भोजराज रेग्मी ‘मुखाले’आइडिया
अरु त अरु, अब फेसबुक नहेर्नु हेरिसकेपछि यसो दुईचार जनाकोमा त लाइक र कमेण्ट गर्दिनै पर्यो तर यसैले बिहान मात्रै हैन, दिन नै खाने भो। ज्यानलाई पर्नु पीर पर्यो ।

भोजराज रेग्मी ‘मुखाले’ :
आफ्नो तन्नेरीकालीन पहिलो कृति “पिखुवाको पसिना” उपन्यासको परिष्कार र सम्पादनको लागि लकडाउनमा पनि चुकुल ठोकेर र घुँडा धसेर लागेका प्रा.डा. निश्चलानन्द गुरुलाई आफ्नी अत्यन्त स्नेही चेली मालतीले एकाबिहान मेसेन्जरमा कल गरिन् । “सधैँ म्याउँम्याउँ गरेर पगाल्छे मोरी । बूढी उसै त शङ्कालु छे, यो फोन उठाएँ भने त महाभारत मच्चिन्छ । भो, उठाउँदिन ।” गुरु छातीमा गाँठो पारेर आफ्नै गोरखधन्दामा लागे । फेरि तीनचार पटकसम्म लगातार घण्टी आइरह्यो । मन थाम्न नसकेर पल्याकपुलुक हेरे, बाहुनी बाथरुम पसेकिरहिछन्, फोन उठाएर बिस्तारै भने- “हेल्लो मैयाँ, सन्चै छौ ?”
उताबाट सलाइबम पड्क्यो- “हन, के हो सर ? लास्टै हराउनु भो त हजुर । अनलाइनमा पनि देखिनु हुन्न, कल पनि उठाउनु हुन्न, अचम्मै भइसक्यो त । मेरो पोष्ट पनि हेरेर कमेण्ट गर्न छोड्नु भो । यसरी माया मार्नु भो भने त पाप लाग्छ है सर !” आगो भएकी रहिछ, अभिवादन पनि गरिनन् छँडुलीले ।
उसको अन्तिम वाक्य झर्नु र मेरी बाहुनी बाथरुमबाट निस्किनु सँगसँगै जस्तो भो । कुरो छल्न मैले हतार हतार फेसबुकका भित्ता चहार्न थालेँ ।
– उसले आफ्नो जन्मोत्सवमा हिजै बिहान एउटा गनगने कविता र आफ्नो नखरे फोटो पोस्ट्याएकी रहिछ ।
ऐलेका जल्दाबल्दा कविका बा ९१ वर्षमा परलोक भएछन् । हिजै गजलदेवी र मुक्तकबहादुरको ३१ औँ वैवाहिक वर्षगाँठ रहेछ । हिजै अलि वरिष्ठ र घनिष्ठ लघुकथाकारहरूको अनलाइन कथावाचन पनि भ्याएछन् । छन्द- धराकी अप्सराको प्रणयगजल वाचन पनि अस्तिकै दिन धुमधामले सम्पन्न भएछ ।
आफ्नी कान्छी सालीको धमाकेदार टिकटक पनि आइवरी बासी भइसकेछ । बाफ्रे ! दुनियाँ कहाँबाट कहाँ पुगिसकेछ, म जहाँको तहीँ ।
टेबुलमा राख्देको कालो चिया सेलाएर कोक भइसकेछ । खाइरहनै परेन ।
अरु त अरु, अब फेसबुक नहेर्नु हेरिसकेपछि यसो दुईचार जनाकोमा त लाइक र कमेण्ट गर्दिनै पर्यो तर यसैले बिहान मात्रै हैन, दिन नै खाने भो। ज्यानलाई पर्नु पीर पर्यो ।
दिन नै खाने भो । ज्यानलाई पर्नु पीर पर्यो । यसो घोरिए । फ्याट्ट आइडिया फुर्यो, हत्त र पत्त आफ्नो वालमा यस्तो लेखेर पोस्ट्याए :
शुभजन्मोत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ।
हार्दिक श्रद्धाञ्जली तथा समवेदना ।
वाह ! वाह !!
आदि इत्यादी ।
०००
पेप्सीकोला, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































