लक्ष्मण गाम्नागेराष्ट्रिय ए’कता ?
राम यता, विभिषण यता मान अलड्कार र विभूषण यता दरबार यता, तरबार यता भ्रष्टशिरोमणिहरूको घरवार यता पुरानो सत्ता यता, नयाँ सत्ता यता दुवै सत्ताको साझा तलब भत्ता यता ।

लक्ष्मण गाम्नागे :
कुर्सी यता, कमिशन यता
मुलूक डूबाउने मिशन यता
अदालत मालपोत र भन्सार यता
जाँडपानी र जूवातासको संसार यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
कलेँटी परेका ओठ चाट्तै
काखीमा छेरपाटे लागेको छोरो च्यापेर कता ?
बडेबडे भुँडीहरू यता, भुँडीहरूको मिटिङ यता
सिटिङ इटिङ एण्ड ड्रिङ्किङ यता
तेरो अनूहार देखिने कार यता
चौरासी व्यञ्जनको खार यता
अमेरिका यता, जापान यता
डलरमा पोक्याएको मिठा पान यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
हनुमान कट्टु हावामा हल्लाउँदै
मट्टितेलको रित्तो ग्यालिन बोकेर कता ?
राम यता, विभिषण यता
मान अलड्कार र विभूषण यता
दरबार यता, तरबार यता
भ्रष्टशिरोमणिहरूको घरवार यता
पुरानो सत्ता यता, नयाँ सत्ता यता
दुवै सत्ताको साझा तलब भत्ता यता
झण्डा यता, डण्डा यता
सुनचाँदीका अण्डा यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
पञ्चरङ्गी जुँगामा ताउ लगाउँदै
सुकेनास लागेकी स्वास्नीको हात समातेर कता ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































