साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालीमा हास्यरस

‘केशवराज गोतीको मेनिफेस्टो’ को शैलीगत संरचनाको विश्लेषण गरेर उनी कसरी हास्यरसको मूल फुटाउँछन् अथवा हास्यरसको मूल फटाउन पिँडालीले कस्तो शिल्प प्रयोग गर्छन् भन्ने कुराको निष्कर्षमा पुगिएको छ

Nepal Telecom ad

१. परिचय
केशवराज पिँडालीले हात हालेका विधाहरू उपन्यास, कथा र निबन्ध भए पनि मूलतः उनी हास्य निबन्धकै लागि सर्वाधिक प्रधान छन् । हास्यका फाँटमा नेपाली साहित्यमा पिँडालीको मूर्धन्य स्थान छ । यस लेखमा पिँडालीको एउटा निबन्ध ‘केशवराज गोतीको मेनिफेस्टो’ को शैलीगत संरचनाको विश्लेषण गरेर उनी कसरी हास्यरसको मूल फुटाउँछन् अथवा हास्यरसको मूल फटाउन पिँडालीले कस्तो शिल्प प्रयोग गर्छन् भन्ने कुराको निष्कर्षमा पुगिएको छ ।

२.हास्यव्यङ्ग्य
नेपाली परम्परामा हाँस उठाउनेलाई हास्य र छेडपेच सेप–घोचलाई चाहिँ व्यङ्ग्य भन्ने चलन छ । नेपालीमा चलेका हास्यास्पद र घोचपेच भन्ने दुईवटै अर्थ संस्कृतको हास्य शब्दबाटै निस्कन्छ । संस्कृतमा व्यङ्ग्य शब्दको सेप–शेच भन्ने अर्थ छैन । त्यसको प्रमाणका लागि आप्टे (१९६९ ई.) को शब्दकोशमा हास्य र व्यङ्ग्य शब्दको अर्थ हेरौँ–
१. हास्य (वि.) (हस्+ण्यत्) हंसने के योग्य, हास्यास्पद (रघुवंश २।४३) ।
हास्यम् १. हंसी (याज्ञवल्क्य स्मृति १।८४) २. खुशी, मनोरञ्जन, क्रीडा (मनुस्मृति ९।२२७) ३. मजाक, मखात । ४. व्यङ्ग्य, दिल्लगी, ठट्ठा । हास्य : काव्य मे वर्णित हास्यरस ।

२. व्यङ्ग्य (वि.) (वि+अञ्ज्+ण्यत्) १. व्यञ्जनाशक्तिद्वारा ध्वनित, परोक्ष सङ्केतद्वारा सूचित, २. ध्वनित (उपलक्षित अर्थ, व्यङ्ग्योक्ति, परोक्ष सङ्केत) (वि.प. वाच्य ‘मूख्यार्थ’ और लक्ष्य (गौण या सङ्केतित अर्थ) हाँसो र सेप– घोच हुने दुवै अर्थ हास्य शब्दबाटै निस्कने भएकाले प्रस्तुत लेखमा हास्य शब्द मात्र राखिएको छ । संस्कृतमा व्यङ्ग्य वा व्यञ्जना शक्ति अत्यन्त विशाल छ । व्यञ्जना शक्तिबाट कहिलकाहिँ घोचपेच निस्कन सक्छ, तर व्यङ्ग्य भनेको नै घोचपेच चाहिँ हुँदै होइन ।

३. हास्यरस
कुनै नाटक हेर्दा वा साहित्यिक कृति पढ्दा दर्शक वा पाठकका मनमा आउने स्वादलाई संस्कृत साहित्यमा रस भन्दछन् । यसकारण रस एउटा मनोवैज्ञानिक स्थिति हो । हास्य (हाँसो र घोचपेच) पनि एक प्रकारको स्वाद भएकाले संस्कृतमा यसलाई नौमध्ये एक रस मानिन्छ । यस लेखमा हास्यरसका मूल फटाउने पिँडालीको कौशलको चर्चा गरिएको हुनाले नै हास्यरस शब्दको प्रयोग गरिएको हो ।

४. भाषिक विचलन
क) पिँडाली हास्य उत्पादन गर्न अनुप्रास जस्तो वर्णतात्विक समानान्तारता (Phonological Parallelism) त्यति प्रयोग गर्दा रहेनछन् । यस लेखमा उनको अनुप्रासप्रयोग एउटा मात्र देखियो ।
“जान्नेमाथि तान्ने भएर आफ्नोे नाम आफैँ राख्न पुगे ।”
ख) पिँडालीमा लैपिक (Graphological) र वाक्यतात्विक (Syntactic) विचलन पनि त्यति पाइँदैन ।
ग) हास्य उत्पादन गर्न पिँडाली मूलतः रूपतात्विक (Morphological) विचलन गर्दा रहेछन् । त्यसका साथै अर्थतात्विक विचलन (Semantic Deviation) पनि पिँडालीले प्रयोग गरेको पाइन्छ ।

५. पिँडालीको हास्यशिल्प
हाँस उठाउने वा पेच पार्ने विभिन्न विधिहरू पाश्चात्य साहित्यमा बेग्लाबेग्लै नामले चलेका छन् । ती विधिको परिचय दिँदै पिँडालीमा तिनको प्रयोग कस्तो छ, त्यो विश्लेषण गर्नु आवश्यक छ ।
क) व्याजोक्ति (Irony)— आफू मूर्ख वा स्वाँठ भएको देखाउँदै वास्तविकतालाई बङ्ग्याएर वाच्यार्थ भन्दा बेग्लै किसिमको अर्थ निकाल्ने प्रयोजनको शिल्पलाई पाश्चात्य साहित्यमा ‘आयरोनी’ भनिन्छ । केशवराज पिँडाली यसरी ‘आयरोनी’ को प्रयोग गरेर हसाउँछन् :
— अब अन्तमा आएर यो (मेरो) मतिभ्रष्ट भएको किन नि !
— आफू त अझै पनि धुपौरेको धुपौरे नै ।
— (बल्ल) मेरा ज्ञान चक्षु (खुले) ।
— दोष कसलाई दिऊँ ? उल्लू खालका काम गरी भाग्य बिगार्नमा म आफैँ कम कहाँ छु र नि !
— बाबुले कत्ति नै ठूलो मान्छे बनाउँला भनेर जुराईवरी नाम राखेका थिए ।
— जान्नेमाथि तान्ने भएर आफ्नोे नाम आफैँ राख्न पुगो ।
— अलच्छिन्को मूलजरो नै यही नाम पो भइरहेको रहेछ ।
— बुद्धिभ्रष्ट भई यो पिँडाली उपनाम काखी च्यापिदिएको हुँदा घरको न घाटको हुन गएँ ।
— लाग्यो, किन यो ‘पिँडाली’ उपनाम राख्न पुगोछु र कोक्याउने साहित्यको सिर्जना गर्न थालोछु । साहित्यको सत्यं शिवं सुन्दरम्को स्तरबाट तल ओर्लन पुगी यसरी आलु, भण्टा र पिँडालुसँग दाँजिन थालेको देख्ता मनमा ठूलो ग्लानि भयो ।
— मारेन, एउटा विशुद्ध बाहुनचरो त पाजी उपनामले गर्दा मुसलमान पो बन्न पुगिरहेको ! चौटा खाउँला भनेको त झन झोलमा पो डुब्न पुगिरहेको ।
— खुब नाम कमाउँला भनेको त झन पो पिँडारी ठगहरूको सन्तान हुन थालियो ।
— मनमा सारै विरह छुट्यो र रन्थनिएर आधारातमा डेराबाट बाहिर निस्की त्यसै भौँतारिन थालको त आर्यघाट पो पुगोछु । सिँढीमा घोत्लिएर बसँेछु ।
— पीडित त म पनि हुँ प्रभु, तर यो पत्नीपीडित प्राणी कस्तो हुन्छ, म भुच्चडले अलि बुझ्न सकिन ।
— तेरो आचरण राष्ट्रिय भएन ।
ख) विद्रूप (Parody)— कुनै गम्भीर प्रसिद्ध कुरो वा हरफलाई हँसाउने उद्देश्यले नक्कल गर्दै बङ्ग्याएर प्रस्तुत गर्नु ‘प्यारोडी’ हो । पिँडालीमा पनि विद्रूपबाट हँसाउने प्रवृत्ति पाइन्छ, जस्तै :
— उनी (केशवराज गोती) जो बोल्नेछन् सत्य बोल्नेछन् र सत्यको अतिरिक्त असत्य कहिल्यै बोल्ने छैनन् ।
यो आदालतमा अपराधी वा साक्षीले खाने सपथको विद्रूप हो, जसलाई राजनीतिमा पस्ने बेलामा केशवराज गोती आफ्नोे घोषणापत्रमा लेख्छ ।
ग) उपहास वा खिल्ली (Caricature)— कसैका टडकारो स्वभावलाई बढाइचढाई बङ्ग्याएर प्रस्तुत गर्नु उपहास हो । पिँडालीले नेपालमा राजनीति गर्नेहरूको खिल्ली उडाउन उनीहरूका घोषणपत्रको निम्नानुसार उपहास गरेका छन् :
–राजनीतिमा (आफू लाग्नुको मूल उद्देश्य पैसा कमाउनु, मोटर चढ्नु, खुब ऐशआराम गर्नु र जनतालाई खुख अर्तिउपदेश दिनु हुनेछ । रक्षाको काम पशुपतिनाथले नै गरेको हुनाले गोतीले यस विषयमा कपाल दुखाउने छैन । …शासन गर्ने एउटै कार्यक्रम पनि छैन… अब गोतीका साला, मामा, भाइ, भतिजा, भाञ्जा, इष्टमित्र, चिनाजानी जो जति छन् सब आउनु र कस–कसलाई कोटा, पर्मिट, ठेक्का, जागिर, जङ्गल, डलर चाहिने हो अघिबाटै लेखाउनु सबैमा गोतीज्यूको हिस्सा अवश्य रहनेछ ।
घ) व्याजस्तुति (Sarcasm)— झलक्क सुन्दा प्रशंसा गरे जस्तो तर वास्तवमा आलोचना गर्ने वाक्यलाई व्याजस्तुतिको निम्नानुसार प्रयोग गरेर हास्य उत्पादन गरेका छन् :
— गम्भीर भएर लेख्तैछु ।
— म अब साहित्यिक क्षेत्रमा छैन, राजनीतिमा कुदिससकेँ ।

माथिल्लोमा गम्भीर नभएको कुरालाई ‘गम्भीर’ भनिएको छ भने तल्लोमा साहित्यिक फाँटमै भएको मान्छेले साहित्यिक क्षेत्रमा कुदेको जानकारी दिँदा व्याजोक्ति छ भने राजनीतिको व्यारस्तुति पनि छ ।
ङ) सोप–घोच (Satire) — यसलाई नेपालीमा प्रचलित व्यङ्ग्य भन्न सकिन्छ । कसैलाई आक्रमण गर्ने हतियारका रूपमा प्रयोग गरिएको हास्य यस अन्तर्गत पर्छ । पिँडालीले यसको प्रयोग निम्नानुसार गरेका छन् :
— अब म के गरूँ त ? मलाई बस्ने बङ्गला, अन्न आउने खेत, चढ्ने गाडी, बियर खाने फ्रिज आदि सबै चाहिएको छ । यो सब छिटै कसरी हुन्छ ?
— हुन्छ ठिटा हुन्छ । अब तँ बिच्छुकी पिँडाली भन्ने उपनाम छोड्, साहित्यिक क्षेत्र छोड् र पूर्णतः राजनीतिमा लाग् ।
— पशुपतिनाथले राजनीतिमा लागेर मान्छे बनेका मान्छेको नामावली दिनुभयो । नभन्दै, देशमा यस्ता मान्छेको सङ्ख्या निकै नै पो रहेछ ।
— तँ यो तथ्यलाई गाँठो पारेर राख् यो युग राजनीतिक छ । तर तँ स्वाँठ यसमा नलागेर थोत्रो साहित्यतर्फ लागिछस् । यो कहिल्यै नबिर्सी लक्ष्मी सत्य तथा द्वापरमा कृषिमा बसेकी थिइन्, त्रेतामा व्यापारमा बसिन्, अब यस कलियुगमा राजनीतिमा बसेकी छिन् ।

त्यस्तै भारतीय इतिहासवेत्ताको पिडालीको इतिहास सम्बन्धी ज्ञान पनि छेड हान्न नै लेखिएको देखिन्छ । तर मूलतः यो लेख नेपालमा राजनीतिमा लागेका मान्छेहरूले शक्ति र साधनको दुरूपयोग गरेर छिटो कुर्सी, धन, सुविधा र सम्मान कमाउँछन् त्यसको विपरीत साहित्यकारहरू ऋद्धिसिद्धि केही नकमाएर लामो सेवा गरे पनि त्यसै यथोचित सम्मान र सुविधाविनै मिल्किएका हुन्छन् भन्ने कुरो देखाउँदै ती राजनीतिक उत्ताउलाहरूलाई यहाँ छेड हानिएको छ ।

च) विनोद (Humour) — चार्ली च्याप्लिन र ‘मेरा नाम जोक्कर’मा’ जस्तो यस प्रका्को हाँसो दर्शकलाई मनोरत्तजक हुन्छ तर प्रस्तुत पात्र वा वक्तालाई मर्मभेदी हुन्छ । वास्तवमा यस भन्दा अघिल्लो अनुच्छेदमा व्यक्त गरिएको कुरो केशवराज पिँडाली जस्ता साहित्यका दीर्घसेवीहरूको मार्मिक समस्या हो । त्यसैले प्रस्तुत निबन्धमा पूर्णतः ‘ह्युमर’ पाइन्छ । तर एउटा उदाहरण लिऔँ :
— यसैले गर्दा न त राजकीय प्रज्ञा प्रतिष्ठानको बाटो पहिलिन सक्यो न मेरा रचनाहरू अनुदित भएर विदेश पुग्ने खालका नै भए ।
छ) विरोधाभाष (Paradox) — पहिलो झल्कामा अड्बाङ्गे जस्तो लाग्ने तर गहिराईमा साँचो लाग्ने कथन यस अन्तर्गत पर्छ । यस्ता उदाहरण पिँडालीले पनि हास्यरस उत्पादन गर्न प्रयोग गरेका छन् ।
— साहित्यिक पाठक सामु राजनैतिक घोषणापत्र लिएर उपस्थित हुनु ।
— मशानघाटमा ज्ञानचक्षु खुल्नु ।
— बल्ल बुझियो ज्ञानचक्षु खेलेबाट नै केही साहित्यकारहरू मन्त्री हुन पुगेका रहेछन् ।
— आफ्नो नाम बाबुले राख्नु पर्नेमा आफैँ राख्नु ।
— इतिहासकारको पिँडालीसम्बन्धी ज्ञान ।
— उपनाम राखेर साहित्यको सेवा गरौँला ।
— (पशुपतिनाथलाई) तपाईं रक्षक होइन प्रभो ? उसोभए यो पक्षपात किन त प्रभु ? यसरी कोही लाखा कोही पाखा किन ?
— वाग्मतीमा डुबेर मर्ने विचार ।
— धन कमाउन साहित्यकार हुने रहर ।
— तेरो आचरण राष्ट्रिय भएन ।
— “राजनीतिक भन्नासाथ भूल र फरेब भन्ने बुझिन्छ ।”
— शासनमा गएर लागू गर्ने एउटै सूची कार्यक्रम पनि छैन ।
— सबैमा गोतीज्यूको हिस्सा अवश्य रहनेछ ।
— श्री केशवराज गोतीको राजनीतिमा लाग्नुको मूल उद्देश्य पैसा कमाउनु, मोटर चढ्नु, खूब ऐश र आराम गर्नु र जनतालाई खूब अर्ती र उपदेश दिनु हुनेछ ।
(ज) वैषम्य (Contrast)— यो परस्पर विरोधी शब्द वा बिम्वहरू खास प्रभावका लागि सँगसँगै राख्ने विधि हो । पिँडालीले यो विधि पनि हास्यरसको निष्पत्तिका लागि प्रयोग गरेका छन् । जस्तै–
— होइन पिँडालीजी तपाईं पिँडालु कि पिँडाली ?
— जोगीजी, तपाईं पशुपतिनाथ हो ?
— केको पुण्यात्मा प्रभू !
— यस बिच्छुकी उपनामले जुन उपद्रो मच्चायो त्यो अकथनीय छ ।
— नमरी नर्क कसैले देख्दैन ।
झ) प्रतिभा (Wit) हास्यास्पद र विलक्षण बिम्व वा परिस्थिति सिर्जना गर्ने क्षमतालाई ‘विट्’ भनिन्छ । त्यो प्रतिभा पाठकले अड्कलै गर्न नसक्ने गरी पिँडाली पनि हास्यरसको निष्पत्तिका लागि प्रयोग गर्छन्, जस्तै–
— यता पार्वतीको प्रेरणाबाट देशमा महिलाहरू पनि बडो सक्रिय भएर उठेका छन््, नारीहरूले घरघरमा क्रान्ति छेडेका छन् । हिजो तै एकजना लुम्रे–झुम्रे र मरणच्याँसेलाई राती स्वास्नीले घरबाट चुटेर निकालिदिइछ । बिचरा यतै बाग्मतीमा डुबेर मर्ने विचारले आर्यघाटमा आएको थियो । नाम पीडित बताउँथ्यो ।
— पशुपतिनाथसँगको भेट ।
शब्दहरूको गुरुचाण्डाली विन्यास गरेर पनि पिँडाली पाठकलाई हँसाउँछन् जहाँ साधारण विषयलाई गम्भीर शब्द र गम्भीर विषयलाई साधारण शब्दको पनि प्रयोग गर्छन् भने संस्कृत र ठेट शब्द अड्बङ्गे पारेर पनि मिलाउँछन्, जस्तै–
— मा ‘केको’ र ‘प्रभु’ (२७) मा मसानबाट र ‘ज्ञानचक्षु’ (४१) मा ‘जोगी’ र जी’ । यो पनि वैषम्य र विरोधाभासअन्तर्गत पर्न सक्छ ।
ञ) ठेट शब्द उखान–टुक्का र लोकोक्तिको अप्रत्यासित रूपमा प्रयोग गरेर पनि पिँडाली हास्यरसको उत्पादन गर्छन्, अथवा हास्यास्पद (Comic) परिस्थितिको सिर्जना गर्छन्, जस्तै–
— किन म सधैं झ्यालटुङे रहेँ ? साहित्य–सेवामा जीवन खपाइसकेँ तर पनि अझै किन झिँगा मात्र धपाइरहनु परेको ?
— कुरा सुनेर एकछिन् त म ‘आँ’ मुख बाएको बायै भएँ ।
— जीवनभर टुप्पीदेखिन पैतालासम्म पसिना बगाउँदा केही भएन ।
— त्यसको शरीरमा हत्तो–हरन केही छैन ।
— हो ठिटा ।
— म जुर्मुराएर उठेँ ।
— आँखा पुलुक्क हेरेको त एउटा धुस्रे र फुस्रे जोगी ठिङ्ग उभिएर..।
— नाममा पनि के त्यस्तो हुन्छ र यो बाह्र–सत्ताइस कुरो ।
— मलाई मात्र बौलाहा कुकुरले टोकेको कहाँ छ र !
— “तपाईं कहिलेकाहिँ जो कोक्याउनुहुन्छ ।”

(ट) त्यस्तै शब्दसँग मात्र वा उच्चारणसँग मात्र खेलेर पनि पिँडाली हाँस उठाउँछन्, जस्तै—
— पिँडाली, पिँडाली, पिराली, पिँडारी, पिर अली ।
— फेरि मेरो यो पिँडाली उपनामको ‘ड’ कस्तो अक्षर पर्न गएछ भने अङ्ग्रेजी भाषाको सावाँ अक्षरमा यसको अस्तित्वसम्म पनि छैन । ‘डी’ लेख्ने कि ‘आर’ लेख्ने …

६. निष्कर्ष
संस्कृत साहित्यमा हास्यरस मूलतः नाटककै सेरोफेरोमा केन्द्रित पाइन्छ भने पश्चिममा चाहिँ हास्य धेरै विधामा फिँजारिएको छ । यसैले पिँडालीको हास्य पाश्चात्य परिपाटी अन्तर्गत पर्छ ।

सन्दर्भ–सूची
१. केशवराज पिँडाली (२०३९), केशवराज गोतीको मेनिफेस्टो, तारानाथ शर्मा (सं.), २६–३२ ।
२. तारानाथ शर्मा (सं) (२०३९), नेपाली निबन्धका पच्चीस वर्ष, ने.रा.प्र. प्र. ।
३. धीरेन्द्र बर्मा (सं.) (१९८५ ई.) हिन्दी साहित्य कोष, वाराणासीः ज्ञानमण्डल ।
४. वामन, शिवराम आप्टे (१९६९ ई.) संस्कृत हिन्दी कोश, दिल्लीः मोतीलाल बनारसीदास ।
५. विश्वनाथः साहित्यदर्पण (अनु) कोमलनाथ अधिकारी (२०२३) रोयल नेपाल एकेडेमी ।
६. M.H. Abrons (1971). A Glossary of Literary Terms. Macmillan.
७. J. A. Cuddon (1979). A Dictionary of Literary Terms. Penguin.

(फित्काैली डटकममा फागुन १०, २०७० मा प्रकािशत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
लाल-बुझक्कड

लाल-बुझक्कड

डा. माधवप्रसाद पोखरेल
राष्ट्रिय महायज्ञमा अड्को र निम्सरो फड्को

राष्ट्रिय महायज्ञमा अड्को र...

डा. माधवप्रसाद पोखरेल
बुधसिंह र दर्शनसिंहको चुनावी भाषण

बुधसिंह र दर्शनसिंहको चुनावी...

डा. माधवप्रसाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x