साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मणको व्यङ्ग्य विधामा रामको वाहा वाहा !

लक्ष्मणका व्यङ्ग्य कविता उहिल्यै पनि पढिएको हो । निरन्तर लागेर लक्ष्मण व्यङ्ग्यको तीर हानेर राक्षसको शिर गिराउँदै जनतालाई पिरबाट उन्मुक्ति दिलाउँछन् । उनी जस्तो सजिलैसँग व्यङ्ग्यको तीर हान्न सिपालु कमै छन् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

२०११ साल असोजमा जन्मेका विराटनगर निवासी लक्ष्मण मारवाडी कुलका नेपालका हिरा स्रष्टा हुन् । दसकौंदेखि हास्यव्यङ्ग्य कविताका स्तम्भमा सयौं कविता निरन्तर छपाएका लक्ष्मणको ‘लक्ष्मणको कुनो’ दैनिक पत्रिकामा आकर्षणको केन्द्र हुँदै आएको हो ।

मैले उनलाई चिनेको ‘लक्ष्मणका कुतकुती हास्यव्यङ्ग्य कविताको पुस्तकबाट नै हो । पछि हाइकु कविका रूपमा पनि नजिकैबाट नियालेको सम्कँदा यिनी भौगोलिक दूरीले त्यति हिमचिम नहुँदा मित्रताको महत्त्वपूर्ण चाहना गुमाए जस्तो लाग्छ ।

२०३९ सालमा नै निस्केको कितापले मोरङ जिल्लालाई मात्र जिल्ल पारेको थिएन, हास्यव्यङ्ग्य क्षेत्रको जगमा हालिएका ढुङ्गामा यो पनि एउटा बलियो आड भएको थियो । यिनले पूर्वीय दर्शनमा गीताको त पुस्तक नै लेखेर प्रमाणित गरेका छन् भने कथा, खास गरी लघु कथामा पनि माहिर छन् ।

नेपालीलगायत हिन्दीमा त राम्रो दक्खल छँदैछ मारवाडी भाषामा पनि यिनको हात बसेको छ । त्यसैले त अनुवाद पनि राम्रो गरेका छन् । उनको प्रथम लेखनी समाजको विकृति र बेवकुफीमाथि व्यङ्ग्य बजाएर अघि बढेको हो । पहिला छोटा तर मोटा बलिया पङ्क्तिमा उनले सटीक अभिव्यक्ति दिने गर्थे भने यो पुस्तकमा अलि लामा गद्य कविताजस्ता निकै भए पनि लेखनीमा प्वाक्क भनेर ट्वाक्क पार्ने कलामा कुनै कमी छैन । अझ खारिएको छ । समाजको परिवेशलाई समावेश गरी हास्य र व्यङ्ग्यले भरी उतारिएको छ ।

विनम्र, मृदुभाषी लक्ष्मणसँग मेरो त्यति सङ्गत भएन तर उनको किताप निस्केपछि नै कृतिमार्फत नजिकिन पुगेको हो । मुक्तक भावका प्रक्षेपणमा स-साना कुरालाई पनि टपक्कै टिपेर थपक्कै र पक्कै ताल सुर मिलाएर गर्ने उनको प्रस्तुति खारिएको छ र त यिनलाई लट्ठ पारेको छ । पूर्वबाट उदाएका लक्ष्मणका भाइ अर्का लक्ष्मण पनि कवितामा व्यङ्ग्यको रङ्ग मिलाएर कदम मिलाउन आइसकेको अवस्थामा गरु गुड हैन चिनी नै ल्याएका छन् जेठा लक्ष्मणले । अर्थात् खारिएको छ, तिखारिएको छ । कति आउन खोजे तर ल्याउन सकेनन् र पाठक पनि रमाउन सकेनन् । पाठकलाई रमाउन प्रचुर मसला दिने लक्ष्मण नेवटिया नेपाली थोरै हास्यव्यङ्ग्य कविहरूमा अग्रपङ्क्तिमा नै पर्छन् ।

पुराना बितेकामा भानुभक्त, लक्ष्मीप्रसाद, भीमनिधि, दाताराम, केशवराज, वासुदेव, भरतराज, लक्ष्मण लोहनी, भूपी, कुलमणि बितिसके । श्रीघर, रमेश खकुरेल, यादव खरेल, मुकुन्द आचार्य, रामकुमार, नवराज कार्की, विश्व शाक्य, उत्तमकृष्ण, कृष्ण मुरारी, बमबहादुर, लक्ष्मण नेवटिया, शैलेन्द्र सिम्खडा, अर्जुन पराजुली, लक्ष्मण गाम्नागेसम्म आइपुग्दा हास्यव्यङ्ग्य कविताका कवि थुप्रै देखिए पनि पुस्तकै निस्केकोमा एक नम्बरी देवकोटादेखि भीमनिधि, दाताराम, वासुदेव लुइँटेल, भूपि, यादव खरेल, रामकुमार, नवराज कार्की, विश्व शाक्य, चट्याङ मास्टर, बमबहादुर, वासुदेव गुरागाईं, लक्ष्मण नेवटिया, वसन्त सापकोटा, शिवप्रकाश, शैलेन्द्र सिंखडा, हरिकला उप्रेती स्थापित छन् । मदनमोहन मिश्र, ध्रुवकृष्ण दीप, देवीप्रसाद वनवासी, केशवदत्त आदिका पनि सानातिना प्रकाशन नभएका हैनन् ।

भानुभक्तलाई हाँस्ने कविताको पनि आदिकवि मानेर हेर्दा फुटकर हास्यव्यङ्ग्य कविता लेख्नेमा राजीवलोचन जोशी, वीरेन्द्रकेशरी अर्याल, योगमाया, शिखरनाथ सुवेदी, मोतिराम, राधानाथ लोहनी, प्रेमराज शर्मा, बालकृष्ण सम, पूर्णप्रसाद ब्राह्मण, लीलाध्वज थापाका सटिक टुक्राटाक्री कविता कम रमाइला छैनन् । भानुभक्त पोखरेलका फुटकर व्यङ्ग्य पनि कम छैनन् । केही आसलाग्दा प्रतिभा धीरेन्द्र प्रेमर्षि, केदार खैड्‌का, कोमल ओली, सुमी लोहनी, डम्बर घिमिरे, डिल्लिप्रसाद मूल तिहुन, बद्री दाहाल आदि चम्केर आउँदै छन् । तर लम्केर आउने दम भएका कम छन् ।

लक्ष्मीप्रसाददेखि लक्ष्मण नेवटिया र लक्ष्मण गाम्नागे रामराज्यकै अंश हुन् । तर हास्यव्यङ्ग्य लेखक कवि सबैबाट माथि उठेर जाग्ने. जगाउने र आफैलाई व्यङ्ग्य ठोक्न र सत्य र सुधारको बाटो देखाउने हुनुपर्नेमा कोही-कोही दलका दास र एक पक्षको पक्षपाती पनि देखिए । धेरैले ट्वाक्क टुक्क हास्यव्यङ्ग्य आफ्‌नो साहित्यको दौरानमा लेखे पनि ती सबैलाई हास्यव्यङ्ग्य कवि भन्न सकिन्न । सक्कली साहित्यिक पाराका र मूल भाव हास्यरस भएकैलाई हास्यव्यङ्ग्य कवि मान्दा नेपालमा अत्यन्त कम देखा परेका छन् । भरतराज पन्त र रमेश खकुरेलले कविताका कितापमा मिसाएका छन् । कतिपयको किताप निकाल्न सकिने भए पनि निस्केका छैनन् ।

हास्यव्यङ्ग्य कविताका दुई सङ्कलन निकाल्ने झनै कम छन् । कसैले लिखुरे पुस्तिकाको दाजु निकालेका, कसैले ढब्यु मोटाका बाजे निकालेका छन् । कुनै व्यङ्ग्यै नभएका, हाँसै नउठ्नेलाई हास्यव्यङ्ग्य भनेर आफैंले घोषणा गरेका छन् । फाटफुटे लेखे पनि राम्रा लेख्ने पुराना कविहरू पनि छन् । यसको सङ्कलन कौवाको छ्याकन, भैरव गुठीको नेपाली हास्यव्यङ्ग्य कविता सङ्कलनहरूमा निस्केका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले अनुवादमा अङ्ग्रेजीको विद्वान नलगाए पनि सङ्कलन निकालेको छ । मरुभूमिमा घाँसलाई पनि वन भन्ने अवस्था परेकै पहिला टट्टिनटाट नै हुँदा फाटफुटे र हाटहुटेलाई पनि हास्यव्यङ्ग्य भनियो उही दुर्घटनामा सिलटिम्मुर खाएकालाई सहिद भने भेडाबाखा एकै खोर हुलियो । अब छान्ने बेला भो ।

हास्यव्यङ्ग्य कवितामा खाइलाग्दो साहित्यिक सङ्कलन फाट्टफुट्टबाहेक आउन सकेका छैनन् । पातलो चौलानी झोल उत्पादन केही भए पनि शुद्ध दूधको सिर्जना पाउनु स्यालको सिङ समाउनु बराबर छ । हास्यव्यङ्ग्य कवि सम्मेलन सुनिन्न, गाईजात्रा महोत्सव मनाइन्न, हास्य विशेष अङ्कहरू निस्कन्न, सचेतता जगाएर समाजलाई सलो पार्ने उद्देश्यको हास्यव्यङ्ग्यकार पाठकको रुचिमा अग्र पङ्क्तिमा परे पनि उनीहरूलाई सम्बद्धले टाढै राखेका छन् । यसबाट हाम्रो समाज चोर, फटाहा, लुटाहाले नै मिचेको भन्ने प्रमाणित हुन्छ । कहिले आउला साहित्य फस्टाउने दिन । कहिले हाँसेर हँसाएर बाँच्ने होला ।

धन्न कतै न कतै केही न केही जागरूक लेखकले माहोल तताउन केही न केही काम हुँदैछ। फाट्टफुट्ट भए पनि जिल्ला जिल्लामा ज्योति जगाइँदै छ । यसै लहरमा लक्ष्मणको सक्रियता स्तुत्य छ । लक्ष्मण नेवटिया व्यङ्ग्य विधामा नेपाली साहित्यमा स्थापित नाम हो । उनले व्यङ्ग्यका क्षेत्रमा निकै काम गरेका छन् । नामले पनि रामको भाइ हिमाली जरीबुटी खाएकाले बचेका छन् । नत्र कति आए कति गएमा पर्ने भय हुन्थ्यो । राम राज्यकै नागरिक अझ सक्कली भित्रैदेखि भलो चिताउने भाइको साहित्य पुरुषार्थमा हाई हाई र व्यङ्ग्य बजारेको सुन्दा वाहा। वाहा। नभनी सुखै छैन । पुरुषार्थ पनि कम्ता हो र, देशलाई पिर्नेलाई व्यङ्ग्य वाणले चिर्ने र दे दनादन भनेर भन्दाखेरि भन्नै पर्दैन । कविताको तिरले ठाउँमा ठोकेर शिर झारी उत्तानो टाङ पारिहाल्छन् । भ्रष्टाचारी रक्तवीजझै भएर पो । उनी एक्लै भए पनि छोड्ने हैनन् । कति हार खाएर हिँडे, यिनले चाहिँ निल्ने गर्धनको नाका नै गिंडे । अनि रामले समाजका विकृति र बेवकुफीलाई धक्का दिएको देखेपछि लक्ष्मणलाई धाप नदी भो ? त्यसैले म मुक्तकण्ठले स्याबास लक्ष्मण भन्छु ।

लक्ष्मणका व्यङ्ग्य कविता उहिल्यै पनि पढिएको हो । निरन्तर लागेर लक्ष्मण व्यङ्ग्यको तीर हानेर राक्षसको शिर गिराउँदै जनतालाई पिरबाट उन्मुक्ति दिलाउँछन् । उनी जस्तो सजिलैसँग व्यङ्ग्यको तीर हान्न सिपालु कमै छन् । सिकारु होलान्, मन्चमा हँसाउलान् पनि तर उनी मन्चमा हँसाउने मात्र हो र ? उनको कविता जहाँ जहिले पढे पनि नहाँसी सुखै छैन ।

लामा छोटा हास्य व्यङ्ग्य कविताको यो स‌ङ्कलन व्यङ्ग्यधाम ले च्वास्स पार्छ र उध्रेको सिउन अनि हास्यव्यङ्ग्य रस पिउन पर्याप्त छ । वार्ता, संवाद र कथाकुथुङ्ग्री, चुट्‌काका रूपमा पनि उनले राम्ररी उनेका छन् । बुनेर आफ्‌नो कृतिमा आकृति दिँदै समाजका दैनिकी परिवेश र परिस्थितिदेखि राजनीति र विश्व परिस्थितिमा कलम चलाएर पाठक, श्रोतालाई मक्ख पार्न सक्ने शक्ति यो कविताको किताप व्यङ्ग्यधाममा छ ।

उनका कविता सुनका जस्ता मूल्यवान् मात्र हैन गहनाका सुन्दर डिजाइन जस्ता कल्पनाशील पनि छन् । भनाइमा टुक्काको हनाइ जस्तै छ भने पात्र र परिवेश पनि ट्वाक्कटुक्क पारेर पाक्कपुक्क हानेकै हुन्छन् । प्रत्येक कविताको सन्दर्भ र कथावस्तु आफ्‌नै र सटीक छन् । उनको कविता एकनासे नभएर केही प्रयोग पनि देखिन्छ । वास्तवमा हास्यव्यङ्ग्य कवितालाई विभिन्न ढाँचामा लेख्न सकिन्छ । कविको कुशलता र शैलीको विविधताले हास्यरस लबालब हुन सक्छ । लक्ष्मणको कविता राम्ररी अघि बढिरहेको छ । हास्यव्यङ्ग्य विधा त्यसै त कम विकसित छ त्यसमाथि कविता अत्यन्त दुर्लभ भएकोमा यो नयाँ कृति आउनु नेपाली साहित्यकै लागि ठुलो योगदान ठानेको छु । तपाईंलाई धेरै धेरै बधाई र शुभकामना अर्पण गर्दछु ।

जाउलाखेल, काठमाडौँ ११ चैत्र २०७९

०००
लक्ष्मण नेवटियाकाे व्यङ्ग्यधाम (२०८०)काे भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
के देश दुख्दैन मोरा हो ?!

के देश दुख्दैन मोरा...

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x