डा. माधवप्रसाद पोखरेलहास्यव्यङ्ग्यको पारिभाषिक समस्या
अर्थवैज्ञानिक विश्लेषणका आधारमा कोशविज्ञानको अनुसन्धान कुन टुङ्गामा पुगेको छ भने ह्युमर शब्दले ती अनेक शब्दहरूको अर्थलाई समेट्न सक्छ। यसबाट पनि नेपालीमा प्रचलित 'हास्य-व्यङ्ग्य' को साटो हास्य शब्द मात्रै चलाउनुपर्ने देखिन्छ।

डा. माधवप्रसाद पोखरेल :
नेपाली साहित्यमा ‘हास्य-व्यङ्ग्य’ भन्ने एउटा शब्द पारिभाषिक जस्तो भएर चलेको छ । कसै-कसैले हास्य-व्यङ्ग्यलाई एउटा छुट्टै विधा जस्तो पनि मानेका छन्। कसैले हास्य-व्यङ्ग्यताई शैली मान्ने गरेको पनि पाइन्छ । संस्कृत काव्यशास्त्रमा हास्यलाई साहित्यका नौ मध्ये एक प्रकारको रस (अर्थात् स्वाद) मानिएको छ भने व्यङ्ग्य शब्दबाट व्यञ्जना शक्ति सम्पन्न अर्थ बुझिन्छ ।
अचेल सर्वसाधारण नेपाली पाठकले बुझ्ने ‘व्यङ्ग्य’ शब्द र संस्कृत काव्यशास्त्रको पारिभाषिक शब्द ‘व्यङ्ग्य’ एउटै होइन, फरक हो। संस्कृत साहित्यको पारिभाषिक शब्द ‘व्यङ्ग्य’ को अर्थ व्यञ्जना शक्तिद्वारा ध्वनित हुने अर्थात् झल्किने वा लाग्ने अर्थ हो। वाक्यमा प्रयोग भएका शब्दबाट निस्किने अर्थलाई अभिधार्य अथवा वाच्यार्य भन्ने चलन छ। वाक्यमा प्रयोग भएका शब्द बटुल्दा आउने अर्थ र प्रयोग भएका वाक्यबाट बुझिने अर्थ एकदम मिलेन भने, शब्दको कोशीय अर्थबाट बाहिर ननिस्किने तर कता-कताबाट अर्कै अर्थ निस्किने त्यस्ता वाक्यको अर्थलाई व्यङ्ग्यार्थ वा व्यङ्ग्य भन्ने चलन संस्कृत साहित्य शास्त्रमा छ।
संस्कृत साहित्यमा कुनै कविता वा काव्यको अर्थ त्यहाँ प्रयोग भएका शब्द बटुल्दा मात्र निस्की हाल्छ भने, त्यस्ता काव्य वा कवितालाई अत्यन्त सामान्य स्तरको कविता वा काव्य (चित्र काव्य) का कोटिमा दर्ने चलन छ अनि जुन कविता, काव्य, वाक्य वा पाठमा प्रयोग भएका शब्दबाट निस्कने अर्थलाई समेत कतै पन्छाएर कता हो कता फरक र अर्कै अर्थ लाग्छ, त्यस कविता, काव्य, वाक्य वा पाठलाई उच्च कोटिको कविता, काव्य वा साहित्य (ध्वनि काव्य) मानिन्छ। वाच्यार्थ, शब्दार्थ अर्थात् कोशीय अर्थदेखि कति-हो-कति फरक बुझिने त्यस्तो उच्च कोटिको अर्थलाई व्यङ्ग्य, व्यङ्ग्यार्य अथवा ध्वनि भन्ने चलन संस्कृत साहित्यमा पाइन्छ (आनन्दवर्धन)। व्यङ्ग्य, ध्वनि अर्थात् लाक्षणिकता बेसी भएको काव्यलाई संस्कृत साहित्यमा ध्वनि काव्य भनिन्छ।
कविता वा काव्य भनेको सके सम्म थोरै शब्दमा सके सम्म धेरै अर्थ कुँद्ने, खाँद्ने अथवा लुकाउने कला हो। कलाका सबै विधाहरूको उच्चता यस्तै सिप र शक्तिमा रहेको हुन्छ । कलाको उच्चता नाप्ने कसी ने व्यङ्ग्य हो। कवि वा कलाकारको उच्चता उसका रचनामा अर्थलाई कति धेरै जड्न सक्यो, त्यति मात्रामै भर पर्छ। अर्थात संस्कृत साहित्यमा व्यङ्ग्य भनेको काव्य अथवा जुनसुकै कला वा कलाकारको जेठ्कान्छी छुट्टयाउने कसी पनि हो।
संस्कृत समालोचनामा प्रयोग भएको यस अर्थको व्यङ्ग्य नेपाली साहित्यका पाठकहरूले एकदम कम बुझ्दछन् । नेपाली साहित्यका पाठकले भने व्यङ्ग्य भनेपछि बुझ्ने भनेको छेड, पेच र सेपघोच हो। नेपालीहरूले छेड हानेको, पेच पारेर बोलेको अनि सेपेर बोलेको सुनेर नेपाली विद्वानहरूले त्यसलाई ‘व्यङ्ग्य गरेको’ भन्ने चलन छ। संस्कृत काव्य शास्त्रको व्यङ्ग्य शब्दसँग मिल्ने अथवा नजिक हुने पाश्चात्य साहित्यको पारिभाषिक शब्द ‘आयरनी’ हो। छेड, पेच र सेपघोचमा पनि प्रयोग भएका शब्दहरू बटुल्दा आउने अर्थ र वक्ताले भन्न खोजेको अर्थमा फरक पर्ने हुनाले छेड, पेच र सेपघोच पनि संस्कृत काव्यशास्त्रको व्यङ्ग्य हुन्छ, तर संस्कृत काव्यशास्त्रको व्यङ्ग्य भनेको छेड, पेच र सेपघोच (Satire) मात्र होइन। यसरी व्यङ्ग्य शब्दको नेपाली साहित्यमा अर्थ सङ्कोच भएको पाइन्छ।
नेपाली समालोचकहरूले नेपालीमा प्रचलित ‘व्यङ्ग्य’ शब्दमा अर्थ सङ्कोच भएको कुरो कतै पनि उल्लेख गरेको मलाई थाहा छैन। साहित्य शास्त्र जस्ता शास्त्रमा पारिभाषिक शब्दको अर्थ लत्पतिनु हुँदैन। त्यो एउटा गम्भीर दोष हो, किन भने पारिभाषिक शब्दकै कसीमा कुनै कृतिको मीमांसा गरिन्छ। लत्पतिएको व्यङ्ग्य शब्दको समाधानै नगरी नेपाली समालोचनाका फाँटमा दोहोरै अर्थमा (तर संस्कृत साहित्यको अर्थमा तुलनात्मक रूपले कम मात्रामा) व्यङ्ग्य शब्द चली रहेको पाइन्छ।
नेपाली साहित्यमा व्यङ्ग्य शब्द संस्कृत साहित्यको अर्को पारिभाषिक शब्द ‘हास्य’ सँग प्रायः जोडिएर (‘हास्यव्यङ्ग्य’ भएर) आएको पनि पाइन्छ। संस्कृत साहित्यमा हास्य एउटा ‘रस’ बुझाउने शब्द हो। त्यहाँ कुनै साहित्यिक कृति पढ्दा अथवा नाटक हेर्दा पाठक अथवा दर्शकलाई जम्मा नौ किसिमको स्वाद आउँछ भन्ने विश्वास पाइन्छ। जुन रचना पढ्दा वा लेख्ता पाठक वा दर्शकलाई हाँस उठ्छ, त्यस रचनाबाट पाठक वा दर्शकले पाउने स्वादको नाउँ ‘हास्य’ रस हो।
हास्य रसका संस्कृत रचनाहरू पढ्दा त्यहाँ हाँस उठ्ने कुरा सँगसँगै सेपेका, छेड हानेका, पेच पारेका र खिल्ली उडाएका कुराहरू पनि मिसिएको पाइन्छ। यसबाट के बुझिन्छ भने, नेपालीमा प्रचलित हास्य र व्यङ्ग्य भन्ने दुइटै शब्द संस्कृत काव्य शास्त्रको हास्य शब्दभित्रै अटाउने रहेछन्। अर्कातिर संस्कृत काव्य शास्त्रको हास्य शब्दसित मिल्ने पाश्चात्य साहित्यको ‘ह्युमर’ (Humor) शब्द र संस्कृत काव्यशास्त्रको व्यङ्ग्य शब्दसित मिल्ने पाश्चात्य काव्यशास्त्रको ‘आयरोनी’ (Irony) शब्द दुइटैलाई हास्य भित्रै समावेश गर्न सकिन्छ भन्ने अत्तार्दो (२००१ इ) को विचार छ। अत्तार्दो के भन्दछन् भने, पाश्चात्य काव्य शास्त्रमा प्रचलित परस्पर सम्बद्ध ‘ह्युमर’, ‘आयरोनी’, ‘सार्काज्म’, ‘फनी’, ‘तफेबल’, ‘रिडिक्युलस’ जस्ता अनेक शब्दहरू एक किसिमले हास्यकै भेद हुन् । ती शब्द वास्तवमा साहित्य शास्त्रका पारिभाषिक शब्द नभएर लोकमा प्रचलित शब्द मात्र हुन्, त्यसैले ती शब्दलाई एउटाबाट अर्को सर्लक्क छुट्टयाउन सकिँदैन। ती सबै शब्दहरू परिभाषाको समस्याले सिकिस्त छन्। जजसले ती शब्दहरू बिचको अर्थ छुट्टयाउने कोसिस गरिरहेका छन्, ती सबै असफल भएका छन्। अर्थ वैज्ञानिक विश्लेषणका आधारमा कोश विज्ञानको अनुसन्धान कुन टुङ्गामा पुगेको छ भने ह्युमर शब्दले नै ती अनेक शब्दहरूको अर्थलाई समेट्न सक्छ। यसबाट पनि नेपालीमा प्रचलित ‘हास्य-व्यङ्ग्य’ को साटो हास्य शब्द मात्रै चलाउनु पर्ने देखिन्छ।
डेभिड ह्युरन (२००४ इ) ले कुनै विशेष प्रकारको कलाले किन हाँस उठ्तो रहेछ भन्ने जाँच र हास्य रसको विश्लेषण गर्न सङ्गीतको प्रयोग गरेर हास्यको सात किसिम छुट्टाएका छन् । उनको अध्ययनमा के भेटिएको छ भने, श्रोता वा दर्शकले चिताउँदै नचिताएको अर्थात् अड्कल वा आस नै नगरेको कुरो कुनै परिस्थितिमा नमिल्दो गरी झ्वाट्ट कुनै रचनामा अघिल्तिर पर्यो भने, मान्छेलाई हाँस उठ्तो रहेछ। कुनै रचनाको आस्वादन गरिएका बेलामा अब यस पछि के होला भनेर हरेक दर्शक र श्रोताले सधैँ अड्कल गर्छ। त्यस्ता वेलामा उसको अड्कल खुरुखुरु मिल्दै गयो भने हाँस उठ्तै उठ्तैन । उसको अड्कल र भवितव्यमा जति बेसी फरक पर्छ, त्यति बढ्ता र गहिरो मात्रामा हाँस उठ्छ, तर ह्युरन के भन्छन् भने, ‘हास्य रसको उत्पादन’ मा परिस्थिति (अर्थात् संस्कृत साहित्यको विभाव, अनुभाव र व्यभिचारी भाव) को पनि गहिरो भूमिका हुन्छ अर्थात् हास्य रस परिस्थिति-सापेक्ष हुन्छ। ह्युरनको निष्कर्ष चाहिँ के छ भने, सातै प्रकारको हास्य प्रकट हुनुमा पाठक, श्रोता वा दर्शकको अड्कल एकदम नमिल्नु त मुख्य कारण भएको नै पाइन्छ, तर श्रोता, पाठक वा दर्शकको अड्कल पटक्कै नमिल्ने हरेक परिस्थितिमा हास्य रस मात्र त उत्पादन हुँदैन ।
हास्य रस उत्पादन गर्न ह्युरनले कहिले अर्केस्ट्रामा एकदमै नमिल्ने ध्वनि मिसाएर सुनाए, कहिले ज्यादै गम्भीर रचनाको धुन र ज्यादै उत्ताउलो धुन मिसाएर सुनाए, कहिले प्रसिद्ध मिठो सङ्गीतको धुन बिगारेर सुनाए, कहिले कुनै प्रसिद्ध गीतको हरफमा नमिल्ने र उल्टो पर्ने शब्द साटेर सुनाए, कहिले एउटै हरफ अति धेरै पल्ट दोहोर्याएर सुनाए, कहिले छिटो गीतलाई एकदम ढिलो पारेर सुनाए अनि कहिले चाहिँ गीत र छन्द वा धुन बिगारेर सुनाए। उनका यस्ता हरेक प्रयोग सुनेर श्रोताहरू हाँसे, तर ह्युरनले हास्यको परिभाषा दिन भने सकेनन् । ह्युरनले खाली पोभाइन (२००० इ.) को परिभाषा मात्र उद्धरण गरे । पोभाइनको भनाइ अनुसार हाँस उठ्नु श्वासप्रश्वासकै एउटा अन्तर्जात प्रतिक्षेप (Reflex) किया हो। ह्युरनले तेर्स्याएकै समस्या हास्य (Humour) रसबारे विश्वभरमा लेखिएका साहित्य शास्त्रको समस्या बनेको पाइन्छ ।
सन्दर्भ सामग्री
Attardo, Salvatore (2000), ‘Humor and irony in interaction: From mode adoption to failure of detection’, In: Anolli, L., R. Circeri and G. Riva (Eds.) Say not to Say: New perspectives on miscommunication, Amsterdams: IOS Press.
Huron, David (2004), Music engendered laughter: An analysis of humor devices in PDQ Bach, In: SD. Lipscomb, R. Ashley, R.O. Gjerdingen and P. Webster (Eds.), Proceedings of the the 8th International Conference on Music Perception and Cognition. Adelaide, Australia: Causal Productions, 700-704.
Mutumane, Z. (2001), Elements of Humour in selected works of S.M. Burns Ncamashe, South African journal of African languages, 4:431-441.
Provine, R. (2000), Laughter: A scientific investigation, New York: Viking.
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































