भूमिकाको भुमरी
ओहो ! जमरकटेल सरको हातमा मेरो पुस्तक पुग्यो कि पुगेन होला ! सोधौँ भने सरले मोवाइलमा भन्नुहोला- ‘तेरो गुडगुडुड ताब टिँटिँटिँ अइँ टिँ आख् आपी !’ अर्थात् ‘तेरो किताव तैँसँग राख् पापी !’
लक्ष्मण गाम्नागे
मनमा उम्रिने तीन न तेह्रका तरङ्गहरूलाई कागजका पानामा उतारी टोपल्ने आफ्नो नानीदेखि लागेको बानी । अठार बिस वर्षको उखरमाउले उमेरमा प्रेमका तर्कनाहरू खूव उम्रिँदारहेछन् मनमा । त्यो बेला कवितात्मक शैलीका थुप्रै प्रेमपत्रहरू लेखियो । त्यस्ता शैलीका प्रेमपत्रकै कमालले कविता नामकी केटीलाई जीवनसाथी बनाउन सफल भएको गोप्य कुरा पनि आज खोलिदिएँ । उमेर अलि छिप्पिँदै गएपछि र साथीभाइहरूले भटाभट किताव निकाल्दै विमोचन गर्दै समोसा खुवाउँदै गरेको देखेपछि मलाई पनि किताप निकालौँ निकालौंँ भएर आयो । पुरानो बक्सा छान मार्दा एउटा किताव निकाल्न पुग्ने प्रेमकविताहरू भएको जस्तो लाग्यो । एक साँझ कुखुराको आधा किलो मासु ल्याएर अनेक मरमसला र भएभरको सिप लगाएर मिठो पारेर पकाइवरि आफ्नी धरमपत्नी धन्यकुमारी (कविता त पिरेम पर्दाको नाम मात्रै पो रहेछ ) लाई पेटभरि खुवाएँ । उनी अत्यन्त प्रशन्न भइन् । त्यही मौकामा मैले अनेक भूमिका बाँधेर अन्तमा एउटा कविताको किताप छाप्ने आफ्नो पुरानो घिडघिडो रहेको कुरो सुनाएँ । बूढीले प्रशन्न चित्तले सकारात्मक जवाफ दिएपछि मैले भोलिपल्ट बिहानै कविताहरू लगेर कम्प्युटरमा घान हाल्न लगाएँ ।
किताव छापेर, विमोचन गरेर, ठूला ठूला लेखक समालोचकलाई बोल्न लगाएर, मारामार दाम पनि उठाउनुपर्छ, नाम पनि कमाउनुपर्छ भनेर बूढीलाई हुसुसुस्स हौस्याएँ । उसले पनि हौसिएर किताव छाप्न कानको टप खोलेर खत्रक्कै मेरो खल्तीमा खसाल्दिई, किताव बेचेर दोब्बर पारेर फिर्ता गर्ने शर्तमा । मैले दोब्बर होइन तेब्बर पारेर फिर्ता गरौंला भनेर धक्कु लगाएँ । कवि मन त हो, भावनामा बग्दाबग्दै बूढाबूढी मिलेर किताव बेची बेची घडेरी जोड्नेसम्मका योजना बनाइएछ त्यो साँझ । घडेरी किन्ने ठाउँका विषयमा निकै चर्काचर्की नै पो परेछ बाई, लाजैमर्नु !
पुस्तकको डिजाइन तयार भयो । लेखक- बसुन्दरे साइँलो । प्रकाशक- धन्यकुमारी । संख्या- पाँच सयप्रति । मूल्य- व्यक्तिगत रु २०।- संस्थागत रु.२००।- इत्यादि फूलबुट्टाका कर्महरू सकेपछि पो बूढीले झल्याँस्स पारी । पुस्तकको अगाडि कुनै ठूलाबडाको भूमिका नराखी तिम्रो किताप कसले पढ्छ ? किताव यस्तो राम्रो, उस्तो मौलिक, मुटु हल्लाउने, भक्कानो फुटाउने इत्यादि भनेर लेखिमाग्नुपर्यो नि कसैसित । उनले भनेपछि ज्या है ! भन्दै म परेँ प्रकाशक धन्यकुमारीकै शरणमा ।
अब समस्या पर्यो भूूमिका कसलाई लेखाउने ? त्यसको समाधान पनि उसैले निकाली । उसको साथीका बा चल्तीका कवि थिए श्री बुद्धिविलास बजगाईँ । प्रत्येक कवि गोष्ठीको प्रारम्भदेखि जलपानसम्मै आफ्नी धरमपत्नीसहित पूरा समय ढुक्कसँग बसिदिने भएकोले गोष्ठीहरूमा मान्छे भर्नुपर्यो भने आयोजकले उनैलाई एकनम्बरमा बोलाउँथे । तिनै अद्वितीय प्रतिभालाई भूमिका लेखाउँ न त भनेर एकदिन म बूढीका पछिपछि बुद्धिविलासज्यूूको निवासतिर लागेँ ।
त्यस्ता महान् कविलाई प्रत्यक्ष भेट्न पाउँदा मेरो हर्षको सीमा रहेन । अझ उहाँले हाम्रो वचन भुईँमा खस्न नपाउँदै भूमिका लेखिदिने कुरा गर्दा त विश्वास नलागेर मैले आफैंलाई चिमोटेर पनि हेरेँ । मेरो पाण्डुलिपि थन्क्याएर कविजीले दराजबाट छानेर पातला पातला ८- ९ वटा कितावहरू मलाई दिनुभयो । कविता, कथा, निवन्ध, समालोचना, व्यङ्ग्य, सवाई अनेक विधाका पुस्तक । जडिबुटीबाट नपुङ्सकताको उपचार, तन्त्र विद्याबाट सम्पत्ती कमाउने काइदा, आदि अनेक विधा र उपविधाका पन्ध्र-बिस पाने किताव । पुस्तकहरू पाएर म दङ्ग । ती महान् व्यक्तित्वका कृतिहरू लिएर हिँड्नै लाग्दा कविजीले भन्नुभो ‘बाबु कितावको जम्मा दुई सय भो । बाबु चाइने छोरीकी साथीका लोग्ने पर्नुभएछ, एकसय पचास मात्रै दिनुभए हुन्छ । बोक्नुभएको छैन भने भरेभोलि छोरीका हात पठाइदिनु होला । ढिलो भयो भने चाहिँ पूरै लाग्छ नि ।’ उनले छोरीलाई पनि अह्राए ‘नानी, बाबुले पैसा दिनुहुन्छ, ले है ! फेरि एक पैसा मास्लिस् नि !’
कविजीका कुरा सुनेर भाउन्न होला जस्तो भो । त्यो बेला एकसय पचास रुप्याँ भनेको आफ्नो तलवको एक चौथाई हुन्थ्यो । बूढीका अनुहारतिर हेरेँ । ऊ औंसीको रातजस्ती । महिना चौपट । हस् हजूर भन्नुबाहेक हामीसँग उपाय थिएन । चुपचाप लाग्यौँ बाटो । घर पुग्ने बेलामा बूढीले ‘बूढाको भूमिका भएपछि पक्कै पनि पुस्तक राम्रो बिकिहाल्छ, फिक्री नगर बूढा, किताव बिक्री गरेर उठाउँला’ भनेपछि मैले पनि चित्त बुझाएँ ।
पैसाको जोहो गरेर तीनदिन पछि कवीजीकोमा गएर पुस्तकको दाम भुक्तानी गरी भूमिका लिएर हतार हतार घरतिर लागेँ । के लेखेका होलान् त मेरो बारेमा भन्ने जिज्ञासाले मन त्यसै त्यसै उडिरहेको थियो । अति उत्साहले होश हराउला जस्तो भइरहेको थियो । घर पुगेँ, बूढीलाई बोलाएँ र भूमिका पढ्न थालेँ ।
१० पानाको भूमिका लेख्नुभएको रहेछ कविजीले । दुई पाना कविजीको पुख्र्यौली, जन्म, अध्ययनका बारेमा, तेश्रो र चौथो पानामा कविजीको आफ्नै साहित्य लेखनको भूमिका, पाँचौ देखि सातौँ पानामा उनकै विभिन्न वाद र दर्शनमा लेखिएका प्रयोगात्मक कविताहरूको चर्चा । त्यसपछि साहित्यमा बुद्धिविलास सिद्धान्तको व्याख्या र केही अन्य वाद र वादीहरूको आलोचना । दसौँ पानाको पुच्छारको अनुच्छेदमा मेरो नाम लेखेर उदीयमान कविको उत्तरोत्तर सफलताको कामना गर्दै शुभ आषिश । भूमिका खत्तम ।
म मरेँ । भुतुक्कै भएँ । पसिना खलखली आयो । भित्रैदेखि काम छुटेर आयो । बूढीको वाक्य बस्यो, बोल्नै छाडी । बेच्न लैजान ठिक्क पारेका कानका टप कानमै लगाई र चुपचाप भान्सातिर पसी । बेलुका मैले पुस्तक नछाप्ने बिचार बूढीलाई सुनाएँ । बूढीले उदास स्वरमा ‘आँटिहालियो, जे होला छापौँ’ भनेपछि पुस्तक छपाइमा गयो भोलिपल्ट ।
१० पाना भूमिका, दुई पाना आफ्नो भनाई र बीस पाना कविता गरी ३२ पानाको कविता संग्रह छपाई गर्न र विमोचन गर्न बूढीका टपमा आफिसबाट दुईमहिनाको पेश्की थप गरी काम फत्ते भयो । जे भए पनि किताव निस्कियो । हामी आफ्नै सन्तान जन्मिएको जस्तो खुशी भयौँ । तुरुन्तै पास्नीको व्यवस्था गरियो । पास्नीमा पनि उनै कविजीले एक घण्टा प्रवचन दिए । अर्का एकजना समीक्षकले कविजीको भूमिका र मेरा प्रेम कविताको उछितो काढेर गर्नसम्म आलोचना गरेर मलाई टाउको निहुराएको निहुराएकै पारिदिए । यसरी मेरो पहिलो कृतिको असामयिक मृत्यु भयो । ती मृत कितावका लाशहरू घरतिर, ससुरालीतिर र अफिसतिर बाँडेर बेलाबेलै डेरा सर्दा हुनसक्ने झमेलाबाट हामी मुक्त भयौँ ।
मलाई भन्दा पनि मेरी बूढीलाई जुवा हारेजस्तो भएछ । ऊ दिनरात छटपटाउन थाली । दिनदिनै कान छाम्न थाली । बाँकी रहेको तिलहरी उसलाई भारी बोकेजस्तो भयो । मलाई केही लेख्न किचकिच गरेको गरेकै गर्न थाली । मैले पनि लौ खा त भनेर एउटा उपन्यास लेखिदिएँ । यसमा चाहिँ भूमिका उसकै बालाई लेखाउने हामीले पहिल्यै निधो गर्यौँ । ससुरा बा पनि साहित्यमा गहिरो रुचि राख्ने र बेलाबेला लेख्ने पनि गर्थे । उनले मेरो बढाइचढाइ गरेर मलाई माथि चन्द्रमा छेउछाउ अन्तरिक्षमा उभ्याएर भूमिका लेखिदिएछन् । मेरो आगमनले डा. ध्रुवचन्द्र गौतम सङ्कटमा पर्नसक्ने कुरा भूमिकामा लेखिएपछि म डरले हरियो भएँ । मैले यसो नगरौँ बूढी भन्दा ऊ मान्दै मानिन । प्रकाशन खर्च मैले व्यहोर्नुपर्ने हो भने त्यसै गरौँ । हल्लाले त हो नि संसार खाने भनेपछि जे पर्ला पर्ला भनेर त्यो भूमिकासहित किताप छापियो ।
विमोचन कार्यक्रममा समालोचकले लोग्ने लेख्ने, स्वास्नी छाप्ने, ससुरो भूमिका लेख्ने र मूसो भएर पहाडसँग जोरी खोज्ने भनेर मलाई उडाउनुसम्म उडाए र झोलामा दुईतीन प्याकेट अतिरिक्त खाजा कोचेर उनी बाटो लागे । त्यो किताव पनि भूस्, बूढीको रहलपहल गहना पनि ढूस्….ल हेर्नोस् है ।
मेरी बूढी ज्याद्री नै हो, त्यति गर्दा पनि बूढालाई डिभोर्स गरेर आफ्नो बाटो लाग्नुको सट्टा बजारमा हास्यव्यङ्ग्यको राम्रो भाउ छ त्यो लेख, परेको म व्यहोरौँला भन्दै कस्सिई । तिमी बाहेक यो दुनियाँमा खुशी पार्नुपर्ने मेरो अर्को को छ र भन्दै म पनि लागेको लागेकै गरेँ । बूढीले लेखेको लेखेकै गर्न लगाउँदा लगाउँदै मलाई पनि साँच्चिकै लेख्ने लत लाग्यो । अलिअलि गर्दागर्दै पत्रपत्रिकाले रचनाहरू छाप्न थाले । एसो नाम पनि पो गाईँगुईँ चल्न थाल्यो । यसै क्रममा मैले एउटा हास्यव्यङ्ग्यको पुस्तक तयार गरेँ । ल हेर्नुस् है !
फेरि हलो भूमिकामै पुगेर अड्कियो । कसलाई लेखाउने ? केही साथीहरूसँग सरसल्लाह गरेपछि ज्ञानेश्वर निवासी प्रसिद्ध साहित्यकार जगरनाथ जमरकटेललाई एकचोटी अनुरोध गरौँ भन्ने सल्लाह भयो । ठूलै मान्छेको भूमिका राख्नुपर्छ र कितावभित्रका कमिकमजोरी ढाक्नुपर्छ । यसो गर्दा पुस्तक बिक्री पनि राम्रो हुनगई प्रसिद्धि प्राप्त हुन्छ भन्ने निश्कर्ष हामी बूढाबूढीले निकाल्यौँ । बूढाको बानीव्यहोरा थाहा नभएकोले उनकोमा सिधै जान धक लाग्यो । ठूला मान्छेका घरमा समय नलिई जान पनि मिलेन । त्यसै भएर एक बिहान आँट बटुलेर जमरकटेल सरको मोवाइलमा फोन हानेँ । उताबाट फोन उठेपछि धकाईधकाई आफ्नो परिचय दिँदा जमरकटेल सरले तिमीलाई चिन्छु नि भनेको सुन्दा म त्यसै त्यसै खुशीले उम्लिएँ । सरले चिन्छु भनेपछि आँट बढेर आयो । मैले पनि आफ्नो पुस्तकका लागि भूमिका लेखिदिनुहुन्थ्यो कि भनेर आग्रह गरेँ । मैले आफ्नो कुरा पूरा भनिनसक्तै उनले ए के भो त लेखौँला नि ! भनेपछि मेरा खुट्टा भुइँमै रहेनन् ।
मैले उहाँलाई भेट्ने समयका लागि अनुरोध गरेँ । उहाँले भन्नुभयो, घरमा नआउनू । म उतै आउँछु । तिमीजस्तो राम्रो लेख्न खोज्नेलाई म प्रोत्साहन गर्न चाहन्छु ।
म छक्क परेँ । उहाँ आफैं आएर पुस्तक लिएर जाने हुनुभयो । यस्ता अग्रज पनि हुँदारहेछन् जो हामीजस्ता आलाकाँचा सिकारु लेखककोमा आफैं आएर पाण्डुलिपि लिएर लगेर पढिदिने र भूमिका लेखिदिने । यो कुराको खुशीले मलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट बिहानै सरको फोन आयो । बेलुका ६ बजे भत्क्यापुलको मुखमा भेट गर्ने सल्लाह भयो ।
मेरो मन साह्रै उद्वेलित भयो । पुस्तक बाहेक अर्थोक केही सोच्नै सकिन । अफिसबाट बेलुका छिट्टै घर पुग्ने, पुस्तकको पाण्डुलिपि लिएर भत्क्या पुल पुग्ने र जमरकटेल सरलाई भेटेर पाण्डुलिपि दिने । उहाँले तीन दिनभित्रमा पढिसकेर भूमिकासहित फिर्ता दिने । सम्झेर म आतुर भएँ । प्रकाशिकाज्यू पनि मसँगै गएर भूमिका लेखकज्यूलाई भेट्ने सल्लाह भएकोले वायु सेवा निगम छेउछाउमा पर्खेर बसेकी उनीलाई लिएर जान म त्यता लागेँ ।
छोटा दिन भएकोले साँझसाँझ पर्न लागिसकेको थियो । त्यसमाथि काठमाण्डूको सदावहार लोडसेडिङ । अझ त्यहीँमाथि लगाइरहेको चश्मा फुटेकोले थोरै टाढा पनि नठम्याउने पुरानो चश्मा । निर्धारित क्षेत्रमा बूढीलाई नेदेखेपछि फोन गर्न थालेको मरिगए फोन लाग्दैन । बेलाबेला बल्लतल्ल फोन जान्छ, मान्छे बोलेको बाहेक सबै स्वरहरू सुन्न पाइन्छ । स्याँस्याँ र सुँसुँ, फाँफाँ र फुँफुँ गर्छ । कहिले खोला कराए जस्तो, कहिले चराचुरुङ्गीको चिरबिर जस्तो, कहिले भीडको कल्याङ्मल्याङ् ध्वनी । कता कता नेपथ्यमा मुर्दावाद मूर्दावाद भनेको जस्तो पनि लाग्छ । कहिले साइरन बजेको जस्तो, कहिले हुरीबतास चलेजस्तो । बूढी कहाँ पर्खेर बसेकी छ भन्ने पत्तो लगाउन सकिएन । घर लाने मान्छे नभएर स्कूलमा छोरो पर्खिरहेको थियो । ऊ पनि रुन थाल्यो होला । ६ बजेर उतै लाग्यो समय ।
म लगातार बूढीलाई मोवाइल हान्दै थिएँ । अचानक जगरनाथ सरको फोन आयो ।
‘एइ भा टिँ तिमी स्याँ काँ ?’ उताबाट तिमी कहाँ छौ भनेको जस्तो लाग्यो । मोबाइलमा यत्तिको कुरा बुझिनु ठूलै उपलव्धि जस्तो लाग्यो मलाई । मैले आफ्नो बेलिबिस्तार लगाएर उहाँलाई एकैछिन पर्खिन अनुरोध गरेँ । मैले ढिलो हुन गएकोमा क्षमाप्रार्थि छु पनि भनेँ । म बोल्दाबोल्दै बिचैमा मोवाइलमा घण्टी बज्न थाल्यो । म चकित भएर मोवाइलमा हेरेँ । कहिले काटिएछ कहिले । मैले फेरि फोन उठाएँ । उताबाट कड्केको आवाज आयो – ‘मलाई.. गुडगुड.. हाँ.. न्वाउने..खोला.. टिँ.. टिँ..नारामा.. टिँ.. खाएर तिमी स्याँ…होरीमा जाने ? यो कुन् टिँ.. रिका हो ?’
‘म श्रीमती हराएर खोज्देैछु ।’ मैले भने । ‘भेट्ने बित्तिकै लिएर आउँछु ।’ उताको कुरा नबुझे पनि मैले आफ्नो पुरो कुरो राखेँ । कुरो पास भयो कि भएन थाहा भएन, मोवाइल चेट् । बिचैमा बूढीको नम्बर पिलिकपिलिक गर्न थाल्यो । हतार हतार उठाएँ ।
‘स्याईँयँ..सुइँसुइँ, क्यार्र झरररर्र म जङ्गलमा छु’ बूढीले भनी । बाँकी केही बुझिएन ।
लौन बूढीको दिमाग खुस्कियो कि क्याहो । कुन जङ्गलमा किन गई त्यो ? कतै मलाई कान्छी ल्याउन पाउने कानूनी वातावरण त बनाइन ? मलाई शंका लाग्यो । वास्तवमा हामी नेपालीहरूलाई बौलाहा बनाउनमा हाम्रा नेताहरू, मन्त्रीहरू, हाम्रो सडक, ट्राफिक, विद्युत, खानेपानी जस्तै मोवाइल टेलिफोनको पनि महŒवपूणर् भूमिका रहेको छ । मैले मोवाइललाई मोटरसाइकलको ह्याण्डिलमा ठोकठाक पारेर हेलोहेलो गरेँ । उताबाट बाघ कराएको जस्तो घ्यार्रघुर्र आउँदै थियो मैले हत्तपत्त सोधेँ- ‘कुन जङ्गलमा ?’
बूढीले भनी- अँ ट्याम चिर्र चुर्र चिँ चिँ ङ्गल, स्याई..गुड गुड गुड गुडुडुडु कि घुर्र एरौँ ?
टेलिफोन काटिएको वा नकाटिएको थाहै नभई बिचैमा जगरनाथ सरको घण्टी बज्यो । सरले दिक्क मान्दै भने- टिँ….टिँ….टिँ…कुलुङ…लुङ ..अँ.. एँ…। ..इम्रो ..आब ..मी ..फईँ ..मिका ..ख । मान्छेलाई टिँ. टिँ यस्तो दुख…टिँ…।’ स्याँ…।
सर रिसाए कि जस्तो लागेर फकाउँदै भनेँ- ‘सर, बूढी भेट्टाउने बित्तिकै लिएर आइहाल्छु । पुस्तकको प्रकाशक नै भेटिइनन् भने भूमिका आवश्यकै नपर्ला जस्तो छ । भूमिका चाहिने भएछ भने म भोलि आउँछु । सरलाई दुःख भयो, क्षमा पाउँ है सर !’
सर उताबाट पनि कड्किँदै रहेछन्- ‘ति.. टिँ.. श्री.. टिँ…ती.. टिँ ..ति.. टिँ.. नै.. टिँ ..आख । म.. टिँ.. एँ ..टिँ.. । सुइँयँ.. सिरिरिरिरिरि ।’
सरसँग थप कुरा गर्न खोज्दैथिएँ मोवाइल काटिइसकेछ । फेरि घण्टी बज्यो । मैले हत्तपत्त उठाएर सोधिहालेँ- ‘तिमी कुन् जङ्गलमा ? रातिउँदो किन जङ्गल गएकी ? स्यालले लैजाला ।’
उताबाट जवाफ आयो- ‘बाऊको खुस्कियो कि क्या हो ? म त घरमै छु नि । के भनेको जङ्गल र सङ्गल ।’ तारवाला फोनको कुरा राम्ररी बुझियो ।
म हस्रङ्ग भएँ । छोरीले घरबाट पो गरेकी रहिछ । ‘ए नानी आमालाई फोन गरेर म न्यूरोड गेट छेउमा छु भनिदेऊ त । हामी त बिचल्लीमा पर्यौँ’ भनेर फोन राखेँ । यतिकैमा झापाबाट बुबाले फोन गर्नुभएछ । आत्तिएको स्वरमा बुबाले सोध्नुभयो- ‘बुहारी भेट्टिई त ?’
लौन के फसाद हो यो ? यो सञ्चारको विकासले संसारलाई साँघुरो बनायो भन्थे, हो रहेछ । एकघण्टा पनि भएको छैन मान्छे हराएको खबर घरमा पुगिसकेछ । म जिल्लिँदै गर्दा बुबाले चिन्तित हुँदै भन्नुभयो- ‘जमाना खराव छ । कसैले अपहरण पो गर्यो कि ! जान्ने भएर पुलिसलाई फोन गर्लास् र फान्दामा परिएला । बरु फिरौती कति माग्छन् मलाई पनि खबर गर्नू । ऋणसिँण खोजौँला । अपहरणकारीको फोन पर्खेर बस्नू । फोन आएपछि मलाई पनि जानकारी गरा है । कस्तो जमाना आयो ।’ बरु टाढाबाट आएको फोन पो राम्ररी बुझियो ।
कुरा सुनेर त्यो जाडोमा पनि म पसिनै पसिना भइसकेँ । डरले शरिरमा काँडा उम्रिए । लगत्तै छोरीले फोन गरेर सूचना गरी- ‘आमाको त मोवाइल स्वीच अफ छ ।’
लौ मार्यो । बुबाले भनेको कुरा सत्य नै हो कि क्या हो । लोकतन्त्रमा यस्ता घटना बराबर भइरहेका छन् । म विचलित भएँ । अब कता जाने ? प्रहरी सेवामै रहेका भान्जाले पनि कताबाट थाहा पाएछन् । उनले पनि पुलिसलाई खबर नगर्नु है झन् बित्याँस पर्छ भन्न थाले ।
यो एकान्तमा बेहोश भएर ढलें भने कसैले उद्दार नगर्ला भन्ने लागेर सडक किनारातिर बूढीलाई कतै देख्छु कि भन्दै आँखा तन्काउँदै म घरतिर लागेँ । चश्माले आज बढी नै धोका दिइरहेको थियो । अगाडि हिँडिरहेका महिलाहरूजति सबै आफ्नै श्रीमती हुन् कि जस्तो झझल्को लाग्दै बीचबीचमा रोकिँदै, ठम्याउँदै घर पुगेँ ।
घरमा छिर्न नपाउँदै छोरीले झपारी- ‘खोई त आमा ? आमा जमलमा पर्खिएर बसिराख्नुभएको छ रे । फोन गर्नुभएको थियो । नलिई आउनुभयो कि क्याहो ? भाइलाई पनि स्कूलबाट सरले भर्खर ल्याइदिनुभयो । बा त एक्लै पो आउनु भएछ ।’
ए ! अपहरणमा परेको होइन रहेछ । मैले ढुक्कको सास फेरेँ र फनक्कै फर्केर लागेँ जमलतिर । बूढी पत्ता लागेको खुशियालीमा म पचास किलोमिटर प्रतिघण्टाको वेगमा बाटो लागेँ । म सोझै जमल पुगेर यताउति आँखा लगाउँदै थिएँ । फेरि बुबाको फोन आयो । बुबाले भन्नुभयो- ‘बुहारी फेला परिछन् । ढुक्क लाग्यो । अबदेखि अलि बिचार गरेर घर बाहिर पठाउनू ।’
बूढी पक्कै घर पुगिछन् भन्ने लागेर म पनि घरतिर हान्निएँ । नभन्दै बूढी घर आइपुगिछन् । उनको आक्रोशको मैले डटेर सामना गरेँ । यो सब हुनुमा मेरो नभई मोवाइल टेलिफोनको गुणस्तरीय सेवाको हो । मैले उनलाई सम्झाएँ । निकै लामो कसरतपछि उनलाई सम्झाउन म सफल भएँ ।
उनीसँगको वार्ताबाट थाहा भो, मोवाइलबाट आउने भाषा र हामीले बुझ्ने भाषामा निकै फरक हुँदोरहेछ । प्रविधिमा आएको यो आश्चर्यजनक प्रगतिले भाषामा पनि ठूलो फरक ल्याएछ । मोवाइलमा जङ्गल भनेको हामीले जमल बुझनुपर्नेरहेछ । यो ज्ञान प्राप्त भएपछि हामी बूढाबूढी मिलेर साँझ बूढी, म र जगरनाथ सरका बीच भएका कुुराकानीलाई नेपालीमा अनुवाद गर्ने प्रयाश गर्यौँ । त्यस अनुसन्धानको निचोड यस्तो निस्कियो ।
‘मलाई गुड गुड हाँ न्वाउने खोला टिँटिँ नारामा टिँ खाएर तिमी स्याँ….होरीमा जाने ? यो कुन् टिँ रिका हो ?’ भन्ने आवाज मोवाइलबाट आयो भने हामीले त्यसलाई ‘मलाई गनाउने खोला किनारामा पर्खाएर तिमी चाहिँ दोहोरीमा जाने ? यही हो तरिका ?’ भनेर बुझ्नुपर्ने रहेछ ।
‘स्याईँयँ..सुइँसुइँ, क्यार्र झरररर्र म जङ्गलमा छु’ भन्नाले ‘म जमलमा छु’ भन्ने बुझ्नुपर्नेरहेछ ।
‘अँ ट्याम चिर्रचुर्र चिँ चिँ ङ्गल, स्याई..गुडगुडगुड गुडुडुडु कि घुर्र एरौँ ?’ भन्नाले ‘म ट्याम्पो चढेर सिनामङ्गल लागौँ कि के गरौँ ? भन्ने बुझनुपर्नेरहेछ ।
‘टिँ……टिँ….टिँ…..कुलुङ…लुङ ..अँ.. एँ…। इम्रो आब मी फईँ मिका ख । न्छेलाई टिँ टिँ यस्तो दुख…..टिँ…..। स्याँ..।’ भन्नाले ‘म गएँ । तिम्रो कितावमा तिमी आफैँ भूमिका लेख । मान्छेलाई यस्तो दुःख दिने ?’ भनेको बुझ्नुपर्ने रहेछ ।
‘ति टिँ श्री टिँ.ती टिँ ति टिँ नै टिँ आख । म टिँ एँ टिँ । सुइँयँ सिररिरिरिरि ।’ अर्थात् ‘तिम्री श्रीमती तिमीसँगै राख । म गएँ ।’
यसरी मोवाइल नामको उत्तरआधुनिक भाँडोबाट उत्पन्न हुने अनौठा आवाज र सङ्केतहरू बुझ्ने क्षमता आफूमा अचानक आएकोमा आज मेरो खुशीको सीमा नै रहेन । अब मलाई कुनै डर भएन, त्यो भाँडोले जस्तासुकै हास्यास्पद आवाजहरू निकालोस् म सहजै बुझ्नेछु । दूरसञ्चार कम्पनीहरूले मलाई मोवाइल भाषा विशेषज्ञ वा अनुवादकमा नियुक्ति गर्लान् भन्ने म आशा पनि गर्छु ।
नयाँ भाषाको अनुवाद त गरियो तर उता भूमिकाकार जमरकटेल सर रिसाउनुभएकोमा आफूलाई ठूलो पछुतो भयो । त्यत्रा बडा मान्छेलाई भूमिका लेखाउने अवसर यो मोवाइलका ठाँडाले गर्दा उम्कियो । अब कुन मुख लिएर फेरि उहाँकोमा जानु ? त्यसपछि मैले उहाँलाई दोहोर्याएर भूमिकाका लागि अनुरोध गर्ने आँटै गर्न सकिन र अर्कै एकजना लेखकलाई भूमिका लेखाएर पुस्तक छपाएर बाँडिवरि बूढीको फूली पनि बाँकी नराखी सिध्याइसकेँ ।
ओहो ! जमरकटेल सरको हातमा मेरो पुस्तक पुग्यो कि पुगेन होला ! सोधौँ भने सरले मोवाइलमा भन्नुहोला- ‘तेरो गुडगुडुड ताब टिँटिँटिँ अइँ टिँ आख् आपी !’ अर्थात् ‘तेरो किताव तैँसँग राख् पापी !’
०००
मधुपर्क, २०६७ असार
Subscribe
Login
0 Comments
Oldest