सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

मान्छेले आफ्नो स्वार्थपूर्तिका लागि कतिसम्म निच काम गर्छ, कतिसम्म गिर्छ मिश्रितजीले खडा गरेको यस बोकाले खुलस्त बताउँछ । बोको भन्छ, ‘अरु त परै छाडौँ, त्यो दुर्गन्धित दिसा निस्कासन हुँदै गरेको आन्द्रासमेत पखालेर खान्छ मान्छेले ।’

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

काशीनाथ मिश्रितको निस्कन लागेको पुस्तक पढेर केही मन्तव्य दिनुपर्ने आग्रह दाजु नरनाथ लुइँटेलबाट आयो एकदिन । नाम सुनेको तर आजसम्म ‘मुख छोडाछोड’ वा ‘हात हालाहाल’ केही नभएका लेखकको कितावमा केही लेख्नु गाह्रै हुन्छ, शायद अन्याय पनि हुनसक्छ । लेखक र लेखन दुवैथरिलाई मिसाएर लेख्न पो मजा हुन्छ । यस्तो लागेर मैले दाजुलाई इन्कारी जवाफ दिएँ । उहाँले भन्नुभयो, ‘यो व्यङ्ग्य संग्रह हो क्या !’

उहाँले मलाई लोभ देखाउन यसो भन्नुभएको थियो । हास्यव्यङ्ग्यमा केही नयाँ कृति वा नयाँ कृतिकार आउँदैछ भनेपछि स्वतः ध्यान गई नै हाल्छ । म पनि व्यङ्ग्यकार काशीनाथ मिश्रिततिर आकर्षित भइ नै हालेँ । नरनाथ दाइले शुरुमा शुभकामना मन्तव्य भए पुग्छ भन्नुभयो । पछि थप्नुभयो, ‘त्यो शुभकामना मन्तव्यलाई अलिकति लम्ब्याएर भूमिका भूमिका जस्तो पार्नू है ।’ दाजुले भूमिका भूमिका जस्तो केही लेख्ने जिम्मेवारी बोकाएपछि म झन् अलमलिएँ । मैले भूमिका लेख्ने कार्य दाजुबाटै होस् भनेर फेरि ढिप्पी कसेँ । दाजुले आफ्ना केही वाध्यताहरू बताएर भन्नुभयो, ‘उसोभए अरु कसैलाई लेखाउनु पर्ने भयो, दाजुले भनेको यति पनि नमान्नेले मलाई के दाजु भन्नु !’

दाजुले कडा घुर्की लगाएपछि म शान्त भएँ । अन्तमा उहाँले भन्नुभयो मिश्रितजी तपाईँहामीजस्तो चानचुने लेखक होइनन् है, दृष्टिबिहीन लेखक हुन् । आफूले भनेर, अरुलाई लेख्न लगाएर तयार गरेको पुस्तक हो यो । दाइले त्यो भनेपछि म थप उत्साहित भएँ, एउटा विशेष क्षमता भएका लेखकको कृतिमा केही लेख्न पाउनु एउटा अवसर नै हो भन्ने लाग्यो र मैले दाजुलाई भने, लु पठाइदिनोस् बोकाको मन

दाजुले बोकाको मन मेलमा हालेर पठाइदिनुभयो कम्युटरे भाँडोमा । साथमा बोकाको मनको गहिरो अध्ययन गरेर उसकै भाषामा मनोवाद लेखी पठाउने विशेष क्षमतावान निबन्धकार काशीनाथ मिश्रितको संक्षिप्त परिचय पनि । परिचय पढेपछि अर्को रहस्य थाहा भयो, मिश्रितजी त ज्ञवाली पो रहेछन्, त्यो पनि गुल्मीका । अनि त सक्किगो नि !

मलाई गुल्मीका दुई कुरा धेरै प्रशिद्ध छन् जस्तो लाग्छ । गुल्मेली भोजनालय र गुल्मेली विद्वान् । गुल्मेली भोजनालयका तन्दुरी रोटीमा म धेरै पल्किएको छु । गुल्मेली ज्ञवालीहरूसँग पनि मेरो धेरै लामो र गहिरो सम्वन्ध छ । गुल्मेली ज्ञवालीहरू भनेपछि एउटा अलग्गै छाप बसेको छ यो मनमा । वौद्धिक, पढालु, विद्वान्, शिक्षित, साहित्यिक, प्रखर, चलाख धेरै कुरा । राजधानी पसेका र मेरो सङ्गतमा रहेका गुल्मेलीहरू प्रायः यस्तै फेला परेका छन् । एक गुल्मेली व्यङ्ग्यकार ज्ञाननिष्ठ ज्ञवालीको व्यङ्ग्य निबन्ध सङ्ग्रह लोकतन्त्रको स्वादमा मैले भूमिका लेखेको छु । अर्का गुल्मेली साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई मैले मेरो व्यङ्ग्य सङ्ग्रह लाठिचार्जमा भूमिका लेखाएको छु । आज अर्का गुल्मेली ज्ञवालीको पुस्तकमा मैले ‘भूमिका भूमिका जस्तो’ यो शुभकामना मन्तव्य मार्फत आफ्नो नाम गाँस्न पाएँ, म धन्य भएँ । धन्यवाद नरनाथ लुइँटेल, धन्यवाद काशीनाथ मिश्रित ।

काशीनाथ मिश्रित पेशाले शिक्षक रहेछन् । यिनी मभन्दा नौ वर्षपछि गुल्मीको रुरुमा जन्मेका रहेछन् । मलाई नेपाल राज्यमा सबैभन्दा मन पर्ने ठाउँको नाम रुरु । कसले कसरी राख्यो होला यस्तो सुन्दर नाम, रुरु । नामै सुन्दा जाऊँ जाऊँ लाग्ने । साँच्चै सुन्दर छ होला त्यो ठाउँ ।

त्यस्तो रुरुबाट हुरुरु उडेर आएको बोकाको मन अहिले मेरा अगाडि बडो चिन्तित मुद्रामा उपस्थित छ । म यसलाई ओल्टाइपल्टाइ गर्न थाल्छु । सङ्ग्रहको शीर्ष निबन्ध बोकाको मन मै गएर मेरो पनि मन अडिन्छ । निबन्धमा एक आक्रोशित बोको मिश्रितजीले दिएको वाणी बोलिरहेको छ । म ध्यानमग्न भएर सुनिरहेको छु । बडो कटाक्ष गरिरहेको छ बोकोे हामी स्वघोषित सर्वश्रेष्ठ, विवेकशील र बुद्धिमान भनाउँदा मान्छेहरूमाथि । मान्छेले आफ्नो स्वार्थपूर्तिका लागि कतिसम्म निच काम गर्छ, कतिसम्म गिर्छ मिश्रितजीले खडा गरेको यस बोकाले खुलस्त बताउँछ । बोको भन्छ, ‘अरु त परै छाडौँ, त्यो दुर्गन्धित दिसा निस्कासन हुँदै गरेको आन्द्रासमेत पखालेर खान्छ मान्छेले ।’

बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ । बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेवापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ ।’ यस्ता कैयौँ विडम्बनाहरू एक बोकाले बताएको छ यस निबन्धमा । बोकाले मान्छेलाई कडा चेतावनी पनि दिएको छ । बोको भन्छ, ‘यो पृथ्वीमा शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बलीको बोको म होइन मान्छे नै हुनेछ ।’ हो, वास्तवमा । बोकाको जति बुद्धि र दूरदर्शिता पनि हामी मानिसहरूसँग छैन । हामी बोका देख्यो कि खसी पार्छौँ र बलियो बनाएर काटेर खान्छौँ । प्रकृतिको विनाशले एक दिन मान्छेको विनास अवश्य निम्त्याउनेछ । बोकाको मनले यही भन्छ ।

बोकाको मनको कुरा गरिसकेपछि अरु धेरै कुरा गर्नै पर्दैन । मिश्रितजीका निबन्धहरू बोकाको मन निबन्धकै कोटी वरिपरिका छन् । सङ्ग्रहभित्र चौबीस थान निबन्ध छन् । मनको छाल पोख्न खोज्दा यो पुस्तकको पहिलो निबन्ध हो र योे पुस्तकको भूमिका जस्तै छ । निबन्धकारले केही लेख्न खोज्दाखोज्दै साहित्यका विषयमा गहिरो चिन्तनमनन गरेका छन् । नयाँ पुराना लेखनका बिच तुलना गरेका छन् । आधुनिक भनिने खोक्रा लेखकहरूप्रति असन्तोष व्यक्त गरेका छन् ।

मिश्रितजीको एउटा शक्तिशाली निबन्ध हेर्ने आँखाहरू पनि हो । लेखक स्वयं चर्मचक्षुले देख्न नसक्ने व्यक्ति भएकाले पनि होला हृदय चक्षुले देख्न सक्ने यिनको शक्ति यस निबन्धमा प्रखर रुपमा प्रकट भएको छ । आँखा त केबल हेर्नका लागि हो । गाडीको हेडलाइट र मान्छेको अनुहारमा टाँसिएका आँखा उस्तै हुन् । हेडलाइटले हेर्छ तर देख्नका लागि चालक चाहिन्छ र नै गाडी अगाडि बढ्छ । देख्नलाई मन चाहिन्छ, हृदय चाहिन्छ, बिचार चाहिन्छ, चेतना चाहिन्छ । चेतना छैन भने आँखा जतिसुकै च्यातेर हेरे पनि देखिँदैन । लेखकका यी दार्शनिक र तार्किक बिचारहरू निकै प्रभावशाली छन् ।

हाम्रो समाजका अनेकानेक रुपरंगका भिखारीहरूमाथि गरिएको कटाक्षले भरिएको निबन्ध भिखारी सङ्ग्रहभित्रको अर्को एक उत्कृष्ट र रोचक निबन्ध हो । यो निकै चोटिलो छ । त्यस्तै हतियार व्यवस्थापन कि वेवास्तापन तार्किकताहरूले भरिएको एक स्तरीय र सुन्दर निबन्ध हो । भिटामिन एम अर्थात् मनी अर्थात् पैसाप्रतिको मानिसको आशक्तिलाई मिठो शैलीमा प्रस्तुत गरिएको निबन्ध भिटामिन एम पनि उत्तिकै पठनीय छ । यान्त्रिकतातर्फ उन्मुख मान्छेहरूको जीवनशैलीप्रति निबन्धकारको चर्को विमति छ विश्वास निबन्धमा ।

सबै निबन्धहरू एक से एक छन् । सबैका बारे सम्पूर्ण समालोचना वा समीक्षा गर्ने काम समालोचकहरूको हो । मैले त आफ्नो पाठकीय मत मात्र राख्न खोजेको हुँ । मेरो पाठकीय दृष्टिकोणमा मिश्रितजीका अधिकांश निबन्धहरू व्यङ्ग्यात्मक छन् । कतिपय भने व्यङ्ग्यात्मक शैलीका भन्दा पनि सोझै ढाँचाका पनि छन् । व्यङ्ग्यमा चोरको जयजयकार गर्नुपर्छ, भ्रष्टाचारीको आरती उतार्नुपर्छ । असल मानिसहरूलाई असल भएकोमा खिसिट्यूरी गर्नुपर्छ । आफूले चोर्न, ढाँट्न, ठग्न, लुट्न, दुईनम्बरी गरेर भए पनि धन कमाउन नसकेकोमा आफैंलाई गाली गर्ने वा सराप्ने शिल्पको प्रयोग गरिन्छ व्यङ्ग्य साहित्यमा । मिश्रितजीका कतिपय निबन्ध यही बाङ्गो बाटोमा अघि बढेका छन् भने कतिपय चाहिँ सोझै अघि बढेका छन् ।

व्यङ्ग्य रचनाहरूमा प्रयोग हुने अनेकौँ प्रविधि वा शिल्प मिश्रितले प्रायः आफ्ना निबन्धहरूमा बडो कलात्मक पाराले प्रयोग गरेका छन् । ठाउँठाउँमा अनुप्राशहरूको सुन्दर प्रयोग छ । निबन्धलाई रोचक बनाउन मिश्रितले अनेकौँ कथा, उपकथाहरूलाई ठाउँठाउँमा घुसाएका छन् । पहिलो निबन्धमा काग र उसका बचेराको कथा, टोपी निबन्धमा टुपी काटेका बाहुनले कथेको जुक्तिकथा, त्यही निबन्धमा भानुभक्त र घाँसीको कथा । भिखारीमा जोगी र मुसाको कथा । यी कथाहरूले पाठकलाई निबन्धभित्रै कथाको स्वाद दिन्छन्, आनन्द दिन्छन् ।

नेपाली व्यङ्ग्य निबन्धहरूमा उखानको प्रयोग पनि एउटा मूल विशेषता रहिआएको छ । बोकाको मनमा उखानहरूको पनि पर्याप्त प्रयोग गरेर काशीनाथजीले रचनाहरूलाई पठनीय र आकर्षक बनाएका छन् । ‘माऊभन्दा चल्ला बाठा’, ‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’, ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’, ‘जेठो कान्छो बाबु नानी साइँलो माइलो आनामानी’ आदि धेरै चल्तीका र नौला नेपाली उखानहरूको संकलन पुस्तकमा छ ।

यस संग्रहभित्र कतिपय सुक्ति जस्ता वाक्यहरू छन् । मलाई असाध्यै मन परेका मिश्रितजीका उत्कृष्ट केही नमूना अभिव्यक्तिहरू उल्लेख गर्छु :
-उसको खोपडीले कुन विचार बताउँछ त्यही त्यसको टोपी हो । बाहुनको त लाँगौटी जुठो हो, तीन दिनको लँगौटी लगाएर टोपी काढ्नु पुङ पुरोहित्याँइँ मात्र हो । (टोपी)

-वादहरूमा सबभन्दा खराव बरबाद, सबभन्दा राम्रो धन्यवाद । (कक्टेलवाद)
-सबैभन्दा जेठो र सर्वरोग निरोधक त ‘भिटामिन एम’ नै हो । अहिले ‘भिटामिन ए’ नपाए रतन्धो हुँदैन तर ‘भिटामिन एम’ पाएन भने मानिस दिनान्धो नै हुन्छ । (भिटामिन एम )

व्यङ्ग्य भन्नासाथ हास्य पनि जोडिहाल्ने हामीलाई बानी परेको छ । तर सबै व्यङ्ग्यमा हास्य हुँदैन । मिश्रितजीले व्यङ्ग्य निबन्ध भनेर अगाडिनै ठोकुवा गरिसकेपछि हास्य खोई भनेर कसैले प्रश्न उठाउन पनि मिल्दैन । तर पनि थुप्रै ठाउँमा अनायाशै हास्यका पर्राहरू छुटेका छन् । पढ्दापढ्दै एक्लै पनि खितखित पार्छन् ।

नयाँ शब्द खोज्ने धुनमा निबन्धभित्र भएको यो प्रशङ्ग हेर्नुहोस् :
‘एउटा गोष्ठीमा भाग लिने मौका आयो मलाई र सहभागी भएको त सहजकर्ताले आज थुप्रै नयाँ अनुहारहरू देख्न पाइयो भनेर कुरा शुरु गरे । ती नयाँभित्र म पनि परेँछु । हैन मेरो अनुहार त सैंतिस वर्षअघिदेखि नै देखिन थालेको हो, आज कसरी नयाँ भो ?’

भ्रष्टाचार निबन्धको यो अनुच्छेदले तपाईँलाई नहँसाई छाड्ने छैनः
‘आजकल बाहुनहरूले जनै लगाउन छोडिसके । एकाध टपरेहरूले लगाए बेग्लै कुरा । तिनीहरू पनि कम छन् र ! तीन घण्टामै २८ अध्याय भागवत पाठ गर्न सक्छन् । कति शुद्ध पढ्दा हुन् ? त्यसैले ‘भात पाठ’ भन्न थालेका छन् । ‘भागवत पाठ’ नभनेर । यता भागवतको ‘गव’ झिकेर छिटो भने जस्तो पनि हुने उता भातको लागि गरिने पाठ भन्ने अर्थ पनि लाग्ने ।’

लावर, चन्द्रमा र घाँसी निबन्धमा मिश्रितजी भन्छन्, ‘सजिलै भनिदिन्छन् मान्छेहरू निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेके भनेर । हैन दोस्रो पाइला नटेकी कसरी अडिन सकेका हुन् ?’

मिश्रितले व्यङ्ग्य झटाराहरू हान्नु पर्ने प्रायः सबै क्षेत्रमा हानेका छन् । राजनीतिक, सामाजिक, आर्थिक, भ्रष्टाचार, शैक्षिक लगायत विविध जगतका विकृतिहरूलाई निबन्धहरूले विषय बनाएका छन् । काशीनाथ मिश्रितको पहिलो व्यङ्ग्य कृति भएर पनि यो स्तरीय, शालिन र तिख्खर छ । आगामी दिनमा अझै गतिला र धेरै कृतिहरू आउने नै छन् । हामी सँगै मिलेर नेपाली व्यङ्ग्य साहित्यलाई थप धनी र भरिलो बनाउनेछौँ । बाँकी भेटमा भलाकुसारी गरौँला । भूलचुक लिनेदिने ।

०००
२०७५ जेठ २६
सिस्नुपानी नेपाल, काठमाडौं
काशीनाथ मिश्रितको व्यङ्ग्यसङ्ग्रह ‘बोकाको मन’ (२०७५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा