सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टेश्वर शरणम्

चेतनामा वेदना र वेदनामा चेतना सरोवरी मिसाएर कविले छवि उतारेका छन् मेरो परिवेशको आज । न यो काव्य दिव्य छ न यो भव्य छ, तर देखेको कुरा प्रष्ट लेख्नमा कवि सभ्य छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

देउताले गर्न नसक्ने काम नेता भए सक्ने,
देउताको पाठ-पूजा किन, अब नेताको पो गर्ने ।

बुद्धिमा यस्तो सुद्धि पस्नु रहर होइन । बाध्यताको वेदनामा व्यङ्ग्यको चेतना नारेर हाँसो जोत्ने प्रयास हो – “देवका पनि देव, भ्रष्टेश्वर महादेव” । हास्यव्यङ्ग्यका सिरिखुरी गणेशकुमार विवाहित पौडेलले हेटौंडाका गौँडा गौँडामा कौडा खेल्नुको सट्टा देशको तपस्या गर्दै लोक मार्फत स्वकल्याणको लागि यो महाकाव्य रच्नुभयो ।

लोक कल्याणको लागि त वहाँले स्वास्थ्य सम्बन्धी पाँचवटा किताब जन्माई सक्नुभएको छ । एउटा कविता सङ्ग्रह र एउटा यात्रासंस्मरण अन्माई सक्नुभएको छ । हास्यव्यङ्ग्य जातमा मन्त्री पुराण, र बूढो गोरुले ओगटेको गाई, नामक दुईवटा शास्त्र व्यङ्ग्याई सक्नुभएको छ । तपाईंको नाभीभन्दा एक बित्तामाथि र डेढबित्ता पर रहेको यो पाल्सी महाकाव्य वहाँका दशौं किताप मध्ये हास्यव्यङ्ग्य जातको तेस्रो हो, खेस्रो होइन ।

हास्यव्यङ्ग्य लेख्दैमा भ्रष्टाचार हराउने भए खुकुरी या झ्यालखानाको आविष्कार किन हुन्थ्यो । खुकुरीको धार या झ्यालखानाको बारले भ्राष्टचारीको सातो लिने गरेको भए तपाईले यो महाकाव्य किन देख्नुपथ्यों ? लेख्नेले देखेको कुरा लेखेको र तपाईंले लेखेको कुरा देखेको स्थिति भइसक्यो अब । यति भइसकेपछि कतै त कोही कसैले केही गरिसकेको हुनुपर्थ्यो । खोइ त ?

यथार्थको प्रस्तुति यति वस्तुगत छ, यसलाई प्रतिवेदन भन्न मिल्दैन । सरकारी भत्ता खाएर, कुरो पचाएर, चुरो लुकाएर लेखेको भए यो प्रतिवेदन, नत्र त हास्यव्यङ्ग्य । आठवटा सिङ्गासिङ्गै अक्षरलाई बटारबुटुर पारेर चार अक्षर मा लेखिने एउटा शब्द “हास्यव्यङ्ग्य”ले देशकै लाज समेत छोप्न र बोक्न सक्दो रहेछ । यो तपाईंको हातमा भएको किताब त्यसको एक उदाहरण हो । तर लाज लाग्न लाज लाग्ने दिन पनि आउला । कुनै दिन त्यस्तो भई नै हाल्यो भने एउटा पाठकले यति धेरै विकृतिहरुको सँगालो एउटै कृतिमा कहाँ पाउला ? अहिले यो पाल्सी अर्थात् छद्म महाकाव्य तपाईको हात परेको छ, पढिहाल्नोस् । आउँदा दिनहरुमा गणेशकुमार पौडेल जस्ता देखक र लेखक या यस्ता विषयवस्तुहरु रहलान् नरहलान् । अहिले भने साइत ठिबक जुरेको छ । झन् त्यसमाथि पढ्ने तपाई पनि भएपछि त जता हेन्यो उतै मेरो नजरमा, भ्रष्टेश्वर महादेव छन् । भुटनदेवी त जिल्ल ।

मलाई कसैले भगवान् नभनोस्,
त्यसैले अलिकति पाप गर्छु ।
मलाई कसैले त मानिस भनोस्,
त्यसैले आदर्शको जप गर्छु ।

सनातन धर्मका आदर्शको पृष्ठभूमिमा कोरिएको वर्तमानको चित्र सेतो भूईमा काला अक्षर भएका छन् मध्यान्हको टन्टलापुर घामको अगाडि औँसीको रात जस्तै । औँसीको रात नै आदर्श बनेर भ्रष्टेश्वरहरू बनेका छन् महादेव । आत्मग्लानिबाट चिसिएको रगत उम्लन नदिन एउटै मात्र बाटो छोडेको छ कविले – यो हास्यव्यङ्ग्य कृति हो । होइन भन्ने को ?

यो किताब पढ्दा आँसु आउँदैन किनभने कविले मुहान जमाएको छ प्रस्तुतिमा । उन्मुक्त हाँसो नउफ्रिए पनि हाँसो जस्तो देखिने हाँसो उमारेको छ कविले यथार्थको वणर्नमा । व्यङ्ग्य ढ्याङ्गै छ तर ढ्याङ्ग पनि किन व्यङ्ग्यै छ ? हास्यव्यङ्ग्य भन्दैमा यथार्थ मर्दैन । यथार्थ भन्दैमा हास्यव्यङ्ग्य मर्दैन । पढे हुन्छ, अरु केही गर्नु पर्दैन ! ? विसङ्गतिलाई सके भाँच्नुहोस्, नसके हाँसेर बाँच्नुहोस् ।

“गणेशजी आज्ञा गर्नुहुन्छ“ बाट शुरु हुन्छ यो कथाको व्यथा । पढ्दैजाँदा व्यथा चर्कदै जान्छ निरन्तर । भाग, पाठ, खण्ड, अनुच्छेद आदि कहीं बिसाउने कुनै ठाउँ छैन । किनभने शुरु भएर सकिने कुनै व्यथाको यहाँ नाउँ छैन । माफियातन्त्र, तस्करी, भ्रष्टाचार, दमन, अन्याय, पाखण्ड, लुच्याई आदि आदि निरन्तर निरन्तर । निरन्तर चल्दै जान्छ एउटै कविता सबै समेट्दै । तपाईं हाम्रो जीवनका अनेक विडम्बनाको एउटा निरन्तर यथार्थ जस्तै । व्यवस्थापिका, कार्यपालिका अनि न्यायपालिका, पहिलेका हुन् या यसपालिका, सबै उत्तिकै योग्य पात्र छन् कविका प्रशंसनीय गालीका । कविका कुण्ठाका मुण्टाहरू हरेक पानाले पाएको छ । यस्तो लाग्छ, कविको दृष्टि देशको इतिहास र वर्तमानको हरेक छानामा छाएको छ । नटुङ्गिएर पनि टुङ्गिएको छ यो महाकाव्य २०५८ सालको राजदरवार हत्याकाण्डको हल्लासम्म पुगेर । छक्क लाग्छ, कसरी थाहा पाए कविले यतिविधि कुरा भोगेर, देखेर वा सुँघेर ? मैले त धेरै थाहा पाएँ यो किताब पढेर ।

गणेशजी आज्ञा गर्नुहुन्छः

“ती प्रभु भ्रष्टेश्वर महादेवले
समग्र ब्रम्हाण्डको सृष्टि
आफैले गरेको हो भन्छन्”

कविका उपयुक्त अभिव्यक्तिले भ्रष्टेश्वरको परिचय दिन्छ । ब्रम्हाण्डको पर्यायवाची शब्द कुर्सी हो भन्ने प्रष्ट हुन्छ । बहुदलीय प्रजातान्त्रिक राज्य व्यबस्था आफूले ब्याएको, ल्याएको र हुर्काएको दाबी गर्छन् भ्रष्टेश्वर । कुरो हो भनेर तपाई हामीले उनीहरुलाई युगौँभरि फुर्काएको पनि हो । उनीहरुले त्यत्रो दुःख गरेर ल्याएको चीज आफैसँग मात्रै राखे र आफूले चाहे जसरी प्रयोग गरे भनेर गणेश तात्न, कुमार पाक्न र पौडेल जाग्न हुन्छ ?

“आफ्ना सात पुस्तालाई पुग्ने,
सम्पत्ति जोडेका छन्…”

निधारको आरोप छ कविको प्रजातन्त्रका ठेकेदारहरूप्रति । विश्वले नै राम्रो भनेको प्रजातन्त्रको मूल्य के एक दुई सय परिवारका सात पुस्तालाई पुग्ने सम्पत्तिले मात्र चुक्ता गर्न सकिन्छ ? भ्रष्टेश्वरको यो प्रश्नको कविसँग उत्तर छैन, दक्षिण छ । देशमा विद्यमान गरीबीलाई हेरेर भ्रष्टेश्वरले सात पुस्तालाई मात्रै कमाउने सोचे, चौध अथवा चवालीस पुस्तालाई कमाउने सोचेनन् । त्यति भन्दा कति त्याग गर्न देशका लागि र कन्सेसन दिन प्रजातन्त्रका लागि ? यो दृष्टिकोणले जनताको चेतना जगाइएको छैन । त्यसैले भ्रष्टेश्वरलाई राम्रै पूजा गर्ने मौका पाइएको छैन । गणेशकुमार ले थाल्नुभएको छ प्रयास यसतर्फ ।

धमिजा उड्ने र प्राडो गुड्ने प्रसङ्ग छ । सर कारहरूको सरकारले आफू स्वस्थ रहन गर्ने उठबस, दौडधुप, हा हु आदि व्यायामको प्रस्तुति छ । खुल्ला बजार नीति अनुरुप संसद र चेली-चेला उत्पादन, आयात, नियति र व्यापार प्रवर्द्धनका कुरा छन् । समग्रमा भन्दा विगत दशकमा प्रजातन्त्रको नाउँमा देशभित्र भए गरेका उल्लेख्य उपलब्धीहरुको पूर्ण सूची हो यो महाकाव्य, भ्रष्टेश्वरमा चेत पसोस् भनेर हो कि यसमा कुरा कतै अधुरा र कतै पूरा छन् । खसोखास कुरामा कविले कलम घसाघस गरेकाले “पाल्सी” भएको छ यो महाकाव्य प्रजातन्त्रमा निर्वाध वाक स्वतन्त्रताको प्रत्याभूतिले, तपाई हामीलाई न्यायपूर्ण समाज प्राप्त भए जस्तै । इतिहास खोतल्ने कुनै विद्यार्थीलाई भविष्यमा सन्दर्भ सामग्री बन्न सक्छ यो किताप । तपाईं हाम्रो लागि त यो जस्तो भोगियो त्यस्तै छ ।

चेतनामा वेदना र वेदनामा चेतना सरोवरी मिसाएर कविले छवि उतारेका छन् मेरो परिवेशको आज । न यो काव्य दिव्य छ न यो भव्य छ, तर देखेको कुरा प्रष्ट लेख्नमा कवि सभ्य छ । देशको चिन्ता से उसलाई, परिवेशले डसेको छ । जोखेको छ उसले वर्तमानलाई अतीतका आदर्शको ढकमा र भनेको – छ उठाउनुहोस् न आज तपाइको आदर्श खसेको छ ।

जसले जिउँदैमा यो किताबको एक पटक मात्रै भए पनि पाठ गर्ने छ, भ्रष्टेश्वर महादेवको अनुकम्पाले ऊ हमेशा क्रोधले भरिपूर्ण र उच्च रक्तचापले परिपूर्ण रहने छ । उसका आँखामा आँसु र घरमा बूढी सासूले बास गर्ने छन् । उसलाई निद्राले छोडे जाँडले र जाँडले छोडे राँडले समाउने छ । देशको मायाले ऊ रुने र उसको मायाले देश रुने क्रम अनन्त कालसम्म चलिरहने छ । शोकले सुन्निने रोग र भोकले झुण्डिने शोक उसमा प्राप्त हुन सक्छ । देशको लागि केही गर्ने अथवा मर्ने या मार्ने उत्साह प्राप्त हुन सक्छ । पाठकमा त्यस्तो कुनै पनि लक्षण देखा परेन भने तुरुन्त यो किताब दोहोर्‍याएर पढे हुन्छ ।

हास्यव्यङ्ग्यकार तथा स्वस्थ स्वास्थ्यकर्मी, एउटा मानवधर्मी, कवि तथा लेखक, देशको स्थितिको तमासे तथा साहित्यका सेवक, हास्यव्यङ्ग्यका ठेकी श्री गणेशकुमार पौडेल कृत यो “देवका पनि देव भ्रष्टेश्वर महादेव” को नित्य पाठले पाठकको मनस्थिति र देशको वर्तमान स्थिति ठ्याम्मै मिल्न जाने कुरामा विश्वस्त हुँदै हास्यव्यङ्ग्य लेखनमा गणेशको गुण र कुमारको सामर्थ्य पौडेलज्यूमा अद्यावधिक हुदै जाओस् भन्ने कामना सहित लेखक र पाठकको सुमनस्थितिको कामना गर्दछु ।

एउटा नेता भयो स्वर्गे, एउटा जनता रुदै थियो,
मैले भने, “नरोउ साथी, इश्वर इच्छा यही रह्यो !”
उसले भन्यो “बुझे साथी, तर थाम्नै गाह्रो भयो यो मन्,
जम्मा एउटा मर्‍यो भर्खर, हेर्नोस् त कति बाँकी छन् !!”

०००
२०५८ को आश्विन
भ्रष्टेश्वर महादेव (२०५८) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर