सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रिय महायज्ञमा अड्को र निम्सरो फड्को

हाम्रो राष्ट्रिय खेल साँढेजुधाइमा सामेल हुन नसके पनि, यज्ञमा चरु होम्नसमेत सहभागी नभए पनि, म यसै बाध्य भएर महात्मा गान्धीको दुवै हात काटिएको बाँदरजस्तो भइरहेको छु ।

Nepal Telecom ad

डा. माधवप्रसाद पोखरेल :

जताततै अड्को परिरहेको छ । म माखेसाङ्लामा परेँ । हातखुट्टा बाँधेर चौखुर्‍याइएको छु । खसीको सम्झना हुन्छ । लिलिपुटका सुरक्षाकर्मीहरूले गलभरलाई अङ्गअङ्गमा बाँधेर मसिना कीलाहरूमा कसेका छन् । जानेर-नजानेर, होस-बेहोसमा चटपटाइयो भने लिलिपुटका सिपाहीहरूले मसिना तीखा सुइराहरूले च्वास्सच्वास्स हानेको थाहा हुन्छ । जीउमा जताततै बेलाबेलामा सोला हान्छन् लिलिपुटका सुरक्षाकर्मीहरूले । म चटपटाएको त्यति मन पराउँदैनन् लिलिपुटेहरू । सुरक्षाकर्मीलाई यसलाई चटपटाउनै नदिनू भन्ने आदेश छ क्यार ! मलाई नचटपटाई जे गर्न पनि छुट छ । अहिले म जिब्रो पनि जोखेर चलाइरहेको छु । खालि विचार गर्ने बेलामा चाहिँ मलाई कसैले छेकथुन गरेका छैनन् । कृपालुहरूले यतिचाहिँ जनी गरेका छन् । धन्य कृपालो !

कुनै बेला हनुमान्ले आफ्नो तागतको भेउ नै नपाई घामै कप्ल्याक्क निलिदिए अरे, कुनै बेला हनुमान्लाई तिमी त हावामा उड्न सक्छौ भनेर भालु र वानरसेनाले सम्झाइदिनुपरेथ्यो अरे अनि कुनै बेला शक्तिशाली इन्द्रजित्ले पाता फर्काएर बाँध्न खोजेका बेलामा आफ्नो शक्ति थाहा पाईपाई पनि हनुमान् आफूखुसी बाँधिएका थिए अरे । म भने कुनै प्रयोजनबिनै त्यसैत्यसै लिलिपुटेहरूका बन्धनमा परेको छु । माथिको र छेउछाउको ओजनले खुँदेर मेरो चट्टान रुपान्तरित भइरहेको छ अनि म चाहिँ जीवावशेष हुन लागिरहेको छु ।

मेरा आँगनमा साँढेजुधाइ भइरहेको छ । साँढे जुधाएर रमिता हेर्नेहरू साँढेहरूलाई मादक पदार्थ ख्वाएर मत्याइरहेका छन्, भक्कुको मार हान्न ठीक पारेको राँगालाई रमिताकै लागि पछाडिबाट हर्काइरहेका छन् । स्पेनमाझैँ नेपालमा साँढे जुधेको हेर्नु पनि एउटा रमिता मानिने हुनाले आफ्नो दस काम छोडेर भीड लाग्ने रमितेहरू सधैँ ठिक्क छन् । जुन अखडा, घेरो र पटाङ्गिनीमा साँढेजुधाइ अथवा मार हान्ने राँगाको रमिता छ, त्यसको वरिपरिका तमासेहरू थपडी बजाएर हान्ने राँगालाई र साँढेलाई उल्क्याउँछन् अनि आफ्नो हात पर्‍यो भने यसो पछाडिबाट पुच्छर पनि निमोठि-दिन्छन् । फ्वाँफ्वाँ र फूँफूँ गर्दै साँढेहरू राइफाँडो मच्चाउँछन्, आफूले कुल्चेको भुइँ अथवा देश खुँदेर हिलाम्मे बनाउँछन् । गाउँगाउँमा साँढे जुध्दा त वरिपरिको घेरो नै हुँदैन, साँढेजुधाइले बाटोघाटो र चउरमा हिँड्नेहरू आतङ्ति हुन्छन् । तर्सेर सबैको सातो गएको हुन्छ । अहिले मेरो आँगनमै साँढेजुधाइ छ, त्यसैको हल्लाले शान्ति र सुविस्ता एकछिन पनि छैन ।

साँढे जुधाउने खेलमा आफूलाई पनि सामेल हुन मन लागेको भए, मलाई स्वागत गर्न खेलका सबै थरी सहभागीहरू (साँढेसमेत) फूलमाला, अबिर लिएर तयार परेका छन्, तर म अबुझ यस लोकप्रिय राष्ट्रिय खेलमा रस लिन पनि सक्तिनँ, सामेल हुन पनि सक्तिनँ । खेलमा सहभागी हुन मन भए केही चर्को परिश्रम गर्नु पर्दैन, खालि जुन साँढेले होड जितोस् भन्ने आफूलाई लाग्छ अथवा आफूले रोजिएको छ, त्यसै साँढेको रूपरङ, जीउडाल र बलबर्गतको प्रशंसा गरेर त्यसैका पक्षमा थपडी बजाएर उसको उत्साह बढाउनुपर्छ र उसलाई निरन्तर मत्याइरहनुपर्छ । प्रशंसा र भाटगिरी गर्न पूरै स्वतन्त्रता छ, आलोचना गर्न भने पाइँदैन हाम्रो राष्ट्रिय खेल साँढेजुधाइमा ।

तपाईंलाई आफ्नो व्यक्तित्वविकास गर्न मन छ भने एउटै बाटो छ, एउटै लिक, एउटै डुँड छ । तपाईंलाई प्रतिभाशाली लेखक हुन मन लागेको छ भने पनि, अनन्य रष्ट्रिय प्रतिभा र राष्ट्रवादी व्यक्तित्व घोषित हुन वा ठहरिन मन छ भने पनि, त्यही गोहो समातेर त्यही डुँडैडुँड अघि बढ्नुहोस्, तपाईंको भविष्य उज्ज्वल छ, तपाईंलाई हाम्रो शुभकामना छ । तपाईंलाई पदोन्नति, तक्मा, पुरस्कार, दोसल्ला, फूलमाला, अबिर र इच्छाभोजनको वरदानसमेतको बाटो हेरेर पर्खिरहेको छ । जिब्रै चलाउन मन छ भने पनि तपाईं मूलबाटो समाउनुहोस्, राष्ट्रिय गोहो पकड्नुहोस्, राष्ट्रिय महोत्सवका सबै सहभागीहरू तपाईंको रथयात्रा गर्नसमेत तयार छन् ।

होइन, तपाईंलाई राष्ट्रले दिएको डुँड र गोहो समात्नु छैन भने तपाईंको कलमको टुँडो पनि अड्किन्छ, तपाईंले जिब्रो समाल्नुपर्छ, तपाईं आफ्नो थुतुनो जोगाउनुहोस्, तपाईंको बाटामा लाठो बज्रिन ठिक्क छ । तपाईं पल्याकपुलुक हेरेर कत्तिको चल्न जान्नुहुन्छ, तपाईंको त्यसै योग्यताको निरन्तर परीक्षा भइरहन्छ । तपाईंको उचित मूल्याङ्कन गर्न र भव्य बढाइँ गर्न रष्ट्रवादीहरू हातमा लाठामुङ्ग्री र गोलीगट्ठा लिएर तपाईंको बाटो ढुकेर कान्लाकुइनेटाहरूमा स्वागत गर्न तयार छन् । तपाईंलाई पूणर्र्वाक्स्वतन्त्रता दिइएको त साँढेजुधाइका खेलको नियमअुनसार तपाईंलाई सुरेली खेल्ने जुन बाटो र गतानुगतिक दिइएको छ, त्यसअनुसार चल्नलाई पो हो त । तपाईं आफ्नो ढिपी छोड्नुहुन्न भने राष्ट्रलाई तपाईंको खाँचो छैन, ‘जनता’ तपाईंलाई आफ्नो शत्रु मान्छन् भन्ने कुरो हामीलाई प्रस्ट थाहा भइसक्यो, त्यसैले ‘जनता’ का तर्फबाट हामी नै तपाईलाई ‘सहिद’ घोषित गरिदिन्छौँ । भीष्मपितामहलाई भैmँ लौ तपाईंलाई इच्छामरणको वरदान भयो । तपाईंलाई घाँटी रेट्न मन्जुर छ कि, गोली खान मन छ कि ? हातखुट्टा छुट्टयाएर रूखमा टाँगिदिऊँ कि, लौ जे रोज्नुहुन्छ, हामी तपाईंकै इच्छा पूरा गरिदिन समर्पित छौँ । अगाडिबाट खाने कि पछाडिबाट खाने ?

नजुधेका पशुलाई त मान्छेले दाएकै छन्, सधाएकै छन् । मान्छेले सधाएका पशुहरूले अनुशासित भएर मान्छेलाई सघाइरहेकै छन्, तर हाम्रो आदर्श हिन्दुराज्यमा साँढेलाई दाइँदैन । मान्छेले लट्ठी हान्ने भनेकै आफ्नो सेवा गर्ने अनुशासित पशुलाई हो । लट्ठी खाइएला भन्ने डर अनुशासनमा नारिएकालाई मात्र हुने न हो । जुवा, डोरी, सिक्री, छाँद र पगाहाका नियमको पासोभित्र परेकाहरू नै खालि हप्कीदप्की, सेपघोच, छेडपेच, लात्तीमुड्की र लट्ठीकोर्रा खान्छन् ।

अनुशासन र नियमका फन्दामा जो छैन, उसलार्य कुनै अनुशासनको कारबाही नै हुँदैन । यसरी नियम मान्नेलाई पाप र अफाप पनि नियम नमान्नेलाई माफैमाफ र सबै दाउमा फलिफाप निम्सराहरूका राज्यको अलिखित कानुन हो । नमस्ते र प्रशंसै गर्नुपर्‍यो भने पनि पो नेपालीहरू पशुपतिनाथकै साँढेतिर फर्किन्छन् । हाम्रा अलिखित र व्यावहारिक आचारसंहिता यस्तै भएकाले जो पनि कि साँढे नै हुन खोज्छ, कि त साँढेजुधाइ नै हेर्न मन पराउँछ । अहिले आएर साँढेजुधाइ र भालेजुधाइ नै नेपालका लोकप्रिय राष्ट्रिय खेल भएका छन्, त्यसै हुनाले हातमा शङ्खचक्र लिनेहरू आफ्नो शङ्खचक्र भुङ्ग्रामा रातो हुने गरी तताएर साँढे डाम्न ठिक्क परिरहेका छन् । जताजतै साँढे डाम्ने र साँढे छोड्ने उद्योगधन्दाहरू खुलेकाले अब अरु पुराना उद्योगधन्दाहरूको राष्ट्र र राष्ट्रवादीहरूले आवश्यकता महसुस गर्न छोडे । अहिले गल्लीगल्लीमा साँढे छोडिइरहेका छन् । साँढे छोड्ने ठूलठूला महोत्सवहरू भइरहेका छन् । लिलिपुटेहरूले मलाई चौखुर्‍याएर नराखेका भए, म पनि साँढे डामिन जाउँला भन्ने सुर आफैंलाई पनि चल्न थालिसकेको छ । देशको हावापानीले बोटबिरुवा र पशुधनका बेहोराको खटन गर्छन् भन्ने वैज्ञानिक कुरो बेठीक होइन होला त ?

बलको तुजुक र मूर्खताको निस्पट्ट अन्धकारमा साँढेहरूलाई पनि थाहा छैन यो खेल कसको जित र कसको हारमा टुङ्गिन्छ भनेर राडो मच्चाउनु नै बल र मूर्खताको विशेषता हो । म बबुरो यो साँढेजुधाइ रोक्न सक्तिनँ । मेरो शक्ति भनेको विदा र कलमको शक्ति मात्र हो । न साँढेहरूले मेरो निबन्धहरू बुझ्छन् न साँढे जुधाउनेहरूले, न साँढेजुधाइमा रस लिएर भीड लाउने रमितेहरूले । म सहरका सबै दाउ आफ्नै बनाउन सुनका कुर्सी ताकेर हानिएको कुनै भीडले रस लिएको यत्रो खेल रोकछेक गर्न सक्तिनँ । सके त्यसै हुनाले नै लिलिपुटेहरूले मलाई चौखुर्‍याएको छन् ।

साँढे नै पनि त पशु हो, त्यसमा कति चेत होला र ? स्पेनको साँढेजुधाइमा साँढेलाई सबै मिलेर घाइते बनाउँछन् र अन्त्यमा बीभत्स ढङ्गले साँढेको हत्या गरिन्छ । सबै रमितेहरू अन्यायपूर्वक त्यो वीर साँढेको हत्यामा मनोरञ्जन भएको ठानेर स्वाद लिन्छन् । काठमाडौँमा भक्कुको राँगाको पनि त्यसै गरी वीभत्स हत्या हुन्छ । हुनमान्ढोका चोकचोक रगतपच्छे हुने गरी मार हान्नु हाम्रो संस्कृति भएको छ । निर्धा र निम्सरा पशुको सामूहिक बलि दिनु र रगतको होली खेल्नु हाम्रा राष्ट्रिय चाडपर्वहरूमा अनिवार्य हुन्छ । ज्यान निम्सराहरूको जान्छ, निर्धाहरूको सातो जान्छ, तर मार हान्नेहरू र ती निर्धाहरूका चोक्टा लुछ्नेहरूलाई लोकले साक्षात् भगवती शक्तिको अनन्य भक्त ठान्छ । तिनीहरू नै पुण्यात्मा मानिन्छन् । भक्तहरूलाई जेजे खानेकुरा मनपर्छ भगवान्ले त्यही कुरो मन पराएको मानिन्छ, त्यसैले काठमाडौँ उपत्यकाका गणेशहरू पनि रगतको धारो खान्छन् । आजसम्म उपत्यकाका गणेशहरूले ‘मलाई रगत मन पर्दैन’ भनेर आफूलाई चढाएको बलि र रगतको धारो पन्साएको मलाई थाहा छैन । दसैँका बेलामा कोतका चोकचोकमा र शक्तिपीठहरूमा निम्सराहरूको सामूहिक बलि दिएर आफ्ना देवीदेउता खुसी पारिन्छ । मैले बुझ्दा सामूहिक बलि दिने यो राष्ट्रिय पर्व पनि एक किसिमले प्रोटिनको मेला हो ।

नेपालमा गएका दशकभरि नरमेधयज्ञ भइरहेको छ । मान्छेको सामूहिक बलि कोनि कुन देउता खुसी पार्न भइरहेको छ । दसैँका शक्तिपीठहरूको सामूहिक बलिको प्रयोजन त म बुझ्न सक्छु, किनभने ती निम्सरा पशुहरू भक्तहरूका प्रिय भोजन छन् । तर नेपालमा अहिले धेरै समयदेखि प्रोटिन खेर गइरहेको छ । जसले महायज्ञ गरिरहेको छ, उसले यो प्रोटिन त्यसै खेर फालिरहेको छ । नेपालका काग, कुकुर, स्याल, र गिद्धहरूले यो मासु खाएर नसिद्धयाउने भए ।

नरभक्षण संसारका धेरै ठाउँहरूमा कुनै आदिम युगमा थियो । अहिले नै पनि मान्छेको सिकार गर्ने र मासु खाने चलन उत्तर अमेरिकालगायत संसारका केही ठाउँहरूमा छ भन्ने मैले पढेको छु । टेबुलमा मान्छे सजाएर बडो स्वाद मानेर एउटा सभ्य मान्छेले खाँदे गरेको एउटा फोटो त मैले पनि जोगाएर राखेको छु । नेपालमा चाहिँ अगाडि कहिल्यै पनि नरभक्षण गर्ने चलन भएको मलाई थाहा छैन । किन यति महँगो मासु त्यसै खेर फाल्ने गरी नेपलमा नरमेधयज्ञ चलिरहेको छ, प्रोटिनको महात्म्य खाद्यरसायन र जीवविज्ञानमा जतिसुकै पढे पनि, मैले बुझ्न सकेको छैन । पुजारीहरूलाई थाहा होला यस महायज्ञले उनीहरूका देउता खुसी भइरहेका छन् कि छैनन् । खुसी भइरहेका छन् भने यज्ञका पुरेत, जजमान र होताहरूलाई पनि मेरो बधाई छ ।

मासु नखाने हुनाले यत्रो ठूलो यज्ञले नैबेत मलाई चढ्दैन । त्यसैले होला, मलाई जताततै अड्को परेर फड्को होला जस्तो भइरहेको छ । लिलिपुटेहरूले कहिले मलाई बन्धनमुक्त गर्छन् ? हाम्रो राष्ट्रिय खेल साँढेजुधाइमा सामेल हुन नसके पनि, यज्ञमा चरु होम्नसमेत सहभागी नभए पनि, म यसै बाध्य भएर महात्मा गान्धीको दुवै हात काटिएको बाँदरजस्तो भइरहेको छु ।

०००
‘गार्गीको गाँठो’ निबन्धसङ्ग्रह (२०६२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाल-बुझक्कड

लाल-बुझक्कड

डा. माधवप्रसाद पोखरेल
बुधसिंह र दर्शनसिंहको चुनावी भाषण

बुधसिंह र दर्शनसिंहको चुनावी...

डा. माधवप्रसाद पोखरेल
पिँडालीमा हास्यरस

पिँडालीमा हास्यरस

डा. माधवप्रसाद पोखरेल
पिँडालीमा हास्यरस

पिँडालीमा हास्यरस

डा. माधवप्रसाद पोखरेल