कृष्ण प्रधानतेनतेन्तरताइतर
सेनिटाइजरको बोतल दिनु बिर्सेर एयर ब्लोअर मेशिनले नै भुन्तुकको जीउमा ताक्छ । एयर ब्लोअरबाट प्रक्षेपण भएको आँधी-बेह्रीजस्तो हावाले भेटेर भुन्तुक उडेर पर पुग्छ ।

कृष्ण प्रधान :
पात्रहरू – भुन्तुक, स्याण्डु, पुकुली, हबुल्ले ।
दृश्य विवरण – मदिरा पसल । दिउँसो ।
कुखुराको मासुको पसलमा पसले (स्याण्डु) खबरकागत पढ्न व्यस्त देखिन्छ । मोटे न मोट भुँडे कर्मचारी (भुन्तुक) कुखुरा भुत्ल्याएको देखिन्छ । पसले मालिकको फोनको रिङटोन बज्छ े
स्याण्डु – हल्लो । स्याण्डु स्पिकिङ । भन, पुकुली बहिनी ।
पुकुली – तपाईको मासु छ ?
स्याण्डु – (छक्क पर्दै) मेरो मासु ?
पुकुली – (हाँस्दै) यो स्याण्डु दाजुले ता जे पनि उल्टै बुझ्दोरहेछ ।
स्याण्डु – अन्त तिमी एकाबिहानै तपाईंको मासु भन्च्यौ मोरी । दबाई दोकानमा गएर भुँडी दुख्ने दबाई देऊ भनेजस्तो ।
पुकुली – तपाईंको दोकानमा बिक्री गर्नु राखेको चिकन भनेको नि । लाटा । मेरो डेलिभरी गर्न सक्नुहुन्छ ?
स्याण्डु – (अचम्भ मान्दै) तिम्रो डेलिभरी ? मैले ? त्यो काम गाइऩोको हो । मेरो होइन यार ।
पुकुली – (दिक्क मान्दै) उफ्…घरमा पठाइदिनु सक्नुहुन्छ ?
स्याण्डु – स्यूर….स्यूर ।
पुकुली – स्याण्डु दाजु कुखुरा ड्रेस्ड मात्रै गरिदिनोस् अनि नकाटी सिङ्गै पठाइदिनोस् ल । लकडाउनले गर्दा म नआएकी घरमै काटकुट गर्छु ।
स्याण्डु – हस् । तपाईंको जो आज्ञा ।
भुन्तुक – (अलिक परैबाट) कस्तो भनेर सोध्नोस् ता । (स्याण्डुले के भनेको भनेर हातको ईशारा गर्छ) न्याकेट कि कस्तो भनी सोध्नोस् न ।
स्याण्डु – (मोबाइल छोपेर) के भनेको गधा । न्याकेट ?
भुन्तुक – भुत्ल्याएर कि नभुत्ल्याइकन भनेको नि ।
पुकुली – ड्रेसिङ गरेर ल स्याण्डु दाजु ।
भुन्तुक – हुन्छ…हुन्छ ताती पानीमा बुलुबुल गरेर पठाइदिउँला नि ।
पुकुली – फ्रेस छ होइन ?
भुन्तुक – कन्ये पोथी पनि फ्रेस नभएर कस्तो हुन्छ भन्देऊ न है ।
पुकुली – कन्ये ?
स्याण्डु – हजूर बैनी पोल्ट्रीको कुखुरा कन्ये ता हुन्छ होइन ? हुन्छ भुन्तुक आउँदैछ ल । हस्…हस् । एई जा ता पोक्ची बहिनीको घरमा एउटा चिकेन पुर्याइदे ।
भुन्तुक – कसकोमा पुर्याउनु पर्ने ?
स्याण्डु – पोक्ची बहिनीकोमा ।
भुन्तुक – घर कहाँ छ भन्नोस् ता ।
स्याण्डु – यहाँबाट स्ट्रेट जा…लभ मोड ।
भुन्तुक – ओके लभ मोड । त्यहाँबाट राइट लागेर जाँड मोड ।
स्याण्डु – जाँड मोड ता छिट्टो चिन्छस् हई ।
भुन्तुक – मामा ! गोर्खाले जाँड मोड चिनेन भने ता यहाँ जन्मिनु नै व्यर्थ छ । (आकाशतर्फ हेर्दै) माथि पुग्ने बित्तिकै यमराजले गोर्खाहरूलाई जाँड मोड गइस् भनेर सोध्छ अरे ।
स्याण्ड़ु – हो ? अन्त जाँड माँड गाको छैन भन्यो भने नि ।
भुन्तुक – जाँड मोड नजानेलाई दिन रात माड खानु लाउँछ अरे ।
स्याण्डु – लु भयो । तेरो गफमा लाग्यो भने ता सर्वनाश हुन्छ । लु जा गई हाल् । पोक्ची म्याम फेरि रिसाउनु जान्दिनन् ।
भुन्तुक – (सिङ्गै ड्रेस्ड कुखुरा झोलामा हाल्दै) जाँड मोड गएर कता जानु ?
स्याण्डु – त्यहाँबाट चेप बाटोबाट देब्रे, त्यसपछि दाहिने, त्यसपछि देब्रे । त्यहाँ एउटा पान दोकान छ….
भुन्तुक – पान दोकानबाट कहाँ जानु ?
स्याण्डु – त्यहाँबाट जाँ सुकै जानु नि । (भुन्तुक बाइकमा प्रस्थान) ।
ध्वनि परिवर्तन
स्थान – घरको बरण्डा । दिउँसो ।
(लठेब्रो हबुल्ले बाहिर बरण्डामा भ्याकाम क्लिनरले बरण्डाका भित्ताहरू सफ गरिरहेको देखिन्छ)
पुकुली – एई हबुल्ले ।
हबुल्ले – हदूल ।
पुकुली – म नुहाउनु पसेँ बुझिस् ? एकजनाले कुखुराको मासु लिएर आउँछ । घरभित्र पस्नु नदेलास् । बाहिर बाहिरै मासु थाप्नू । मासु लिएर आउनेलाई छेउमा आउनु नदेलास् । आउने बित्तिक्कै यो ह्याण्ड सेनेटाइजरले हातमा हालिदिनू बुझिस् ! (ह्याण्ड सेनेटाइजरको बोतल देखाउँदै) यी यहाँ छ ह्याण्ड सेनेटाइजरको बोतल । बुझिस् ?
हबुल्ले – बुदे….बुदे ।
पुकुली – ह्याण्ड सेनेटाइजर भन् ता । कसरी भन्दोरहेछस् ?
हबुल्ले – (टाउको कन्याउँदै भक्भकिएर) तेनेतेन्तरताइजर ।
पुकुली – ह्याण्ड सेनेटाइजर । भन् ता फेरि के अरे….
हबुल्ले – तेनतेन्तरताइतर ।
पुकुली – (दोहोर्याउँदै) ह्याण्ड सेनेटाइजर । लु फेरि भन् ता…
हबुल्ले – तेनतेन्तरताइतर ।
पुकुली – यल्ले बिर्सिन्छ होला हौ ।
हबुल्ले – (हतार हतार) बिलतिदिनँ हौ बिलतिदिनँ ।
पुकुली – हेरुँली । त्योस भए ह्याण्ड सेनेटाइजर ह्याण्ड भनिराख् । बुझिस् ?
हबुल्ले – बुदे….. तेनतेन्तरताइतर । (पुकुली भित्र प्रवेश गरेपछि हबुले तेनतेन्तरताइतर तेनतेन्तरताइतर दोहोऱ्याउँदै काम गर्न मस्त हुन्छ । तेनतेन्तरताइतर भन्न छोडेर गीत गाउँदै एयर ब्लोअर मशिनले बरण्डा सफा गर्न थाल्छ – दादिलिङको धाकलीले दिउँतै ध्याङ्लो ठोतयो…बुली लादयो लमितातिल तल्ला तिलले बोतयो (दार्जिलिहको झाँक्रीले दिउँसै ढ्याङ्ग्रो ठोक्यो…बूढी लागिन् रमितातिर चल्ला चिलले बोक्ये),,,भुन्तुक झोलामा मासु लिएर उतर्फ आएको देखी हबुल्ले माथिबाटै कराउँछ) मातु हो ? (भुन्तुक टाउँको हल्लाएर हो भन्ने सङ्केत दिन्छ) तुतै बत…तुतै बत । (भुन्तुक मासु दिन छेउमा आउँछ । हबुल्ले अत्तालिएर के गरुँ कसो गरुँ हुन्छ । भन्तुक जति नजिक आउँछ हबल्ले त्यति तर्किन खोज्छ । सेनिटाइजरको बोतल दिनु बिर्सेर एयर ब्लोअर मेशिनले नै भुन्तुकको जीउमा ताक्छ । एयर ब्लोअरबाट प्रक्षेपण भएको आँधी-बेह्रीजस्तो हावाले भेटेर भुन्तुक उडेर पर पुग्छ । कसो कसो गर्दा सिङ्गै ड्रेस्ड कुखुरा हबुल्लेतिर फ्याँकिदिन्छ । हबुल्ले पर भाग्दै एयर ब्लोअरको मुख कुखारापट्टि फर्काउँछ । कुखुरा ग्यास बेलुनजस्तो उडेर जान्छ । हस्याङपस्याङ हुँदै एयर ब्लोअरसितै हबुल्ले उडेको कुखुरा समात्न दुगुर्छ ) ।
हबुल्ले – (कुखुरा उडेको देखेर खुसी हुँदै) तुखलातो दुद्दी…तुखलातो दुद्दी (गुड्डी) । नान्देभुतुन्दे (नाङ्गेभुतुङ्गे) तुखलाको दुद्दी…(कुखुरा तल खस्न खोज्दा फेरि एयर ब्लोअरको मुख कुखुरापट्टि फर्काउँछ । कुखुरा उडेको उडेकै हुन्छ । पुकुली बाथरुमबाट बाहिर निस्कन्छे । कुखरा उडेको देखेर छक्क पर्छे) ।
पुकुली – (चिच्याउँदै) हबुल्ले ? के गरेको ???
हबुल्ले – (कराएरै) तुखलालाई तेनतेन्तरताइतर……(कुखुरा उडेको उडेकै देखिन्छ)
पुकुली – (हातमा कुचो लिएर हबुल्लेलाई कुट्दै) तेरिमा शाला…तेरो सेनिटाइजर म निकाल्छु अब…खाने चिजलाई त्यसरी उडाउने हो ???
मञ्च अँध्यारो हुन्छ ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest





































