साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको सारतत्त्व खोतल्दा (२)

एक-दुई शोध-प्रबन्ध बाहेक नेपाली हास्यव्यङ्ग्यमा केन्द्रित रहेर राष्ट्रभाषा नेपाली तथा राष्ट्रिय भाषा साहित्यका फाँटमा हास्यव्यङ्ग्य सिर्जनाको अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी दिने समीक्षात्मक पुस्तक पनि पाइँदैन ।

Nepal Telecom ad

विष्णु प्रभात :

हास्यव्यङ्ग्य लोकरीतिको मनोरञ्जनकारी विरेचक बनेर विभिन्न विधामा प्रयोग हुँदै आएको छ । सामाजिक अन्याय र विभेदका विरुद्ध एउटा वैचारिक हतियारका रूपमा हास्यव्यङ्ग्यले शासक-प्रशासकहरूको बदनियत नङ्ग्याएको छ। व्यक्ति वा समूहको भावनामा परेका चोट, पीडा र बोधहरूले प्रतिरोधको भिव्यक्तिस्वरूप हास्यव्यङ्ग्यलाई अंगालेका छन्, अघि बढाएका छन् । सबै जाति-प्रजातिका बीच यो गुणधर्म विद्यमान छ। परस्परमा होच्याउने र उच्याउने काममा पनि व्यङ्ग्यको प्रयोग भएको पाइन्छ। ज्ञान र सिपको सन्दर्भमा, प्रतिशोध र परिवर्तनका सन्दर्भमा, प्रक्ति र समाजका सन्दर्भमा पाइने भोगिने विरोधाभासलाई व्यङ्ग्यवाणीले मात्र हैन, व्यङ्ग्यकर्मको समेत प्रयोग गर्दै सुधार गर्ने प्रयत्नका रूप हाम्रो सस्कृतिका विविध विधाहरूमा प्रशस्तै छन् ।

हास्यव्यङ्ग्यको यो लोकबद्ध पक्ष फगत गाईजात्रामा सीमित छैन । चित्रकला, अभिनय, गायन र पुराकथामा समेत व्याप्त छ, राष्ट्र‌भाषा र राष्ट्रिय भाषाका साहित्यमा छ, नृत्य नाटिकाहरूमा विस्तारित छ, उखान-टुक्का र लोकगाथाहरूमा छ। जाति, धर्म, सम्प्रदाय र समाजमा रहेका विरोधाभासलाई धेरै लामो समयदेखि नेपाली ग्रष्टा द्रष्टाले आफ्ना सिर्जनाका साधनहरूमार्फत् मञ्चन, लेखन, गायन र अङ्कन गर्दै वाणी र शिल्पले मूर्त रूप दिएका छन् । हास्यव्यङ्ग्यको यो लोकबद्ध परम्परामा यसको अभिप्राय, सामाजिक आधार र मनोवैज्ञानिक पक्ष अर्थात् सारतत्त्व पनि अडिएको छ। अरूको त के कुरा स्वयं स्वरैकल्पना समेत यो लोक-आधारबाट अलग छैन ।

हास्यव्यङ्ग्य स्रष्टा तटस्थ द्रष्टा होइन । उसले त सामाजिक जीवनका विरोधाभास खोतल्छ, देखाउँछ र त्यसबाट बच्न सचेत तुल्याउंछ । पीडित पक्षमाथि सहानुभूति र पीडकप्रति घृणा व्यक्त गर्दै हास्यव्यङ्ग्य सिर्जना गर्छ । उसले आफ्नै आनन्दका निम्ति होइन, जीवन र समाजको समुन्नतिका लागि सिर्जना गर्दछ । एउटा हास्यव्यङ्ग्यकारले प्राप्त गरेको जीवनबोध, अनुभूति र सिर्जनशीलता उसको पठनपाठन, साथी-सङ्गाती, समाज र परिस्थितिद्वारा निर्धारित हुन्छ । तर उसको शिल्पगत चमत्कार, विशेषता र सिर्जनात्मक निखारमा भने वैयक्तिक साधना, अनुराग र सङ्कल्पको स्थान महत्त्वपूर्ण रहेको हुन्छ । त्यति भएर पनि सौन्दर्यचेत जो छ त्यो सामाजिक तत्त्व बनेर नै अभिव्यक्त हुन पुगेको हुन्छ ।

हास्यव्यङ्ग्य सिर्जना प्रत्यक्ष कथनमा होइन, जति सक्यो अप्रत्यक्ष कथनमा नै हुनु पर्दछ । प्रतिनिधिमूलक ढङ्गले परिवेश र पात्र, विषयवस्तु र रूपको छनोट गरेको खण्डमा नै व्यक्तिमनको पिञ्जराबाट सिर्जनाले मुक्ति पाउँछ । वास्तवमा यथार्थको समग्र बोधविना हास्यव्यङ्ग्य सिर्जनाले प्रहारको विन्दु फेला पार्न सक्दै सक्दैन ।

नेपाली हास्यव्यङ्ग्यको विधागत इतिहास हेर्दा शक्तिवल्लभ अर्ज्यालको नाटक हास्यकदम्ब सर्वप्रथम देखा पर्दछ। वीरकालीन चिन्तनधाराकै बीचमा लेखिएका हास्यव्यङ्ग्यहरूले मनोरञ्जनपरक शृङ्गारिक हास्य एवं कूट व्यङ्ग्यको बौद्धिकतालाई केही मात्रामा अंगाल्न पुगेका छन् । सामाजिक उद्देश्यभन्दा व्यक्ति आह्लादमा रमाउने रसिकतामा समेत एक प्रकारले समष्टिगत आनन्दलाई समेट्ने प्रयास भइरहेका छन् । उद्देश्यपूर्ण हाँसोले सामाजिक भावभूमि ग्रहण गर्दै गएपछि शृ‌ङ्गारिकताको ठाउँ क्रमशः व्यञ्जनाले लिन थाल्यो र सामाजिक सरोकारका विषयमा रहेका-भोगेका विरोधाभासहरूको चित्रणसँगै त्यसमा सुधार हुनु पर्ने मागहरूले ठाउँ पायो। चाकरीप्रथाका विरुद्धमा बोल्दै भोलिवादको विकल्प माग गर्ने आदिकवि भानुभक्तसम्म आइपुग्दा नेपाली हास्यव्यङ्ग्य कविताले एउटा आकार ग्रहण गर्यो।

मोतीरामपछि कप्णचन्द्र अर्यालको हाँसोले विधागत विस्तारतर्फ अग्रसर गरायो र आधुनिक कालमा आइपुग्दा पद्यमाभन्दा गद्यमा यसले फक्रन पायो। वीरेन्द्रकेशरी अर्ज्याल, योगमाया न्यौपाने, शिखरनाथ सुवेदी, मोतीराम भट्ट, राधानाथ लोहनी, प्रेमराज शर्मा पौडेल, वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीमनीधि तिवारी, दाताराम शर्मा, केशवराज पिंडाली, वासुदेव लुइटेल, पूर्णप्रसाद ब्राह्मण, लीलाध्वज थापा, कुलमणि देवकोटा, भरतराज पन्त, लक्ष्मण लोहनी, भानुभक्त पोखरेल, भैरव अर्याल, रमेश खकुरेल, रामकुमार पांडे, भीष्म प्रसाई, अर्जुन पराजुली, मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षि जस्ता व्यङ्ग्यकविको कवितात्मक अभिव्यक्तिमा जैविक-अजैविक मनोविज्ञानको रसिकता र बौद्धिकता मिसिएको पाइन्छ।

गद्यतर्फ पनि लक्ष्मीप्रसाद देवकोटा, केशवराज पिंडाली, दाताराम शर्मा, वासुदेव लुईटेल, भैरव अर्याल, श्रीधर खनाल, वालमुकुन्ददेव पाण्डे, श्याम गोतामे, गोपालराज पन्त, कृष्णचन्द्रसिंह प्रधान, हृदयचन्द्रसिह प्रधान, सूर्यबहादुर पिवा, ध्रुवकृष्ण दीप, चूडामणि रेग्मी, लोकेन्द्रबहादुर चन्द, मोहनराज शर्मा, मुकुन्द आचार्य, राजेन्द्र सुवेदी, रामकुमार पाँडे, विष्णु प्रभात, चोलेश्वर शर्मा, भाउपन्थी, माधव पोखरेल, रुद्र खरेल, नरेन्द्रराज पौडेल, विमल निभा, विश्व शाक्य, श्यामवहादुर लामा, उत्तमकृष्ण मजगैयां, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, राजपाल हाडा, चट्याङ मास्टर, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, नरमेन्द्र लामा, मुन पौडेल, रामचन्द्र रिजाल आदि अनेक प्रतिभाहरूले विविध विशेषताका साथ हास्यव्यङ्ग्य सिर्जनालाई गतिशील बनाएका छन् ।

विधागत विकासमा जुटेका हास्यव्यङ्ग्यकर्मीहरूको ताँती ठूलै छ र अहिले रङ्गमञ्च, सिनेमा, नाटक र उपन्यासका अतिरिक्त समालोचनाका क्षेत्रमा पनि यसको विस्तार भइसकेको छ । विशेष गरी भैरव अर्यालले प्रारम्भ गरेको व्यङ्ग्यसमीक्षाको विशेषतालाई अगाडि बढाउने काम विष्णु प्रभातबाट भएको छ। पठनपाठनमा सीमित हास्यव्यङ्ग्यको स्थिति अन्त्य भएर दैनिक अखवारमा मसला सरह राजनीतिक विषयप्रधान रचनाहरू निकै देखा परेका छन् । दीर्घकालीन प्रभाव रहने किसिमका कलात्मक सिर्जना गर्नेदेखि सामान्य चुट्किला रच्नेहरू निकै बढेका छन् ।

त्यति भएर पनि हास्यव्यङ्ग्य के हो ? यसको सैद्धान्तिक एवं मनोवैज्ञानिक पक्ष के-कस्ता छन् ? नेपाली हास्यव्यङ्ग्यकलाको विशेषता के हो ? हास्यव्यङ्ग्य शैली हो या विधा ? यसले कति रसिकता र कति बौद्धिकताको माग गर्छ ? के हास्यव्यङ्ग्य मन बहलाउने साधन मात्रै हो त ? भन्ने जस्ता प्रश्नहरूमा अनेकौं किसिमका अलमल पनि देखिन्छन् । अझै पनि कतिपय द्रष्टाहरूले यसको कठिनता र गहनता बोध गर्न सकेको देखिँदैन । सैद्धान्तिक सन्दर्भका अनेकौं प्रश्नहरूको समाधान गर्नेतर्फ विभिन्न समालोचकहरूले बेलामौकामा विवेचनात्मक लेख लेखी छपाएका भए पनि ती सामग्रीहरू विभिन्न पत्रपत्रिकामै छरिएर रहेको हुँदा धेरैलाई एकमुष्ट अध्ययन गर्ने अनुकूलता प्राप्त हुन सकेको छैन ।

हास्यव्यङ्ग्य सिर्जनाका विधागत प्राप्तिहरूको शोधकार्य पनि पर्याप्त नभइरहेको र यससम्बन्धी पूर्वीय एवं पाश्चात्य मान्यताका बारेमा लेखिएका रचनाहरू पनि सङ्गृहीत भई पुस्तकाकारमा नआएको स्थिति छ । हास्यव्यङ्ग्यसम्बन्धी सैद्धान्तिक ज्ञान दिने पुस्तकको अभाव छ । हास्यव्यङ्ग्य साहित्यमा विधागत रूपले प्राप्त सामग्री, व्यङ्ग्यचित्रमा भएको विकास, अभिनय विधाको सफलता र कमी एवं हास्यव्यङ्ग्यात्मक गीत-सङ्गीतको छुट्टाछुट्टै अनुसन्धान गर्नु गराउनुपर्ने खाँचो पनि छँदै छ। एक-दुई शोध-प्रबन्ध बाहेक नेपाली हास्यव्यङ्ग्यमा केन्द्रित रहेर राष्ट्रभाषा नेपाली तथा राष्ट्रिय भाषा साहित्यका फाँटमा हास्यव्यङ्ग्य सिर्जनाको अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी दिने समीक्षात्मक पुस्तक पनि पाइँदैन । विश्वविद्यालयहरूमा पनि हास्यव्यङ्ग्यसम्बन्धी नेपाली सन्दर्भ पुस्तकको अभाव नै छ ।

एक प्रकारले हास्यव्यङ्ग्य सिर्जनाका लगभग सबै विधाहरू साहित्य, कला र अभिनयने कलाको मर्यादा प्राप्त गर्न सकिरहेका छैनन् र फगत मनोरञ्जनका उपकरणमा सीमित हुन पुगेका छन । यस्तो स्थितिमा हास्यव्यङ्ग्य कलाको बारेमा विचार विमर्श अघि बढाउन आवश्यक एवं उपयुक्त देखिएकाले शास्त्रीय विचार-मन्धनका रूपमा समेत यो हास्यव्यङ्ग्य विमर्श नामक पुस्तकको सयोजन र सम्पादन गरिएको हो ।

हास्यव्यङ्ग्यशैली सिर्जनाका अनेकौं फाँटहरू- साहित्य, सङ्गीत, कला र रङ्गमञ्चका विविध विधाहरूमा, प्रयोग गरिने विशिष्ट शिल्पका रूपमा मनोहारी अभिव्यक्ति बनेको छ। त्यसैले यसका लागि उत्फुल्ल हृदयसंगै प्रबुद्ध चेतना पनि जरुरी हुन्छ। सहज हाँसो प्रफुल्लतामै सिद्धिन्छ । असहज हाँसोले कुनै व्यञ्जनात्मक भाव व्यक्त गरिरहेको हुन्छ । भावकलाई विषयबोधमा डुबाउँदै एउटा नयां क्षितिजतर्फ लैजान्छ । यही नवीन जीवनबोधसा हास्यव्यङ्ग्यको मनोवैज्ञानिक विकल्प बसेको छ। नेपाली हास्यव्यङग्य सिर्जनालाई समग्रतामा हेरेर पूर्वार्द्ध र उत्तरार्द्धमा बाड्ने हो भने अघिल्लो कालखण्ड हास्यप्रधानताको र पछिल्लो कालखण्ड व्यङ्ग्यप्रधानताको हुन पुगेको छ।

गाईजात्राको मनोरञ्जनप्रधान पक्षलाई सामाजिक रूपान्तरणको वैचारिक-मन्यनप्रधान बनाएर धेरै हास्यव्यङ्ग्य स्रष्टाहरूले आफ्नो कलम, कुची, अभिनय र वाणीलाई गतिशील पारेका छन् । आजको नेपाली हास्यव्यङ्ग्य सिर्जनात्मक विधाहरूको एउटा सिङ्गो फूलबारी बन्न पुगेको छ जहाँ कलात्मक विविधतासंगै स्वादको विविधता, सन्देशको विविधता र सस्कृतिको विविधता ढकमक्क फुल्दै गरेको देख्न पाइन्छ। यस कुराको साक्षी यही सङ्कलन पनि रहेको छ।

प्रस्तुत सङ्ग्रहमा सुपरिचित समालोचक र राष्टाहरूका रचना समावेश छन् । यसमा प्रत्येक विवेचकले आआफ्नै किसिमले हास्यव्यङ्ग्यका सम्बन्धमा विचार-विमर्श गरेका छन् । सिद्धान्तको आलोकमा पूर्वीय एवं पाश्चात्य परम्परा नियालेका छन् । विधाको विस्तारमा नेपाली हास्यव्यङ्ग्यको स्थिति र विशेषताहरू उल्लेख गरेका छन् । विचार प्रवृत्तिका आलोकमा शीर्षस्थ प्रतिभा पहिचान गरेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा हास्यव्यङ्ग्यको स्थिति उल्लेख गरेका छन् र परस्पर सैद्धान्तिक मत-विमत पनि व्यक्त गरेका छन् । हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भमा प्रयोजन, तात्पर्य, शाब्दिक शृङ्खला, पूर्वीय तथा पाश्चात्य साहित्यमा हास्यव्यङ्ग्यको स्थान र मानको विशद् विवेचना प्रा डा. वासुदेव त्रिपाठीले गरेका छन् ।

समालोचक कृष्णचन्द्र सिह प्रधानले नेपाली हास्यव्यङ्ग्य साहित्यका ऐतिहासिक विवेचना गर्दै हास्यव्यङ्ग्य तत्त्वको निरूपण गरेका छन् भने प्रा राजेन्द्र सुवेदीले विभिन्न चरणमा विभक्त गरी नेपाली हास्यव्यङ्ग्य सिर्जनाको परम्परा र प्रवृत्ति विश्लेषण गरेका छन् । उपप्राध्यापकद्वय कृष्ण गौतम र ग‌ङ्गाप्रसाद उप्रेतीले कविता र निबन्ध विधामा केन्द्रित रहेर समीक्षा गरेका छन् । विष्णु प्रभातको लेखमा हास्यव्यङ्ग्यको विधागत इतिहासको विवेचनासंगै त्यसको प्रवर्द्धनमा सलग्न सस्थाहरूको समेत उल्लेख गरिएको छ। ज्ञानेन्द्र विवशले नेपाली व्यङ्ग्य चित्र र कलाको सङ्क्षिप्त विवेचन र प्रा डा रामकुमार पाँडेले व्यङ्ग्यको विश्वविकास कस्तो छ भन्ने बारेमा जानकारी दिएका छन् । प्रा.डा. माधवप्रसाद पोखरेलले परिभाषाको परिलाएका छन् भने प्रा.डा. प‌द्मप्रसाद देवकोटाले अङ्ग्रेजी साहित्यमा हास्यत्तत्त्वको चर्चा गरेका छन् । प्राज्ञ गोविन्द भट्टले हास्यव्यङ्ग्यमा विचारधाराको प्रश्नवारे गम्भीर चिन्तन दिनुभएको छ ।

प्राज्ञ भाउपन्थीले हास्यव्यङ्ग्य सिर्जनाको विविध सन्दर्भकोट्याएर नेपाली हास्यव्यङ्ग्यका सन्दर्भमा केही मौलिक प्रश्नहरू साक्षात्कार गर्ने यप विचार दिएका छन् । प्रा. मोहनराजले हास्यव्यङ्ग्य साहित्यको प्रवृत्ति र दिशा निर्देश गरेको पाइन्छ भने भैरव अर्याल र पिंडालीले हास्यव्यङ्ग्यलाई कसरी हेर्दथे भन्ने कुरा पनि उनीहरूकै शब्दमा पढ्न पाइने छ । पिंडाली र अर्यालका वारेमा यथोचित विश्लेषणका साथ प्रा. डा. गोविन्दप्रसाद भट्टराईको रचना आएको छ र नेपालका राष्ट्रिय भाषाहरूमध्ये नेवारी, मैथिली र भोजपुरीमा हास्यव्यङ्ग्य साहित्यको अवस्था र प्रवृत्ति विवेचनाका साथ इन्द्र माली, धीरेन्द्र प्रेमर्षि तथा गोपाल अश्कका रचनाहरू आएका छन् । यी सबै पक्षले पुस्तकलाई साँच्चिकै हास्यव्यङ्ग्य विमर्श बनाएको छ। प्रस्तुत सामग्रीले अध्यार्थी, शोधार्थी र सर्वसाधारण पाठकलाई समेत गहन ज्ञान दिने अपेक्षा हामीले राखेका छौं ।

अन्त्यमा प्रस्तुत पुस्तकको तयारी एवं सम्पादनको अभिभारा सुम्पने नेपाल  प्रज्ञा-प्रतिष्ठान भाषा साहित्य (गद्य) विभागका प्राज्ञ भाउपन्यी, यस सङ्ग्रहमा आआफ्ना रचना समावेश गर्न दिनुहुने स्रष्टा द्रष्टा र सङ्क्षिप्त मन्तव्य लेखिदिनुहुने उपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीज्यूहरूमा हार्दिकतापूर्ण आभार व्यक्त गर्दछु ।

२०६२/३/१७

०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x