साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो घर हो

एकपटक एक हुल गुन्डाहरू हातमा खुकुरी र खुंडा बोकेर यो ढोकाबाट पसेर त्यो ढोकाबाट निस्किएर गएको घटनाले उडेको सातो अझै फर्किएको छैन यी यो छोराको, हेर्नुस् न यसको गति, अस्थिपञ्जरमात्रै बाँकी छ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

राजधानीमा एउटा घर बनाउने सपना मेरो पनि थियो, तपाईंको जस्तै । सपनै देखेको हो कि जस्तै गरी त्यो सपनाको एउटा अंश पूरा भयो । घर भएपछि थपिने विभिन्न समस्यामध्ये दशैँतिहारमा छाडेर बाबुआमाको आशीर्वाद लिन जान नपाउनु पनि एउटा रहेछ । यही समस्याले पोहोर साल पनि घर जान पाइएन । यसपालिचाहिँ एकजना आफन्त फेला पारेँ, जो घर नजाने भएका रहेछन् । फकाईफुल्याई गरेर उनलाई मेरो घरमा बस्न राजी गराएँ, दशैँभरिलाई पुग्ने चामल किनेर राखिदिने सर्तमा ।

हिँड्ने अघिल्लो साँझ उनलाई मासुभात खान बोलाएँ र घरको वर्तमान स्थितिका बारेमा बेलिबिस्तार लगाएँ । यसरी-
यो घर नै हो । तपाईंले देखिरहनुभएको छ घरवरिपरि पर्खाल छैन । अड्याउने पर्खाल नभएकाले गेट पनि छैन । झ्यालमा जाली छैन । घरबाहिर एक इन्च जमिन खाली छैन । भर्‍याङमा कुनै छेकबार छैन । हिजोमात्र चोरी भएकाले टेलिफोनको तार पनि छैन । घरवरिपरि जो आइपुग्छ, उसले इच्छा लागेका ठाउँमा पस्न पाउँछ र मन लागुन्जेल बस्न पाउँछ ।

त्यो भर्‍याङमा दिनभरि आवारा केटाहरू केटी जिस्क्याएर बस्छन् । साँझ परेपछि गाँजा, भाङ, धतुरो आदि खाने केटाहरू बसेर झुम्छन् र रातभरि खोलाबाट बालुवा चोर्नेहरू थकाइ मार्ने र चुरोट खाने गर्छन् । मौका पर्दा ठिटाठिटीहरू र मौका नपर्दा ठिटाहरू एक्लै पनि यो भर्‍याङमुन्तिर लुकेर यौनउत्तेजनालाई शान्त पार्ने गर्छन् भन्ने मेरा छिमेकीहरूको आक्षेप छ ।

अगाडिको किराना पसल बिहान छ बजेदेखि राति दश बजेसम्म खुल्छ । पसलअगाडि क्यारेमका चारवटा बोर्ड दिनभरि व्यस्त हुन्छन् । ठूलाठूला स्वरमा थुक्क स्साला, मरिजाओस्, मा… स्स्साला, थुइय्या जस्ता महान् वाणीहरू अटुट रूपमा श्रवण गर्न पाइन्छ । त्यसबाहेक त्यहाँबाट आउने अश्लील गालीगलौजका पदावलीहरू मैले यहाँलाई सुनाउन मिल्दैन । आफैँ सुनेर धन्य हुनुहोला ।

चोरले भाटो छिराएर पटकपटक लुगा तानेको इतिहास छ यो घरको । बाहिर खोलेर आउने कुनै पनि आगन्तुक वा पाहुनाको जुत्ता चप्पल आजसम्म कहिल्यै भेटिएको रेकर्ड छैन । घरमा जो पाहुना आउँछ, उसले नयाँ जुत्ता लगाउन पाउने ग्यारेन्टी छ ।

पानीको उपलब्धताका बारेमा पनि म दुई शब्द बताउन चाहन्छु । ऊ त्यहाँको झाडी पन्छाउनुभयो भने तपाईले त्यहाँ धारो भेट्टाउनुहुनेछ । हाम्रो देशका उद्योगधन्दा, हाम्रो गाउँका स्कुल, प्रहरीचौकी, गाउँविकास समितिका कार्यालयहरूमा जस्तै यो धारोमा पनि पीपलको रूख उम्रिएर हुर्कदै गरेको त यहाँले देखिहाल्नुभो। कृपया, हरेक बिहान मेलम्ची देवीलाई सम्झेर त्यो पीपलको बोटमा मिनरल वाटर चढाउने गर्नुहोला ।

मलाई लाग्छ ती गाउँका पुलिसचौकी, गाविस भवन, र स्कुलहरूले शान्ति फर्किने आशा गरेजस्तै यो धारोले पनि मेलम्ची आउने आशा गरिरहेको होला । लौ न तपाईंलाई थाहा छ, यो देशमा शान्ति र यो धारामा मेलम्चीको पानी कुनै दिन सँगसँगै आउलान् कि दुवै कहिल्यै नआउलान् ? भगवानलाई त थाहा नभाको कुरा बिचरो तपाईंलाई के थाहा होला र । कुरो बुभनु नै भो होला । अचेल बजारमा मनग्गे मिनरल वाटर पाइन्छ । तपाईंलाई पानीको दुःख हुने छैन ।

यहाँले अलि सावधान हुनुपर्ने विषय यहाँ सधैँ चलिरहने गुन्डागर्दी हो । ग्याङफाइट, काटाकाट, मारामार, हुने शहरको प्रमुख क्षेत्रमा पर्छ यो इलाका । एकपटक एक हुल गुन्डाहरू हातमा खुकुरी र खुंडा बोकेर यो ढोकाबाट पसेर त्यो ढोकाबाट निस्किएर गएको घटनाले उडेको सातो अझै फर्किएको छैन यी यो छोराको, हेर्नुस् न यसको गति, अस्थिपञ्जरमात्रै बाँकी छ । उल्टै गुन्डा लुकाएको अभियोगमा मैले तीन दिन, तीन रात पुलिस कस्टडीमा भोगेको कष्ट सुनाएर म तपाईंलाई योभन्दा बढी मनोरञ्जन दिन चाहन्नँ । साँझ पर्नुअघि नै ढोकामा आग्लो ठोकेर बस्नुहोला ।

मैले घरको बारेमा अलि लामो व्याख्या गरेछु, वास्तवमा एकै वाक्यमा यो घर र यो देशको अवस्था उस्तैउस्तै छ है भनेको भए मैले यत्ति लामो कथा सुनाइराख्नै पर्थेन रैछ । जे होस्, आनन्दपूर्वक र निर्धक्कसाथ दसै मनाउनुहोला । श्री दुर्गा भवानीले तपाई र तपाईंका नाबालक छोराछोरीको रक्षा गरून् । जय नेपाल !

०००
काठमाडौं
‘कत्ति धुनु गधाहरूलाई’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x