साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर, ढाँट र ठग

अन्यथा पद र प्रतिष्ठा स्खलन या अपचलन हुन पनि सक्छ । त्यसैले यस्तो कार्य हरेक क्षेत्रका लागि कुटिल नभएर जटिल बन्नपुगेको कुरा जगजाहेरै छ । यिनलाई अर्धनिशाचर भने पनि हुन्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

चोरको स्वर ठूलो, बोक्सीको आँखा ठूलो भन्छन् तर यस शताब्दीमा त ठीक उल्टो भएर चोरको आँखा ठूलो र बोक्सीको स्वर ठूलो हुनथालेको पाइन्छ । जस्ले डङ्का ठूलो गर्छ ऊ बोक्सी ड‌ङ्ङ्किनी र जस्को आँखा हान्ने रोपणको जस्तो हुन्छ ऊ चोर, ढाँट र ठग कहलाउँछ । हाम्रो देशमा बोक्सी कम भए पनि नचोर्ने, नढाँट्‌ने र नठग्ने बिरलै होलान् । त्यसमा पनि कसैलाई बोक्सी सम्झेर विष्ठा ज्यूनार गराएर पनि तिनको दुहाई काढ्ने मानव अधिकार पनि हामीकहाँ छ । चोर, ढाँट र ठगलाई खुवाउनु पर्ने विष्टा बोक्सीलाई खुवाएर शिक्षित नेपालीहरूले अाफ्नो बाैद्धिक र वैज्ञानिक क्षमताको पर्दाफासमात्र होइन, ज्ञान र विचारको परिचय पनि दिएका छन् । यसलाई उच्च ओहदाका मानव अधिकारवादीले सहज रूपमा लिएको हुनाले नेपाली समाज मानवअधिकार प्रति ज्यादै संवेदनशील छ भन्ने कुरो ऐनाजतिकै छर्लङ्ग भएको छ ।

चोरले ढाँट्ने र ठग्ने पेशामा हातै हाल्दैनन् भने ढाँट्ने र ठग्नेले चोरी जस्तो घृणित पेशामा हात हालेर गुन्द्रुकको झोलमा जात फाल्ने कुरै भएन । चोर्ने, ढाँट्ने र ठग्नेको पनि आफ्‌नो इज्जत, नैतिकता र प्रतिष्ठा हुन्छ । त्यसैले आफ्‌नो पेशाको उत्तरोत्तर प्रगति र पेशामा आँच नपुर्याउन यस्ता पेशाका अनुभवी हर्दम सतर्क र सचेत रहन चाहन्छन् । आफ्‌नो व्यवसायप्रति सतर्क रहनसक्नु नै यिनको उच्चतम् स्वाभिमानको सङ्केत हो । आफ्‌नो सीप र कौशलबाट प्रवीण हुनलाई अवलम्बन गरेको पेशासँग मिल्दोजुल्दो मान्छेको बाहेक अरूसँग सङ्गत गर्न मन पराउँदैनन् । अन्य सीधासाधा निरीह सज्जनप्रति नाक चेप्प्राएर यिनले आफ्नो प्रतिष्ठा चुल्याइराखेका हुन्छन् ।

चोर्न, ढाँट्न र ठग्न उमेरको कुनै हदबन्दी तोकिएको छैन । बालक छउन्जेल बावु आमाको बगली मारिन्छ । मिठाई खाइन्छ भने ठूलो भएपछि व्यक्ति, समाज वा राष्ट्रको पकेट मारेर सुनको लकेट झुन्ड्याउन आतुर भइन्छ । युवा छँदा मायालु जिप्ट्याउनु र प्रौढ भएपछि बुढी उछिट्याउनु पनि चोर्नुकै परिधिमा पर्छ । परीक्षार्थीले किताब सार्नु- चिट चोर्नु हो । चिट चोर्न दिनु परीक्षा केन्द्रको शुभचिन्तक भएर ठग्नु हो । चोराउनेले साधु बिरालो भएर चोराएको छैन भन्नु र चोर्नेले चोरेको छैन भन्नु शतप्रतिशत ढाँट्नु हो । त्यस्तै स्वदेश बस्दा होस् वा विदेश पस्ता दोब्बर तेब्बर भत्ता कुम्ल्याएर पनि कुम्ल्याएको छैन भन्नु नैतिकतालाई चित्तामा राखेर जनतालाई ढाँट्नु र राष्ट्रलाई ठग्नु हो । त्यस्तै डॉक सेवाबाट अर्काको पत्र डाँका मारेर उछिट्याउनु पनि चोर्नु नै हो ।

त्यसो त बहुमूल्य धातु चोरून् या एक मुठी सातु चोरून्, कागजको नोट चोरून् वा चुनाउमा भोट चोरून् वा पशु चौपायाको गोठ चोरून् चोरको महत्व र महिमा उत्तिकै हुन्छ । कसैलाई अत्तोपत्तो नै नदिई चोरून् या स-खबर (थाहा दिएर) अर्काको धनसम्पत्ति अपहरण गरून् यस्ता गन्यमान्यलाई चोर या तस्कर नै भनिन्छ ।

आफ्नो नैतिकता ओरालो लागिसक्दा पनि अरूको नैतिकताको जरो खन्नुचाहिँ भैसीले आफ्‌नो रङको ख्यालै नगरी कालो छाता देखेर तर्सिनुजस्तै हो । त्यसैले यो पृथ्वीमा चोर ढाँट र ठगले साम्राज्य कायम गरेका छन् भन्दा कसैको पिँडालुबारी फाँडेजत्तिको पाप नलाग्ला ।

हामीले हाम्रो बुद्धि र वर्गतले खामेसम्म उटपट्याङ् र छुद्र आनीबानीलाई शिरोपर गरेका छौँ । यसलाई संरक्षण र सम्वर्द्धन गर्दै राष्ट्रलाई जीवन्तता या निरन्तरता दिनसक्नु नै पवित्र देशभक्तिको राम्रो उदाहरण हो ।

परिवार प्रमुखदेखि लिएर समाज र राष्ट्रलाई हाँक्नुपर्ने व्यक्तिले पनि कुनै न कुनै कोणमा रहेर नजानिँदो पाराले चोर्ने, ढाँट्ने र ठग्ने गरेका हुन्छन् । लाग्छ चोर्नु, ढाँट्नु र ठग्नु सामाजिक विकृति नभएर स्वीकृति भएको छ । अब त यसलाई नराम्रो भन्न पनि मिल्दैन होला । किनकि यो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सबैले गर्छन्, पुर्खाले पनि गरेका थिए, हामीले पनि सकेसम्म गरेका छौँ र विश्वास छ हाम्रा भावी सन्ततिले पनि यही बिंडो धान्नेछन्, या सहज रूपले मान्नेछन् ।

जमाना बा‌ङ्गो भएर होला सोझो औलाले पटक्कै नौनी आउँदैन । पुर्खाका पालामा त चोर, ढाँट र ठगको सिको नसिके पनि सङ्गत नगरे पनि बाँच्न त्यति झन्झट थिएन, तर आजभोलि त कहालीलाग्दो महङ्गीले गर्दा नचाहँदा नचाहँदै पनि चोर, ढाँट र ठगीयोग्य शिक्षा सिक्नै पर्या छ । राष्ट्रिय कार्यकर्ताले आफ्‌नो इलाकाको विकासवापत पाएको धनको पोको आफ्‌नो धोको पुगुन्जेल धोक्नु र विकासको बाढी लगाउने भाषण ठोक्नु चाहिँ चोरी नभएर ढाँट्नु र ठग्नु हो । चोर्न, ढाँट्न र ठग्न जागिर खाएजस्तो सजिलो हुँदैन । यस पेशामा सिद्धहस्त हुनका लागि परिवार, समाज र साथीबाट न्यूनतम अनुभव बटुलेकै हुनुपर्छ । अन्यथा पद र प्रतिष्ठा स्खलन या अपचलन हुन पनि सक्छ । त्यसैले यस्तो कार्य हरेक क्षेत्रका लागि कुटिल नभएर जटिल बन्नपुगेको कुरा जगजाहेरै छ ।

सके चोर्ने नसके ढाँट्ने र त्यो पनि नसके ठग्ने ‘थ्री इन वान’ अर्थात् एउटा मानवमा तीन वटा गुण हुने विद्वान्हरू साम्प्रदायिकताको घोरविरोधी हुन्छन् । अर्थात् चोर्ने, ढाँट्ने र ठग्ने विद्वान्हरूले यसको चोर्ने फलानो जातिको नचोर्ने, चिलानो जातलाई ढाँट्ने र कुजातलाई ठग्ने भनेर सम्प्रदाय छुट्याउने झनझट या लन्ठा यिनले गर्दैनन् । दिनभन्दा अधिक रातलाई रुचाउँछन् । यिनलाई अर्धनिशाचर भने पनि हुन्छ । लाहुरे, चाउरे, सम्पत्तिवाल झ्याउरे, सोझा-सीधा प्राणीको पछि लागेर आफ्‌नो अभीष्ट पूरा गर्ने यिनको मूल लक्ष्य हुन्छ ।

यी त ज्यादै सरल र सरस प्रकृतिका हुन्छन् । यिनले बाँच र बचाउको सिद्धान्तलाई अवलम्बन गर्ने हुनाले अरूको प्राणाहुति गरेर भए पनि आफू सुरक्षित रहन खप्पिस हुन्छन् । यिनले धारण गर्ने हतियार र मतियारहरू जुनसुकै आकार प्रकारका पनि हुनसक्छन् र जस्तोसुकै अवस्थामा पनि प्रक्षेपण गर्न पछि हट्‌दैनन् । त्यसैले पनि यी यस्ता पेशावाले विद्वान् वर्गदेखि सदैव सतर्क रहनु नै आफ्‌नो ग्रहदशा आफू अनुकूल पार्नु हो ।

०००
गोरखापत्र दैनिक (२०५३ भदौ २९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x