रमेश समर्थनचिठीचपेटा
मैले पठाएको पैसा पनि उसकै नाममा जम्मा छ । त्यसैले म फर्केर आउँदा न श्रीमती न श्रीसम्पत्ति हुने कुरामा ढुक्क छु । त्यसैले पाएकामा सन्तोष गर्नुहोला र आफ्नो रुचिअनुसारको गर्नुहोला ।

रमेश समर्थन :
आदरणीय श्रीमतीज्यूका खुरमा म परदेशीको सम्मान ! मैले तिनलाई पाउ भन्नुपर्ने हो तर बढी खुरखुर खुरखुर गर्ने भएकाले खुर भनेको हुँ । अनि कुकुरले झैँ भुइँ कारकुर गर्ने भएकाले पनि खुर नै उपयुुक्त लागेको हो ।
हुन त श्रीमती भन्दा पनि अर्को उपाधि (शिरमा म् +उ ती) उपयुक्त हुने हो तर सार्वजनिक रूपमा दिइने उपाधि होइन त्यो । त्यसैले प्रत्यक्ष भेट्ने अवसर जुरेछ भने अवश्य दिउँला । तपाईं त्यहाँ निकाआरामसित हुनुहुन्छ भन्ने दसी तपाईंले फेसबुकमा राख्नुभएका भिडियोहरूले दिए । आहा ! दिनदिनै नयाँ साडी कति सुहाएको तपाईंलाई ? अनि ती गहना आफ्नै हुन् कि मागेका हुन् कि नक्कली हुन् कि सक्कली नै पो हुन् कि ?
मैले बाआमालाई नपठाएर तपाईंलाई पठाएको पैसाको सदुपयोग भइरहेको छ भन्ने त तपाईं एक महिनादेखि पार्टी प्यालेसहरूमा धाएकै देखेर चाल पाएँ । अनि नि त्यो तीजको गीतमा तपाईंले गरेको कुकुर नाच कति सुहाएको तपाईंलाई ? तपाईं त राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा नृत्यतर्फको उपकुलपति नै हुनुपर्ने । वास्तवमा सारा युवा तपाईंका फ्यान भएको देखेर त पचास डिग्री तापमानमा ओइलाएको ज्यानलाई मरूभूमिको वर्षाले राहत दिएझैं भयो । अनि नि, त्यो नाच छोरीलाई पनि सिकाउनुभयो कि ? मेरा र तपाईंका सासू ससुरालाई पनि देखाउनुभयो कि ? नदेखाए पनि देख्नु त भयो नै होला ।
त्यो देखेर तपाईंका सासूससुराको नाक घिरौंलाजत्रो भयो होला र गाउँ टोलमा गर्वसाथ देखाउँदै हिँड्नुभयो होला । अनि मेरा सासूससुरालाई तपाईंलाई मन पर्ने प्राणीसित तपाईंको पाणिग्रहण नगराएर मजस्तो मान्छे भन्ने जातको हातमा किन जौतिलपानी पारें भनेर ग्लानि पनि भएको होला । छोरीले पनि आमाबाट राम्रो संस्कार सिक्ने भई र छोराले पनि स्कुलमा “माई मम्मी, माई प्राइड” भन्न पाउने भयो । नारी हकको योभन्दा उत्तम उपभोग र उपयोग अर्को हुनै सक्तैन । अँ, अलिकति तिजको दिनमा पतिको दीर्घायु, सुख र सुस्वास्थ्यका लागि निराहार व्रत बसेको र अडिन नसकेर “पति परमेश्वर” भन्दै ढलेको नौटङ्की गर्न र युट्युबे पत्रकारलाई अन्तर्वार्ता दिन भने नबिर्सनुहोला ।
बाआमाले भन्दा तर पत्याइनँ, साथीभाइले भन्दा पनि मानिनँ र मेरै सासूससुराले सम्झाउँदा पनि टेरिनँ तर अब पक्का विश्वास भयो तपाईंले आफ्नो मन परेको प्राणीलाई पोइ बनाउनुभएको छ र उसले तपाईंलाई जोई बनाइसकेको छ । मैले पठाएको पैसा पनि उसकै नाममा जम्मा छ । त्यसैले म फर्केर आउँदा न श्रीमती न श्रीसम्पत्ति हुने कुरामा ढुक्क छु । त्यसैले पाएकामा सन्तोष गर्नुहोला र आफ्नो रुचिअनुसारको गर्नुहोला । अनजानमा जन्मेका छोराछोरीले तपाईंसित जान मानेछन् भने जानेछन् र मानेनछन् भने तपाईंका सासूससुराका अगाडि लगेर “स्याहार तिम्रा छोराका स्याहानबाहानलाई ।” भनेर हिँड्नुहोला ।
आजसम्मको तपाईंको
श्रीमान् नामको दास
०००
रुपन्देही









































वाह!
मेरो रोजाइ हुन्थ्यो भने शीर्षक :सिरीमतीलाई चिठी हुन्थ्यो