अप्सरा सुनारधमिरोले खायो देश
शिक्षा र माटोको सम्बन्ध टाढा हुँदै गएकाे छ । पढेकाे मानिसले माटाे छुनै नहुने, टेक्नै नहुने संस्कार निर्माण भएकाे छ । हाम्राे शिक्षा प्रणालीमा पसेकाे धमिराकै कारण यस्ताे भएकाे हाे ।

अप्सरा सुनार :
माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ तथा काठबाट बनेका सामान खाँदै जाने, कमिलाका आकारको एक जातको रातो र खैरो कीरो नै धमिरो हो । यो काठ, किताब आदिको भित्र छिरेर काठ तथा किताबलाई भित्रभित्रै छियाछिया पारेर नष्ट गर्ने कीरो हो । सुन्दर काठका संरचना धमिराले भित्रभित्रै खोक्रो बनाएर नष्ट गरिदिन्छ ।
गाउँघरका काठे ढेकीदेखि हलोसम्म, थाम दलिनदेखि गोठहरू, दराज, ढोका, झ्याल जताततै धमिराको राज छ । धमिराले सौन्दर्य स्वरूपलाई सानाे प्वाल पारेर भित्र छिरी बाहिरबाट हेर्दा सुन्दर देखिए पनि भित्रभित्रै खोक्रो बनाउने गर्दछ । कहिलेकाहीँ त धानको भकारीदेखि मकैको कुन्यु समेत रित्तो बनाएको अनुभव पनि नभएकाे होइन । साँच्चिकै धमिरा विनाशकारीको प्रतिरूप हुने गरेका छन् । धमिराहरू आजभोलि काठकाे संरचना मात्रै नभएर मानवीय संरचनालाइ पनि भित्र भित्रै ध्वस्त पार्न सक्षम भएका छन् ।
बाहिरबाट हेर्दा आहा ! सुन्दर नेपाल । नेपाल र नेपालीको गौरव गर्न नथाक्ने विश्वकै प्रसिद्धि कमाएको मेरो देशमा धमिराले भित्रभित्रे नष्ट पारिरहेकाे छ । शिक्षाक्षेत्रमा धमिरो, स्वास्थ्य क्षेत्रमा धमिरो, कृषिमा धमिरो, व्यापार व्यवसायमा धमिरो, गाउँ नगरदेखि संसद समेत धमिरोबाट अछुतो रहन सकेको छैन । धमिरालाई भ्याइनभ्याई छ देशलाई चुस्न बरू काठे धमिराहरू त खाँदै गर्दा पनि ट्वारट्वार आवाज निकाल्दै खाँदै गरेको सङ्केत त दिन्छन् तर यहाँ मानवरूपी धमिराहरू चुपचाप केही बनाए जस्तो गर्दै सखाप पार्न लागि परेका छन् ।
आज कुरा गरौँ शिक्षा क्षेत्रमा देखिएका धमिराहरूको रजाइँ बारे । शिक्षा ज्योतिको स्वरूप मानिसलाई वास्तवमा मानिस बनाउने बलियो आधार हो । आमाको गर्भमा प्रवेश गरेपश्चात् चितामा जल्नु पूर्वको मानव जीवनयात्रामा शिक्षाले प्रकाश बनेर पाइला चाल्न हर प्रहर सहयोग गरिरहेको हुन्छ । तर शैक्षिक धमिराहरू शिक्षाको ज्योतिलाई भस्याकभुसुक निभाएर अन्धकारमा बदल्ने ठुलो षड्यन्त्र रचिरहेका छन् ।
विद्यालय शिक्षा अनिवार्य शिक्षा हो । विद्यालय शिक्षाको सफलतापछि हरेक विद्यार्थीको सपना हुन्छ उच्च शिक्षा हासिल गर्ने र सोही अनुरूप विश्वविद्यालय पनि प्रशस्तै छन् । तर विश्वविद्यालयलाई पनि धमिराले नराम्ररी अँठ्याएको छ । बाहिर हेर्दा यी शिक्षाका धराेहर देखिन्छन् तर यी सबै भित्रभित्रै धमिराकाे ढिकुराे बनिसकेका छन् ।
हाे, त्यही धमिराकाे अाक्रमणाका कारण उच्चस्तरीय शिक्षा लिन चाहना राख्ने विद्यार्थीहरू दिनानु दिन घट्ने क्रम जारी छ । कारण किन ? धमिराको बस्ती शिक्षालयमा सरेर पो हो कि गुणस्तरीय शिक्षाको अभाव, शिक्षामा राजनीतिक हस्तक्षेप, परीक्षाफल प्रकाशित गर्न ढिलासुस्तीको कारणले पनि उच्च शिक्षा प्रतिको विद्यार्थी चाहना स्वत घट्ने क्रममा छ । शिक्षालय शिक्षालयको रुपमा नलिई धमिराहरूले राजनीति गर्ने खोक्रो शैक्षिक प्रतिष्ठान बन्दै गएको छ ।
शिक्षा क्षेत्रमा घुसेका धमिराहरू जरा काट्नैमा व्यस्त छन् । यसका हर्ताकर्ताहरू तर चाट्नैमा व्यस्त छन् । यसरी चाट्ने र काट्ने प्रतिष्पर्धाले हाम्राे शिक्षा प्रणाली नै हावामा घर बनाउने तहमा झरिसक्याे भन्दा फरक नै पर्दैन । अब हाम्राे शिक्षाले रोजगारी सृजना गर्ने अवस्था नै छैन । पढ्याे पढ्याे पाठ साेह्र दुना अाठ भएकै कारणले त धेरै युवा शक्ति परदेशिन बाध्य भइरहेकाे छ।
आज कुनै पनि विद्यार्थीले केही समय काम गरेर पढ्छु भन्ने हो भने पनि यस्ता आंशिक कामको त परको कुरा पढिसकेर फेरि रोजगारको लागि छुट्टै पढाइ गर्नु पर्ने बाध्यता सिर्जना गरिदिएको छ । यही हाे धमिरे प्रवृत्ति । हो दशौँ वर्ष जागिरका लागि लडे पनि बेरोजगारीको शिकार बनेका धेरै हृदयहरू आज प्रमाणपत्र दराजमा बन्द गरी कि त खाडी मुलुक हामफालेका छन् कि त मानसिक रोगी बनेर यतै सडक नापिरहेका छन् । याे सबै धमिराकै करामत हाे ।
अन्यत्र अरूअरू देशमा हेर्ने हो भने भर्खरै १२ पास गरेकालाई पनि पढ्दै गरेको विषयकै क्षेत्रमा काम गर्ने व्यवस्था हुन्छ तर नेपालमा स्नातकोत्तर पास गरिसक्दा पनि फेरि रोजगारीका लागि अर्काे लडाइँ गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा किताबी शिक्षा मात्रै भएको छ । आज मेरो देश भनेर गर्व गर्ने हामी नेपाली माटो प्रतिको प्रेम नहुँदा र सरकारले पनि माटोप्रतिको प्रेमलाई हेलचेक्राइ गर्दा शिक्षा र माटोको सम्बन्ध टाढा हुँदै गएकाे छ । पढेकाे मानिसले माटाे छुनै नहुने, टेक्नै नहुने संस्कार निर्माण भएकाे छ । हाम्राे शिक्षा प्रणालीमा पसेकाे धमिराकै कारण यस्ताे भएकाे हाे ।
धमिराले माटोमा गुँड बनाएर संसार खानै लाग्दा हाम्रा बालबालिकालाई माटोबाट टाढा टाढा लैजाने कार्य भइरहँदा पनि धमिरे टाउकाहरू कृषि शिक्षामा चर्को महङ्गी खन्याइरहेका छन् । गाउँकाे मलिलो खेतबारी बझ्याँउने मतमेलो गरिरहेका छन् । कृषि अनि उत्पादनमूलक कार्य गर्नेलाई हेला र हेयभावले हेरिदिँदा शिक्षा आर्जन गरेको व्यक्तिले माटो छुनै हुँदैन भन्ने संस्कारकाे विकास भएकाे हाे । अनि हाम्रा तमाम युवाहरू यहाँ कुनै अवसर पाएपछि लाखौँ शिक्षित र अर्ध शिक्षित युवाहरू विदेशीको गुलाम बन्न बाध्य भएका छन् ।
याे बेथितिपूर्ण अवस्थाले नै हामीलाइ परमुखापेक्षी, परनिर्भर बनाइरहेकाे छ । हामी एकदमै कमजाेर हुँदै गएका छाैँ । हामी कमजाेर हुँदै गएकाे देखेर हाम्रा छिमेकीहरू हामीलाइ झनझन हेपिरहेकाे, चेपिरहेकाे हैन र ? शिक्षा क्षेत्र मात्रै नभएर घरदेखि सरकार र संसदसम्मका धमिराहरू विनष्ट नभएसम्म केही हुनेवाला छैन । देश सिध्याउने याे धमिरे राजनीति, धमिरेअर्थनीति, धमिरे शिक्षानीतिले याे देश भित्रभित्रै सिध्याइरहेकाे छ। अनि त्यही धमिराले कुटुकुटु खाएको खोक्रो, बोक्राे मात्र रहेकाे देशकाे कठै म नागरिक । सर्वनाशक धमिराकाे सवर्नाशै हाेस् ।
०००
केवलपुर धादिङ, हाल- जापान
Subscribe
Login
0 Comments
Oldest








































