ठाकुरप्रसाद अधिकारीजात्राको झङ्कार
जात्राको कुरा जरैदेखि गर्ने हो भने पनि अहिले सिंहदरबारको जात्रा मात्र होइन बाघ दरबारको जात्राको वासना गाउँ गाउँमा पुगेको छ । जात्रा आश्चर्यको कुरो होइन ।

ठाकुरप्रसाद अधिकारी :
वास्तवमा आजको जुग जात्रेयुग हो भन्दा फरक पर्दैन । यसो भन्दा तपाईंलाई के लाग्छ । सोझै भाषामा म तपाईंलाई जात्राको केही गफ सुनाउँछु । प्याच्च केही नभन्नु होला । अचेल हरेक गतिविधिहरू जात्रामा परिणत भएका छन् । कपालअनुसारको केश, देशगुनाको भेष नै जात्रा हो । जात्राको परिभाषा गर्दा अरुको उपहास गिल्ला, ठट्टा गर्नु पनि जात्रा हो । जात्रा गरेर कोही कुशल नेता बने । कोही धनवान् र मनवान् पनि बने । त्यसै कारणले जात्राले सहि सूचना प्रवाह गर्ने पनि गर्छ । देशमा जात्राको अपजस लिनेको कमी छैन ।
जात्रा के हो सदरखोरको जेलमा थन्किएका नेतालाई पनि थाहा हुनुपर्छ । तपाईंलाई मात्र होइन खर्कमा खर्चले भेडा हेर्नेलाई पनि आश्चर्य लाग्ला । आजभोलि मुलाको मुख चलाउन भन्दा जात्रा चलाउन सजिलो छ । त्यसै भएर सबैलाई जात्राको बारेमा चासो जाग्नु स्वभाविक नै छ । जात्रा सिद्धान्त त कसैको अधिनमा छैन भने पनि सिंहदरबारको जात्रा गाउँ गाउँमा पुगेको छ । जात्राको जगमा उभिएर रचना र सिर्जना मौलाएका छन् । जात्रा काव्यिक यात्रामा गलाको माला पनि हो । जात्रा भाला पनि हो । सरकारको हातमा भ्रष्टाचारको गन्ध छ जनताको बाहुमा कमेडी छ । यसैलाई जात्राको झङ्कार भन्न खोजेको हुँ ।
सभ्यताको चाँजोपाँजो चलाएर चामलको सातु जात्रामा खानेबाट पनि ज्ञानको भण्डार मजवुत भएको छ । अचेल जात्रा चलाउनु भन्दा पनि हराएको चिन्ता हुन थालेको छ । यसरी जात्राको जटिलता हराएपछि मानिस नाङ्गिने र बाङ्गिने काम पनि रोकिन पुगेको छ । जात्राले कतिको घाँटी निमोठेको छ । झन् कतिको तिघ्रा चिमोटे यो बेग्लै कुरा हाे । कतिलाई कर्तव्य सिकायो कतिलाई दानको भारि बोकायो । जात्राले के गुमायो, के पायो त्यसको लेखाजोखा पनि छैन । जात्राले फरिया फुस्केको पनि थाहा दिँदैन । ओइलिएर पतन भएका मान्छेले नहुँदो काम गरेर जात्रा मच्चिएर थच्चिएको छ । सभ्यताको भाषा र भाषण भन्दा जात्रा ठूलो हुन पुगेको छ । यसरी हेर्दा मानिसको कामकारवाहीबाट जात्राको विकास मात्र होइन मानवको जीवन चक्र पनि यहिँबाट नै सुरु भएको भान हुन्छ । अरुको जात्रा भन्दा पहिला आफ्नै जात्रा भएको कुरा यहाँ लुकाउन सकिँदैन ।
जात्रा गरेर पदोउन्नति गर्ने पनि कैयौँ छन् । जात्रा गरेर सुद्धि बुद्धि हराउने पनि छन् । जात्रा गर्न नाम र दाम दुवै चाहिन्छ भन्छन् । त्यो क्षणिक गफ हो । कसैले कसैलाई ओछ्यानमा उठाउन जात्रा । कसैलाई मैदानमा भौतारिएर ठटाउनेको जात्रा । यहाँ ठाउँको ठाउँ मान्छे मार्नु जात्रा भन्न खोजेको होइन । यहाँ धर्मकर्मका नाउँमा ढुङ्गामुढा पुज्नेको नाममा जात्रा हुन थालेको पनि धेरै भएको छ । आफू जात्राको नाममा लायक र नायक भए पनि ईश्वरको नाममा जात्रा गर्ने पनि परम्परा छन् । जाडोको मन्डी फालेर जात्रा गर्ने पनि हामी कहा कमी छैन । हामी ज्ञानगुनका कुरा गरेर थाकेका छैनौ । अनि जीवनमा व्यस्त कुकुरले मन्दिरमा पुच्छर हल्लाएर पिसाब गरेझैँ झिँगाले फोहरलाई स्वादले खाएझैँ आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक जात्रा पनि गतिलो बन्न पुगेको छ । यसैकारण मलाई लाग्छ जात्राको झङ्कार रस वरिपरि झुम्मिरहेछ ।
यहाँ गम्कागम्की खस्रा कुरा गर्ने हो भने पनि ब्रान्ड ब्रान्डमा जात्रा पाइन्छ । प्रत्येक जात्राको मापन गर्न पनि गाह्रो हुन्छ । तपाईंको गाउँ शहरमा कस्तो जात्रा चलेको छ । जात्रामा कसले के पायो के गुमायो भन्दा पनि गाइने जात्रा, थोत्रे जात्रा, भोटो जात्राको इतिहास, पशुपतिको मन्दिरझैँ बुढो भएको छ । देश विदेशमा नाम चलेर के गर्नु । आबारा भ्रष्टाचारको जात्रा कामचोरको जात्रा ठगाहाको जात्रा, धक्कुलाउनेको जात्रा, बकमफुसे जात्रा । जुनसुकै शर्त राखे पनि आँतको दाँत झर्यो जात्रा । साठी नाघ्यो उमेरको जात्रा । जोर खुट्टा चल्न रोकियो जात्रा । कविता प्रतियोगीमा कविको जात्रा । पुरस्कार वितरणमा राम्रालाई हैन हाम्रालाई पुरस्कृत गर्ने जात्रा ।
मैले यी कथाहरू फुरक्क पार्न भनेको होइन । चोरको चौतारो जात्रामा परेको छ । लुतुरे काजीले सिँगारेर पालेको लुखुरे खशी भन्दा कम छैन । यसलाई पल्टाएर हेर्दा अनेकथरी जातमा जात्रा पाइन्छ । हाडनाता पर्ने दाजुभाइमा पिँढीमा ढिपी बढ्ने जात्रा । साधारण बोलचालमा भन्दा शरीरमा आलु, मुला, पिँडालु फलेको कुरा सुन्दा तपाईं आत्तिनु होला । आखिरमा यता न उताको कुरैकुराको खेती जात्रा हो । जात्रा भन्ने बित्तिकै रमाइलो लाग्छ । जात्राले भान्छेको जात भात मात्र उडाउँदैन । जात्रा ओठदेखि भोटसम्म नोटदेखि चोटसम्म कुबाटोदेखि नाफा खोरको नोक्सानको घाटोसम्म चलेको छ । साहू र आसामीको लेनदेनको जात्रा । चोरबाटो हिँड्ने जात्राले भर्सेलामा राखेको कुँडेको दुध पनि जात्राले उडाउन सक्छ ।
यात्रा र जात्रामा कुन ठूलो भनेर विवाद परे पनि धुरन्धर शहरियाले गाउँलेलाई हेपेर गर्ने जात्रा । यहाँ फैलिएको छ । चितुवाले जरायोलाई घेरेर मारेर गर्ने जात्रा । उहिलेको पिनास रोगझैँ चलेको ल्याङ्ल्याङ्गे जात्रा अहिलेसम्म सिद्धान्तमा रोकिएको छैन । जात्रा शब्द पुरानो पनि हो जस्तो लाग्छ । तर पनि पक्का होनहार हुने मान्छेको भन्दा जात्राको महत्व दिन दिनै रामगीताको पुस्तक नपढे पनि बढेको बढैछ । कुप्रवृत्ति कुरा खोतले पनि हरामको जात्रा ढाकछोप गरिन्छ । यसो भन्दा जात्राको वारेमा नजान्ने मान्छे कमै होलान् । श्रोताको जात्रा कि दृश्यको जात्रा के भन्दा जात्रा हुन्छ थाहा भएन । जात्राको दुनियाँमा बिजोडा जुत्ता लाएर जात्रा गर्ने भरमार छन् ।
जात्राको कुरा गर्दा भुस्सा काट्ने मुसा पनि जन्मेको छैन । यस्को गजबको कुरो चाहि प्रशंसा गर्ने इजलाश जन्मेको पनि छैन । माथिल्लो ओहोदाले तल्लो तहको अदालत पनि पिरले रन्कोमा रन्केको छैन । जात्राको विशेषता सक्षमताको कुरा गर्दा सरल र माहान जात्राको कुरा गर्दा यो सानो मन ढक्क फुल्छ । जात्रा नगरे यात्राको कान पनि पाक्दैन । जङ्गलको भालु, फाँटको आलु भन्दा जात्राको महत्व हुन्छ । कालीमाटीको तरकारीको कुरा गर्दा जात्राले होला धादिङ्गे तरकारी भन्दा इन्डियन तरकारीको जात्रामा रङ्ग चढेको छ । जात्रा बिग्रनु भनेको देश फेरिनु होइन । फेरि जात्राको कुरा सर्पझैँ बेरिए जेलियो भन्नु होला । आखिर लेख्न खोजेको थिए जात्राको रोग । त्यहीँ देखेर वितण्डा चम्काउने जात्रा सम्झन्छु । जात्रा आकाश पातल मात्रै होइन सुर लय तालमा पनि जताततै चम्केको पाउँछु र रुद्रघण्टीमा पनि त्यहीँ कुरा जप्छु । अमिलो पानी धमिलो हुनुको कारण पनि यहीँ होला ।
कसैसँग लेनदेनको झेलमा जेल गर्नु पर्यो जात्रा । पार्टी हाक्न डन पाल्न पर्यो जात्रा । कालगतिले बिरामी मर्यो हस्पिटलमा डाक्टरको जात्रा । यसको मुद्दती कारण के हो ? बागमतिमा पखालेका मुला कसैले खान छाडिसके । के विकास भने यहि त हो । यास्तो कुरा वणर्न गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैन । जसले जात्रा गर्यो उसले जित्यो । जात्रावालाहरू देशभरि नाचेका छन् । सात घुम्तीमा हिँड्ने जात्राको ताल बेताल भएको छ । जात्राको माहात्म्य अनि मनशान्तिको गीत गाउँन कठीन छ । कटु भाषामा वा विद्रुप दृष्टिले भन्दा जात्राको पहिचान मास्नेको सामथ्र्य कहन मुिस्कल छ । वास्तवमा जात्रा एउटा लडाइँ हो, लडेमा फिस्स उपचार नहुदै बात लाग्न सक्छ । यी बक बक होइन अहिलेका जात्राको झङ्कार हुन् ।
दुनियाँमा जात्राको निहुँमा सरकारको तलुवा चाटेर आनन्द लिने पनि छन् । कसैले बाबुको ढुकुटीलाई सुकुटी पारेका छन् । कसैले जात्रा चलाएर इज्जत धानेका छन् । जात्रा बनाउने र मनाउनेमा फरक पनि छन् । मैले अखबारमा पढेको छु प्रहरीलाई सलाम गरेर चोरले सामान भगाउँदा पनि जात्रा हुन पुग्नु हाम्रो विडम्बना हो । मदिराको नशाले मातेका सुरक्षाकर्मी जनतालाई उछितो काढ्छन् । यो जात्राको पहिचान हो । सामाजिक दायित्व नहुनेले कसमा कसले के मिसायो जात्रालाई के पत्तो ?
सुकुमवासी र हुकुमवासीको जात्रा गुच्चे टोलदेखि टुच्चे टोपीसम्म जात्रा फैलिन यहाँ छुट छ । जात्रा भनेर मात्र कहाँ हुन्छ । यहाँ खाइजात्रालाई मागी । डेड अक्कली बाबुको जात्रा । काजी काकीको जात्रा, आमाको जात्रा, छोराको जात्रा, छोरीको जात्रा । ससुराली जादा बाह्रहाते पिँडालुको जात्रा । घरमा छँदा छोरा बुहारीको जात्रा । मावलीको टाकनटुकन हिसाब किताबको जात्रा । वल्ला घरे, पल्ला घरे, सिरान घरे, पुच्छार घरेको घर घडेरीको जात्रा, डाँडाँ घरको गह्रै घरेका साँध सिमानाको जात्रा । नाकमा आलो कालो दल्नेको जात्रा । बिरालुले मुसो मारेको जात्रा । टाटो पाटे रोगको जात्रा । झिल्को पानी र झिल्के मिल्केको जात्रा । यसरी जात्राको रस पाउनु हाम्रो सौभाग्य हो । यो पनि झङ्कारको झड्का हो ।
विदेशीको नक्कल गरेर बनाएको संविधान असनको साँढेको जात्रा जस्तै हलनचल भएको छ । बाँङ्गे मुडाको देशे मरु झ्याल जस्तै प्रसिद्ध भएको छ । यही गतिमा संविधानको जात्रा बढ्ने हो भने जात्राको हिसाव खुट्याउन नेपालमा चल्ने रेलको पसिना पर्खिन पर्ने छ । यस विषयमा प्रदेश र केन्द्र सरकारको हाँसोको पालिस नासिए पनि मुसा नमार्ने बिरालो धेरै दिन टिक्दैन भन्ने कुरा सबैलाई थाहा छ । न त उसले पापड खान्छ न त झापड खाएर बाँच्छ । धुइँधुइँती जात्राको विषय किन उठान गर्ने । दिमाग सड्केला भन्ने डर हुन्छ ।
जात्रामा शिल्प कला र चेतनामूलक माटो छोएको होस् अनि जात्राको स्वाद हुन्छ । कोही थकाई लागेर थन्केका किसानले सन्केर भन्न सक्छन् । जात्राको कुरा जरैदेखि गर्ने हो भने पनि अहिले सिंहदरबारको जात्रा मात्र होइन बाघ दरबारको जात्राको वासना गाउँ गाउँमा पुगेको छ । जात्रा आश्चर्यको कुरो होइन । बालुवाको संसारबाट तेल निकाल्छन् । परीक्षामा भिटो नलाई चिटको बिटो निकालेर पास गर्नेको जात्रा त्यस्तै छ । यो झ्यास झुसे जात्रा निकाल्ने जमाना होइन ।
जात्राले एउटा नाक बढाउन हाँक नै दिइरहेको हुन्छ । सानो सानो सत्यनायणको कथा सुन्ने टुकुचालाई थाहा छ । मेलम्चीको पानी काठमाडौं नियमित नआउनु केही सुनाउन पर्दैन होला । निरिक्षण गर्दै गयो भने आफू आएको दुलो देखिएला । अचेल भरि बालेनको कलम र अक्षरले घोचेर कमल फुलको कमिलो पनि मर्दैन । तर जात्रा कसको लागि राख्ने । तपाईंको देशमा कस्तो जात्रा चलेको छ ? हावा खान निस्केका कावाबाट पनि देश विकास नहुनुमा जात्रालाई माला भिरेर भव्य र दिव्यमा दोष दिन्छन् । ओहो ! हामीले हुँदा हुँदा जात्राको रोगलाई पनि जात्राको संस्कृति भन्न थालेका छौँ । यिनै हुन् जात्राको झङ्कारहरू । जनमानसले पनि धरोधर्म यसलाई छिटोछरितो बुझ्न आवश्यक छ । ।
०००
काठमाडौं १५, हाल : सिड्नी
२३ जनवरी २०२४
Subscribe
Login
0 Comments
Oldest









































