साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडोहरूको तगडो चर्चा

छिमेकीकै इसारामा नाच्छन्, कम्बर भाँच्छन् । उनकै गान गाउँछन् । आशिरवाद लिन त्यतै धाउँछन् । दिन उनीहरूकै रात पनि उनीहरूकै । चकचकी चलेको छ, आगो त्यतै बलेको छ । सुनका लाप्सा त्यतै फलेको छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

छिमेकी किन ? छिमेक नभए सृष्टि र दृष्टि रोकिन्छ । होइन रहेछ । बडो छिमेक त वर्षाको खहरझै चौपट्टै उर्लिदो रहेछ । हो बडो छिमेको त यस्तो पात्रलाई भनिन्छ, जसले एउटोको बगलीबाट कालीगेडी जति कमिशन लुसुक्क लुँड्याएर अर्कोको कालेहवेली रातोपाटे बनाउने मिशनमा सानोतिनो भाँजो हाल्न तम्सिरहने पछाडिबाट छिर्के लाउने अगाडि आए घुर्की लाउने नै बडो कला जान्ने नै बडो कहलिए । हामी बडो त्यसैलाई भन्छौँ । कैयौं पटक फुच्चे र लुच्चो मेरो आँखाले देखेको मात्र थिएन, जीवन बाँच्न मुस्किल पनि पारे । छेउमा परे अचेट्ने कुनामा परे घचेट्न लागिपरिरहेका हुन्छन् । कति भनौ र कतै विरोधीको कान फुकेर उसको कानको जाली खोली दिने र नसके अनेक प्रपन्च रचेर पाँच पञ्चेलाई पच्चिस पञ्चे बनाइ दिने । हामीजस्ता निमेकीलाई बिछट्टै पाङ्दुरे झै लडाउदै हिँड्ने बडा धेरै देखेँ थोरै सज्ज्न । यो बडोपनको प्रवृत्ति सय कुरोमा उनान्नसय उनीहरूकै हुन्छन् ।

बडोको संख्या किन दिन गुना रात चौगुना बढिरहेछ त ? बडो एटम बम जस्तो पड्किने । परिआए गोलो गोलो गोलभेडाजस्तो रातो हुने । कतै भन्छन् लुच्चा कुरा गरिकन निमेकी छिमेकीको नाक कान मुख बन्द गरि बाचुन्जेल सास फेर्न नसक्ने पारि पासोमा हाली बन्द आँखीगेडी टेक्ने खुट्टो लङ्गडो पारि गरि धरापमा मारिपिटी धुलामा चल न हलमा पारि खाडलमा पुरी हुन आँटेको तोकेको काममा चारैतिर घेराबन्दीमा पारि ढाडमा टेकेर टाउकोमा बन्दुक भाला खुँडा तरवार नभए नक्कली बन्दुक कैँची चक्कु पड्काएर भए पनि चुलो र चौका बन्द गर्न तम्सिन्छ । यस्तालाई नै हामी निसन्देह बडो छिमेक भनेर परिभाषा गरिरहेका हुर्न्छौ । त्यसैले हामी बडोलाई विद्धान भन्छौँ । उसैलाई हामी महापुरुष सम्झेर सलाम अभिवादन नमस्कार र जदौ भनेर उसकै उन्नतिमा भरेङ भइरहेका हुन्छौँ । यस्तो दृश्य हामीले औधि देखेको हुनुपर्छ ।

बडोका घुच्चा मुक्का खाएर सिक्ने मात्र चलन पनि हो । बडोको ज्ञान विज्ञाने बिदुरेले पनि नजान्ने न त भन्ने चलन छ । ठाउँ न ठहर उसैलाई कहाँ भेटौ कहाँ देखौँ हुनु पनि उनीहरूको शिल्पी कला हो । बडो हुन कला भएर मात्र हुँदैन गला पनि चाहिन्छ । मेरो टोलमा म एकैछिन टोलाउँछु– कमला विमला रमला अमला र गमला पनि बडोको संख्या बढ्नु भनेको उनीहरूको धाक रवाफ र प्रभाव पनि छ नि भन्छन् । भावविहीन हिँडाइमा पनि प्रतिष्ठित काम गर्ने पनि कहलिएका पनि भेटिन्छ उनीहरू पनि त्यसै भन्छन् ।

म झुम्रे पनि बडोको टालाटुली बटुली कति श्रीमतीको फरिया बनाउँ । बडो त पहिला पहिला पुरेतत्यार्इं काम गर्ने पुरेतको भाषाको जगतमा सभ्य मानिन्थ्यो । खै आजकल त युटुवमा पनि महाज्योतिषी मौलाएका छन् । हस्तरेखाको नाम नजान्ने जोतिषवादी भएकै छन् । होमको सुरो चलाउन नजान्ने, साहूको जग्गा मोही भएर कमाएर मोही पार्दा पनि मोही भाग खोज्ने प्रति मलाई कुनै गुनासो त छैन । तर सुनकोशीमा चिच्चाएर दुधकोशीमा पौडिन नजान्ने माननिय महामहिम महासेठ महोदय बनेका छन् । उनीहरूले बाढीमा पाडी बगिरहँदा के उद्धार गर्लान् ? टिकटको फेशनले देश चलाउने बहादुर छोरा कहलिएको छ । उसकै हप्कीदप्की खाने बाबु ताप्केजस्तो गाला लिएर दुइ गोरु गोठमा पाल्छन् ।

बडोको मुख बाटुलो ब जस्तो जति सिँगारेर भने पनि अचेल अचानाको मासु जस्तै छ्यालब्याल भएको छ । बडोले गर्ल्याम्म भुकम्प आए झै घर ढालिदिने विद्या पढेका छन् । एउटा छिमेकले अर्कोलाई चेपुवा हालेर चपाइदिन्छ । बडोको रगतमा के के छ कुन्नी उहि घाम उहि पानी त हो ? सकभर गोइङ टुकेदर पेइङ सेप्रेट भन्न पनि आज भोलि सात वारको नाम जति सजिलो छैन । अहो सहकारीको कुरोटी खाने बडो छिमेक महान भएको छ । त्यसै भएर आज भोलि मलाई बडो छिमेक कस्तो हुन्छ थाहैै छैन । पैसठी हिउँद बसन्त न त चले बडोसित । न त बस उठमा बिते । बडो बलियो त जँुगामुठ्ठे छोरा हो । यो बडोलाई लखेट्न झुक्याउन छकाउन बडो नै चाहिँदोरहेछ ।

अब त एउटाले अर्कोलाई बुच्चो नबनाए बाँच्ने त बुच्चो ब कागजको खेस्रा जति पनि महत्व नठहरिने जमाना छ । हो बडोको भाउ दिनप्रतिदिन बढेको छैन कसरी भनँु । सरकारी ढुकुटीबाट हिमाल आरोहण गर्ने अभ्यास गर्ने गद्दी चढ्ने, सपना देख्ने, नाम चाहिँ बडो बाबु बाजे जीजु महारानीको राख्ने । यो बडो सजिलो काम भएको छ । अभियान आमोद प्रमोदको बडो छिमेकलाई दोष लाउने ? बडोको राख्ने ? यो विद्या विद्यालय महाविद्यालयको विद्याभन्दा पनि उपल्लो विद्या भएको छ । जुन कामकाज घरकाज के कुरा सरकारले लोकतन्त्र चलाउन पनि यस्तो यूनिभरसिटी बनाउने कल्पना गर्न सकेको छैन । जे होस् विद्या पनि सेटिङमे हुने गरेको छ ।

पोहर साल मेरो टोलमा हुर्केको अचाने माइलो श्रीपेच लाउने धुनमा बडो होहल्ला गाँजा खाएर बाजामा शहर बजार गल्ली गल्लीमा हल्लीखल्ली गरी दौडिएको अर्ति दिने घर्ति काकाले हामीलाई हरियो मकैझै डढाए । मसक्क भने– बडोको ज्ञान लिनु चिया खानु छानेर । त्यसैले होला बडो छिमेकमा छलकपटक गरिकन नेता बन्न दौडधुप गर्ने ठूलो संख्या बढ्दो छ । कतै कसैको कमिजको कठालो समायो । कहीँ कसैको दौराको फेरो समाएर बडो भएको नेता पार्टीको बटमलाईनको इतिहासबाट वारवार सुइँकुच्चा भइसकेको हुन्छ ।

झुम्रेको पनि बडो हुने दाउ भदौमा आँख्ल फुटेको मकैजस्तो हरिया दाँत तिखारेको पो त । यो बडो हुने सुत्र रामदेव बज्रासनमा किन भनिरहेका छैनन् ? बडो त सुनलाई खरानी र नूनलाई अलिनो बनाउन छ भन्थे तर होइन रहेछ । मेरो गोवर भरेको दिमागले के कल्पना गरेछ कुन्नी चार वर्षे बालकजस्तो बडो भगवान जस्तै देशमा नेता बडो बन्न खोज्छन् । त्यसैले मेरो बडो छिमेकी मलाई आँखामै चपाउन खोज्छन् ।

हाम्रो हिलेडोलमा एउटा लामखुट्टे थियो । ऊ टोलकै लामो खुट्टेमा कहलिएको थियो । उसको मृत्यु पनि नालीमा मुख डुबाएरै भयो । पखेटामा अलिकता कमिशन लतपतिएको म कसरी भनँु । जीवीकोपार्जन गर्न लाहुर गएर लाहुरेनी श्रीमती कति भित्रायो, छोरालाई भुसतिघ्रे पार्‍यो । यो मेरो चासोको विषय होइन । उसले पल्लाघरे अल्लारे बडो छिमेकीसित उर्वर कल्पनाको खुराक पिएर पुर्खाले धोती टोपी कछाड कन्नानी नफेरी जोडेको अमिट गोरेटो बाटोमा साटसुट गरि टाउको लुकाउने बहानामा हवेली बनाएको देख्ता मनामा च्यास्स पस्छ । ऊ इतिहास बेजोडको थियो थिएन उही जानोस् ।

केही बडोहरूको प्रतिभा साहित्य क्षेत्रमा पनि देखिँदै छ । समीक्षा समालोचनातर्फ यसखाले बडो रुचि राख्छ । अहिलेका सबै कविलाई झासझुसे कवि देख्छ । आफू चाहिँ के लेख्छ आफैँ बुझ्‌दैन । कविता जस्तो निबन्ध, निबन्ध जस्तो कथा र बुच्को, सिर्कनु, छोक आदि नामका काव्य कृतिहरूको बाढी नै ल्याइरहेको दाबी गर्छ । ऊ त आफैले आफैलाई महारथि ठान्छ । अरू कसैलाई गन्दै गन्दैन । आफू बाहेक अरु कसैलाई साहित्यकार भन्दै भन्दैन । यस्तो विशेषता साहित्यिक बडोको हो । त्यसो भएर म जाबोको पुस्तक एक संस्करण निस्कन सकेको छैन । त्यसैले बडो हुने चाहना नभएर पाठक समक्ष आउन मैले चाहिरहेको छैन । समाजमा यत्रतत्र छरिएका बडोहरू धेरै छन् । शायद उनीहरू दुनियाको नजरमा हराउँदैनन होला भन्ने पो पिर मेरो गोवर भरिएको दिमागमा मडारिइरहेको छ किन होला ?

अर्काथरि बडोहरू राजनीतिमै सक्रिय छन् । सरकार बनाउन गठबन्धन र सरकार भत्काउन पनि गठबन्धन गरिरहनु यी बडोहरूको मूल काम हो । यस्तो काममै दाम फल्छ भन्ने विश्वास उनीहरूमा छ । गुट बनाउनु, एउटा गुटमा होहल्ला गर्दा गर्दै जङ्गलको बाँदर एउटा रुखबाट अर्को रूखमा हाम्फाले झै अर्को गुटमा हाम्फाल्नु, यी बडोहरूको दैनिकी हो । चमेरा र छेपारा जस्ता यी चेपारो पार्न पनि उत्तिकै सिपालु हुन्छन् । देशको विकास बिकासको ठेक्का अहिले यिनकै काँधमा थोपरिएको छ । टोलटोलमा ढोल पिट्ने यिनिीहरू नै हुन् । गफैले संसार हाँक्ने ह्याउ देख्दा यी त टोलटोलका राजा यिनै हुन् भन्ने भान हुन्छ । स्वर्णको स्वर्गमा यिनै रजाइँ चलिरहेको छ छ । बडो गम्दार छन् । बडो दमदार भाषण ठोक्छन् । विपक्षी र विरोधीहरूलाई उडुसले झैं टोक्छन् । योजनहरूमामा लामो हात गरेर कमिसन बोक्छन् । चम्चाहरूलाई बटुलेर विदेशी ब्राण्डका दारुपानी धोक्छन् । बोडोहरूको जीविका यसरी नै चलेको छ । बडोहरूको नैतिक अनैतिक व्यक्तित्व धपक्कै बलेको छ ।

छिमेक भनेको एकअर्काको पर्यावाची शब्दजस्तै जस्तै हो । एकले अर्कालाई संबृद्ध बनाउने । कसैले कसैलाई अदभूत चमत्कार देखाउन ठाउँ सुरक्षित गरिदिने । यस्तो बडोहरूकै संगतले हो छिमेकीले पनि पाहुर देखाउने । टोल टोलमा भएका बडोहरू नै वर्तमानका हिरो हुन् । म त जिरो मूल्यको किरो मात्र । उनीहरूकै वरिपरि बडो छिमेकी छन् । छिमेकीकै इसारामा नाच्छन्, कम्बर भाँच्छन् । उनकै गान गाउँछन् । आशिरवाद लिन त्यतै धाउँछन् । दिन उनीहरूकै रात पनि उनीहरूकै । चकचकी चलेको छ, आगो त्यतै बलेको छ । सुनका लाप्सा त्यतै फलेको छ । उनहरूकाे दमदमी देखेर म ता लल्याकलुलुक भएँ । उनीहरू वंशको अंश लुकाएर भकारी भर्दै बढ्दै छन् । तपाईं आफै भन्नु होस् त, ए ! गाँठे बडाेका बारेमा कनकान गरेर तिनकै प्रशंसामा समर्पित यो निबन्ध तगडो छैन त ?

०००
तुप्चे- ४, नुवाकोट, काठमाण्डौ चमती– १५
हाल : सिड्नी अस्ट्रेलिया
०३ अप्रिल २०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
अतीतको पत्रु सेठलाई पत्र

अतीतको पत्रु सेठलाई पत्र

ठाकुरप्रसाद अधिकारी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x