ईश्वर पाेखरेलतीजको एउटा गीत
घरव्यवहारको माखेसाङ्ग्लोमा छन् तिनले छुट्टी नै पाएका छैनन् नियन्त्रण पनि छ र उत्पीडन पनि तिनले खाए कि खाएका छैनन् ? तीज गीत गाउने पनि खोइ के गाउँछन् !
ईश्वर पोखरेल :
आफ्नै पाखुरी बजाएकी छु
दिनहूँ अफिस धाएकी छु
स्कुल/कलेज पढाएकी छु,
विद्यार्थीसँगै गाएकी छु
आज थोरै बाहिर आएकी छु
नाँचेकी छु
गाएकी छु
यतिमै टाउको दुखेको छ भने
भन त—
मैले तिम्रो के खाएकी छु ?
तिमी वर्षैभरि नाँच्न स्वतन्त्र
मैले अवसर पर्खेर नाँच्नु पर्छ
तिमी जहिलेसुकै रमाउन पाउँछौ
मैले भने रमाउने अवसर तिजका लागि साँच्नु पर्छ
तिमी साँझ परेपछि भट्टिमा पस्छौ
म उता घरमा तिमीलाई पर्खिन्छु,
तिमी मध्यरातसम्म यतै बस्छौ
हिँड्न पनि खोइ कसरी हिँड्छौ— तिमी !
घरि रोडमा हुन्छौ, घरि नालीमा खस्छौ
हामी त्यसरी हिडेको कहिल्यै देखेका छौ ?
फेरि भाषण छाँट्छौँ—
‘नारी सहनशील हुनुपर्छ, सहेर बाँच्नु पर्छ ।’
पोहोर सँगसँगै नाँचेका साथीहरू
यसपटक नाँच्न आएका छैनन्
घरव्यवहारको माखेसाङ्ग्लोमा छन्
तिनले छुट्टी नै पाएका छैनन्
नियन्त्रण पनि छ र उत्पीडन पनि
तिनले खाए कि खाएका छैनन् ?
तीज गीत गाउने पनि खोइ के गाउँछन् !
तिनको गीत खासै यिनले गाएका छैनन्
आज थोरै बाहिर आएकी छु
नाचेकी छु
गाएकी छु
यतिमै टाउको दुखेको छ भने
भन त
मैले तिम्रो के खाएकी छु ?
०००
बोजेपोखरी, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































