कृष्ण प्रधानमेरो एकाउण्ट्समा ९५ (पञ्चान्नब्बे) लाख रुपियाँ
हाम्रा पाइलट र को पाइलट दुवैजनाको एकाउण्टसमा ९५- ९५ लाख पसेकोले उनीहरू दुवैजनामध्ये एकजना नयाँ हावाजहाज किन्न अनि अर्को चाहिं हवाईअड्डा किन्न गएकाले आजको उड़ान रद्ध गरिएको हो।

कृष्ण प्रधान :
भुकभुके उज्यालोमा उठ्ने वित्तिक्कै सबभन्दा पहिले माबाइल अन गर्ने बानी परिसकेको छ। मोबाइल अन गरिसकेपछि सामान्य शारीरिक अभ्यास गर्ने गर्छु। केही क्षणपछि मोबाइलको नोटिफिकेसनको ट्याङङै बज्यो। शारीरिक अभ्यास गर्न छोड़ेपछि हतार हतार मोबाइल कोट्याएँ। अहिले एरियर डीए ब्याङ्क पस्यो होला भन्ने देशानले भेटेको छ। मेरो पनि डीए पस्यो होला भनेर मोबाइल हेरेँ। म्यासेज आउनु ता आएछ। तर डीए पसेको होइन रहेछ मेरो एकाउण्टसमा अन गरेँ। ९५ (पञ्चान्नब्बे) लाख रुपियाँ पसेको म्यासेज पो आएको रहेछ।
छक्क परेँ। यत्रो मोटो धनराशि त्यो पनि ९५-९५ लाख कसले पठाइदियो होला भनेर म अक्क न बक्क पर्नु मात्र होइन निक्कै बेर अललिरहेँ पनि। यसो सोँचे यो फ्रड ता होइन। यत्रो पैसा कहाँबाट तेरो एकाउम्टसम पस्यो, कसले हालिदियो भनेर पुलिस आयो भने। मलाई पुलिसले घिच्रामै समातेर भ्यानमा हाली गाउँबाट लाँदा गाउँका मान्छेले यो सर के भएको होला हई, के चोरेछ मोराले भन्छन् कि भन्ने डरले लगलग भएँ । फेरि अर्को मनले भन्यो, होइन होइन पुलिस ता किन आउँथ्यो र । अहिले भोटको छेक छ। भोट हालोस् भनेर पठाएको होला ९५ (पञ्चान्नब्बे) लाख रुपियाँ। भोटके छेकतिर ता पैसा बाँड़्ने दस्तूरै छ भनी बिहानै घरबाट निस्केँ।
मलाई सधैँ जतै पनि लाने मेरो एउटा अटोवाल केटो छ। नाम उनको कुशेश्वर। कुशेश्वरलाई फोन गरेँ। स्वीच अफ। बाह्रपल्ट जति कल गरेँ। खै स्वीच अफ नै। मेरो पाला कुशेश्वरको घरै पुगेँ। बाहिरबाटै कुशेश्वर कि कुशेश्वर भनी बोलाएँ। निस्केन मोरो। एकक्षणपछि कुशेश्वरकी आमा निस्केर भनिन्, ए सरजी कुशेश्वर ता बिहानै देश गयो ता।
मैले सोधेँ, फेरि यसले गञ्जागोल गऱ्यो कि क्या हो ?
-होइन न सरजी। ए तपाईलाई थाहा छैन? त्यसको खातामा ९५ लाख पसेछ। बुहारी लिनु गएको छ। आएर त्यसले गाड़ी किन्ने अरे।
भेटिनँ कुशेश्वरलाई। त्यसपछि बिधान मार्केटको टोष्ट बट्टर पाउने ठाउँमा खाजा खानु गएँ। म सधैँ खाजा यहीँ खान्छु। जसोतसो पुगेँ। अरे खाजा दोकान डामडुम बन्द छ। छेवैको लटरीवाललाई सोध्दा उनले पनि यो बट्टर टोष्ट बनाउने दादाको एकाउण्टसमा ९५ लाख पसेको छ। त्यसैले आज उ आएन।
त्यहाँबाट फर्केर घर आई चिया र मुरी खाएँ। घरमा म एक्लै छु। श्रीमती छैनन्। बिहेमा गएकी छिन्। आ…होस् आज ता आफै पकाएर खानुपऱ्यो भनी छेवैको बजारमा सब्जी, माछा, माछाको लोहो ल्याउने विचारले झोला-सोला बोकी बजार लागेँ। अरे ! के हो यस्तो? बजार डामडुम बन्द छ। हाम्रो गाउँको बजारमा सब्जीवालहरू कसैको पनि मृत्यु भयो भने जम्मै दोकान बन्द हुने गर्दछ। सुनसान छ बजार। गाड़ी घोड़ा केही चलेको छैन। अलिक कुनातिर एकजना माग्नेले मैला कोट्याउँदैरहछ। त्यसले मलाई राम्ररी चिन्छ। सोधेँ त्यसलाई, आज फेरि को खस्यो ?
त्यसले भन्यो, बाबु कोही पनि खसेन…यहाँका सबै दोकानहरूको खातामा ९५-९५ लाख रुपियाँ पस्यो अरे। अन्त खुसीले आज सब्जी, मासुको दोकान थाप्न आएनन्।
घड़ी हेरेँ…समयले डाँड़ा काटिसकेछ। सोँचें, आ होस् ऱ्यापिडोलाई बोलाउँछु अन्त सिटी मलतिर गई त्यही खान्छु अनि यहीँबाट हप्तादिन जतिको सब्जी आदि लिएर आउँछु भन्ने लाग्यो। ऱ्यापिडोको मैले चिनेको भाइलाई कल गरेँ। बल्ल बल्ल उनले कल रिसिभ गऱ्यो। मैले भने, भाइ एकक्षण आऊ न…सपिङ गर्न जौं भनेको।
ऱ्यापिडवाल भाइले भन्यो, सरी दाजु! आज म आउन सक्तिदनँ। कसैलाई बोलाउनुहोस् न ल।
मैले जिज्ञासु भावमा सोधेँ, किन भाइ ? बिसञ्चो भयो कि क्यो हो ?
एकैश्वासमा ऱ्यापिडोवाला भाइ बोलिपठायो, होइन सर ! भन्नु पनि अप्ठ्यारो लाग्छ।
कस्तो अप्ठ्यारो ? केही प्रोब्लेम भयो भने मलाई भन्दा हुन्छ- मैले आश्वासन दिएँ।
अन्कनिँदै ऊ बोलिपठायो, होइन कि सर ! भन्नु पनि लाजमर्दो। हेर्नोस् न आज बिहानै मेरो ब्याङ्कको खातामा ९५ लाख पसेछ। अन्त म गाड़ी किन्नु सोरुम पो जाँदैछु सर। सरी सर…म आउऩ सकिनँ…।
सिलिगुड़ीको उखरमाउलो गर्मी। सड़क सुनसान छ। गाड़ी घोड़ा टोटो रिक्सा केही पनि छैन। चेकपोष्ट मोड़मा एकजना उखुको रस पेलर बेच्ने भैयाँकहाँ उखुको रस खानुलाइ पुगेँ। अरे मतेयो मोरो पनि छैन। ट्राफिकको एकजना कन्सटेबलाई सोधेँ, खोइ आज यो उखुको रसवाला आएऩ आजु ?
ट्राफिक पुलिस रुमालले पसिनैसरिको मुख पछ्दै बोल्यो- ना…ना…ओ आसेनि तो आज के। आपनी जानेन् ना स्यार..ओर देशेर ब्याङ्के नाइनटिभ लाख रुपिस ढुकेछ..सेई जन्यो ओ देश चोलेगेछे (अहँ त्यो आएन त आज। तपाईलाई थाहा छैन ? त्यसको ब्याङ्क खातामा ९५ लाख रुपियाँ पसेछ। त्पो पैसा लिएर यहाँको भेगा मलमा एउटा दोकान खोल्ने अरे।
सबैको खातामा ९५- ९५ लाख पसेको हल्ला सुनेँ।
यत्रो मोटो धनराशि पैसा ब्याङ्क खातामा पसेकोले सबै पात्तिएर आफ्नो व्यापार, काम धन्दा छोड़ेर गइसकेको छन्।
खेतबारीमा काम गर्ने कृषकहरू, मिस्त्री, कुल्ली कवाड़ी सबै सबैको खातामा ९५- ९५ लाख पसेको सबैले आफ्नो काम धन्दा, व्यापार सबै बिर्सिसकेछन्।
शहरमा अहिले खानेको हाहाकार मच्चिरहेको छ। सबै ९५- ९५ लाखले पात्तिएर, मात्तिएर आफ्नो धरालतले बिर्सिसकेका छन्।
मनमनै भने ठैट, यो नाथे ९५- ९५ लाख एकाउटस्मा पसेर के गर्नु ??
यद्यपि, मेरो एकाउण्टसमा ९५ (पञ्चान्नब्बे) लाख रुपियाँ पसेपछि मलाई छोरोकहाँ मुम्बई जानु मन लाग्यो। त्यहाँ पुगेर गज्जब-गज्जबको फिल्महरु निर्माण गर्न मन लाग्यो। फिल्मको निर्देशन छोरोले गरिदिइ ता हाल्छन् भन्ने धाक ता छँदैछ।
बागडुघ्रा एयरपोर्ट पुगी हावाजहाजमा चढेँ। हावाजहाजको पेटभरि खचाखच प्यासेञ्जरहरू छन्। समय भइसक्यो। हावाजहाज उड़्ने नामोनिशान छैन।
निक्कै बेरपछि एकजना सुन्दरी एयर होस्टेज आएर भन्न थालिन्- मैले ता बेल्ट बाँध्नु पो सिकाउँछिन् नि भनेको त माेरीले भनिन्, आज हाम्रो उड़ान उड़्न नसक्ने भयो।
हावाजहाजका पेटभित्र बसेका यात्रुहरूको समवेत हुङ्कार- किन किन ?
सिलिक्क परेका दुइ हात जोड़ी एयरहोस्टेज बोलिन्- हाम्रा पाइलट र को पाइलट दुवैजनाको एकाउण्टसमा ९५- ९५ लाख पसेकोले उनीहरू दुवैजनामध्ये एकजना नयाँ हावाजहाज किन्न अनि अर्को चाहिं हवाईअड्डा किन्न गएकाले आजको उड़ान रद्ध गरिएको हो।
हावाजहाजको पेटभित्र हुँड़ीबिँड़ी मच्चियो।
म उपद्रे मान्छे, छटपटे स्वाभावको। मेरो पाल चूपचाप भित्र पसी हावाजहाज उड़ाउन थालेँ।
जिन्दगीमा साइकल ता गुँड़ाउन नसक्ने मान्छेले हावाजहाज उड़ाएको। साँच्चै यो ९५ लाखले मलाई पाइलट बनाइछोड़्यो भनेर गज्जक भएर हावाजहाज उड़ाएँ।
बादलभित्र पसेँ।
चरा उड़ेर मेरो हाजाजहाजमा ठोक्कियो।
हावाजहाजको ऐना झार्लाम् झुर्लुम फुट्यो।
कहाँको हावाजहाज…सपनामा लाम्चे सिरानी (जसलाई कोल बालिस भनिन्छ)मा थिचिएर सुतिरहेको रहेछु।
बिरालो टेबलमाथि चढ़ेर मैले पानी खाने गिलास पो झारेको रहेछ…
त्यो गिलास पो टेबलबाट झरेर झार्लाम् झुर्लुम भएर फुटेको रहेछ।
गर्नु गऱ्यो यो ९५ लाखले…. ।
०००
सिलिगुड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest





































