साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाल-बुझक्कड

हाम्रा सिद्धान्तवादी राजनीतिक पार्टीका नेताहरूले पनि महानन्दजीबाट यही शिक्षा लिनुपर्छ । चुनाव जितेर आउने बित्तिकै वा कुनै पार्टी-विशेषलाई भोट हाल्ने बित्तिकै उसले आफ्नो राजनीतिक समस्याको आधिकारिक व्याख्या गर्न जान्दछ भन्ने सम्झनु गलत हो।

Nepal Telecom ad

डा. माधवप्रसाद पोखरेल :

लाल-बुझक्कड दरभङ्गा-नरेशको मन्त्री थियो क्यार । राज्यमा आएका जस्तै गम्भीर रहस्यको गाँठो फुकाउनु परे पनि ऊ खप्पिस थियो अरे। एकपल्ट राज्यमा हात्तीको पाइला देखिएछ। राजाले लाल-बुझक्कडलाई सोधेछन् यो के हो ? लाल-बुझक्कडले तुरुन्तै जवाफ दिएछ, ‘यो खुट्टामा ओख्ली बाँधेर हरिन कुदेको छाप हो ।’ लाल-बुझक्कडले भन्दा गतिलो व्याख्या राजदरबारका अरू कुनै पण्डितले गर्न नसकेकाले त्यो हात्तीको पाइला खुट्टामा ओख्ली बाँधेर हरिन कुदेकै ठहर भएको थियो अरे । लाल-बुझक्कडको जस्तो अर्थ लगाउन सिपालुहरूलाई हामी पनि कहिलेकाहीँ लाल-बुझक्कड उपनाम दिन्छौँ तर त्यस्ता महाशयलाई यो उपनाम उसले सुन्ने गरी दिने चलन छैन । अरुले थाहा नपाएका ठाउँमा आफ्नो अर्थ वा व्याख्या ‘जसरी भए पनि’ लगाएर श्रोताहरूको तात्कालिक खुल्दुली शान्त गर्न सक्ने व्यक्ति नै लाल-बुझक्कड हो ।

एक हप्ताअघि मैले एकदिन रानीपोखरी छेउमा एउटा केटाले उसैसँग हिँडिरहेका केटीलाई सोधेको सुने श्रीलङ्काको राजधानी के हो ?’ केटीले भन्न सकिन । केटाले आफ्नै जवाफ दियो, ‘रङ्गुन’ । त्यस्ता बेलामा नचिनेका मान्छेले ‘कोलम्बो’ भनिदिनु पनि भएन । भनिदिएको भए पनि केटीले पत्याउँथी कि पत्याउँदिनथी । फेरि बूढा मान्छेलाई अर्काकी केटीले पत्याइदिएको राम्रो पनि होइन । केटालाई पनि ‘कवाफमा हड्डी’ होला भनेर म त्यसै हिँडेँ।

स्कुलमा सधैँ एउटै विषयमा पढाउँछु भन्न पाइँदैन । कहिलेकाहीँ अरु शिक्षकले विदा लिएका बेलामा क्लास खाली नहोस् भनेर प्रधानाध्यापकले अरु नै विषयको शिक्षकलाई पनि पठाउनुपर्ने हुन्छ । एक दिन एकजना नेपालीका शिक्षकले छुट्टी लिएर क्लास खाली हुन आएछ । सन्जोगले अर्कै विषय पढाउने शिक्षकको फुर्सतको बेला परेछ । प्रधानाध्यापकले उनैलाई पठाएछन् । स्कुलमा नेपाली पढाउन जसले पनि सक्छ, किनभने ‘नेपाली नजान्ने नबुझ्ने को छ र ।’ भन्ने धारणा नेपाली, नपढाउने शिक्षकहरूको हुन्छ । स्कुलको के कुरो क्याम्पसमै पनि अरु विषयका लाल-बुझक्कडले पनि नेपाली विषयका शिक्षकलाई सबभन्दा सजिलो विषय पढाउने प्राणी सम्झेको अनुभव मैले पनि गरेको छ । त्यसैले ‘सजिलो’ विषय ‘नेपाली’ पढाउन शिक्षक गए । क्लासमा एउटा विद्यार्थीले सोधेछ, “सर, भानुभक्तलाई किन ‘आदिकवि’ भनेको ?” शिक्षकले जवाफ दिए, “भानुभक्तको जुनसुकै फोटामा पनि आधी मात्रै जिउ देखिने भएकाले ।” विद्यार्थीले कुरो छर्लङ्ग बुझेछ । कापी जाँच्तै गएपछि इस्व-दीर्घको नियम भन्नुपर्ने बेला भएछ । नेपाली विषय पढाउने बाहेक अरू विषयका नेपाली विद्वानलाई नेपाली वणर्विन्यास (स्पेलिङ) शुद्ध लेख्न आफूलाई आउँदैन भन्दा लाज मान्ने चलन छैन । ती शिक्षकले एउटा सारै राम्रो व्यावहारिक नियम भनिदिएछन “कुनै शब्द यसो लेखेर हेर्नु-ह्रस्व राख्ला सुहाउँछ भने ह्रस्व ठीक हुन्छ दीर्घ राख्ता सुहाउँछ भने दीर्घ ठीक हुन्छ ।” ह्रस्व-दीर्घको नियम नबुझ्ने विद्यार्थीलाई शिक्षकको त्यो नियम त्यस दिनदेखि रामबाण नै भएको ।

बेला-बेलामा गाउँलेहरूको शहर आउनुपर्ने काम परिरहन्छ । परिवार लिएर आएका बेलामा प्राय जान्नेसुन्ने चाहिँ घरको लोग्नेमान्छे ठहर्छ । त्यस लोग्नेमान्छेलाई पनि सहरबारे त्यति राम्रो जानकारी त हुँदैन, तर आइमाई- केटाकेटीले कुनै कुरो औल्याएर “यो के हो ?” भनेर सोधिदिए भने उसले लाल-बुझक्कड होइदिनुपर्ने हुन्छ । मैले त्यस्तै एउटा लोग्नेमान्छेले एकपल्ट सिंहदरबारतिर औल्याएर यो सिंहदरबार हो, हाम्रा राजा यहीँ बस्छन भनेको सुनेँ । त्यसपछि राजा सम्बन्धी आफ्नो परिवारको थुप्रै खुल्दुली लाल-बुझक्कड जवाफ दिएर लोग्नेमान्छे शान्त गरिरहेको थियो । काठमाडौँमा पढ्न बसेका छोराछोरी हेर्न आएका आमाबाबुलाई रत्नपार्क देखाउने छोरीले त्यहीँका माछापोखरीलाई “रानीपोखरी यही हो” भनेर देखाउँदा, “होइन, अनि रानीपोखरी त ठूलो छ पो मन्द त भनेर आमाबाबुले भन्दा छोरी पल्याक-पुलुक हेरेर “अलि बिस्तारो बोल्नुहोस न आमा ! रानीपोखरी चाहिँ यही हो भन्ने जवाफ दिइ अरे ।

लाल-बुझक्कडले बोलेको धेरै जसो कुरो “होइन” भनेर खण्डन गर्न सकिदैन, किनभने हो भन्न जति सजिलो छ ‘होइन’ भन्नु त्यति सजिलो रहेनछ । ‘होइन’ भन्न त बलियो आधार चाहिने रहेछ । एकपल्ट अस्पतालको एउटा वार्डमा बिरामी जाँच्दै आएको एउटा डाक्टरले एउटा बिरामीलाई औल्याएर भनेछ, “ए, यो बिरामी त मरिसकेछ त । त्यो सुनेर बिरामीले भनेछ, ‘होइन, डाक्टर साहेब म अहिलेसम्म त मरेको छैन । त्यसैबेला नर्सले च्याट्ठिएर जवाफ दिइछ, चुपलाग । तिमीभन्दा डाक्टर साहेब धेरै जान्ने हुनुहुन्छ । विचरा बिरामी त्यसै चुप लागेछ ।’

यसरी धेरै परिस्थिति यस्ता आउँछन् लाल-बुझक्कडले बोलेका बेलामा कुरो बुझ्ने मान्छे के पनि केही जोड चल्दैन । पहिलेपहिले कलेजका प्राध्यापकले नेपाली र संस्कृतबाहेक अरु विषयम अङ्ग्रेजीमा वक्तृता दिने चलन थियो । अङ्ग्रेजी कुहेकै भए पनि अङ्ग्रेजीमै व्याख्यान दिन बाध्य भएका त्यस्ता एउटा प्राध्यापकले एक दिन एउटा अङ्ग्रेजी शब्दको एउटा अर्थ लगाइदिएछन पछि कुनै बेलामा उनले प्रयोग गरेको त्यसै शब्दको अर्को अर्थ लेखाइदिएछन् । त्यसपछि एउटा विद्यार्थीले भनेछ, “सर, तपाईंले अस्ति नै यसै शब्दको फलानो अर्थ पो लाइदिनु भएको थियो । प्राध्यापकले तुरुन्त जवाफ दिएछन्, “अस्ति खाएको आलुको र आज खाएको आलुको एउटै स्वाद हुन्छ त ? अस्ति आइतबार थियो, आज मङ्गलबार भइसक्यो ।” गुरुको त्यो कुरा सुनेर क्लास गलल्ल हाँसेछ । सबै गलल्ल हाँस्ता बिचरो सोध्ने विद्यार्थी पनि हाँसेर चुप लागेछ ।

जुन पानीमा सजिलै साबुन लाग्छ रसायनशास्त्रमा त्यस्तो पानीलाई नरम पानी (सफ्ट वाटर) र जुन पानीमा सजिलै साबुन लाग्दैन त्यसलाई कडापानी (हार्ड वाटर) भनिन्छ । एकपल्ट एउटा विज्ञान शिक्षकलाई काठमाडौंको पानी नरम हो कि कडा भन्ने समस्या परेछ । उनले अर्को विज्ञान पढाइराखेको अनुभवी शिक्षकलाई थाहा होला भनेर सोधेछन् । अनुभवी शिक्षकले जवाफ दिएछ “काठमाडौंको पानी त कडा पानी भइगयो नि । पचाउन कस्तो मुस्किल हुन्छ ।”

एउटा विद्वानले क्लासमा ‘शीत-युद्ध’ (कोल्ड वार) भनेको ‘हिमाली क्षेत्रमा हुने युद्ध’ भनेर अर्थ लगाइदिएछन् । अर्का एकजना विद्वानले स्कुल शब्दको संस्कृत व्युत्पत्ति ‘गुरुस्य कुलम-स्कुललन स्कुल’ भन्ने गरेछन् ।

एउटा लाल-बुफक्कडले भनेछ “कृष्ण र अर्जुनको अङ्ग्रेजी क्यालेन्डरको जन्ममिति गीता मै लेखेको छ ।” कहाँ छ ? भनेर सोध्दा उसले जवाफ दिएछ, ‘बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन भनेको के हो ? कृष्णले अर्जुनलाई अङ्ग्रेजी क्यालेन्डरको ‘मे’ महिना धेरै बितेपछि आएको ४ जुनमा तिम्रो र मेरो जन्म भएको हो’ भनेको होइन ?’

धेरै परिस्थितिमा हामी सबैले कुनै न कुनै रूपमा लाल-बुझक्कड हुनुपर्ने रहेछ । एकपल्ट मलाई एउटा विद्यार्थीले सोध्यो, “हामीले सास फेर्दा कार्बन-डाइ-अक्साइड निस्कन्छ, कार्बन- डाइ-अक्साइडले आगो निभ्छ अक्सिजनले बल्छ, तर किन हामीले आगो फुक्ता दाउरा बलेको त ?” केटाको प्रश्न निकै राम्रो थियो, तर यसको जवाफ मसँग थिएन । मैले विद्यार्थीलाई भनेँ, ‘यसको जवाफ म केमिस्ट्रीका प्राध्यापकहरूसँग सोधेर भनिदिउँला । मैले सोध्न बिर्सेछु- प्रायः ठूलो मान्छे भएपछि स्मरण शक्ति कमजोर हुन्छ । आफू ठूलो मान्छे नभए पनि ठूला मान्छेमा पाइने यो लक्षण आफूमा विकसित भएकाले कुन्नि, खुसी हुनुपर्ने हो कि दुःखी हुनुपर्ने मलाई थाहा छैन । विद्यार्थीले फेरि सोधेपछि मैले क्याम्पसका रसायनशास्त्रका विद्वानहरूसँग सल्लाह गरेँ तर बेग्ला-बेग्लै डाक्टरले एउटै रोगलाई बेग्ला-बेग्लै व्यथा ठहराइदिए पछि डाक्टरमै विश्वास नगर्ने स्थिति आएझै बेग्ला-बेग्लै विद्वानको बेग्ला-बेग्लै जवाफ आएपछि मैले भने, “दाउरामा बल्ने र नबल्ने दुवै खालका ग्यास हुन्छन्, होला फुकिदिएपछि नबल्ने ग्यास उडेर जाँदो हो र त्यस ठाउँमा बल्ने ग्यास आउँदो हो, त्यसैले दाउरा बलेको होला मैले विद्यार्थीलाई यही तर्क दिएँ ।” मेरो तर्कको कसैले पनि खण्डन गरेन र भोलिपल्ट मैले विद्यार्थीलाई त्यही कारण हो भनिदिएँ तर आजसम्म पनि त्यसको के चाहिं कारण हो मैलाई नै थाहा छैन ।

प्रायः जान्ने-सुन्ने भइखाएको मान्छेले चाहिँ लाल-बुझक्कड हुनुपर्ने धेरै सम्भावना रहेछ । यसो हुँदा प्रायः शिक्षक, राजनीतिज्ञ, जोगी, पौराणिक, पुरोहित, धार्मिक व्याख्याता र धर्मगुरु जस्ता जान्ने- सुन्ने हुन बाध्य भएका मानिसहरूलाई लाल-बुझक्कड हुने परिस्थिति आउने रहेछ । एउटा राजनीतिक छलफलमा मैले पनि राष्ट्रिय सभाको सदस्यले मन्त्री हुन पाउँदैन भनिदिएँ । भरे घरमा आएर संविधान हेरेको त पाउने रहेछ । त्यही जमघट फेरि कहाँ पाउनु मान्छेपिच्छे म स्पष्टीकरण दिँदै हिँडु भने पनि साध्य छैन, त्यसैले त्यसबेलाका श्रोताहरूले मलाई लाल-बुझक्कड नै सम्झिराखेका होलान जस्तो अहिले पनि लागिरहन्छ । अहिले पूर्वी युरोपका राजनीतिक पहिरालाई हरेक कम्युनिस्टले त्यो मार्क्सवादी सिद्धान्त अनुकूल नै पर्छ र त्यसबाट मार्क्सवाद आजको विश्वमा बेकम्मा भयो भन्ने अर्थ गलत हो, मार्क्सवाद अहिले पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक नै छ भन्ने व्याख्या गरिराख्नु परेको छ । कम्तीमा एक ठाउँमा कम्युनिस्ट पार्टीका नेताहरू मिलेर त्यसको कसरी व्याख्या गरे, सबै कम्युनिस्टको एउटै जवाफ हुन्छ भनेर टुङ्गो लगाए पूर्वी युरोपका परिवर्तनको ढाक छोप गर्न सजिलो हुन्थ्यो तर पार्टीले नै त्यसो नगरेकाले हरेक कम्युनिस्टले पूर्वी-युरोपको विषयलाई लिएर लाल-बुझक्कड भइराख्नु परेको छ । त्यस्तै प्रजातन्त्रको परिभाषा गर्न नसकेर मान्छे पिच्छेका बेग्ला-बेग्लै परिभाषा भएर प्रजातन्त्रवादीहरू पनि लाल-बुझक्कड भइराखेका छन् ।

कुनै कुनै प्रजातन्त्रवादीको प्रजातन्त्रको परिभाषा त ‘मनपरी’ भन्ने निस्कन्छ । रुबिडियमलाई हावामा राख्यो भने पड्किन्छ । चाहे जुनसुकै व्यक्तिले जुन सुकै देशमा अक्सिजन भएका हावामा राख्ने बित्तिक्कै रुबिडियम पड्किन्छ । विज्ञानमा समान परिस्थितिमा दुई वस्तुबीचका क्रियाको एउटै प्रतिक्रिया हुन्छ । त्यसैले एउटै राजनीतिक प्रश्नमा एउटै राजनीतिक विचारधारा राख्ने नेताहरूका बीचमा एउटै वा समान उत्तर आएन भने म नेताहरूले लाल-बुझक्कड हुनुपरेको सुइँको पाउँछु । त्यसो हुँदाहुँदै पनि उनीहरू आफूलाई लाल-बुझक्कड मान्न तयार छैनन् भने उनीहरूले आफ् आफ्नो राजनीतिक सिद्धान्त कि त खोक्रो छ भन्ने मान्नुपयो कि त्यसलाई एउटै श्लोकको विभिन्न अर्थ लाग्न सक्ने नैषधीयचरितको नलको वणर्न जस्तो मान्नुपर्‍यो ।

महानन्द सापकोटा भन्नुहुन्थ्यो, “मैले एकदिन पं. छविलाल पोखरेललाई माधव शमसेर कहाँ चण्डी पाठ गरेर आइरहेको देखेँ । छविलाल पोखरेल जस्ता हिन्दु धर्मशास्त्रका मर्मज्ञ व्यक्तिले न हिन्दुधर्मसम्बन्धी व्याख्या र भाष्य पो गर्नुपर्ने । चण्डीपाठ त राम्रो अक्षर चिनेको, शुद्ध संस्कृत, पढ्न सक्ने ८ कक्षासम्मको जुनसुकै विद्यार्थीले सकिहाल्छ नि । हाम्रो यही कुरो बिग्रेको छ- छविलाल पण्डित जस्ता विद्वान चाहिँ चण्डीपाठमा अल्मलिरहेका छन् र दपड्याँहरू चाहिँ हिन्दुधर्मका व्याख्या गरिरहेका छन् । हिन्दुधर्ममा कामको विभाजन किन यसरी नभएको ? एकातिर पण्डितजीको क्षमताको दुरुपयोग भइरहेको छ, अर्कातिर अनाधिकृत मान्छेबाट हिन्दुधर्मको गलत व्याख्या भइरहेको छ र समाजमा व्यभिचार बढिरहेको छ ।”

हाम्रा सिद्धान्तवादी राजनीतिक पार्टीका नेताहरूले पनि महानन्दजीबाट यही शिक्षा लिनुपर्छ । चुनाव जितेर आउने बित्तिकै वा कुनै पार्टी-विशेषलाई भोट हाल्ने बित्तिकै उसले आफ्नो राजनीतिक समस्याको आधिकारिक व्याख्या गर्न जान्दछ भन्ने सम्झनु गलत हो। महानन्दजीले भनेझै यहाँ व्यभिचार भइरहेको छ र समाजमा फैलिरहेको भ्रम व्याख्या पछाडि घट्नुको सट्टा झन् फन फैलिरहेको छ । मेरा विचारमा पार्टीहरूले अनाधिकृत व्यक्ति र नेतालाई राजनीतिक समस्याको आधिकारिक बयान दिन प्रतिबन्ध लाउनुपर्छ र त्यसका मर्मज्ञ र आधिकारिक व्यक्तिहरूलाई मात्र त्यो जिम्मा सुम्पनुपर्छ ।

मानव-विकासका प्रारम्भिक अवस्थादेखि नै मान्छेका अगाडि थुप्रै खुल्दुलीहरू थिए- यो जगत् कसरी बन्यो ? घाम र जूनलाई कसले हिडाउँछ ? आकाशीय पिण्डहरू किन असिना परेझैँ पृथ्वीमा खस्तैनन् ? मानिसको सृष्टि कसरी भयो ? मानिस किन जन्मन्छ ? मानिसलाई किन रोग लाग्छ ? मानिस कसरी किन मर्छ ? मरेपछि मानिस कहाँ जान्छ ? यस्ता अनेक प्रश्न छोराछोरीले आमाबाबुलाई सानाले ठूलालाई, नजान्नेले जान्ने-सुन्ने भइखाएकाहरूलाई सोध्दै आए । सुरुमा यस्ता धेरै प्रश्नको जवाफ दिने कुनै लाल-बुझक्कडले ईश्वरको आविष्कार गयो । यसरी लोक दर्शन, लोकसाहित्य, पुराण, उपनिषद् र अनेक वेद वेदान्त बने । अनि दर्शनशास्त्रको विकास लाल-बुझक्कड कै करामतबाट भयो र ईश्वरको आविष्कार नै पहिलो वैज्ञानिक आविष्कार थियो । कालान्तरमा पश्चिममा ग्यालिलियोले अनुसन्धानको वैज्ञानिक विधि आविष्कार गरेपछि आध्यात्मिक र भौतिक विज्ञानको बाटो फाट्थे । निरीक्षण (अब्जर्भेसन), प्रयोग (एक्सपेरिमेन्टेसन) र सूत्रन (जनरलाइजेसन) का तीन चरणमा बाँधिएको ग्यालिलिओको वैज्ञानिक विधिको अनुसरण गरेर आफ्नो समस्यालाई अर्थ्याउने मान्छे त्यसपछि वैज्ञानिक भयो र जुन मान्छे ग्यालिलिओको विधिको अनुसरण नगरी आफ्ना अगाडि आएका समस्याको व्याख्या गर्छ, त्यो लाल-बुझक्कड भयो ।

मेरा यस लेखको विचार पढ्दा पाठकले मलाई पनि लाल-बुझक्कड ठान्छन् कि ठान्दैनन्, त्यो त मलाई थाहा छैन, तर लेखको शीर्षक पढ्ने बित्तिकै मेरो नाम पढ्यो भने चाहिँ सुन्नेले अवश्य लाल-बुझक्कड सुन्छन् ।

०००
२०४८, कात्तिक
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
राष्ट्रिय महायज्ञमा अड्को र निम्सरो फड्को

राष्ट्रिय महायज्ञमा अड्को र...

डा. माधवप्रसाद पोखरेल
बुधसिंह र दर्शनसिंहको चुनावी भाषण

बुधसिंह र दर्शनसिंहको चुनावी...

डा. माधवप्रसाद पोखरेल
पिँडालीमा हास्यरस

पिँडालीमा हास्यरस

डा. माधवप्रसाद पोखरेल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x