साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेषराज भट्टराईः छामछाम छुमछुम

‘महाकाली, महासरस्वती, महालक्ष्मी, देवाधिदेव महादेव, गणेश, गौतम बुद्ध, अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मण्डेला, मेरा पिताश्री देवीप्रसाद उपाध्याय खसेको पनि आज एक्काइस वर्ष भइसक्यो र अबको खस्ने पालोको रोल क्रममा गोता खाँदै झोल पिउँदै म पनि पर्खी बसेको छु ।’

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

पोखराका खरा व्यङ्ग्यकार शेषराजसँग मेरो चिनापर्ची भएको पाँच वर्षभन्दा बढी भएको छैन । हाम्रा कुप्राबाहरू नछुट्टिएका भए हामी एउटै थालमा दालभात खानुपर्ने जातका दाजुभाइ । बाजे बराजुहरू यायावर जातिका भएकाले हामी कता कता छरिएछौँ । आफ्नै रूचि र पौरखको बलले निकै लेट भए पनि भेट भएका छौँ । भेट भएपछि थाहा भयो यिनी मभन्दा १ वर्ष ११ महिना ११ दिन भन्दा ११ दिन पछि २०२३ साल पुष ३ गते खोटाङ जिल्लाको सुद्देल गा.वि.स. वडा नं. ३ को हासु भन्ने गाउँमा प्रकाशित भएका रहेछन् । यिनी आमा चन्द्रकला भट्टराई र बाबु देवीप्रसाद भट्टराईका छैँटौ कृति हुन् । परिवार नियोजनको महामारी शुरू नहुँदै धन्य आइहालेछन् र त्यसबाट जोगिएका तपाईं हामी भाग्यमानीहरूले पनि यिनीसँग भलाकुसारी गर्न पायौँ । केही दशक पछि हाम्रो अभागी पुस्ताले समाजमा यसरी अन्तरे, जन्तरे भाइ भेट्टाउनु भनेको स्यालका सिङ भेट्टाए सरह हुने पक्का छ ।

हाँसुकै उकाला ओरालामा बुर्कुसी मार्दै ७ कक्षासम्म पढेर २०३७ सालमा यिनी बिराटनगर झरेका र त्यतैबाट प्रवेशिका सकी २०४३ सालमा पोखरा घुम्न गएका, पोखरा मन परेर त्यतै बसेका अथवा फसेका देखिन्छन् । फस्न पनि कस्तो भने न यिनले फसाए न उनले फसाइन् पोखराकै चेली कमला पहारीसँग यिनको कसिलो माया बसेछ । माया पनि कति गाढा भने दुइटी छोरी नर्स, एक भाइ छोरो इन्जिनियर भइसक्ता पनि चित्त नबुझेर अर्को छोरालाई पनि यिनले छ कक्षामा पढ्ने लाठे बनाइसकेछन् । पोखराका अंगिकृत नागरिक शेषराजले पोखरा उपमहानगरपालिका वडा नं ११ शिवशक्ति मार्गमा हात्तिपाइले घर गाडेको र स्नातकसम्म पढेर छाडेको पनि निकै वर्ष भइसकेछ ।

पढाइ छाडे पनि जिन्दगीको लडाइँमा भने यिनी असिन पसिन भएर भिडेकै छन् । जिवीकोपार्जन र लेखनको सिलसिला त छँदैछ, त्यसबाहेक सामाजिक काममा पनि यिनी हिँडेकै छन् । लेखनाथ साहित्य प्रतिष्ठान, पोखराका यिनी आजीवन सदस्य, उद्योग वाणिज्य सङ्घ पोखराका सदस्य, गद्य लेखन परिषद्का यिनी सदस्य, निलकण्ठ महादेव आश्रम स्थल नदीपुर पोखराका पूर्व अध्यक्ष । अरु पनि थुप्रै सङ्घ संस्थामा यिनको आबद्धता छ । हास्यव्यङ्ग्य बाहेक यिनको गीत गजल लेखनमा पनि राम्रै प्रतिबद्धता छ । यिनका ७ वटा गीतहरू रेकर्ड समेत भइसकेका छन् । कतिपय गीत लोकप्रियताको शिखरतिर पनि गइसकेका छन् ।

एउटा पुस्तक प्रकाशन गर्ने क्रममा शेषराजकी स्वामिनी कमला पहारीले लेखेको कुराले मलाई जस्तै तपाईंलाई पनि चसक्क छुन्छ कि भन्ने लाग्छ ।

उनले भनेकी छन्, ‘पशुतुल्य मरणभन्दा अलिक अलग अस्तित्वको मरणको अपेक्षा राख्ने सर्जक स्वामी शेषराज भट्टराईको इच्छा आकाङ्क्षालाई वेवास्ता गर्दै जिउन मेरो मनले मानेन, त्यसैले म अर्थाभावको भुमरीमा प्रायः अचेत मनस्थितिमा पनि प्रकाशक बन्न राजिखुशी हात उठाइरहेकी छु । वाह ! सबै कवि लेखकले यस्तै भावना भएका जीवनसाथी कहाँ पाउँछन् र !

शेषराजकी स्वामिनीलाई आफ्ना स्वामीले षड्यन्त्रका जाल बुनेको भन्दा पोते उनेको ठिक लाग्छ । जुवातास वा मदिराको नशामा झुमेको भन्दा कविता लेख्न कन्दा कन्दै उडेको दृश्य सुन्दर लाग्छ । विभिन्न थरिका शर्म काण्डहरू गरेर बदनामी कमाएको भन्दा यजमानहरूकोमा कर्म काण्ड गरेर आनासुकी आम्दानी गरेको अच्छा लाग्छ । अर्काको भरौटे हुनुभन्दा चुरौटे हुनुमा गर्व लाग्छ । यस्ती अर्धाङगिनी फेला पारेछन् र पो शेषराज पोखरामै हराएका रहेछन् ।

ख्याल ठट्टा बढी भयो कि, अलिकति सिरियस कुरा गरौं ।

शेषराजको इतिहास हेर्दा थाहा हुन्छ यिनी धुलोबाट उठेका एक श्रमजीवी लेखक हुन् । संघर्ष र सफलताका प्रतिक हुन् । कठिनभन्दा कठिन परिस्थिति र गरिबीबाट उठेर अहिले पोखराको एक व्यस्त बजारमा चुरापोतेको चल्तीको दोकानका मालिक भएका छन् यिनी । बजारका भिडभाडहरूसँग जुझ्दै भिड्दै यिनी साहित्य सिर्जना गरिरहेका छन् । यिनको लेखनीको तरङ्ग फैलँदो छ । अहिले त्यो तरङ्गले राजधानीलाई छोएको छ । त्यसै कारण अहिले हामी यहाँ छौँ ।

शेषराजको लेखनीको समालोचना-समीक्षा सम्बन्धित विज्ञहरूबाट भइरहेको छ, हुँदै जानेछ । म चाहिँ शेषराजको लेखनी र जीवनीको बाहिरी बाहिरी पाटोमा यसो छामछुम मात्रै गर्छु । शेषराजले बताएका छन्, कक्षा ४ मै पढ्दादेखि उनले केही केही लेख्न थालेका थिए । कविताका मधुरा मधुरा मैनबत्तीहरू बालेका थिए । उनले हास्यव्यङ्ग्यमा आफ्नो शक्ति पैल्याएका भने २०४६ पछि हो । यिनका चारवटा हास्यव्यङ्ग्यका पुस्तक प्रकाशित भइसकेका छन् । सङ्ख्या ठूलो होइन, गुणात्मकताका हिसावले पनि यिनीहरू अब्बल छन् भन्ने मेरो ठहर छ । ऋषिमुनिका सन्तान सिसीमुनि (०५९) जातले पकाएको भात (०६७), कहिले सासुको पालो कहिले बुहारीको पालो (०६९), तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा ( ०७१) चारैवटा हास्यव्यङ्ग्य निबन्धका पुस्तकहरू हुन् । मेरो पाठकीय दृष्टिकोणमा शेषराज एक परिपक्व हास्यव्यङ्ग्यकारका रूपमा स्थापित भइसकेका छन् । स्तरीय, पठनीय उल्लेखनीय हास्यव्यङ्ग्यहरू शेषराजले लेखेका छन् र लेख्दैछन् ।

व्यङ्ग्य लेख्दा कुनै पनि विषयमा शुरूमा सामान्य ढङ्गले यिनी पस्छन् । विषयवस्तुबारे सरल जानकारी दिने, परिभाषा दिने, परिचय दिने र जति भित्र पस्यो उति खोतल्दै, व्यङ्ग्यहरूका सुइराले उधिन्दै अन्तिमसम्ममा पुग्दा त्यो विषयको पूरै शल्यकृया गरेर छाड्ने यिनको कला प्रशंसनीय छ । धेरै जसो हास्यव्यङ्ग्यकारहरूले प्रयोग गर्ने शैलीलाई पछ्याउँदै यिनले पनि आफ्ना रचनामा अनुप्रास, तुकबन्दी, उखान, टुक्का र उपकथाहरूको प्रयोग प्रशस्त गरेका छन् । सामाजिक, राजनीतिक, साहित्यिक, प्रशासनिक लगायत विविध क्षेत्रमा यिनले व्यङ्ग्यका झटाराहरू हानेका छन् । पुस्तक प्रकाशनको क्रमसँगै हरेक नयाँ पुस्तकमा झन् झन् स्तरीय व्यङ्ग्यहरू आएका छन् । हाँसो हराएको वर्तमान समयमा हाँसो र व्यङ्ग्यको उचित सन्तुलनद्वारा पाठकलाई काउकुति लगाउन खप्पिस शेषराजको लेखनीका केही रमाइला बान्कीहरू तपाईंका लागि,

नौ सय जन्तीका साथ आफैले नौमति बाजा बजाएर नौ लाखको गहना किनेर, नौ डाँडा कटाएर, नौ थरी क्रिम पाउडरका साथ झकीझकाउ पारेर रातारात भित्र्याएकी साथीले नौ महिना नहुँदै आइन्दा नौ घण्टा पनि साथ दिन नसक्ने भनेर खुट्टा लुलो पार्न थालिन् । (साथी कति जाति)

‘जहाजको यात्रा’ शीर्षकको निबन्धमा लेखक बिचरा भएभरको जेथा भेला पारी जहाज चढ्ने रहर पूरा गर्न पोखराबाट पहिलोपटक हावाजहाज चढेर काठमाण्डौ जान्छन् । काठमाण्डौ पुगेर पश्पति गुजेस्सोरी घुम्दा घुम्दै खर्च सकिन्छ । लौ फसाद, अब के गर्ने ? उनी पोखरा घरमा सम्पर्क गरेर अब कसो गर्ने होला भनेर श्रीमती र छोराछोरीसँग सल्लाह माग्छन् । उनले कस्तो सल्लाह पाउँछन् ? सुन्नुहोस्-

सन्तानले भने, पिताश्री जहाज चढ्ने रहर पूरा भइगो अब काठमाडौंबाट गाडीमा आउनू ।’

श्रीमतीले फोन खोसेर निकै ठूलै भार परेझै गरेर भनिन्, ‘ट्रकमा आउनु, ट्रकमा ।’

उनले केही सम्झे झै गरेर फेरि भनिन्, ‘हुन त याँ पनि के काम छ र, हिँडेरै आउनू ।’

एकछिन रोकिएर उनले फेरि भनिन्, ‘नत्र राजधानीमै वृद्धाश्रमहरू खाली भैराखेका हुन्छन्, उतै शरण पर्नु ।’

अर्को एउटाः

-‘महाकाली, महासरस्वती, महालक्ष्मी, देवाधिदेव महादेव, गणेश, गौतम बुद्ध, अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मण्डेला, मेरा पिताश्री देवीप्रसाद उपाध्याय खसेको पनि आज एक्काइस वर्ष भइसक्यो र अबको खस्ने पालोको रोल क्रममा गोता खाँदै झोल पिउँदै म पनि पर्खी बसेको छु ।’

ठिकै हो, हामी जति पनि यो पृथ्वीमा छौँ, सबै नै खस्ने पालो कुरेर बसेकै हौँ । खस्न त एक दिन खसिन्छ तर खस्नु अघि जतिन्जेल धर्तीमा बसिन्छ त्यतिन्जेल शेषराजको जस्तै सक्रिय र सार्थक जीवन बाँच्ने प्रयास हामी सबैले गर्नुपर्छ ।

अन्त्यमा भैरव प्रतिभा पुरस्कारले सम्मानित हुनुभएकोमा व्यङ्ग्यकार शेषराज भट्टराईलाई हार्दिक बधाई र लेखनीमा निरन्तरताको शुभकामना । धन्यवाद ।

नोट : पुरस्कार वितरण समारोह २०७३ पुस २९ गते प्रस्तुत व्यक्तित्व परिचय जस्ताको तस्तै ।

०००
हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ ? (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x