देवीप्रसाद घिमिरेक्वालिटी एजुकेसन
कुनै अभिभावकले विद्यालय वातावरण र भौतिक व्यवस्थापनको कुरा उठाए वा पढाइ सम्बन्धी चासो राखे उसका छोराछोरी तुरुन्तै निकाल्ने धम्की दिनोस् । त्यति गर्दा नभए नमस्ते गरेन भनेर उसको बच्चालाई ठटाइदिनोस् सबै आफैँ चुप । त्यसपछि भएन त मालामाल ?

देवीप्रसाद घिमिरे :
आफू कालो अक्षर भैँसी बराबर भए पनि छोरानातिले यो समस्या भोग्नु नपरोस् भनेर बारम्बार चिन्तामा मग्न हर्कबहादुर नाति लिएर हस्पिटल पुगेका रहेछन् । म पनि मेरी मितिनीको छोरीको ब्वाइफ्रेन्ड मोटर साइकलमा चढेर क्वार्टर खाँदै स्याटर हान्दा बाटामै पल्टिएर अस्टावक्र भा’छ रे भनी हेर्न गएको थिएँ । त्यहीँ हाम्रो जम्काभेट भयो । अस्पतालमा असन बजारको भन्दा बढी नै घुँइचो थियो । कोही रुन्थे, कोही चिच्याउँथे । कोही ठिटीतर्फ कटाक्ष गर्दै मुख मिठ्याउँथे । यहाँ सबैका आआफ्नै समस्या थिए । कोही दुब्लाएर मोटो हुने औषधी माग्थे, कोही मोटाएर दुब्लाउने औषधी खोज्थे । कोही छोराछोरी भएनन्, सम्पत्ति कसले खाने भनेर छोराछोरी हुने औषधी खोज्न आएका थिए भने कोही के गर्नु डाक्टर साहेब, उसले मलाई धोका दियो त्यसैले उसको प्रेम मेरो पेटमा पाप बनेर मडारिरहेको छ, लौ न यसलाई कसरी फाल्ने भन्दै छट्पटाएका देखिन्थे ।
कोही छातीको प्रदर्शन, कोही भुँडीको प्रदर्शन, यस्तो भिडभित्रै मौका परे अर्काको गोजीमा खोजी खोजी हात हाल्ने दाउ पर्खिएका पनि त्यतैतिर चहार्थे । यस्तै मस्तीमा गस्ती गर्दै टोलाएका मेरा आँखा हर्कबहादुरको निन्याउरो मुखतिर पर्यो । हामीले नमस्कार साटासाट गरेपछि मैले सोधेँ- ’दाइ ! आफैँ बिमारी कि ?’ बिचरा हर्कबहादुर फिस्स हाँस्दै बोले- ‘होइन नानी ! यो नातिलाई ज्वरो आएछ ।’ मैले थपेँ, ’यो जाडो र गर्मीको दोसाँधमा यस्तै हुन्छ ।’ तर उनले भने, ‘केको हुन्थ्यो ? यो त बोर्डिङको ज्वरो नानी !’ म छक्क परेँ । निक्कै अङ्कल गरेँ के होला यो ! अनि कसरी आएछ ? मलाई खुल्दुली जाग्नु स्वाभाविक थियो। कुरो के परेछ भने बुढाको नातिलाई विद्यालयमा नेपाली बोल्यो भनेर एक जना गुरुआमाले पहिलो दिन १० रुपैयाँ डाँडिछिन्, भोलिपल्ट २० रुपैयाँ ल्याउनु भनेकी रहेछिन् । बिचरा चार पुगेर पाँच मात्र लागेको बालकले त्यो बिर्सनु स्वाभाविक थियो । त्यहीँ निहुँमा पिटिछिन् । एकछिन लगेर ट्वाइलेटमा पनि थुनियो रे ! त्यसपछि यसलाई हनहनी ज्वरो आयो, केही खाँदैन पनि, रातभरि सरी सरी भन्दै रोइरहन्छ । बुढाले गहभरि आँसु पार्दै आफ्नो व्यथा सुनाए, ‘बाबु ! म त चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान झै पो भएँ ।’ त्यसपछि म एकछिन आफैसँग हराएँ आज हाम्रो देशको शिक्षामा भित्रिएको विकृति देखेर ।
शिक्षा भनेको दुईचार अक्षर अङ्ग्रेजी लेख्नु र दुईचार शब्द अङ्ग्रेजी बोल्नु मात्र त होइन नि । वास्तवमा शिक्षा दिने व्यक्तिले संस्कार दिन सकेन भने त्यो शिक्षा गुदीबिनाको फल जस्तो गिदीविहीन केवल स्वरूप मात्र बन्न पुग्छ । आजभोलि सबैले क्वालिटी एजुकेसनको दुहाइ दिए पनि उनीहरू एजुकेसन होइन, फेसनको होडबाजी गरिरहेका छन् । वर्तमान समयमा सबैभन्दा बढी फस्टाएको राजनीति, त्यसपछि बोर्डिङ खेती । हुन पनि जनताभन्दा बढी देवता भएको हाम्रो देशमा तिन करोड जनता तेत्तिस करोड देवताद्वारा संरक्षित छन् । यहाँ अब राजनीतिक पार्टी र बोर्डिङ स्कुल पनि जनसङ्ख्याभन्दा बढी भएनन् भने यो विश्वकै आदर्श प्रजातन्त्रको नमुना राष्ट्रको उन्नति कसरी होला र ?
तपाईं पनि समयमै मालामाल बन्न चाहनुहुन्छ भने पार्टी खोल्नुहोस् ! तपाईं अध्यक्ष, श्रीमती महामन्त्री, छोरो सचिव, बुहारी कोषाध्यक्ष, नाति नातिनी सदस्य, तपाईंको पितालाई वरिष्ठ सल्लाहकार राख्नुहोस् अनि सुरु गर्नोस् भोक हड्ताल ! त्यो पनि नभए सबै छोरालाई हरेक पार्टीको सक्रिय सदस्य बनाउनुहोस् । त्यसपछि त जुन सरकार आए पनि तपाईं मन्त्रीको बाबु पक्का ! त्यसो नभए बोर्डिङ खोल्नुहोस् ! तपाईं संस्थापक डाइरेक्टर, श्रीमती प्रिन्सिपल, ससुरा अध्यक्ष । त्यसपछि मेची तर्नोस्, खुसामत गर्नोस्, त्यहाँ काम नपाएर हल्लिरहेका दुईचार दार्जिलिङ ठिटी ल्याउनोस्, राम्रोसँग विज्ञापन गर्नुहोस् । दिनभरि तिनीहरूलाई यस नो भन्दै मस्किन लगाउनोस्, राति क्याबिन खोल्नोस्, तपाईं तिनैलाई लिएर जानुहोस्, नभए डान्स जानोस्, तपाईंलाई नगदेश्वरीले सधैँ माया गर्ने छिन् । तपाईंको घरमा लक्ष्मीको बास हुने छ । त्यति मात्र नभए जागिर खोज्दा खोज्दा बाउन्न हन्डर र त्रिपन्न ठक्कर खाएर उद्देश्य विहीन भएका नेपाली युवा युवतीलाई मात्र जागिर दिनोस्, पैसा तपाईंले जति दिए पनि हुन्छ। तपाईं उसलाई चार हजार दिने कबोल गरेर मात्र दुई हजार थमाइदिनोस्, ऊ ङिच्च दाँत देखाउँदै तपाईंको सेवा गरिरहन्छ । भरसक पाँच पटकमा एसएलसी पास गरेका अनुभवीलाई मास्टर बनाए झन् राम्रो ।
तपाईं बेला बेला विद्यालयमा भोज भतेरको आयोजना गर्नुस्, त्यसको सम्पूणर् बिल विविध शुल्कमा जोडेर अभिभावकको ढाड सेकाइदिनोस् । समय समयमा विभिन्न पत्र पत्रिकामार्फत ठुल्ठुला अक्षरमा ‘गुणस्तरीय शिक्षा : हाम्रो प्रतिवद्धता’ भनेर प्रचार गर्न चाहिँ नबिर्सनुहोला नि । वास्तविकता र यथार्थ जतासुकै जाओस्, तपाईं बेला बेला जानी नजानी भए पनि अङ्ग्रेजीमा भाषण गर्नुस्, कसैले नबुझेर केही लछारपाटो लाउँदैन । तपाईं मस्की मस्की बोल्न नभुल्नुहोला । तपाईंको आफ्ना देशका राष्ट्रिय चाडपर्व नमनाए पनि हुन्छ तर न्यु इयर, क्रिसमस डे र भ्यालेन टाइन डे चाहिँ मनाउन नबिर्सनुहोला नि । हुन पनि गुरु पूर्णिमा, भानु जयन्ती, सरस्वती पूजा जस्ता पुराना कुराभन्दा भ्यालेन्टाइन डे नै बढी पपुलर होला । तपाईं पुरानो पाखे होइन, आधुनिक बन्नुपर्छ, पूणर् आधुनिक । त्यसैले सरस्वती वन्दनाको सट्टा पपगीत गाउने गर्नुहोस् । मादल र सारङ्गीका थोत्रा धुन होइन, ड्रमसेट र कङ्गो नियमित ठटाउने गर्नुहोस् । त्यसपछि नगदनारायण बररबरर तपाईंको डालोमा बर्सने छन् । तपाईंलाई रातारात मालामाल गर्ने छन् ।
भरसक किताब पनि खोलापारिबाटै मगाउनुहोस् । मूल्यमा १० प्रतिशत भ्याट लगाइदिनोस्, पुस्तकभित्र चाहे गाईका दुवैतिर दाँत हुन्छन्, लेखियोस् चाहे बुद्धले ज्ञान, ध्यान प्राप्त गरेकै ठाउँमा जन्म र मृत्यु पनि भयो भन्ने लेखियोस् ! के पो फरक पर्छ र ? आखिर कसैले अङ्ग्रेजी बुझ्ने होइन ! सामाजिक पढाउँदा हिमालमा गर्मी भएर लु लाग्यो र सबै व्यक्ति मुर्छा परे भने पनि के फरक पर्छ र ? जमाना पैसाको हो, सकेसम्म पैसा कुम्ल्याउन पछि नपर्नुहोस् ।
भरसक कक्षा आठसम्म पढेर छाडेका, गुन्युचोली फ्याँकेर जिन्स प्यान्टभित्र ठाँटिएका, थाइकट कपाल काटेका, आधा नेपाली, आधा अङ्ग्रेजी र आधा हिन्दी बोल्ने खालका उम्मेद्वारलाई शिक्षणको निम्ति पहिलो प्राथमिकता दिनुहोस् । ठाउँको चिन्ता नगर्नुहोस्, तपाईंकै कोठामा पनि दुईचार कक्षा अटिहाल्छन् । तपाईं त्यहीँ एउटा राम्रो बोर्ड राख्नुहोस्, विभिन्न पोस्टरका चित्रबाट राम्रा राम्रा दृश्य निकालेर विज्ञापन गर्नुहोस्, त्यसपछि त तपाईंले बिरालाले बच्चा सारे झै विद्यालय जता जता सारे पनि हुन्छ । अब त तपाईं संस्थापक प्रिन्सिपल भइसक्नुभयो । त्यसैले कम बोल्नोस्, नुहाउन नभ्याए ठसठसी गन्हाउन अनि घाँटीमा दाम्लो भुझुन्ड्याउन चाहिँ नबिर्सनुहोस् है ? कुनै अभिभावकले विद्यालय वातावरण र भौतिक व्यवस्थापनको कुरा उठाए वा पढाइ सम्बन्धी चासो राखे उसका छोराछोरी तुरुन्तै निकाल्ने धम्की दिनोस् । त्यति गर्दा नभए नमस्ते गरेन भनेर उसको बच्चालाई ठटाइदिनोस् सबै आफैँ चुप । त्यसपछि भएन त मालामाल ?
सबै अभिभावक चुपचाप बसे भने महिनैपिच्छे विभिन्न किसिमका शुल्कवृद्धिको बिल पठाइदिनोस्, तिनीहरूलाई नतिरी सुख । भरसक आफन्तले केही लेखेका छन् भने अत्यन्त उपयोगी सन्दर्भ पुस्तक भनेर राख्नुस्, कम्तीमा पनि एक कक्षा पढ्ने बच्चाले १० केजीसम्मको झोला बोक्नै पर्छ नत्र क्वालिटी प्राप्त हुँदैन । यदि त्यो भारीले थिचेर पढ्न सकेन भने तपाईंका सालासालीलाई ट्युसन पढाउन घरै पठाइदिनोस् । त्यसपछि त तपाईंको नगदनारायण जताबाट पनि तपाईंकै खल्तीमा पर्ने छ । सर्वसाधारणले सस्तो, सुलभ र स्तरीय क्वालिटी एजुकेसन पाउने छन् । त्यसपछि तपाईं ‘फादर अफ एजुकेसन’ र तपाईंको विद्यालय ‘सेन्टर अफ क्वालिटी एजुकेसन’ भएपछि भएन त मालामाल ? ढिलो चाहिँ नगरौँ है ।
०००
‘थप्पड’ (२०७३)
Subscribe
Login
0 Comments
Oldest






































