटा
अन्त्यमा बाँकी रहेका 'जातीय दाजु' तिर फर्कँदै मालिकले भाटा उज्याए र गर्जिए- "धर्म सिकाउनुपर्ने ब्राह्मण नै अधर्मको मतियार हुने ? तेरो जनैले लाज मान्दैन ?"

भीम पाैडेल घाँसे :
”तपाईंहरूको अनुहारमा त साक्षात् देवताको तेज झल्किन्छ, यस्तो पवित्र आत्माले आँप टिप्नु त मेरो अहोभाग्य पो हो !”
बगैँचाका मालिक ब्राह्मणले जब यो वाक्य फ्याँके, रुखमा चढेका तीन चोरका हात टक्क रोकिए । ती चोरहरूमध्ये एउटा ब्राह्मण, एउटा क्षत्री र एउटा अन्य जातको थियो । मालिकले मीठो विष छर्दै भने,
“यी ब्राह्मण त मेरा पूज्य हुन्, यिनको त जुठो खाए पनि प्रसाद हुन्छ । यी क्षत्री मेरा यजमानका छोरा, यिनको हक त मेरो सम्पत्तिमै छ ।”
त्यसपछि उनले तेस्रो व्यक्तितिर आँखा तरेर गर्जिए, “तर यो अन्य जातले मेरो बगैँचा कुल्चिने ?” मालिकको कुराले ब्राह्मण र क्षत्री चोरको अहङ्कार यसरी फुलियो कि उनीहरूले आफ्नै साथीलाई कुट्न सघाए । साथी भागेपछि मालिकले क्षत्रीलाई झम्टिए-
“मेरो पुर्खाको जमिनमा र्याल चुहाउने लोभी !” क्षत्री पनि कुटाई खाएर टाप कस्यो ।
अन्त्यमा बाँकी रहेका ‘जातीय दाजु’ तिर फर्कँदै मालिकले भाटा उज्याए र गर्जिए- “धर्म सिकाउनुपर्ने ब्राह्मण नै अधर्मको मतियार हुने ? तेरो जनैले लाज मान्दैन ?”
बगैँचा अब सुनसान थियो । मालिकले रगतपच्छे भाटा पुछ्दै मुस्कुराएर भुइँमा झरेका आँप हेरे । तर, बगैँचाको भित्तामा कतै लेखिएको थियो- “बाँडिएका मुठीहरूले कहिल्यै ऐक्यवद्धताको पर्खाल ठड्याउन सक्दैनन् ।”
०००
कटारी, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest








































