साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालु रजाइँ

सरकार, यो अझै भालु रजाइँ अझै मौलाउनु पर्छ । डाँडाकाँडा फैलाउनु पर्छ । जताततै भालु-आक्रमण गरी दशौँ पुस्तालाई पुग्नेगरी लुट्नुपर्छ । विरोध गर्नेलाई कुट्नु पर्छ । यो हो नि देश बनाउने तरिका !!

Nepal Telecom ad

अप्सरा सुनार :

‘काम गर्ने कालू मकै खाने भालु’ भन्ने उखान त हामी सबैको जिब्रोको टुप्पोमै झुन्डिएको छ । कालू अनि भालुका कुरा काट्न नपाएर साह्रै सकसकाएको निकै भयो । लु आज मज्जाले कालूको कजाईदेखि भालुको रजाइँसम्मको पोल खोल्दै रमाइलो गरौँ, हुन्न ?

भालुको लामालामा झ्याप्ले रौँ, कुखुराको जस्तो मुख तथा कालो रङ्ग हुने एक हिंस्रक जनावर हो भालु । भालु प्राय कालो नै रङको हुन्छ । भालुका डरलाग्दा ती लामा लामा नङ्ग्रा जसले वास्तवमै भालुलाइ भालु बनाएझैं लाग्छ ।
विश्वमा भालुका आठ प्रजाति मात्रै रहेका छन् । विश्वबाट भालु लोपोन्मुख अवस्थामा पुगेको छ ।

तर काम गर्ने कालुका मकै खाने भालुहरू चाहिँ दिनानुदिन बढ्दै छन् । यी भालुहरू बनमा नबसे पनि, लामालामा भुत्ला अनि नङ्ग्रा नभए पनि जङ्गली भालुभन्दा सयौं गुना हिंस्रक पो छन् त ! जसले बिरालाले मुसा खेलाएझै गरि खेलाई खेलाई काम गर्ने मेहनती कालुहरूका खोइरो खनिरहेका छन् । जङ्गली भालु भन्दा भयानक बनिरहेछन् ।

किसान कालुहरू माटोमा घोटिएको, हिलोमा लेपटिएको, चर्को घामले डढेको, कहिले कठ्याङ्ग्रिदो जाडोले हत्केला अनि कुर्कुचा पट्पटी फुटाएर माटोमा सुन फलाउँदै आएको युगौँयुग भयो । हो त, कालुहरू वर्षौदेखि काम, काम, काम मात्रै काम गरिरहेका छन् । जब जब कालुको बाली कटनीको समय आउँछ तब भालुहरू नङ्ग्रा फिजारेर आउने गर्छन् लुट्नका निम्ति । कालुले अन्न फलाउँदा पेट भालुको भरिन्छ । कालुले दुध दुहुँदा पोस भालुलाई लाग्छ । कालुले तरकारी फलफूल बेच्दा गोजी भालुको भरिन्छ । यो कस्तो दुर्भाग्य हो ?

यी खतर्नाक भालुहरूले कालुहरूका पेट भरिन दिँदैनन् । उनीहरू धोती नफेरिएको पनि जुगौँ भयो । कालुहरू खिइरहेछन् । उनीहरूकै परिश्रम र मेहनतले भालुहरू फुकिरहेछन् ।

खेतमा मात्रै कहाँ हो र बारीदेखि बजारसम्म, बनदेखि संसदभवनसम्म नङ्ग्र उध्याएर बसेका भालुका नमुना देख्न पाइन्छ । यो मेरो देश हो, यहाँ कालुले काम मात्र गर्ने हो, अनि भालुुले मात्र खाने हो । कृषिमा भालु, शिक्षामा भालु , स्वास्थ्यमा भालु, अर्थमा भालु, सदनमा भालु, संसदमा भालु । लामा लामा भुत्ला नभएका, लामा लामा नङ्ग्रा नभएका, तर गगनचुम्बी भवनमा बस्ने भालुरुपी ठालुहरूले कालुहरूको मेहनत बेपर्वाह लुटिरहेछन् । कालुहरूको मेहनतमा भालुहरू नै तालु चिल्ला पारिरहेछन् ।

भालुबाट आजित भएर जति गर्न खोजे पनि अगाडि बढ्ने बाटो नपाएकाहरू राहदानीमा बेची खाडी मरुभूमितिर मा आफैलाई समर्पित गरिरहेका कालुहरू फेरि रेमिटेन्स मार्फत भालुरुपी ठालुहरूकै भुँडीमा दाना कोचिरहेछन् । खै अब त विश्वबाट भालु लोपोन्मुख हुन लाग्दा पनि मानवरुपी यी भालुहरू झन झन बढ्दै गएका छन् । लाग्छ अब त यी भालुहरूका लागि छुट्टै भालुखाना बनाइनु पर्छ, जहाँ भालुको सङ्गठन होस्, कसरी कालुहरूलाइ लुट्न सकिन्छ छलफल होस् । बाँकीटाँकी रहेको मानवता पनि सकियोस् ।

आजको समयमा मानिसले आफूले सङ्घर्ष गरेर आफ्नो दैनिकी गुजारा गर्न चाहन्छ । आफूलाई माटोमै मिलाउन किन नपरोस्, आफूलाई चर्को घाममा समर्पित गर्नै परोस तर मानिस सङ्घर्षदेखि भाग्न चाहँदैन । विश्व आफ्नै देशमा युवाशक्तिको प्रयोग गरेर विकास र सभ्यताको सगरमाथा चुम्दै छन् । तर नेपाली युवाहरू चाहिँ भौतारिएर, छट्पटिएर, देशमै सुन फलाउने सपना देखिरहँदा एकातिर फलाउँदै गर्‍यो अर्कोतिर लुट्नेहरूको भिड सामना गर्नु पर्छ ।

देशमा भएका नाममात्रका कलकारखाना बन्द गर्दै, कृषकका उत्पादन सडकमा फ्याँक्न बाध्य हुँदै, ब्यापारका नाममा बिचौलियालाइ लुटाउँदै, कमिसनखोरहरूलाई अरबपति बनाउँदै उनीहरूकै सेवा र समर्पणमा समर्पित जत्थाको नाम सरकार हो ? लौ भन त हैन भन्ने को ?

कलकलाउँदो उमेरको युवा शक्ति मरुभूमितर्फ आकर्षित हुनुमा देशका निर्घिणी भालुहरूकै कारण हैन र ? देशमै केही गरौँ भन्नेहरूलाई अनि आत्मदाह गर्न बाध्य बनाउने ठालुहरूको चर्तिकलाले आमाको काख झन झन रित्तो बन्दैछ । रहर भन्दा धेरै बाध्यताको शिकार बनेका नेपाली कालुहरू भालुका आक्रमणबाट बच्नकै लागि भए पनि भागाभाग गरिरहेका हैनन् र ?

खै कहिलेसम्म चल्ने हो, अन्न फलाउने कालुहरूको भन्डारभरि भालुको रजाइँ ! मकै मात्रै खाने जङ्गली भालु भए त समातेर चिडियाखानामा थुनिदिन हुन्थ्यो । यहाँ त भालुले नै कलकारखाना चपाए, युवाहरूलाई नेपालबाटै धपाए, लुट्न सके लुट भन्दै लुटतन्त्र नै चलाए । कहिले छोडपत्र कहिले गठबन्धन भन्दै कालूहरूलाई नै लुट्ने योजना बनाए । अभिभावक हुनु पर्ने नै भालुमा रुपान्तर भएपछि अब के बाँकी रहयो र ? सरकार, यो अझै भालु रजाइँ अझै मौलाउनु पर्छ । डाँडाकाँडा फैलाउनु पर्छ । जताततै भालु-आक्रमण गरी दशौँ पुस्तालाई पुग्नेगरी लुट्नुपर्छ । विरोध गर्नेलाई कुट्नु पर्छ । यो हो नि देश बनाउने तरिका !!

कालूहरूका विरुद्धको भालु आक्रमण- जिन्दावाद ! यो भालु रजाइँ- अमर रहोस् ! अमर रहोस् !!

०००
धादिङ, हाल : जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
0
Would love your thoughts, please comment.x
()
x