ठाकुरप्रसाद अधिकारीअतीतको पत्रु सेठलाई पत्र
अगाउन्जेल हलि गोठाला भान्से काम लाएर आफ्नो राजनीति छलनीति धानेका छन् । तर उनीसित चरित्र साट्न मेरो यो महङ्गो समय आतुर छैन । थरिथरीका सेठहरूको कुरा इमान्दारीपूर्वक भन्दा टकटक्याउँदा पनि सकिँदैन ।

ठाकुरप्रसाद अधिकारी :
आरणीय सर्वप्रिय ! सेठज्यू नमस्कार
अस्ति रातिदेखि निद्रा बिग्रेर बिर्सेर पनि सम्झिरहेछु । मान्छे भन्दै आएका छन्- तपाईं आदरार्थी गोरु नभए पनि गुरुजस्तै हो । तपाईंको सभ्य भाषा मपाईं भन्दा पुरानो छ । डाँडापारिको जून उज्यालो हुन्छ भन्ने कुरो पुकार मात्र हो । तपाईंले ठाउँ ओटगेपछि धोबीको गधाले पनि उत्तम पुरुष ठहर्र्याउँछ । तोते बोलीदेखि चिन्दै आएका छौँ । जब तपाईं बाख्रेबाट कुखुरे हुनपुग्नु भो, धानचरीबाट तपाईंलाई सोह्रै आना लामधारे हुनु भो । दुर्लभ म पनि माइक्रो खलासी भएर पुत्र लाभ भो । सेठ भन्दा अन्याय हुन्छ ।
तपाईं यो युगको हुनेखाने सेठ नभनेर के भनुँ टाढा रहर लाग्दा बयान पुगेको छ । मान्नै पर्छ जङ्गलमा बसेर मङ्गलको कल्पना । कुखुराले ठुँगेको चल्ला भन्दा सानो कुरा छोडेर तपाईंले पैसा फल्छ भनेको सुन्दा आश्चर्य लाग्छ । सेठ हुन के के चाहिन्छ जसमा अनेक धारणा रहँदै आएको छ । यो पत्र एक लाइन सक्नु पर्ने थियो त्यो सकिनँ । क्षमा चाहन्छु । तपाईंको नक्सा प्रसारण गर्नु थियो । सर्टको गोजी प्वाल परेर मोबाइल झरेको अँध्यारो झाडी वा तपाईंकै बारीमा हो । दिनभर मोबाइल हराएर भुतुक्कै भाछु । तपाईंकै कुराले मनमा अनेकथरी कुरा खेलिरहे ।
तपाईंले विवाह गरेको अस्तिजस्तो लाग्छ । हात्ती घोडा चढेर जानु पर्ने किन यस्तोमा टरेछ । खैर केही अचम्म छैन । तर छक्क पर्छु । आजजस्तो चलचित्र बन्दो हो त तपाईंलाई विष्णु भगवान् भनेर उलिन काठमा हालेर शहर घुमाउँथे । जीजु बाजेले जुत्ता नलाई जोडिदिएको आँगनको काखमा उफ्रिँदै मुस्कुराई रहेका कलिलो दुधेबालक छोरालाई अनेक अक्कल झक्कल झिकी महापुरुषको पाकेटमारी डेक्ची इन्जिनियर बनाएर चन्द्रेको चन्द्रलोक पठाउनु भएछ । यस्तो कुरा इन्द्रेको बाउ चन्द्रेले पनि सक्दैन । अमर्यादित काम नगर्नु होला हैजा लाग्ला । कमसेकम छोरालाई रक्सी खान छुटाउनु भो । गोल क्वेस्ट खेल्नबाट उतार्नु भो । त्यै भएर सेठ दर्जा दिएँ ।
प्रिय सेठ-
कुरो के भने तपाईंलाई साहु हुन आवश्यक थियो थिएन । तपाईंले जन्माएका भित्ताका इँटा माटोका सन्तानहरू जानून् । तपाईंलाई जे जे चाहिन्छ पुर्खाले रातभर जागा भएर जहाँजहाँ पाइला टेकेको ठाउँ भेटेको देखेको घाटसम्म जग्गा जोडी दिएका थिए । आधुनिक हात्ती घोडा जे जे चढ्नुस् । फुर्तिले चमकदार नातेदार हाल्ने हेलीकप्टर बस्ने ढलान हाल्नुस् । यमराजको राँगोले केही लछारपाटाे लाउँदैन । फित्कौलीको झटारोले देशमारा गल्दैन ।
दिउँसो तेल नखाने राति कोल चाट्ने काम नगर्नु भए हुन्छ । मलाई माफ गर्नु होला । तपाईंको प्रतिभा संस्कारबाट प्रेरित भएर कतै म शब्दझै फुलेँ । कतै फूल जतिकै पहेलो भएर फक्रिएँ । यो तपाईंकै देन हो । तपाईंलाई स्याबासी नदिइरहन सक्दिनँ ।
ए ! अतीतका सेठज्यू- कति छलकपट जानेको ? छेउघरे जेठाले अरुले खाइरहेको भाग खोसेर स्वास्नी पोसे भन्दिनँ । अरुको मुन्टामा लागेका फर्सी फुटाउने रहर पनि छैन । पटुका फुकाउँदै थाकेको सिरक ओडे पनि भन्न सक्दिनँ । रोप्दा रोप्दैको खेत पोको पारेर बाटा घरेले भकारीमा हाले । खेत हराउनु चाननुने कुरा होइन । बाटोघरेले असारमा अरुको बिउ चोरर खेत रोपे पनि भन्ने मेरो ह्याउ छैन । यो तपाईंको सिको होइन रे । ऐया ! कसरी कुन नाकले भन्न सकेको । यो कुरो गाउँको अरु सेठको कानमा पनि रहर लाग्दाे गरेर नपुर्याउनु । आँखाको गेडी झर्ला । अनि साष्टाङ्ग दण्डवत् जुत्ताले गरिहाल्छन् त्यै भएर त सेठ भनिदिएँ । ढाँटेर काटेको छैन तपाईंको कुरो के हो ? कुन होइन । झुटो भएमा क्षमा चाहन्छु । यो घाइते मनलाई पत्र पठाउनु होस् ।
गाउँमा रहँदा झिङ्गटीघरे जेठाको बारेमा निकै अध्ययन गर्ने मौका पाएँ । ऊ कोदो व्यापारबाट असनको असल व्यापारी नागरिक हुने चाहना थियो । त्यसबाट असफल हुनेदेखि व्यवसाय परिवर्तन गरी दलालीकाे बाटोमा हिँड्न थाले पनि यो पत्र लेख्दै छु । दलालीले के कति समान को कोबाट कति हात पार्छन् । मेरो सातपत्रेले पनि भन्न सक्दैन । जेठाको जस्तो आदर्श विचार बोकेर हावाघरे माइलो झैं किन अनिमियत ठेक्का गरेर कुल्ली लुट्न ढाँट्न छलकपटमा ठग्न तपाईंले पनि सिक्नु भो ? तपाईंलाई क्या फुर्तिलो मान्छे भनेर पारिजातको फलमा त्यही रङको फूल खेलेर देखाइदियो । तपाईंको यो तागतलाई खेलमा जितेर तारिफ गरेको मान्छे जस्तो हाइ हाइ हाइ भन्दिनँ । तर तपाईंजस्तो सेठलाई सरकारले तक्मा किन भिराउन सकेन । यसैमा खेद छ ।
दोश्रो कुरो-
सेठज्यू-तपाईं छोरालाई उडाएर कमाल काम गर्नु भएछ । छेउघरे जेठाले भेडासिँगे लाहुरी भैँसीको दूध घिउ मोही खुवाएर तीन तलामाथि तीन दशकसम्म बिग्रेला कि भनेर पालेको थामतिघ्रे छोरोलाई छिमेकी जिल्लामा नक्कली एसएलसी जाँच दिलाएर बुद्ध, गान्धी र रतन टाटाजस्तो बनाउन खोजेको सुनेको छु । बाउ बाजेले ऋण धन प्याते जिब्रो पड्काएर बनाएको भर्याङमा चढ्दा खुट्टामा भलभली रगत आउनेले के काम गरेको ? के यो गाउँ हल्ला मात्र हो कि गुणगान हो । म खुत्रुक्क भएको छु ।
परीक्षा हल अलि अँध्यारो भएर लाठो नहानेर पुलिस हिरासतमा पुर्याएर कुलको नाम राखेकोले हामीले घरमा धेरै बेरसम्म टिभीबाट सुनेर चाल पायौँ । त्यहि भएर तपाईंलाई अतीतको सेठ भनेको । कति अर्ती लिनु थियो । एक दुई बास बसेर देशको दिमाग फेर्नु थियो । गणतन्त्रका टाउके राजनीतिज्ञ व्यापारी जागिरेकाे बेइमानी वर्तमान हटाउनु थियो ।
तपाईंलाई पत्रु सेठ भनेर हेला गरेको नभन्नु होला । कुन्नि कता हो अवण्डामा अखण्ड लुकाएर राखको खेतबाट छोरीलाई दुलही बनाउँदा फुर्मासी जोगाएर परोपकार गर्नु मलेरी लाग्ला । जिउनीमा राखेको माटो दान गरेर पत्रम पुष्पम् फलम त्वयम् भनेको एक दशक आयस्ता लिई खानु भो । बाबाआमाको शेषपछि सबै भाइले पाउने जिउनी खेत । श्रीसम्पती गुपचुमा दान गरेको बहानामा छलछाममा लाखौँ कुम्ल्याएर राजनीति पनि नगर्नु । भो, गन्धे राजनीति कुटनीतिले खाइसके ।
त्यो जग्गा बेच्न नजानु थियो । त्यो जग्गा थामियो कि पास भयो । तपाईंबाट आजका मितिसम्म अहँ थाहा पाउन सकिनँ । पैसाको चोट्टे परेको बेला चलाखी काम गर्नु भएछ । छिमेकी साली मैयाँको भागको जग्गा समेत आफैमा दुई फुट घुसाएर निमेकी हलीलाई तपाईंले किन बेचिदिनु भयो । छेउघरे जेठाले पुच्छारघरे छिमेकी माझीलाई छलेको कुरो के लेखौँ ? किनेको घडेरी बेचिदिनु भएछ । मैले डिल्लीबजार मालपोतमा कागज बुझी हेरिसकेको छु । फिटी फिटी पसिना पो आयो ।
उता उहाँको पुरुषार्थ भनेर सिडियो अफिसमा साली नानीले नालिस सहित जुत्ता चखाएर सम्मान फर्काउनु भएछ । मेरो मन पनि त्यसैमा घायल भएर यो पत्र कोर्दैछु । सेठ हुन त छिमेकी चिया बेचुवा मेदी काका जस्तो पदमा पुग्नु नि ।गाउँमा पत्रु सेठहरूले युवाहरूको उद्धार गरका छन् ढिँडो पिठो जे भए पनि सितन दिएकै छन् । प्लास्टिकका पोके टीका रक्सी दिएर मुखमा किरा पारेकै छन् । अगाउन्जेल हलि गोठाला भान्से काम लाएर आफ्नो राजनीति छलनीति धानेका छन् । तर उनीसित चरित्र साट्न मेरो यो महङ्गो समय आतुर छैन ।
थरिथरीका सेठहरूको कुरा इमान्दारीपूर्वक भन्दा टकटक्याउँदा पनि सकिँदैन । साहुको जग्गा कमाएर असनमा तरकारी बचेर तुलसीलाई कालो झण्डा देखाउनेलाई खै के भनूँ बानी बिग्रेला । उनीहरूको फोटो च्यातचुत पारेर नडढाउनु है कलि भाग्ला भन्छन् । सेठको कुरो कन्याउँदा पनि सञ्चो हुँदैन । जुम्रा हेर्दा पनि रित्तिँदैन । लामखुट्टे भएर चुस्दा पनि मर्दैन । गाईजात्रा हिलेजात्रा सिन्दुरे जात्रा गरे पनि उसको बयान सकिँदैन । म कुम्भकर्ण झैं निदाइरहेछु । तपाईं जस्तो मान्छेलाई सेठ नभने मेरा मुखमा किरा पर्ला । छिमेकी कुकुर कराएर मेरो निद्रा भताभुङ्ग हुन्छ ।
०००
चमती १५, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































