साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँटी 

ठूला ठूला भ्रष्टाचार र क्विन्टलका क्विन्टल सुन भित्र्याउने भनेकै घाँटीमा घाँटी जोडेर खाँटी नेताहरूबाट मात्रै सम्भव हुन्छ भन्ने कुरा हामीले भावी सन्ततिलाई जानकारी गराउनुपर्छ ।

Nepal Telecom ad
शेषराज भट्टराई :
घुच्चुक र घाँटी एक सिक्काको दुई पाटा मानिन्छ । घाँटी हरेक प्राणीसँग सुरक्षित हुन्छ । यसलाई प्राणीको इनर्जी पैठारी गर्ने प्रमुख नाका मानिन्छ । हिरोहिरोनीहरू एक अर्काको घाँटीमा घाँटी जोडेर खाँटी माया पे्रमको वर्षा गराइरहेका हुन्छन् । खुट्टा घुँडा जोडेर भन्दा गले लागेर नै माया पिरतीको ऐँचो पैँचो गर्ने परम्पराको थालनीको श्रेय पश्चिमा देशहरूलाई जान्छ । पूर्वीय सभ्यतामा घाँटी जुधाउनु खाँटी असभ्यपन मानिन्छ । गाई, बाख्रा, भैँसी, सुँगुर, घोडा, बिरालो, बाघ, भालु, भेडा, हरिण, मुसा, सानोभन्दा सानो प्राणीलाई पनि भगवानले घाँटीको व्यवस्था गरिदिएको हुन्छ ।
आ-आफ्नो जिउज्यान अनुसारको १ थान घाँटी मान्छेले पनि पाएका हुन्छन् । हेर्दा नराम्रो अस्वभाविक लागेपनि घाँटीको महत्व र महिमा अपरम्पार छ । तैपनि गँगटोलाई घाँटी नपुगेको देख्दा भगवानले चाहे भने डाइरेक्ट छातीमा सबैकुरा अटाईदिन पनि सक्छन् । जेहोस् मौजुदा अवस्थामा अब उखानलाई पनि परिमार्जन गर्नै पर्ने महसुस भएको छ । त्यसैले म भन्छु अब छाती हेरेर हाड निल्नु पर्छ । ह्याकुलो खुकुलो छ भने हाड आफसे आफ निलिन्छ ।
घाँटी हेरी हाड निल्नु भन्ने नेपाली उखानले पृथ्वीवासी सबैलाई समेटेको छ । नसमेटिए हाड अड्किएर ऐया ! आथ्था ! भन्दै रुन्चे हाँसो हास्छन् । आफ्नो घाँटीको घनत्व कत्रो छ र कत्रा कत्रा हाड वा पहाड निल्न सकिन्छ कि सकिँदैन भन्ने कुराको हेक्का राखेन भने घाँटीमा हाडको पासो लागेर पहाड जत्रो समस्या आइलाग्न सक्छ । त्यसैले त हाम्रो साझा उखानले भन्ने गर्छ ‘घाँटी हेरी हाड निल्नु’ । जुन काम कुरा आफूले गर्न, पार लगाउन सकिदैन भने त्यसतर्फ बल गर्नु बेकार हुन्छ । पटक-पटक बल गरे सकिन्छ, सफल भइन्छ भन्नु होला तर हाड र घाँटीको मामलामा त्यो प्रयास निरर्थक हुन्छ । विचार गरेर घाँटीको घनत्वको ख्याल गरेर नै हाड निल्ने प्रयास गर्नुपर्छ । अन्यथा सानो हाडको कारण आफ्नै निजी किल्किलेमा पहाड सिर्जना हुन पनि सक्छ ।
प्राणीको शरीर अनुसारको घाँटी मौजुदा रहेको हुन्छ । ऊँटको लम्बेतान घाँटीमा जलाशयको मौजाद राखेर धेरै समय त्यही पानीले गर्जो टारिरहेको हुन्छ । हाँसको घाँटी लामो भएको हुनाले पोखरीका माछा समात्न औधी सिपालु मानिन्छन् । कुखुराको घाँटी छोटो भइदिनाले त्यसले फट्याङ्ग्रो भन्दा ठूलो कुरा समात्न सक्दैन । त्यस्तै छोटो घाँटीवाले परेवा मान्छेको घरमा गाह्रो नमानी चारो कुरी रहेको हुन्छ । गाई, भैँसी, सुँगुर, घोडा, बिरालो, बाघ, भालु, भेडो, हरिण, उडुस, उपियाँ, जुम्रा, किर्ना, डाँठ, झिँगा, मच्छड, माउसुली आदि अनेक किसिमका प्राणी ज्यान अनुसारको १ थान घाँटीले वेष्ठित भएका हुन्छन् । हेर्दा छिनेको अस्वभाविक लागेपनि घाँटीले प्राणीलाई बिर्सी नसक्नुको गुण लगाएको हुन्छ ।
कतिपय अभागी घाँटीहरु काल टार्न सक्दैनन् र अकालमा रेटिनु, काटिनु, सेरिन डोरीमा लट्किएर वा हाड नै अड्किएर किन नहोस् सिङ्गो ज्यानसँगै सती जान्छन् । कतिपय भाग्यमानी घाँटीहरू हरदम पहेलो धातु र नरम सातुमा डुबुल्की मारिरहेका हुन्छन् । त्यस्तै रङ्गी विरङ्गी फूल, माला, खादा, जन्तर र जाइजुही, चमेली फूलले सिङ्गारिरहेका हुन्छन् । किलाका किला सुकिला मालाहरु नेताको घाँटीमा लड्काउँदा नेताहरू आफ्नो तौल बढेको आभासमा नाम्ले परेको बोको झैँ गजक्क फुलेर बसेका हुन्छन् । ठूलो ठूलो भाग, मिठो, मसिनो, नरमकरम तिनै भाग्यमानी घाँटीको बाटो भएर गुज्रिन्छन् । मिठो मिठो बात, बास्मती भात तिनै घाँटीको मद्दतले निल्ने ओकल्ने गरिन्छ । घाँटी नरमकरम मिठो चिल्लो छ भने पदप्रतिष्ठाको पहिलो हकदार त्यही घाँटी हुन्छ । त्यसैले चिल्लो चाप्लो मिठो मसिनो नरमकरम ओकल्ने घाँटीहरु दलका खाटी बफादार, पहरेदार मानिन्छन् र नै उच्च ओहदामा घाँटी तन्काएर खाँटी इमान्दार बन्दै उग्राइरहेका हुन्छन् ।
भावी पुस्ताहरुलाई नेपालमा कुनै समय नक्कली भुटानी शरणार्थी काण्ड भएको थियो र त्यो कसरी भयो भन्ने कुरा घाँटी जोडेर नै भएको थियो भनेर जानकारी गराउनु पर्छ । नेपालका उपप्रधानमन्त्री, गृहमन्त्री, पाँच पटक प्रधानमन्त्री पड्काइसकेका ठूला नेताकी श्रीमती, गृहमन्त्रीको श्रीमती, भुटानी शरणार्थीका नेता लगायतले घाँटीमा घाँटी जोडेर खाँटी आम्दानी गरेको तीन करोड नेपाली जनताले चाल पाए । ठूला ठूला भ्रष्टाचार र क्विन्टलका क्विन्टल सुन भित्र्याउने भनेकै घाँटीमा घाँटी जोडेर खाँटी नेताहरूबाट मात्रै सम्भव हुन्छ भन्ने कुरा हामीले भावी सन्ततिलाई जानकारी गराउनुपर्छ । यसरी नै बिस्तारै हक हस्तान्तरण गर्दै जानुपर्छ ।
त्यस्तै ललिता निवास, वाइडबडी न्यारोबडी जहाज काण्ड, सत्र हजार दुई जना नेपालीको हत्या माओवादीले विचरा घाँटीमा घाँटी जोडेर नै सम्भव भएको हो । अनि अपराधीहरू अपराध गर्नुपर्‍यो भने हात, खुट्टा, कम्मर निमोठ्दैनन् र मिलेसम्म हातले खामेसम्म घाँटी निमोठ्नु नै उत्तम ठान्छन् । अहिले कतिपय नेताहरू क्रिश्चियन बनेर हिन्दु धर्मको घाँटी निमोठी रहेका छन् भने कोही भाषा विज्ञ बनेर नेपाली भाषाको घाँटी अठ्याइरहेका छन् । कतिपय नेताहरू डलरलाई घाँटीमा छिराउने प्रलोभनमा परेर सिङ्गो नेपालकै घाँटी निमोठ्न उद्यत भएको देख्दा विरहले तिनका कुकर्म हेरौँ हेरौँ भन्दा पनि आफ्नै घाँटी सेरौँ सेरौँ लागिरहन्छ ।
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x