सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थाङ्ने चिन्तन

त्यसैले त लाटा, लठेब्रा, लुला, लङ्गडा, हत्यारा, अपराधी, ठग, चोर, डाका, फटाहा बनेर देशको हितार्थ भनेर आफ्नै गोजेरो भर्न आनन्द मान्छन् थाङ्नेहरू ।

Nepal Telecom ad

शेषराज भट्टराई :

थाङ्ने चिन्तनमा रमाउँदा रमाउँदै मलाई थाङ्ने ज्वरो नै आइसक्यो । न बढेर जान्छ न घटेर सकिन्छ थाङ्ने ज्वरोले सताउनु सतायो । जे भए पनि थाङ्ने चिन्तनमा घोत्लिन मन लाग्छ । झुत्रे, झेली, रद्यी काम न काजको कुरो गर्न पाए म भात भान्सा नै बिर्सी दिन्छु । थाङ्ने चिन्तनले झम्म पारेर नसा लागि रहेको बखतमा उहाँले भोजनका निम्ति तेरौँ तारिक धाइसक्नु भयो तर म भने थाङ्ने चिन्तनमा मुन्टो जोतेको छु जोतेछु । उहाँ भने विस्फारित नेत्रका साथ प्रकट हुँदै भन्नु हुन्छ ।

“त्यस्ता जाबा थाङ्ने चिन्तन छोडेर गोजेरो भर्न आउनु ।” गोजेरो होइन पजेरो चढ्न आउनु भने पनि जान्न । यता जानु, त्यता जानु यो गर्नु त्यो गर्नु, कति हो कति अरोटपरोट हुन्छ तर म थाङ्ने चिन्तनबाट डगमगाउदिन । किनकि मलाई थाहा छ घोकन्ती विद्या धावन्ती खेती । छोडपत्र व्यहोर्न तयार छु तर थाङ्ने चिन्तन कसरी छोडुँ ? यो पनि एउटा लतै त हो । माया प्रेम बसेर कोही कसैको पुच्छर समाउनमा आनन्द मान्नु पनि त लतै हो । कसैलाई पैसाको लत हुन्छ कसैलाई बैसको लत हुन्छ । कसैलाई घरको लत हुन्छ कसैलाई थरको लत हुन्छ । कसैलाई बुढाको लत हुन्छ त कसैलाई मुडाको लत हुन्छ । कसैलाई राजनीतिको लत हुन्छ त कसैलाई बाजनीतिको त कसैलाई खाद्यनीतिको । जे होस् प्राणी बिना लत जिएकै हुँदैन पिएकै हुँदैन ।

जब लत बस्छ अनि मन बस्छ र मान्छेले त्यो क्रिया र क्रमलाई छोड्दै नछोडी निरन्तरता दिन्छ । कसैलाई प्रधानमन्त्री बन्ने लत बसेको हुन्छ त कसैलाई प्राध्यापक, डाक्टर, इन्जिनियर, प्लम्बर, वाइरिङ मेन, हरेक काम कुराहरूले निरन्तरता पाउनु नै एक प्रकारको लत हो । चाहे त्यो थाङ्ने रद्यी, चित्थड, जुम्सो थेच्चरो, झेली झुत्रे काम नलाग्ने नै किन नहोस् । यो थाङ्ने चिन्तनले मलाई पनि धेरै नै हानी नोक्सानी पुर्‍याएको छ तर म यसलाई नै सर्वस्व ठान्छु । बेकामे लाग्छ । जजसले जे जे गर्नु भएको छ त्यो नै उहाँको सर्वस्व हो । लत हो । लत बसेपछि मान्छेलाई कुलत पनि ठिकै लाग्छ ।

कहिले बिहानको ३ बजे उठेर घुँडा धसेर लागि पर्‍यो । कहिले दिनको बार बजे त कहिले रातको बार बजे । कहिले दिवाचर कहिले निसचर । यसैमा मुन्टोले टेकेर आफ्नो स्वार्थ सिद्ध गर्न मात्रै लाग्ने अनि उहाँको पिर मर्कामा पटक्कै मुन्टो नफर्का भएपछि नेपाल सरकार र ममा के फरक भयो त ? आफ्ना शरणार्थीको पिर मर्काका विषयमा चिन्तन मनन गर्नु छैन खाली ताइ न तुईका फुइँ लगाएर थाङ्ने कलम चलाएको छ चलाएको छ भन्दै कति पटक त उहाँले मलाई झरिलो अगुल्टोले पनि सम्मान गर्नु भएको छ । अहिले कुकुरभन्दा बढी बिजुली चम्किँदा म तर्सिन्छु । लात्ते भकुण्डोको अगाडि तातो डाडुको झट्टी त मलाई केही झै लाग्दैन ।

बाहिरी थाङ्ने चिन्तनाट बेलैमा घर नआउनेलाई ढोका खुल्दैन भन्दै आकाश मुनिको भुस्याहा कुकुरसँगैको तातो रात पनि एक किसिमको लत बनिसकेको छ भने थाङ्ने चिन्तन गर्नलाई सुख सयल ऐस आराम व्यर्थ लाग्छन् । तपस्या हो तपस्या महलमा हुँदैन । महलमा हुन्थ्यो भने बुद्ध किन घर छोडेर हिँड्थे । तपस्या रुखको टोड्का, मसानघाट, ओडार वा यस्तै सुविधा विहीन निर्जन वस्तीमा हुन्छ र त्यही त्यस्तै सुनसानमा तपस्या उल्किएर आउँछ, मौलाउँछ र मनन योग्य बन्छ । त्यसैले थाङ्ने चिन्तनले मलाई थाङ्नामै सुताइसक्दा पनि मेरो बन्द अक्कल खुल्न सकेको छैन भनेपछि नेपाल सरकारले यसलाई पनि नसामा दर्ता गरोस् र खुलुन सर्वत्र थाङ्ने चिन्तन सुधार केन्द्र । यसलाई प्रतिबन्ध लगाउँदे भनोस् “थाङ्ने चिन्तनमा समय सिनित्त सिध्याउनेलाई जेलमै सिध्याइनेछ ।” यत्रैसिति न रहन्छ बाँस, न बज्छ बाँसुरी ।

थाङ्नामा सुत्ने मात्रै होइन काम न काजको कुरो गर्ने पनि थाङ्नेकै भागीदार हो । हरेक बेकामे तत्त्व नै थाङ्ने । कुनै कुनै माग्ने पनि थाङ्ने हुन्छन् । बोल्न जाने पनि बाटो बिराएपछि थाङ्ने तुलिन्छ । प्रधानमन्त्री राष्ट्रपति नै किन नहोस् जब नकाममा हात हाल्छन् तब थाङ्नेमा दरिन्छन् । थाङ्ना कामै नलाग्ने चाहिँ होइन है । हाम्रा प्यारा लालाबालालाई थाङ्नाले नबेर्ने हो भने हुर्किन र फुर्किन नै गारो पर्छ ।

उत्तर आधुनिक कालको प्रादुर्भाव हुनुभन्दा अगाडि प्रायः सबै मानवहरू थाङ्नामा सुतेर थाङ्नामै हुर्किन्थे । अहिले थाङ्नाको ठाउँ डाइपरले ओगटेर ठालू भएका होलान् । ठूलो हुनु बेकार छ । थाङ्नु पनि कपडा नै हो र डाइपर पनि कपडा नै । दुबैको अस्तित्व कार्यभार समान छ भने कसरी सानो र ठूलो ? हुन त डाइपर कस्तो हुन्छ भनेर तेत्तिकै लगाएर उपरखुट्टी लगाउने कुरो पनि भएन । तर उच्च उमेरले पाकेका बाँच्दाबाच्दा थाकेका बयोबृद्धहरूलाई पनि डाइपर टक्र्याउनु पर्छ भन्नेसम्म सुनेको छु तर डाइपरसँग जम्काभेट चाहिँ भैहालेको छैन । हुन त जे कुरा पनि समयले दिने कुरा हो । डाइनोसर त लोप भएको थियो भने जाबो थाङ्नु किन लोप नहुनु । जेहोस् थाङ्ना लोप भएर डाइपरको उत्पत्ति हुनु पनि चरम विकासको फड्को हो भन्न सरम मान्नु पर्दैन ।

मान्छे जन्मिने वित्तिकै देखि १८ घण्टा थाङ्नामा सुतेर मस्तले निद्रा पुर्‍याएर उठ्छ । उठ्छ फेरि थाङ्नामा नै सुत्छ । जन्मिने वित्तिकैदेखि बोहोनीमा नै थाङ्नो आइलागेर होला मान्छेलाई जिन्दगीभरी थाङ्नाले छोड्दैन । थाङ्नाले छोडे थाङ्ने कुरा गरेर बस्छ । असल र ठूला भनाउँदा जन्तुहरू पनि थाङ्नामै लुटपुटिएको देख्दा मानव जुनी नै थाङ्ने जुनी हो कि भन्ने आभास भइरहेको छ ।

मान्छेको करिब ३ वर्षसम्म थाङ्ने जुनी व्यतित गरेपछि सुरु हुन्छ सुकिलो मुकिलो जुनी । थाङ्नाबाट सुरु भएको जुनी यदि पूर्णायु बाँच्ने सौभाग्य मिल्यो भने थाङ्नासँगै अन्त्य पनि हुन्छ । थाङ्नाबाट मुक्त भएपछि जुरुक्क उठेर फुरुक्क हुँदै नानाभाँती थाङ्ने विषय भोगमा रमाउन थाल्छ अनि सफा सुग्घर, पठनपाठन, वार्ता संवाद, झैझगडा, मेलमिलाप, रिसराग, डाहा इस्र्याको थाङ्ने अभ्यासमा रमाउन थाल्छ । भोक लागे खोसेर, चोरेर, मागेर हरतरहले खान, पिउन, जिउन सिक्छ । निन्द्रा लागे थाङ्नामै लामो सपना देख्न सक्छ । एक अर्कामा नाता कायममुकायम गरेर थाङ्ने अधिकृत बनेर घृत पिउन थाल्छ । थाङ्ने कुरै कुरामा निकट र विकट छुट्याइदिन्छ । एवंक्रमले थाङ्ने खुरुखुरु गुरुको शरण पर्छ र गुरुमै दागा धर्छ ।

जीवन चक्र गुरु र चेलाको फरक हुँदैन । ठूलो भएपछि चेला नै गुरु बन्छन् । थाङ्ने चेला र गुरु थाङ्नाको महासागर पार गरेर आउका हुन्छन् तैपनि एकले अर्कालाई भुसुक्क भुलेर सयौँ मुसा हजम पारेर बिरालो तिर्थ जान्छ भनेझै मुसाको बध गरेको घमण्डमा बिरालो मख्ख । अनि एकले अर्कालाई नटेर्दा नटेर्दै नहेर्दा नहेर्दै डाँडाको घाम जुन भैसक्दा पनि मुसा मारेको धङधङीले छोडेकै हुँदैन र थाढ्नेहरू सोच्छन् “म बाघ तँ बिरालो” ।

थाङ्नाबाट यसो छुटकारा मिल्नासाथ रमाउ र कमाउ जुनी सुरु हुन्छ । उमेरले रमाउ भन्छ भने व्यवहार परिस्थितिले कमाउ भन्छ । नेताको पछि लाग्दा छिटोछिटो पैसाको बिटो समाउन पाइन्छ कि वा ठगठाग चोरचार, फोरफार कसो गर्दा थाङ्ने गोजी भर्न पाइन्छ भनेर उट्पट्याङ चित्थड, रद्यी, थेच्चरो, झेली, झुत्रे, काम न काजको धन्दाको फन्दामा पर्न आतुर हुन्छन् । यस तपोभूमि, बुद्ध भूमीमा नेता नै भई टोपलियो भने चाहिँ थाङ्ने कमाइका लागि ज्यादै उर्बर मानिन्छ । त्यसैले त लाटा, लठेब्रा, लुला, लङ्गडा, हत्यारा, अपराधी, ठग, चोर, डाका, फटाहा बनेर देशको हितार्थ भनेर आफ्नै गोजेरो भर्न आनन्द मान्छन् थाङ्नेहरू ।

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’