खवरदार
आज, गुन्द्रीमा सुताएर आफ्नै अगाडि दम्भसारले ग्रसित बर्बराउँदो जेठो छोरोलाई खुवाउने प्रयास गरिरहेको छु नैतिकताको कौडी इमानको चनौटोमा घोटेर । खै बहुरेला ऊ !
दुर्गाप्रसाद ग्वालटारे :
खबरदार !
ख्याल राखेस् नि निमुखाको
नत्र पलाउला प्वाँख कमिलाको !
सुनाएको थिएँ उसलाई
बुझ्दै बुझेन उसले
ह्वास्स मुख मात्र गनाइरह्यो ।
ख्याल राखेस् !
लटरम्मै फुल्ला खोल्साको बाँस
बन्द गर् बहुलठ्ठी अट्टहास
कराएको थिएँ उसलाई
सुन्दै सुनेन उसले
छिः अनुहार ठुस्स मात्र बनाइरह्यो ।
अन्तिम पटक भनेको थिएँ
अझै दोर्याउँदैछु, सम्झी !
नून खाला है गोरुले झैं माटोले
भड्खालोमा जाक्ला तँ हिँड्ने बाटोले
सचेत गराएको थिएँ उसलाई
सम्झिँदै सम्झिएन उसले
केवल कुरा मात्र चपाइरह्यो ।
सधैँ चिन्तित म बुढी आमा
एकोहोरो भट्भट्याइरहेँ
यिनै सन्तानका विष्टाका छिटा
फरियाबाट टक्टक्याइरहेँ ।
आज,
गुन्द्रीमा सुताएर आफ्नै अगाडि
दम्भसारले ग्रसित
बर्बराउँदो जेठो छोरोलाई
खुवाउने प्रयास गरिरहेको छु
नैतिकताको कौडी
इमानको चनौटोमा घोटेर ।
खै बहुरेला ऊ !
०००
कौसलटार, भक्तपुर