साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुधसिंह र दर्शनसिंहको चुनावी भाषण

कुनै पार्टीको रङ नलागेका सोझासाझा जनतालाई भिड देखाएर हुन्छ कि नौटङ्की गरेर हुन्छ कि ‘लौ अब यसैले जित्ने रहेछ’ भन्ने भ्रम पार्न सक्नु पर्छ, किन भने जनता आफ्नो मत बर्बाद गर्न चाहँदैन ।

Nepal Telecom ad

चुनाव नजिक नजिकै आएपछि स्यालहरू पनि सिंह हुन्छन् । केही गरी स्यालले त्यो चुनाव जिती हाल्यो भने त, त्यसले सिंहलाई पनि हाँक दिन बेर लगाउँदैन । एक पल्ट एउटा बिरालाले मुसालाई लखेटेछ । मुसो पनि ज्यान जोगाउन भाग्ने नै भयो । कतै ठाउँ नपाएर त्यो एउटा सिसी भित्र छिरेछ । एक छिन पछि बिरालो पनि त्यो सिसी नजिकै आइपुग्यो । मुसो बाहिर ननिस्केर कहाँ जाला र भन्ने सोचेर बिरालाले मुसालाई ढुकेको ढुक्यै गर्‍यो । एक छिन पछि मुसो त बोतलबाट निस्केर बिरालालाई पो धम्की दिन थाल्यो, ‘आइज, म तँलाई खान्छु’ । बिरालाले तिरिमिरिझ्याइँ देख्यो । उसले कुरै बुझ्न सकेन, कसरी डुहुरे मुसाले आफूलाई निल्ने धम्की दिन सक्यो भनेर ! एक छिन पछि यसो हेर्छ त, त्यो रक्सीको बोतल पो रहेछ !

बुधसिंह र दर्शनसिंह सिंह हुन् कि स्याल, त्यो त मलाई थाह छैन, किन भने अरूले स्याल सम्झेको मान्छेले पनि आफूलाई सिंह नै सम्झेको हुन्छ, अनि कसैको नाउँमा सिंह जोडियो भन्ने बित्तिकै सबै पञ्जाबकेसरी रण जतिसिंह हुँदैनन् पनि । जसरी ‘यहाँ फोहर नगर्नुहोला’ भन्ने सूचना पाटी टाँगिएको ठाउँ मुन्तिरको माटो ल्याएर पूजा गर्ने वेदी बनाउन सकिँदैन र जसरी व्यापारीले आफ्नो माल ‘सस्तो-शुद्ध-टिकाउ, सबैलाई मन पर्ने’ भनेर विज्ञापन गर्दैमा पत्याएर खाल्डामा पर्न सकिँदैन, त्यसै गरी कसैको नाउँ सुनेर उसको विशेषता अड्कल गर्न हुने भए ‘गरिबदास’ र ‘लङ्गटसिंह’ नाउँले नै मानिस उत्तानो पर्न सक्छ । हरेक पार्टीको घोषणा पत्र र नारालाई पत्याउने हो भने, जनताले सबै कोठामा छाप लगाएर आफ्नो मत बदर गराउनुपर्छ ।

बुधसिंह र दर्शनसिंह आदर्श उम्मेदवार हुन्, किन भने आफ्नो नाउँले नै तिनीहरूले जनतालाई झुक्याइसके । वास्तवमा यिनीहरू मध्ये जसले चुनाव जित्छ, उ साँच्चैको सिंह हुन्छ र जसले चुनाव हार्छ, उ स्याल ठहरिन्छ । मानिस बलेको आगो ताप्छन् ! नेता र अभिनेतामा धेरै फरक हुँदैन । फरक के मात्र छ भने, अभिनेताले चाहिँ स्वाङ पारेको थाहा पाई पाई दर्शक उसको दुःखमा रुन्छ र सुखमा हाँस्छ, नेताले चाहिँ स्वाङ पारेको थाहै नपाई जनताले आफ्नो सर्वस्व दिन्छ । ऊ सिंह रहेछ भने पनि पाँच वर्ष सम्म मतदातालाई नै खान खोज्छ; मुसो रहेछ भने, मतदातालाई नाङ्गेझार पारेर छोड्छ; उनीहरूकै बालीनाली मास्छ र उनीहरूलाई नै गणेशजीसँग वर मागिदिएर आफूले पालेको गुड्डी हाँक्छ । धेरैजसो नेताहरू मुसाहरूलाई तीर्थ गर्न लैजाने ‘साधु बिराला’ हुन्छन् ।

बिचरा बुधसिंह र दर्शनसिंह को हुन् र कस्ता छन् भन्ने केही थाहा नपाई म गाली गरिरहेकै छु । कसैलाई गाली गर्नुपर्‍यो भने पनि, प्रशंसा गर्नुपर्‍यो भने पनि, त्यसको केही आँतभेउ पाउनु पर्दैन । हरेक पार्टीका नेता र कार्यकर्ताले अर्को पार्टीका मरी सकेका नेतालाई र बाटामा भेटिने कार्यकर्तालाई मात्रै गाली नगरेर जन्मिन बाँकी रहेका कार्यकर्तालाई समेत गाली गर्न जानेका हुन्छन् । हुन त म कुनै पार्टीको सदस्य नभएकोले बुधसिंह र दर्शनसिंह मेरा विपक्षी पार्टीका पर्दैनन् र मैले तिनीहरूलाई गाली नगरी नहुने केही कारण हैन, तापनि मान्छे अर्काको प्रशंसामा कन्जुसी गर्छ र गाली गर्न पाए मुख मिठ्याएर तम्सिन्छ । सके, त्यसैले होला बिचराहरूलाई म लुरे मास्टर पनि मुसो खेलाए जस्तो खेलाइरहेको छु ।

अब त मोहनराज शर्माका पात्रहरू लेखकसँग पौँठेजोरी खेल्न आए झैंँ उनीहरूको भाषण मैले ढिलो पारी दिएकाले उनीहरm मसँग नै दागा धर्न आउलान् जस्ता जस्तो भइसक्न लाग्यो । म चाहिँ नेताको भाषण सुन्न पर्खेको विशाल जन समूहलाई उद्घोषकको झर्को लाग्दो भाषणले अल्मल्याए भैmँ अलमल्याई रहेको छु । माफ गर्नुहोस् है, निबन्धकार यस्तै हुन्छ क्यार !

बुधसिंह र दर्शनसिंह पञ्जाबको अमृत्सरमा एउटै चुनाव क्षेत्रका प्रतिद्वन्द्वी लोकप्रिय उम्मेदवार थिए अरे । उनीहरू आफ्ना मतदाता थोरै भए पनि विपक्षीलाई छिर्के लाएर चुनाव जित्ने शकुनि दाउमा एकदम खप्पिस थिए अरे । कोही कम थिएन अरे । यसरी चुनाव जित्ने राजनीतिक आडमा बेजोड भए पनि उनीहरूलाई भाषण गर्नँ चाहिँ आउँदैनथ्यो अरे, तर राजनीतिक पार्टीहरू पनि कहाँ कम हुन्छन् र! झुक्किएर गोली लागेको मान्छेलाई पनि हत्त र पत्त आफ्नो पार्टीको झन्डा ओडाई दिएर शहीद हुने व्यक्ति जन्मजात हाम्रो पार्टीका कार्यकत थिए’ भन्न जान्ने राजनीतिक पार्टीहरू चुनाव जित्ने बलियो जग भएका बुधसिंह र दर्शनसिंहलाई आफ्नो पार्टीको जटायु जत्तिकै त्यागी कार्यकर्ता हुन् भन्ने घोषणा गरेर उम्मेदवारी टिकट दिन किन पछि पर्थे ! यसरी बुधसिंह र दर्शनसिंह एउटै चुनाव क्षेत्रका सशक्त प्रतिद्वन्द्वी उम्मेदवार भएका थिए । को भन्दा को कम ?

उम्मेदवारले एउटा भाषण त दिनु नै पर्ने भयो । दुवै पक्षका कार्यकताले आआफ्ना उम्मेदवारलाई उचाले- भाषण गर्न आउँदैन भने पनि मञ्चमा उभिएर केही न केही त बोली दिनै पर्‍यो । आखिर उम्मेदवारले बोलिसक्नै नपाई ताली बजाउने कार्यकर्ताहरूको पार्टीमा कमी थिएन, जो आफ्नो उम्मेदवारले जे बोले पनि सगर थर्किने गरी ताली बजाउन तम्तयार थिए । केही सिप नलागेर आफ्नो पार्टीको प्रतिनिधित्व गर्दै बुधसिंह भाषण गर्न उभियो-

‘भाइयों और बहनों,
मैं भाषण करना नहीं जानता
भाषण तो करते थे जवाहरलाल नेहरू
जिनके कोट में एक गुलाबका फूल रहता था ।
गुलाब से गुलकन्द बनता है
गुलकन्द कब्जियतका दबा है
कब्जियत सब रोगों का जड है
जड खरबुजेका अच्छा होता है
खरबुजा खरबुजेको देखकर
रङ्ग बदलता है
रङ्ग जर्मनी का पक्का होता है
जर्मनी में एक बादशाह था
जिसका नाम था हिटलर
उस ने बहुत से वार करवाये थे
जैसे- रविवार, सोमवार, मङ्गलवार, बुधवार
बुधवार को याद रखिये और
बुधसिंह को भोट दीजिये ।’

साँच्चै नै बुधसिंहले बेजोड भाषण गर्‍यो । उसका कार्यकर्ताहरूले उसको भाषण सुनेर एकदम रमाउँदै ताली ठोके ।

अब त अर्को पार्टीको पनि इज्जतको प्रश्न आयो । विपक्षी उम्मेदवारको भाषण सुन्ने जनताले मुखभरी जिब्रो भएको उम्मेदवारलाई भोट हालेर जिताउने थिएनन् । भोट भन्ने कुरो खालि आफ्नै पार्टीका ताली बजाउने, झन्डा बोक्ने र नारा लगाउने कार्यकर्ताका भरमा मात्रै जितिँदैन । त्यहाँ कुनै पार्टीको रङ नलागेका सोझासाझा जनतालाई भिड देखाएर हुन्छ कि नौटङ्की गरेर हुन्छ कि ‘लौ अब यसैले जित्ने रहेछ’ भन्ने भ्रम पार्न सक्नु पर्छ, किन भने जनता आफ्नो मत बर्बाद गर्न चाहँदैन । बुधसिंहको भाषण सुनेर दर्शनसिंहको हौसला बढ्यो । उ पनि मञ्चमा उभिएर भाषण गर्न थाल्यो-

‘भाइयों और बहनों,
मैं न तो स्पीकर हूँ,
म कोई लाउड स्पीकर ।
लाउड स्पीकर आयरन का बनता है
आयरन थे सरदार पटेल
सरदार पटेल जब मर गये,
तब उन के कब्र में दो फूल खिले
एक था गुल
और दूसरा था गुलफाम ।
गुलफाम फाैरन चला गया
फाैरन में एक लडाई छिडी
लडाई बहुत भयानक थी
भयानक ? कैसी भयानक ?
जैसा होता है शेर ।
चालीस सेर का एक मन होता है
मन बहुत चञ्चल है
चञ्चल थी मधुबाला की बहन
जिसको दिल का दौरा था ।
दिल एक मन्दिर है
मन्दिर ? कौन सा मन्दिर ?
जैसा है न अमृत्सर का स्वणर्मन्दिर
स्वणर्मन्दिर में दर्शन कीजिये
और दर्शनसिंह को भोट दीजिये ।’

दर्शनसिंहको पनि भाषण सुनेपछि मतदाताहरूले कसलाई जिताउने हुन्, केही भन्न सकिएन । तपाईं भए, कसलाई भोट हाल्नुहुन्थ्यो ? साँचि, यो चुनाव कसले जित्छ होला ?

बुधसिंह र दर्शनसिंहको भाषणको जनताले जस्ता जस्तो मूल्याङ्कन गरेका भए पनि दुई जना मात्रै उम्मेदवार उठेकाले एउटाले जित्यो होला, अर्काले हार्‍यो होला, त्यसमा आफूलाई कुनै चासो छैन । उम्मेदवार पार्टीले राम्रो दिएनन् भने पनि बुधसिंह वा दर्शनसिंह कसै न कसैले चुनाव जिती हाल्छ, मतदाताहरू एउटालाई जिताउन बाध्य भइहाल्छन् ।

पञ्चायत कालमा एक पल्ट मैले अचानक भाषण गर्नुपरेको थियो । भाषण गर्न मन्त्रीहरूलाई बोलाएका रहेछन्; म पनि श्रोता हुन पुगेको थिएँ, तर मन्त्रीहरू के भएर आएनछन् । श्रोताहरू भाषण सुन्न पर्खिरहेका रहेछन् । त्यस्ता बेलामा म पुगेँछु । आयोजकहरूले मैलाई समातेर भाषण गर् कि गर् भने । भाषण के विषयमा गर्नु पर्ने भनेर सोधेको- ‘विश्व शान्तिमा नेपाली युवा शक्ति’ रहेछ । मेरो खलखली पसिना छुट्न थाल्यो । नेपाली युवाहरूले विश्व शान्तिमा कहाँ कस्तो कस्तो टेवा दिए भन्ने कुराको जानकारी अझै पनि मलाई पूरा छैन । त्यस्तो बेलामा मेरो नाउँ बोलाइयो । दुःख-सुख, बुद्ध, सीता र राष्ट्रसङ्घीय शान्ति-सेनाका नेपाली सिपाहीहरूको बखान गरेर म बसेँ । त्यस पछि एक जना पञ्चायती नेताको त्यसै शीर्षकमा भाषण गर्ने पालो आयो । उनको भाषण पनि बुधसिंह र दर्शनसिंहलाई सम्झाउने खालको थियो । उनले भाषण यसरी गरे, ‘विश्व शान्तिमा नेपाली युवाहरूले ठूलो योगदान पुर्‍याएका छन्। श्री ५ महाराजाधिराजका कुशल नेतृत्वमा नेपाली युवाहरूले त्यस्तै प्रेरणा लिनुपर्छ । राजा भनेको पानी हो । जसरी धनी र गरिबको अरू खान्कीमा फरक परे पनि, पानी सबैले एउटै खान्छन्, त्यसरी नै अरू सबै कुरामा विवाद भए पनि राजा सबैका साझा हुन् । नेपालमा राजा नभई हुँदैन । राजा नभई नहुने हुनाले नै भारतमा राष्ट्रपति राख्नुपरेको हो ……।’

मलाई लाग्छ बुधसिंह र दर्शनसिंह हरेक निबन्धकारका आदर्श हुन्, किन भने मेरा निबन्धहरू पनि आज बल गरेर म उनीहरूको भाषण जस्तो बनाउने प्रयास गरिरहेको छु । सँस्कृतको अन्ताक्षरी श्लोक-प्रतियोगिता जस्तो बुधसिंह र दर्शनसिंहको भाषणमा विषयको बुनोट माकुराको हलुका जालो जस्तो छ । संस्कृतमा प्रतिभाको परिभाषा पनि ‘छिन छिनमा नयाँ नयाँ विचार आइरहनु’ भए जस्तो लाग्छ । यो मनोवैज्ञानिक विधि स्वतन्त्र साहचर्य (फ्री असोसिएसन) अर्थात्, मन जता जसरी बरालिन्छ त्यसलाई त्यसरी नै बेलगाम छोडिदिने विधि हो । मलाई मेरा निबन्धमा बुधसिंह र दर्शनसिंहको भाषण दिन मन लाग्छ । रोज्नु, नरोज्नु त मतदाता पाठकहरूकै हातमा छ ।

०००
‘गरिमा’ २०४९. ११७ : ३५-३६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
लाल-बुझक्कड

लाल-बुझक्कड

डा. माधवप्रसाद पोखरेल
राष्ट्रिय महायज्ञमा अड्को र निम्सरो फड्को

राष्ट्रिय महायज्ञमा अड्को र...

डा. माधवप्रसाद पोखरेल
पिँडालीमा हास्यरस

पिँडालीमा हास्यरस

डा. माधवप्रसाद पोखरेल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x