सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म्वाई महात्म्य

तन्तनी तन्काउने तर झिँगा नभन्काउने । जिउ तन्काउने, टाउको रन्काउने र शस्त्र अस्त्र चलाउने अनि बस्त्र लगाउने र डर भगाउने । महाराजी बस्त्रले व्यस्ठित भएपछि बेस्ट कहलिन सकिन्छ ।

Nepal Telecom ad
शेषराज भट्टराई :
कलियुगमा अरु केही महात्म्य नपाएर म्वाई महात्म्य भट्याउने भट्टराई प्रकट भएछ भन्नुहोला । कुरामा कैफियत छैन । कसैका बुताले खाम्न नसकेको महात्म्य भट्टराईले सजिलै भट्याउन सक्छ । भट्याउन पट्याउन पोख्त भएकै कारणले भट्टराई भनिएको हो । त्यसैले आजको यस विषम परिस्थितिमा म्वाईको बाढीले छपक्कै ढाकेको मौकामा म्वाई महात्म्यको चौका हानेर दुनियाँको देह पवित्र बनाउनु आफ्नो कर्तव्य ठानेको छु । कृपया ध्यानपूर्वक पाचन बलियो बनाउँदै वाचन गर्नुहोला ।
असली मायाको बैनाबट्टा नै ठट्टा वा म्वाईबाट हुन्छ । दुवै गालाको च्यापूबाट झ्याप पार्ने थुप्पा भन्दा ठिठो चुप्पालाई म्वाई भनिन्छ । अङ्ग्रेजीमा किस मि भनेको यसैको नाम हो । किस झिसमिस भन्दाभन्दै यसले व्यापक बजार लिएको छ । म्वाई छालामा भन्दा पनि धेरैजसो गालामा खाइन्छ । म्वाई ठिक ठाउँमा परेन भने झापट पनि गालाले नै खानुपर्छ । म्वाई न शाकाहारी न मांशाहारी चमेरो जस्तो न कुकुर न पन्छी भन्ने राय छ मेरो । शाकाहारी भनौं भने गालामा दाँत गाडिन्छ, सारा त्वचा चाटिन्छ । मांशाहारी भनौं भने न मासुको स्वाद न रगत फगत डसाई समय कटाई मात्रै ।
मान्छे चतुर हुन्छ । अरु ठाउँको छाला दरो, जर्जर, कर्कश हुने हुनाले मुलायम थुतुनाको सुरक्षार्थ कोमल, नरम छाला भएको किटाणु रहित पाउडर सहितको गाला नै  समयको रोजाई हो । त्यसो त मिठो लागेपछि सितन पनि चाहिँदैन बुकुल्टै पनि चल्छ ।
नपाउने हन्तकालीले हातखुट्टा, शिर, पुच्छर, कन्चट, नाकको डाँडी, साँप्रा, साल, नाल जता पनि म्वाई खान्छन् भने पुगीसरी धनाढ्यले खाँदाखाँदा वाक्क लागेर होला यसो खाएजस्तो गरेर थन्किन्छन् । अभागी जसको पुर्पुरोमा म्वाई लेखेकै हुँदैन त्यस्ता कर्महाराले शर्म नमानी हेरेर पनि मनलाई शान्त पार्छन् । म्वाई विश्वव्यापी महामारीझैँ एकतमासले फैलिने र फक्रिने क्रम दिन दुई गुना रात चौगुना चलिरहेको छ ।
कसैले म्वाई खाएर टिप्स दिन्छन् त कसैले म्वाई खाएर टाप कस्छन् । यो सुगर फ्रि हो तापनि चिनी जस्तै धेरै हसुर्‍यो भने तितो हुन्छ । जहाँ पायो त्यहाँ, जतिखेर पायो त्यतिखेर खाकोखाकै गर्‍यो भने म्वाई महत्वहीन हुन्छ । त्यसमा पनि मानव मन जिज्ञासु भएर होला आफ्नो भन्दा अर्काको चाख्न लमकझमक गर्छ । जे होस मानव मनकारी हुन्छन् र ऐँचोपैँचो लगाएर आत्मियताको शिखरचुम्न खोज्नु मानवीयताको दायराभित्रै पर्छ । त्यसैले यस्तोभए अपसगुन मान्नु पर्दैन ।
म्वाई महात्म्य भनिसकेपछि मानव जुनीमा महाराजा जस्तो अस्थिर हुनुहुँदैन । धैर्यधारण पनि मानवको गहना हो ।  धैर्यधारण नगरी निणर्य लिँदा भँड्खालोमा पर्न सकिन्छ । म्वाई बाल, वृद्ध, शक्त, अशक्त सबैलाई चल्छ । तथापि तरुनी तन्नेरीले त एकाधिकारको दावी गर्न पनि बेर लगाउँदैनन् है । दाँत थोतेका हकमा पनि यो उत्तिकै ग्राह्य छ । विश्व ब्रह्माण्डमा नै म्वाईको भाषा नबुझ्ने मानव जन्मिएकै छैनन् भनेर ठोकुवा गर्न सकिन्छ । बिना सितन त्यत्तिकै रुच्ने म्वाई खाएर भुँडी उक्सिदैन । न त नखाएर मरिन्छ नै । जसले जसरी पनि खान मिल्ने म्वाई दुनियाँले खान्छन् तर यो खाएर न देशलाई घाटा लाग्छ न मान्छेलाई ।
मानवले चाहेमा मानवको मन सम्बन्धित वस्तुले जितेमा पुलपुलेसा, धारा, पँधेरा, फलफूल, रुख, कुकुर, बिरालो, हात्ती, गैँडा, बाघ, भालु, पिडालु, आलु, घाम, जुन, तारा, खनिज सम्पदादेखि वनस्पति, जलचर, थलचर, उभयचर, कलाकृति, प्रमाणपत्र, उपाधी, मानसम्मान, आफ्नो देश अर्काको देश, आफ्नो छोरो, अर्काको छोरो, आफ्नो बुढो होस् या अर्काकी बुढी, मरेको, जिउँदो, तरल, ठोस हरेक तत्वलाई हाकाहाकी म्वाई दन्काइदिन सक्छ । म्वाई व्यक्तिको स्वभावमा भरपर्ने कुरा हो । कसैले म्वाई खाएको खाएकै गरेर गिनिज बुकमा नाम पनि लेखाएका छन् । कसैले तमासा पनि देखाएका छन् । म्वाईले कसैको घरजम बनेको छ त कसैको घरबार नै बर्बाद पनि बनाउको छ । त्यसैले म्वाई खान जाने अमृत अतृप्त स्वाद नजाने विषवृक्ष पनि बन्न सक्छ । यसलाई पूर्वीय संस्कारमा निको नमाने पनि पश्चिमी संस्कारमा चाहिँ सर्वग्राह्य र सर्वव्यापकको उपाधि नै हत्याउला जस्तो छ । केही कट्टरपन्थीहरुले बर्जित गरेका छन् भने कसैले फुकुवा गर्दै म्वाईलाई आत्मिय, मिठो र अनिवार्य भिटामिनको रूपमा वरण गरेका छन् ।
हरेक कुराहरू रात र दिन जस्तै वैधानिक र अवैधानिक हुन्छन् । म्वाईलाई देहाय बमोजिम वर्गीकरण गर्दा देह अझैँ द्रविभूत बनेर आउँछ ।
१. लुकेर दन्काउने म्वाई
२. हाकाहाकी दन्काउने म्वाई
लुकेर लपलप चाटिन्छ भने त्यसलाई अवैधानिक म्वाई भनिन्छ । बिना अनुमति लोकलाजको शिकार भइने भयले हतार हतार यस्ता म्वाई खाने गरिन्छ । यस्तो म्वाईको रसास्वादन गर्दा पूर्वीय, पश्चिमा चाहे जोसुकै होस् कतिखेर कोद्वारा आपतविपत् पर्छ पत्तै हुँदैन । त्यसैले यस्तो म्वाईको पछि लाग्दा सिङ्गो ज्यानले कल्पनै नगरेको वुहार्तनको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यतिखेर धोती न टोपी भएर टाप कस्नुपर्छ । अन्यथा ज्यान धरापमा पर्न पनि सक्छ ।
हाकाहाकी दन्काउने म्वाई भन्नाले बिना सङ्कोच बिना डर, त्रास, अभयकासाथ च्याप्प समातेर झ्यापकि झ्याप खाने म्वाई हो । यसलाई कानुन सम्मत वा वैधानिक म्वाई पनि भनिन्छ । एकाघरको परिवारमा यस्तो म्वाईको राइँदाइँ चलेको हुन्छ । यसमा सीमित र सीमा कोरिएको हुँदैन । फुर्सद छ भने अहोरात्र म्वाईमा डुब्न सकिन्छ । दुनियाँको नजरमा यसप्रकारको म्वाईले ताली र स्याबासीको सामना गर्नुपर्ने हुन्छ ।
यहाँ धेरै किसिमका बानी व्यहोराले व्यष्ठित भएका पण्डितहरू म्वाई खान नजानेर दण्डितको दायरामा परेका छन् । कोही समाज नै तितलवितल पार्ने शीतल महाराज जस्ता, कोही सुन लसुन पिपासु कृष्ण महाराज जस्ता, कोही तरुनी, थरुनी, असुनी, भरुनी पिपासु क्रिकेटका बलजस्तै कडा तगडा विचरा बरा सन्दिप महाराज जस्ता, त कोही बिना फल पल्किने पल महाराज जस्ता पलपलमा फेला परिरहेका छन् । जो एकले अर्कालाई डकारुन्जेल म्वाई खान्छन् र खुवाउँछन् पनि । धित मरुञ्जेल अधिक म्वाई खान्छन् तर ज्वाई बन्न जान्दैनन् । ज्वाई तुल्याउन अनेक तरहले च्वाई घ्वाई नै बनाउनु पर्ने यी थेत्तरा महाराजहरु इमानजमान सबै समान छन् तर किन यिनको आत्मा भड्किएको धामी झाँक्रीका लागि खोजीको विषय भएको छ । साम, दाम दण्डभेद हरेक शस्त्र अस्त्र चलाउन उचाल्न पछार्न पोख्त अर्काको भविष्य नै चकनाचुर पार्ने जिउँदै मार्ने कस्तो शस्त्र अस्त्र चलाउँछन् यिनले ? के म्वाई साँच्चै विषालु नै हुन्छ त ? होइन ।
यी भोगविलासमा रमाउनेलाई एकले पुग्दैन अनेक चाहिन्छ । दुई चारवटाले पुग्दैन धेरै नै चाहिन्छ । एकनाले महाराज के महाराज कम्तिमा तीन नाले, चारनाले, पाँचनाले एवंरितले शुभकल्याण सूचक एक सय आठ नालेसम्म जुटाउन सकेमात्र महाराज कहलिन सकिन्छ भन्दै महाराज आचार्यहरूले ब्रह्माचार्यमा रहँदै प्रवचन भट्याउँदै महिला पट्याउँदै गरिरहेका बखत हामी चाहिँ म्वाई खान नपाएको बाङ्गो मुख लगाएर व्यङ्ग्य लेख्दै कुनामा बस्दै दुनामा एकहाते गाई दुही रहेका छौँ । एकहाते गाई पघार्दा पघार्दै हरियो अरू घाँस खाने कोरली गाई बिना म्वाई लघार्दा लघार्दै सिंगो कदले उमेर हद पार गरिसक्यो । अब ठुस्काएर, मुस्काएर, सुस्ताएर मात्रै मेलो सर्दैन त्यसैले ९ महिनासम्म प्रगतिको सूचाङ्क पार गर्ने, उन्नतिको परिणाम झ्याप्प देख्न मिल्नेलाई च्याप्प समाउने च्यात्ने अनि बहर दाउन लागेजस्तो रहर गरेर दाउने र म्वाई दन्काउने । तन्तनी तन्काउने तर झिँगा नभन्काउने । जिउ तन्काउने, टाउको रन्काउने र शस्त्र अस्त्र चलाउने अनि बस्त्र लगाउने र डर भगाउने । महाराजी बस्त्रले व्यस्ठित भएपछि बेस्ट कहलिन सकिन्छ ।
यति भएपछि दुनियाँको नजरमा गिरे पनि राम्रै नजरले हेर्छन् । अँगालोमा पनि बेर्छन् । आफ्ना अनुयायी भक्तजन, उपासक, झोले, धुपौरे, चम्चे, कैंचेले घेर्नु घेर्छन् तब न महाराज ठूलो ठालू नत्र सधैँ आलुका आलु ।
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’