सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे स्वास्नी

उनी जरजर, कर्कश, टिम्मुर जस्तो पर्पर, स्याल जस्तो सुगन्धित पनि । अनि नेपालमा महिला अधिकारवादीले खबरदार गरेका छन् र साँढे भए पनि उनी सुरक्षित छिन् ।

Nepal Telecom ad
शेषराज भट्टराई :

त्यसो त होक्काँ गरेर जोरी खोज्ने गोरुलाई पनि साँढे भनिन्छ । गोरुलाई साँढे भन्दाभन्दै आवेगमा आउँदा महिला पुरुष दुवै लिङ्गलाई साँढे भन्ने चलन पुरानै छ । साह्रै सिँगौरी खेल्ने बाहेकका स्त्रीलिङ्गी प्राणीलाई साँढेमा दर्नु हानिकारक हुनसक्छ । यहाँ महिला अधिकारको हेक्का राख्नुपर्छ पुरुषको नराख्दा पनि हुन्छ । जनगणनामा महिलाको जमात धेरै छ नि त त्यसैले यिनलाई टाउकोमा चढाउनु र टाउकाले ढोग्ने काम पुरुषको । नत्र लगाम र ठेगान लगाई दिन सक्छन् ।

हेपेको खोलाले बगाउन सक्छ । मायाको खानी जननी आँखाको नानी जस्तै प्यारो ठान्छन् दुनियाँलाई । तर पनि अपवादमा केही महिलाले पृथ्वीमा जन्म लिएका हुन्छन् र तीमध्ये भगवानले केहीलाई साँढे स्वभाव दिएका हुन्छन् । मेरो भागमा परेकी परी तीमध्ये एक हुन् । उनको गतिविधि हुङ्कार, डङ्का, सिँगौरी, कुस्ती र मस्तीलाई आँकलन गर्दा दिन दुई गुना रात चौगुना साँढेको आभाष भइरहेको छ ।

हुन त सानैदेखि मेरो उद्देश्य नै साँढे स्वास्नीसँग लगनगाँठो कस्ने घरज्वाइँ बस्ने र अन्त्यमा धर्मगाँठो पारेर छोड्ने थियो । तर मेरो भाग्यमा न लगनगाँठो, न धर्मगाँठो, खाली कर्मगाँठो, मर्मगाँठो, चर्मगाँठो र शर्मगाँठो मात्रै आइलाग्यो । तर स्वास्नी साँढे परेकोमा भने म सन्तुष्ट छु । साँढे स्वास्नी दुर्लभ हुन्छन् । केही नेपाली राजनीतिमा पनि उदाएका छन् । सबैका साँढे हुँदैनन् । कसै कसैका त पानीमरुवा पनि हुन्छन् । पुरुष या मर्दका हकमा पनि यहीँ नियम आकर्षित हुन्छ । साँढे स्वास्नी हुनुभन्दा पानीमरुवा स्वास्नीबाट स्वामीको सक्कल सध्ये रहने कुरामा भने भुक्तभोगीहरू एकमत छन् ।

यो व्यङ्ग्यजीवीले साँढे स्वास्नी व्यहोरेको दुई कोरी पुग्न लाग्दा श्रीमतीको मुख खाली हुन लागिसकेको छ र मेरो आलु जस्तो तालु । दुई चार वटा रौँ र दाँतको के हिसाब भयो र ? तपाईंंले स्वास्नीलाई पिटेर दाँत झारिदिएछ भन्नु होला । त्यसो होइन उनले स्वामीलाई ठिक भूमध्ये रेखामा ल्याउन नङ्ग्रा र दाँतको भरमार प्रयोग गरिन् । अनि दाँतले अतिचार सहन नसकेर टाप कसे । कतिपय दाँत डरले थरथर कामिरहेका छन् र ती पनि अब कुन समयमा सुइँकुच्चा ठोक्ने हुन् भन्ने शङ्का लागिरहेको छ ।

यो कलीमा बिना बीमा साँढे स्वास्नीका बारेमा लेख्नु पनि ज्यान माया मार्नुसरह मानिन्छ । तर पनि अर्काकी स्वास्नीका मामलामा लेखेर ज्यान धरापमा पार्नुभन्दा आफ्नै स्वास्नीका बारेमा लेखेर स्वर्गाभिमुख हुनु धेरै आनन्द । तसर्थ साँढे स्वास्नीका मामलामा म धेरै गन्थन गर्दिनँ । केही दिनचर्यालाई यहाँहरू समक्ष सङ्क्षेपमा आक्षेपरहित तरिकाले कहने दुस्साहस गर्दछु । यसमा लिङ्गभेदको शङ्का नगर्नुहोला । किनकि एकबारको जुनीमा जुनसुकै लिङ्ग पनि साँढे बन्न सक्छ । हिजोसम्म गाई भनेर पुजिएको जन्तु आज एकाएक साँढे बन्न सक्छ । हिजोको सवलाङ्ग आज आँडे बन्न सक्छ, हिजोको बिरालो आज ढाडे बन्न सक्छ ।

साँढेपनमा प्रकट हुने बोली, व्यवहार, लाठी, मुङ्ग्री, मुड्की, पाखुरा, लात्ती, तिघ्रा, झापड, हप्किदप्की, सिँगान, खकार, डकार, चिमोट, निमोठ, धाक, धक्कु, इन्कार, दुत्कार, वहिष्कार, तिरस्कार, हेपाई, असहयोग, लगायत हरेक अवतारमा साँढे स्वभावले शिर उठाउन सक्छ । त्यसैले अरूको कुरा काटेर नामुद नारदमुनि बन्नु भन्दा आफ्नै घर आँगनको अर्ग्यानिक, स्वास्नीको सत्यतथ्य ओकलेर मनमाज्नु स्वास्थ्यका लागि हितकर मानिन्छ । किनकि बुढो हुँदाहुँदै बोकाको बात लागेपछि यस्तै हुन्छ ।

बिहान सखारै उठेर खकारै नफाली दैलो ठेला पोतपातपछि स्वास्नीको भय नहोस् भनेर मूर्तिपूजा गरेको फुर्ति लगाउँछु । साँढे स्वास्नीलाई आँखा तरेर साँढेपनले आज कत्तिको उग्ररूप लिन्छ होला भनेर साइक्लोजी बुझ्ने प्रयास गर्छु । मेरा आँखा साना चिम्से छन् । नेपाली लोक्कल बयार जस्ता भने उनको चाहिँ कासी बयरका दाना जत्रा सप्रिएका ठूला । उनको पूर्ण विस्फारित नेत्रले हेरे मात्रै पनि मेरो मथिङ्गल रन्थनाउँछ ।

म मेरो घरको असली नोकर हुँ । धेरै समय खेतबारीको काममा गोरुसँगै जोतिने गर्छु र साँझ घर फर्किएर पनि भात भान्सा भाँडाकुँडासँग जोतिनु पर्छ । सिदो, पिठो, चना, तामा, सातु जे छ त्यही खाने इरादा राख्छु तर साँढे स्वास्नीले मेरो सातो खाइहाल्छिन् । स्वास्नीका रिसले बरु गोरु पिट्ने गर्छु तर उनको आङमा हात हाल्ने हिम्मतका लागि चाहिँ भगवानले मलाई ठगेकै हुन् । हिँड्ने गोरुलाई मैले पनि सुम्ल्याइ रहेको छु भने उनले मलाई छोड्ने कुरै हुँदैन ।
उनका सोह्र शृङ्गारहरू सत्र ठाउँ चहारेर जुटाउनुपर्छ नत्र आफ्नै टाउको फुटाउनुपर्छ । उनको ज्यान तीन मनभन्दा धेरै छ । म एक मनको मान्छे लडाउन घन नै चाहिँदैन, मज्जाले फुक्ने हो भने अचेत हुने गरी ढल्न सक्छु । उनको आहाराको थाली बोकेर शयनकक्षसम्म पुग्दा पनि ज्यान पसिना र थकाइग्रस्त हुन्छ । उनको भकारो र खकारो फाल्दाफाल्दै मुरली बनिसकेको मेरो सक्कल र अक्कल लोक्कल सबैलाई थाहा छ । उनले मलाई रुवाए पनि समाज हँसाएकोमा म सन्तुष्ट छु ।

आफू निन्द्रामा लट्ठ परियो र उनले दैलो खोलिन् भने छिमेकी घरका तर्सिएर उठ्छन् । गहिरो सपनाहरू भङ्ग हुन्छन् । डाङ्डाङ र डुङ्डुङ सुनेर प्रहरी गुहार्न सक्छन् । आग्लोले दरबाजा फुटाएको बाजा सुनेपछि आफू राजा बनेर भएन उठ्नै पर्‍यो अनि काममा जुट्नै पर्‍यो । जोडी भगवानले मिलाउँछन् भन्छन् तर आफ्नो त राक्षसको देन जस्तो लाग्छ । न उपरखुट्टी लगाएर पिउन पाएको छु न आनन्दले जिउन पाएको छु । क्या फसाद ! कस्तो फसाद !! मेरो भागमा मात्रै हो त यो सस्तो फसाद ?

भात, भान्सा, कुटानी, पिसानी, पेलानी, धोइधाइ, बढारकुँडार यावत लुते धन्दामा जुटेपछि बाहुन चरी खाउन मनपरी अन्यथा डाउन भैहाल्छ । शत्रुलाई कमजोर भएको आभास पनि दिनु हुँदैन । उनी जरजर, कर्कश, टिम्मुर जस्तो पर्पर, स्याल जस्तो सुगन्धित पनि । अनि नेपालमा महिला अधिकारवादीले खबरदार गरेका छन् र साँढे भए पनि उनी सुरक्षित छिन् । अन्यथा कुटानी, पिसानी, पेलानीमा पुरुष पनि के कम । म पनि हिङ नभए पनि हिङ बाँधेको टालो । तर आज किन भइरहेको छ रातो रातो मेरो गालो । कस्ले अँठ्याएको छ मेरो कठालो ?

०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’