बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

दाजुभाउजूको देशमा

र अन्तमा यो पनि हेर्नू, निरोहरूको निधारमा हर्कहरूले हम्मर हान्न थालेको हेर्नू राउन्नेहरूको पुच्छरमा बालेनहरूले आगो बाल्न थालेको हेर्नू ॥

Nepal Telecom Spring Offer

लक्ष्मण गाम्नागे :

हेर्नू,
एउटा यस्तो उदेक हेर्नू
राज्य नै माफिया भएको देश हेर्नू
सरकार नै तस्कर भएको एउटा देश हेर्नू
नपत्याए ललिता निवासकोे केस हेर्नू
शरणार्थी काण्ड मच्चाउनेहरूको फेस हेर्नू
माफियाहरूलाई माफी दिलाउन
राष्ट्रिय दाजु भाउजूहरूको रेस हेर्नू ।

हेर्नू,
सरकारले जनतालाई डिभी पारेको हेर्नू
आफ्नै नागरिकलाई शरणार्थीमा झारेको हेर्नू
नगद पाए नगदमाथि, जिन्सी पाए जिन्सीमाथि
माननीय सम्माननीयहरूको ताण्डव नृत्य हेर्नू
नेता, प्रशासक र दलालहरूको कृत्य हेर्नू
राष्ट्रिय छोरी ज्वाइँ, राष्ट्रिय छोरा बुहारी
राष्ट्रिय बा आमा र राष्ट्रिय सम्धीसम्धिनीमाथिको
राष्ट्रिय सम्मान हेर्नू
भूमाफियाहरूको सान हेर्नू
अख्तियारको काम हेर्नू
ह्वेलहरूलाई हलुवा खुवाएर
माछाहरूलाई ढोक्सामा हालेको हेर्नू
हेर्दै जानु, ठूला माछाहरूलाई खोलातिरै फर्काएर
भुरा माछा फ्राई गरेको हेर्नू
सरकारले भ्रष्टाचार निर्मूल गर्न ट्राइ गरेको हेर्नू ।

खोज्नू
जेल जान लस्कर लागेका
सरकारी भिभीआइपीहरूको अनुहारमा सरकार खोज्नू
हात हल्लाउँदै हल्लाउँदै झ्यालखानातिर गइरहेका
छाती फुलाउँदै फुलाउँदै झ्यालखानाबाट आइरहेका
सम्माननीय भ्रष्ट,
माननीय माफिया र
सेलिब्रिटी बलात्कारीको अनुहारमा लोकतन्त्र खोज्नू
तिनीहरूले लगाएको अबीरमा, खादाले पुरिएको खप्परमा
देशको भाग्य र भविष्य खोज्नू
खोज्नू,
तिनीहरूको स्वागतमा तँछामछाड गरिरहेको भक्तजनहरूको भीडमा
लज्जा खोज्नू, सभ्यता खोज्नू,
विवेक, नैतिकता र मानवता खोज्नू ।

हेर्नु,
हातमा हतियार हुनेहरूले अन्धाधुन्ध हतियार चलाएको हेर्नू
नियम, कानून र संविधानलाई सूलीमा चढाएको हेर्नू
नेता र तस्कर बीचको मेलमिलाप हेर्नू
न्यायमूर्ति र दलाल बीचको प्रेमालाप हेर्नू
मन्त्राणीको ओछ्यानमा बसेर माफियाले
नोटका बिटा भाग लगाएको हेर्नू
सुरक्षामन्त्रीले नै अपराधीलाई भगाएको हेर्नू ।

यो पनि हेर्नू,
गुरुको अनुहारमा कालो मोसो दल्ने
शिष्यहरूको कुलङ्घार अनुहार हेर्नू
चिर्पटले गुरुको टाउको चिरेको हेर्नू
टाउको चिरेर शिष्य पार्टी कार्यालय छिरेको हेर्नू ।

हेर्नू,
पिताम्बरमा लपेटिएका शीर्षस्थ क्रान्तिकारीहरू
धर्मको ‘अफिम’मा लठ्ठिएर पलेँटी कसेको हेर्नू,
गलामा रुद्राक्ष, निधारमा चन्दन र शरिरमा भस्म घसेको हेर्नू
नास्तिकताका विद्यावारिधी पण्डितहरूको
मूर्ति ढोग्न लम्पसार पर्दा धोती खुस्किएको हेर्नू
पशुपति मन्दिरको ढोकामा भक्तिपूर्वक घोप्टिएको हेर्नू
द्वन्द्वात्मक भौतिकवाद शिवलिङ्गमा चेप्टिएको हेर्नू
हेर्नू,
क्रान्तिकारीहरूले ओडेको बाघको छाला हेर्नू
हनुमानहरूको मुखका लागेको ताला हेर्नू ।

हेर्नू,
मन्दिरमा सुनको जलारी चढाएको हेर्नु
चढाएको सून हेर्दा हेर्दै हराएको हेर्नु
चोरलाई चोर भनेर हप्काउँदा चोरहरू हाँसेको हेर्नू
स्वोर्गमा पनि सत्तामै बस्न पाउँ भन्दै
भगवानकै छेउमा नामावली टाँसेको हेर्नू ।

हेर्नू, हेर्दै जानू,
नयाँ नयाँ जोगीहरूले ओडेका नयाँ नयाँ कम्बल हेर्नू
जोगीहरूका त्रिशुल हेर्नू, सूनका कमण्डलु हेर्नू
अनुहारमा दलेको बाक्लो खरानी हेर्नू
कम्बलभित्र लुकेर घिउ खाएका चिल्ला चिल्ला ओठ हेर्नू
कुन रुखबाट टिपेर ल्याउँछन् मोठका मोठ नोट हेर्नू
विकास र सुशासनका मुसलधारे मन्तव्य हेर्नू
कसीमा धसी धसी तिनीहरूको गन्तव्य हेर्नू ।

नहेर्नू, हेर्दै नहेर्नू,
जानाजान तातो घाम खान मरुभूमितिर जान लागेका
लाचार युवाहरूको एअरपोर्टको जाम नहेर्नू
उजाड वृद्धाश्रम बन्दै गएको विकराल गाम नहेर्नू
नहेर्नू, काठको बाकस नहेर्नू, परिवारको सकस नहेर्नू
हेर्दै नहेर्नू
आँखा फुटेका,
खुट्टा काटेका,
कोमामा गएका,
मान्छे हुन अयोग्य भएका
पूर्व सहकर्मीहरूतिर नहेर्नु
वेपत्ता छोराछोरीका बाउ आमाहरूका रुन्चे अनुहार नहेर्नू
नागरिकता नपाएर रोइरहेका नागरिकतिर नहेर्नु
धाँजा फाटेका खेत, बाँझो पल्टिएका बारी नहेर्नु
रुँदै गरेका किसान, मिटर व्याजले मरेका गाउँलेहरूतिर पनि नहेर्नु

कविजी,
हेर्नू,
एउटा यस्तो देश हेर्नू
राज्य नै माफिया भएको देश हेर्नू
सरकार नै तस्कर भएको एउटा देश हेर्नू ।
तर झुक्किएर पनि
रछ्यान उधिनेर मुर्मुट्टाहरूको मनको शान्ति भङ्ग नगर्नु
लासहरूमा सास पस्ला भन्ने आश नगर्नू
बरु,
साउनमा आफ्नै आँखा आफैंँ फोर्नु
र सधैं हरियो देख्नु
र हरिया हरिया कविता लेख्नू ।

र अन्तमा यो पनि हेर्नू,
निरोहरूको निधारमा हर्कहरूले हम्मर हान्न थालेको हेर्नू
राउन्नेहरूको पुच्छरमा बालेनहरूले आगो बाल्न थालेको हेर्नू ॥

०००
शितलपाखा, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
देशको इस्…थितिले गर्दा

देशको इस्…थितिले गर्दा

लक्ष्मण गाम्नागे
कीराका कुरा

कीराका कुरा

लक्ष्मण गाम्नागे
मेरा बा

मेरा बा

लक्ष्मण गाम्नागे
भूलचुक लिनेदिने : देवी चापागाईंको ‘बुर्कुसी’ मा गाम्नागेकाे भूमिका

भूलचुक लिनेदिने : देवी...

लक्ष्मण गाम्नागे
कीराका कुरा

कीराका कुरा

लक्ष्मण गाम्नागे
मेरा बा

मेरा बा

लक्ष्मण गाम्नागे
खाऊँ साथी हो खाऊँ !

खाऊँ साथी हो खाऊँ...

लक्ष्मण गाम्नागे
१९ रसका कविता

१९ रसका कविता

लक्ष्मण गाम्नागे