यो घर हो
एकपटक एक हुल गुन्डाहरू हातमा खुकुरी र खुंडा बोकेर यो ढोकाबाट पसेर त्यो ढोकाबाट निस्किएर गएको घटनाले उडेको सातो अझै फर्किएको छैन यी यो छोराको, हेर्नुस् न यसको गति, अस्थिपञ्जरमात्रै बाँकी छ ।
लक्ष्मण गाम्नागे :
राजधानीमा एउटा घर बनाउने सपना मेरो पनि थियो, तपाईंको जस्तै । सपनै देखेको हो कि जस्तै गरी त्यो सपनाको एउटा अंश पूरा भयो । घर भएपछि थपिने विभिन्न समस्यामध्ये दशैँतिहारमा छाडेर बाबुआमाको आशीर्वाद लिन जान नपाउनु पनि एउटा रहेछ । यही समस्याले पोहोर साल पनि घर जान पाइएन । यसपालिचाहिँ एकजना आफन्त फेला पारेँ, जो घर नजाने भएका रहेछन् । फकाईफुल्याई गरेर उनलाई मेरो घरमा बस्न राजी गराएँ, दशैँभरिलाई पुग्ने चामल किनेर राखिदिने सर्तमा ।
हिँड्ने अघिल्लो साँझ उनलाई मासुभात खान बोलाएँ र घरको वर्तमान स्थितिका बारेमा बेलिबिस्तार लगाएँ । यसरी-
यो घर नै हो । तपाईंले देखिरहनुभएको छ घरवरिपरि पर्खाल छैन । अड्याउने पर्खाल नभएकाले गेट पनि छैन । झ्यालमा जाली छैन । घरबाहिर एक इन्च जमिन खाली छैन । भर्याङमा कुनै छेकबार छैन । हिजोमात्र चोरी भएकाले टेलिफोनको तार पनि छैन । घरवरिपरि जो आइपुग्छ, उसले इच्छा लागेका ठाउँमा पस्न पाउँछ र मन लागुन्जेल बस्न पाउँछ ।
त्यो भर्याङमा दिनभरि आवारा केटाहरू केटी जिस्क्याएर बस्छन् । साँझ परेपछि गाँजा, भाङ, धतुरो आदि खाने केटाहरू बसेर झुम्छन् र रातभरि खोलाबाट बालुवा चोर्नेहरू थकाइ मार्ने र चुरोट खाने गर्छन् । मौका पर्दा ठिटाठिटीहरू र मौका नपर्दा ठिटाहरू एक्लै पनि यो भर्याङमुन्तिर लुकेर यौनउत्तेजनालाई शान्त पार्ने गर्छन् भन्ने मेरा छिमेकीहरूको आक्षेप छ ।
अगाडिको किराना पसल बिहान छ बजेदेखि राति दश बजेसम्म खुल्छ । पसलअगाडि क्यारेमका चारवटा बोर्ड दिनभरि व्यस्त हुन्छन् । ठूलाठूला स्वरमा थुक्क स्साला, मरिजाओस्, मा… स्स्साला, थुइय्या जस्ता महान् वाणीहरू अटुट रूपमा श्रवण गर्न पाइन्छ । त्यसबाहेक त्यहाँबाट आउने अश्लील गालीगलौजका पदावलीहरू मैले यहाँलाई सुनाउन मिल्दैन । आफैँ सुनेर धन्य हुनुहोला ।
चोरले भाटो छिराएर पटकपटक लुगा तानेको इतिहास छ यो घरको । बाहिर खोलेर आउने कुनै पनि आगन्तुक वा पाहुनाको जुत्ता चप्पल आजसम्म कहिल्यै भेटिएको रेकर्ड छैन । घरमा जो पाहुना आउँछ, उसले नयाँ जुत्ता लगाउन पाउने ग्यारेन्टी छ ।
पानीको उपलब्धताका बारेमा पनि म दुई शब्द बताउन चाहन्छु । ऊ त्यहाँको झाडी पन्छाउनुभयो भने तपाईले त्यहाँ धारो भेट्टाउनुहुनेछ । हाम्रो देशका उद्योगधन्दा, हाम्रो गाउँका स्कुल, प्रहरीचौकी, गाउँविकास समितिका कार्यालयहरूमा जस्तै यो धारोमा पनि पीपलको रूख उम्रिएर हुर्कदै गरेको त यहाँले देखिहाल्नुभो। कृपया, हरेक बिहान मेलम्ची देवीलाई सम्झेर त्यो पीपलको बोटमा मिनरल वाटर चढाउने गर्नुहोला ।
मलाई लाग्छ ती गाउँका पुलिसचौकी, गाविस भवन, र स्कुलहरूले शान्ति फर्किने आशा गरेजस्तै यो धारोले पनि मेलम्ची आउने आशा गरिरहेको होला । लौ न तपाईंलाई थाहा छ, यो देशमा शान्ति र यो धारामा मेलम्चीको पानी कुनै दिन सँगसँगै आउलान् कि दुवै कहिल्यै नआउलान् ? भगवानलाई त थाहा नभाको कुरा बिचरो तपाईंलाई के थाहा होला र । कुरो बुभनु नै भो होला । अचेल बजारमा मनग्गे मिनरल वाटर पाइन्छ । तपाईंलाई पानीको दुःख हुने छैन ।
यहाँले अलि सावधान हुनुपर्ने विषय यहाँ सधैँ चलिरहने गुन्डागर्दी हो । ग्याङफाइट, काटाकाट, मारामार, हुने शहरको प्रमुख क्षेत्रमा पर्छ यो इलाका । एकपटक एक हुल गुन्डाहरू हातमा खुकुरी र खुंडा बोकेर यो ढोकाबाट पसेर त्यो ढोकाबाट निस्किएर गएको घटनाले उडेको सातो अझै फर्किएको छैन यी यो छोराको, हेर्नुस् न यसको गति, अस्थिपञ्जरमात्रै बाँकी छ । उल्टै गुन्डा लुकाएको अभियोगमा मैले तीन दिन, तीन रात पुलिस कस्टडीमा भोगेको कष्ट सुनाएर म तपाईंलाई योभन्दा बढी मनोरञ्जन दिन चाहन्नँ । साँझ पर्नुअघि नै ढोकामा आग्लो ठोकेर बस्नुहोला ।
मैले घरको बारेमा अलि लामो व्याख्या गरेछु, वास्तवमा एकै वाक्यमा यो घर र यो देशको अवस्था उस्तैउस्तै छ है भनेको भए मैले यत्ति लामो कथा सुनाइराख्नै पर्थेन रैछ । जे होस्, आनन्दपूर्वक र निर्धक्कसाथ दसै मनाउनुहोला । श्री दुर्गा भवानीले तपाई र तपाईंका नाबालक छोराछोरीको रक्षा गरून् । जय नेपाल !
०००
काठमाडौं
‘कत्ति धुनु गधाहरूलाई’ (२०६६)