फित्काैली डटकमसाहित्यकार आचार्यको आत्मकथा ‘आरोह–अवरोह’ विमोचन
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवनवृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताउनुभयो।

बाँके, नेपालगन्ज। शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह–अवरोह’ एक कार्यक्रमका बीच नेपालगन्जमा विमोचन गरिएको छ।
असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकाल, लेखिका आचार्य, उहाँका श्रीमान् प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्रजङ्ग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलगायतले संयुक्त रूपमा विमोचन गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवनवृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताउनुभयो। उहाँले किरण आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह–अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई उजागर गरेको धारणा राख्नुभयो। पुस्तकले आगामी पुस्तालाई कठिन परिस्थितिसँग जुधेर सफलता हासिल गर्न प्रेरणा दिने उहाँको विश्वास थियो।
वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको संघर्षशील जीवनको यथार्थ चित्रण गरेको बताउनुभयो। उहाँले पुस्तकमा समेटिएका अनुभव, भोगाइ र विचारहरूले पाठकलाई भावनात्मक तथा बौद्धिक रूपमा समृद्ध बनाउने धारणा राख्दै साहित्य समाजको ऐना भएकाले कृतिले समकालीन समाज बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो।
लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै किरण आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसङ्कोच रूपमा प्रस्तुत गर्नुभएको उल्लेख गर्नुभयो। उहाँका अनुसार पुस्तकमा व्यक्तिगत अनुभवसँगै देशको राजनीतिक, सामाजिक र शैक्षिक अवस्थाबारे पनि उल्लेख भएकाले यो केवल आत्मकथा मात्र नभई समकालीन समयको दस्तावेज बनेको छ।
भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताउनुभयो। उहाँले किरण आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्दै पुस्तकको भाषा सरल, सहज र पाठकमैत्री रहेको उल्लेख गर्नुभयो। पुस्तकले नयाँ पुस्तालाई साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वतर्फ आकर्षित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी दिँदै ‘आरोह–अवरोह’ ले जीवनका विविध अनुभव, संघर्ष र सफलताका कथाहरू समेटेको बताउनुभयो। उहाँले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
लेखिका किरण आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताउनुभयो। उहाँले बाल्यकालदेखि शिक्षण पेशासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनका उतारचढाव र ती अनुभवबाट सिकेका पाठ पुस्तकमा समावेश गरिएको जानकारी दिँदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभव समाज र आगामी पुस्तासम्म पुर्याउनु रहेको बताउनुभयो।
कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्ले, साहित्यकार भोजराज शर्मा तथा मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।
०००
गजेन्द्र गुरुङकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































