राजेन्द्रप्रसाद अधिकारीयो राजनीति, खै के राजनीति !
गँजडीको सपनाजस्तो यो राजनीति ! बालुवाटारमा दिउँसै निदाएर सपना देख्दा नदेख्दै चार कोस परबाट कसैले दिएको आदेशले एकैछिनमा समाप्त हुन सक्छ यो राजनीति ! यो राजनीति, खै के राजनीति !

राजेन्द्रप्रसाद अधिकारी :
मर्दामर्दै भेन्टिलेटरमा राखेर
कसैले कृत्रिम सास चलाइदिएको,
सियोले घोची घोची
कसैले बाँचेको आस दिलाइरहेको,
कोरोनाग्रस्त आमाको दूध चुस्दै
सिंहदरबार पसेर सरकार चलाउन
पानीपोखरीको ओरालो झरेको
यो राजनीति, खै के राजनीति !
फुस्रा टिका र धुपौरेका खादा र मालाले
आफ्नो सफा र चम्किलो अनुहार पूरै छोपेर
सरकार चलाएको अभिनय गर्नुपर्छ यहाँ;
आफ्नो दिमाग झिकेर
विदेशी राजदूतको इसारामा चल्नुपर्छ यहाँ,
विचौलियालाई देखे बरबाद,
नदेखे झन् बरबाद !
यो राजनीति, खै के राजनीति !
चरा तर्साउन
किसानले बारीको बिचमा ठड्याएको
सुकेको नर्कट,
मैलो जीर्ण कपडा र कालो हाँडीले
जीवनदिएको
बुख्याँचाजस्तो यो राजनीति !
मेहनती किसानकै लातबाट
गर्ल्यामगुर्लुम ढलेजस्तै,
ऐना अगाडि उभिएर दौराको फेर बाँध्दै
उद्घाटन भाषण
गुनगुनाउँदा गुनगुनाउँदै
त्यत्तिकै सकिन सक्छ यो राजनीति !
आफैले उडाएको
गाँजाको धुवाँको मुस्लोभित्र रुमल्लिएको
गँजडीको सपनाजस्तो यो राजनीति !
बालुवाटारमा दिउँसै निदाएर
सपना देख्दा नदेख्दै
चार कोस परबाट
कसैले दिएको आदेशले
एकैछिनमा समाप्त हुन सक्छ यो राजनीति !
यो राजनीति, खै के राजनीति !
०००
काठमाडौं







































आदरणीय सरको उत्कृस्ट रचना।