जाग्राम
चेलाचेली बिलखबन्दमा परेको देखेर गुरुले थपे; "याे नाथेले मेराे डायरी चाेरेर पढेछ र घ्वाँर-घ्वाँर-उफ् गरेर जाग्राम बस्ने मन्त्र सिकेछ ।"
भीम पौडेल घाँसे :
“शुभकार्य पछि रातभरी सुत्नु हुँदैन । नत्र फल पाइँदैन ।” बेलुकी पख यज्ञ सम्पन्न भएपछि गुरुका मुखरावृन्दबाट उर्दी भयाे ।
चेलाचेलीहरू मुखामुख गर्न थाले । मौकामा चौका हान्दै गुरुले थपे; “यज्ञकाे फल प्राप्त गर्न भजन गायन गरेर रात नसुती उतार्नुपर्छ।”
गुरुकाे आज्ञाबमाेजिम सबै जना जाग्राम बस्न तयार भए । तत्कालै एउटा चेलाले प्रश्न गर्यो- “हामी चेलाहरू मात्र कि गुरु पनि बस्नुपर्छ ?”
प्रश्न मात्रै हावामा बिलायो । त्यसले जवाफ भेटेन ।
त्यसपछि रात्रीकालीन जाग्राम सुरु हुनुपूर्व गुरुले फेरि भने- “सुन चेलाचेली हाे ! जो एक निमेष पनि सुत्छ; उसले फेरि अर्काे रात एक्लै जाग्रम बस्नैपर्छ । नत्र फल शून्य हुन्छ ।”
सबै माला गनेर र निर्गुण भजन गाएर समय बिताउन थाले। जसाे जसाे गुरुले गर्छन् , साेहीसाेही कार्य गर्दै पछ्याउने क्रम चल्दै थियो ।
रातिको ११ बजे गुरुका मुखबाट आवाज निस्कन छाेड्दा गुरु उँघेछन् क्यारे भन्ने लागेर एक चेलोले घच्घच्यायाे ।
“अब मेराे सुतेर जाग्राम बस्ने मन्त्र आइसक्याे । तिमीहरूले चाहिँ यथास्थानमै भजन गरिरहनू ।” यति बाेलेर गुरु सलक्क खुट्टा तेर्स्याएर घ्वाँर- घ्वाँर उफ् गर्न थाले ।
एउटा छट्टु चेलाले थाहा पाएर भन्याे- “त्याे मन्त्र मैले पनि लिइसकेकाे छु । अब म पनि गुरुकै आशनबाट जाग्रम बस्छु ।”
ऊ पनि गुरुजस्तै गर्न थाल्यो । गुरु उठ्नु अगावै छट्टु चेलो उठिसकेको थियो । उसको उजुरी गर्दै अन्यले भने; “यसलाई भरे राती एक्लै जाग्राम राख्नैपर्छ ।”
गुरुले एकछिन घाेरिएर भने- “यस छट्टुलाई छाडिदेओ ।”
चेलाचेली बिलखबन्दमा परेको देखेर गुरुले थपे; “याे नाथेले मेराे डायरी चाेरेर पढेछ र घ्वाँर-घ्वाँर-उफ् गरेर जाग्राम बस्ने मन्त्र सिकेछ ।”
०००
२०८०-०७-२१
कटारी, उदयपुर ।