अनिल श्रेष्ठकेही मट्याङ्ग्रे कविता
कति मीठा सपना थिए टिप्दै, बटुल्दै पोल्टोमा राखें ब्युँझेर हेर्दा पोल्टो रित्तै थियो थुक्क, पोल्टो रित्तिने गरी निद्रामा कस्तरी दौडिएछु ।

अनिल श्रेष्ठ :
अभियुक्त छाया
आफ्नै छाया 
म सुतेको ओछ्यानबाट
बिस्तारै उठ्छ
र, मेरो घाँटी निमोठ्न
उद्यत छ
आजकल
म आफ्नै छाया विरुद्ध
लडिरहेको छु ।
००
अनावृत
आऊ
मेरो मस्तिष्कलाई सम्भोग गर
र, तिम्रो अबैध सत्तालाई
जन्म देऊ
मेरो मस्तिष्कसँग
तिमीलाई मनलाग्दो
खेल्न छुट छ
म यो राज्यको
एक निकृष्ट बुद्धिजीवी हुँ ।
००
प्राक्कथन
ढुङ्गालाई
फुटाएर कसैले घरको
जग हाल्यो
कसैले कुटेर
गिट्टी बनायो
कसैले छिनुले हिर्काएर
मुर्ति कुँद्यो
ढुङ्गाको
कसैसँग दुखेसो रहेन
ढुङ्गा
विद्रोही हुन्थ्यो भने
सायद मान्छेको घर बन्दैनथ्यो ।
००
नोस्टाल्जिया
कति मीठा सपना थिए
टिप्दै, बटुल्दै
पोल्टोमा राखें
ब्युँझेर हेर्दा
पोल्टो रित्तै थियो
थुक्क,
पोल्टो रित्तिने गरी
निद्रामा कस्तरी
दौडिएछु ।
०००
आँबुखैरेनी, गाेरखा
Subscribe
Login
0 Comments
Oldest








































