मोबाइलको कीरा
ज्ञानको बीज रोप्न पर्ने ती दिमागी गह्राहरूमा मोबाइलका गेमहरू रोपिएका छन् । कलिला दिमागहरू मोबाइलको किराले मानसिक रोगी बनाएर आत्महत्याको सिकार बनाएका घटना पनि सुन्दै आएका छाैँ ।
अप्सरा सुनार :
जीवन प्रेम हो, जीवन धन हो, जीवन सङ्घर्ष हो, जीवन आशा हो भन्दै जीवनका विभिन्न परिभाषा त बेलाबखत हाम्रा कानमा गुन्जने गर्छन् तर आज बालकदेखि युवा तथा बृद्ध सबैको जिउने एकमात्र आधार जस्तो बनेको मोबाइलको बारे चर्चा गरौँ । कुनै समय थियो कुनै सूचनाको लागि धेरै कठिन । सानो कुरा एउटा गाउँबाट अर्को गाउँमा बताउनु परे पनि डाँडामा गएर कराउनु पर्ने । चिठी पत्र हुलाक आज एकादेशको कथा पो होकी जस्तै बनिसकेको छ ।
तर मोबाईलसँग धेरै उपकरणहरू रिसाएका छन् ।
बधाई छ मोबाइल, तिमीलाई तिमी आएदेखी घर रेडियो घन्किन छाडेका छन् । तिमीले घडीलाइ पनि झन्डै बिस्थापित नै गरिदिएको तिमीले टिभि, पत्रपत्रिका, पुस्तकलाई विस्थापित गर्ने अन्तिम चरणमा पुर्याइसकेका छौ । तिमीभित्र संसार छ, संसारमा पाइने हरेक आनन्द हरेक प्रसिद्धि तिमीभित्रै लुकेका छन् । तिमीलाइ एक नजरले हेरिदिए पुग्छ तिमीले संसारले दिन नसकेको खुशी दिएका छौ । परदेशीलाई परिवारसँग भेट गराएका छौ । भेट गराइदिएका छौ नयाँ जोडीलाई, टाढैबाट आमाको आँसु पुस्छु नि भन्ने ढाडस दिएका छौ तिमी साँच्चै जीवन हौ । सायद तिमी हुन्थेनौ भने वर्षौ कुर्नु पर्ने थियो । परदेशीको मुहार हेर्न, संसार घुम्न तिमी बिना असम्भव जस्तै थियो । तिमीे घरको दियो भन्दा महत्वपूणर् छौ । तिमी बिना हरेकको जीवन अन्धाकारमा धकेलिन्छ ।
रङ्गीन दुनियाँका रंगिन तस्बिर कैद गरिदिन्छ अनि रंगिन सपना बुन्दै परदेश नै एकमात्र सपना अनि लक्ष्य बनाउन बाध्य बनाईदिएको छ । सायद मोबाइल नहँुदा हुन् त देश रङ्ग्याउने सपना देखिन्थ्यो । ती मोबाइलका रङ्गिन तस्बिरभित्र लुकेका दर्दनाक जीवनबाट परिचित को बन्न सक्यो र… । न देशले देशलाई रंगिन बनाउन सक्यो न मोबाइलले रङ्गिन देखावटी जीवन देखाउन छाड्यो । रङ्गीन सपनाहरू बुन्दाबुन्दै रङ्गीन दुनियाँमा पुग्दा त्यहाँको वास्तविकतासँग घुलमिल हुन नसक्दा धेरै युवाजमातले आफैलाइ मृत्युको सिकार बनाएका घटना आजको दैनिकी बनेका छन् ।
मोबाइलले प्रकृतिको काख पनि रित्तो रित्तो बनाइदिएको छ । गट्टा खेल्ने कलिला हातहरू मोबाइलको दुनियाँमा पब्जी अनि फ्रिफायरमा शत्रु खोज्दा खोज्दै आफ्नालाइ नै शत्रु देख्ने भएका छन् । वनमाराको मुन्टा जम्मा पारेर चुङ्गी खेल्ने खुट्टाहरू लम्पसार परेर मोबाइल हेर्नै भ्याई नभ्याइ छ । लुकामारी खेल्ने जमाना पनि कता कता हराइसके । बालबालिका भाडाकुटी भन्दा धेरै मोबाइलका खेलतर्फ आकर्षित भएका देखिन्छन् ।
मोबाइलको विकासले संसारलाई धेरै सहज त बनायो । मानिसहरूले सहजै संसारभर के भइरहेको बारे थाहा त पाए तर जब जब मोबाइलको गलत प्रयोग हुन्छन् ठुलाठुला अपराधले पनि सहजै सफलता पाउँछन् । विशेष त कलिला बालमस्तिष्कमा त मोबाइलको किरा नै सलबलाएका छन् । ज्ञानको बीज रोप्न पर्ने ती दिमागी गह्राहरूमा मोबाइलका गेमहरू रोपिएका छन् । कलिला दिमागहरू मोबाइलको किराले मानसिक रोगी बनाएर आत्महत्याको सिकार बनाएका घटना पनि सुन्दै आएका छाैँ ।
यहाँ दोषी को ? मोबाइलका ती गेमहरू बनाउने हो कि ? कि ती मोबाइल चलाउने कलिला मस्तिष्क हुन् ? कि मोबाइललाई सही रूपमा चलाउन नजान्नुभएका आमा बाहरू ?!
०००
धादिङ, हाल जापान