अप्सरा सुनारउठिबास अभियान
भएको कलकारखाना उद्योग बन्द गराउने अनि जनतालाई लाखौँ ऋण लिन उत्प्रेरित गर्ने कतै उठिबास अभियान सरकारबाट नै चलेको त होइन नि ? सोच्ने बेला आएको छ ।

अप्सरा सुनार :
पैसाको भकारी बोकेका एक झुन्ड समुह बस्ती पसी हरपरिवारलाई ऋणको भारी बोकाउन पल्केको पनि त धेरै भयो । लौ है सस्तो ब्याजमा लाखौँ पैसा पाइने एक नाम लेखिदिए त पुगिहाल्छ । तो घरबारीको लालपुर्जा किन दराजमा थन्क्याउने र ? छोरा पढाउन पनि सहज दशै मनाउन पनि रमाइलो यस्तै यस्तै लालसामा साधारण परिवारलाई ऋणको थुप्रोमुनि पुर्न सफल समूहलाई खै कुन शब्दले सम्बाेधन गर्न सकिन्थ्यो र ?
गरिबीको घुम्टो हटाउन नसक्दा, बिहान बेलुकीको छाक टार्नै मुस्किल अवस्था अनि छोराछोरीलाई ठूला मान्छे बनाउने सपनाका साथै वर्षैपिच्छे आउने चाडपर्वले समाजलाई देखाउनकै लागि पनि खान लाउन पर्ने बाध्यताले धेरै साइला माइलाहरू ऋणले थिचिएका छन् । थिचिएकालाई झन् थिच्नु पर्छ, किच्नु पर्छ, पिल्साएछ छाड्नु हुँदैन ब्याजको सिलौटामा पिस्नुपर्छ भन्दै हरदिन बस्तिका गल्लीहरूमा बैठक बसिँदै छ । कहिले बैङ्कको नाउँमा त कहिले सहकारीको नाउँमा । कहिले नेताको नाउँमा त कहिले संविधानको नाउँमा लुटबन्दीको एक उदाहरण बोकेर गरिबलाई झन् झन् गरिबी बनाउने अभियान चल्दैछ छ ।
लौ है यो अभियानमा सबैले साथ दिनुपर्छ । कसरी हुन्छ लुट्न छाड्नु हुँदैन, जसरी पनि लुुटबन्दीमा जुट्न छाड्नु हुदैन । हिमालदेखि तराई अनि पुर्वदेखि पश्चिम नेपाल अनि नेपालीको गाथा गाउँदै गरिब बनाउने अभियानलाई उठिबास अभियानको नाम दिएर साकार बनाउनै पर्छ । विरोधी हरेकलाई कसरी हुन्छ हटाउनु पर्छ । वर्तमान समयको एकमात्र खोजी अनि हरेकको आवश्यकता हो उठिबास अभियान । हर परिवारलाई उठिबास लगाउन आफ्ना आफ्ना विचार बोकेर आउनुहोला यदि साथ दिन चाहनुहुन्छ भने । यस अभियानलाई साथ दिने हरेक करोड पति बन्ने छ । कोही हुनुहुन्छ छ र करोड पति बन्न नचाहने ?
उठिबास के हो र फेरि ? कहाँ बाट जन्मियो यो उठिबास सब्द भन्ने लाग्न सक्छ । आज हामी सबै आफ्नै सङ्घर्षका लागि भागदौड गर्दै छौँ । सबैलाई समृद्ध नेपाल अनि सुखी जनजीवनको खाँचो छ । एक समुदाय पीडाले छट्पटी पर्दैछ अनि अर्को समूह पीडामा नुनचुक छर्किनका लागि तम्तयार भएर बसेको छ । आज बिहान बेलुकी छाक टार्नै मुस्किल परिवारलाई लाखौंलाखको ऋण बोकाएर लालपुर्जा हातमा लिएर घर बार उठिबास लगाउने धम्की दिँदै आएका घटनाहरूबाट सायद हामी जो कोही पनि अन्जान छैनौँ । यहीँ कारणले मानसिक रोगको सिकार बनेका अनि अकालमा नै आत्महत्या गरेका समाचारहरू पनि नसुन्ने कोही छैनौँ । तर सुनेर पनि बुच पचाउन पल्केका हामी सुनेर पनि कानौको बहाना गर्न सिपालु हामी के नै गर्न सक्छौ छ । गर्ने पनि के ? कसले सुन्छ र हामीले बोलेको ?
यहाँ त उठिबास अभियानलाई साथ दिन संसदीय कुर्सीहरू नै जुरमुराउनु भएको छ । गाउँ बस्तीका झुपडी मात्रै कहाँ हो र सिङ्गो नेपालको उठिबास हुने डर पलाउन थालेको छ आजभोलि त । आफूले केही गर्न नसके नि प्रकृतिले दिएको संसाधनको प्रयोग गरि विकासका केही कदम चालिएको भए त सायद ती गरिब बस्तीका जवानहरू ऋणको भारिले थिचिएर आफैलाई नसामा व्यथित गर्ने थिएनन् कि । लाखौँ युवाहरू रित्तो हात लिएर परदेशको गुलामी बन्ने थिएनन् कि ? भएको कलकारखाना उद्योग बन्द गराउने अनि जनतालाई लाखौँ ऋण लिन उत्प्रेरित गर्ने कतै उठिबास अभियान सरकारबाट नै चलेको त होइन नि ? सोच्ने बेला आएको छ ।
क्रान्तिका गाथा जति गाए पनि, परिवर्तनको नाउमा जतिसुकै चिच्याए पनि सिङ्गो व्यवस्था नउल्टिएसम्म विकासको परिकल्पना नगरिए पनि हुन्छ । अनि परदेशीहरू घरदेशमा एक उमङ्गको साथ फर्कने सपना सपनामै सिमित नहोला भन्न सकिन्न त्यसैले उठिबास अभियानमा जुक्ति लागाउनेहरूलाई उठिबास कसरी लाउने बारे ममन गर्ने पो हो कि ??
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest









































