विष्णु प्रभातखै खै पिंडालीलाई सर्र हेरौँ त !
आफैसँग गफिने खूबी पिंडालीको पहिलो विशेषता हो भने अरुलाई अलमल-गोत्र पार्दै हँसाउने सामर्थ्य दोश्रो विशेषता हो। भित्री चुरोलाई बाहिरी कुरो बनाएर बतुर्नु तेस्रो विशेषता हो भने कथात्मक प्रस्तुति चौथो विशेषता भएको छ ।

विष्णु प्रभात :
१. पिंडालीको व्यक्तित्व सम्झना
पिंडालीको व्यक्तित्व त्रिआयामिक छ । व्यक्ति पिंडाली, राजनीतिज्ञ पिंडाली र संचक पिंडाली । व्यक्ति पिंडाली उनका परिवारमा रमाउँछन् मादकतापूर्ण मनोरन्जनमा हराउँछन् । गरीबीको पीडा बोध नगरे पनि सम्पन्नताको आहारिसतर्फ पदाकदा पड्कन्छन् । सामाजिक व्यक्तित्वका क्षेत्रमा पाएका मान सम्मानले उनको व्यक्तिगत जीवनलाई प्रभावित पारेर नै उनी खुशीसाथ लेखन कर्मतर्फ प्रवृत्त हुन्ये । वि.सं १९९२ मा पटनाबाट मेट्रिक पास गरेपछि पिंडाली स्वाध्यायनतर्फ लागे । अंग्रेजी, हिन्दी, बङ्गाली, उडिया र नेवारी भाषाको राम्रो ज्ञान उनमा थियो । पुरानो पुस्ताका विशिष्ट हास्यव्यङ्ग्यकारमध्ये जेठा प्रतिभा हुन् पिंडाली ।
१९७१ माघ १६ गते काठमाडौंमा जन्मेका केशवराज लामिछाने ८४ वर्षको जीवन व्यतित गरी २०५५ जेठ २६ मा निधन भएका थिए । टेलिफोन अप्रेटरबाट सामाजिक रोगजारीमा पाइला टेकेका पिंडालीले मोहन शमशेरकी कान्छी छोरीको निजी सचिवका रूपमा समेत काम गरे उनलाई सिनेमाहलको मैनेजर, प्रधानमन्त्री वी.पी. को कोइरालाको निजी सचिव, विमर्श साप्ताहिकको सम्पादक प्रकाशक तथा सल्लाहकार रहँदै जीवीकोपार्जन टार्नुपरेको थियो । सुरूमा गाईजात्राको सम्पादक, त्यसपछि नेपाली काङ्ग्रेसको मुखपत्र- नेपालपुकार, नेपाल आव्हान, नयाँकदम, विकास आदि पत्रिकाको सम्पादन गर्नुपर्यो । पैत्रिक थलो धादिङ जिल्लाको पिंडा भएकाले उनले आफ्नो साहित्यिक नाम नै पिंडाली राखेका थिए । (अच्युतरमण अधिकारी, से उन्नयन (पिंडाली विशेषाङ्क) २०५०, पृ.६७ ।)
राजनैतिक व्यक्तित्वका रूपमा उनी नेपाली काँग्रेसका कार्यकर्ता एवं बी.पी. कोइरालाका नीजी सचिव भएर काम गर्दै आफ्नो परिचय दिए । वी.पी. सँगको सम्बन्ध र निकटताका कारण उनी अलि महत्वाकांक्षी पनि बने । निर्दलीय निरंकुशताका विरुद्ध जुध्दै लामो समयसम्म लोकतन्त्र स्थापनार्थ लडेका केशवराज पिंडाली आफ्नो स्वभावजन्य वैशिष्ट्यले गर्दा राजनैतिक नेता भएनन् । उनलाई नेपाली काङ्ग्रेसले पनि ठीक ढङ्गले मूल्याङ्कन गर्न सकेन अथवा भनौ पत्याएन जसको उदाहरणमा गोपको अध्यक्ष बन्ने उनको चाहनालाई अवसर दिएन र प्राज्ञ बन्ने चाहनाको पनि सुनवाई गरेन ।
पिंडाली भारत, श्रीलङ्का, फ्रान्स, अमेरिका, क्यानडा र डेनमार्क आदि देश घुमेका छन् । लेखकीय व्यक्तित्व नै पिंडालीको मूल व्यक्तित्व हो र नेपाली साहित्यका पाठकहरूका निम्ति चासो र रुचिको विषय पनि हो । उनको सिर्जनात्मक व्यक्तित्व पनि यही नै हो। यसका दुई पाटा छन्- एउटा साहित्यकारको पाटो अर्को पत्रकारिताको पाटो । दुवैमा पिंडालीजी प्रवल देखिन्छन परन्तु साहित्यकार पाटोले बढी प्रभावकारी स्थान र पहिचान निर्माण गर्न सफल भएको छ । यही पाटोको अध्ययन भूवनहरि कोइरालाले पनि “पिंडाली, जीवनी र व्यक्तित्व’ नामक शोधमा गरेका छन् ।
यस अतिरिक्त पिंडाली प्रकाशक, विभिन्न संघ-संस्थाको जिम्मेबार भएर पनि काम गरे। उनको लेखकीय व्यक्तित्वलाई पनि विभिन्न समीक्षकहरूले फरक-फरक नाम दिएका छन्- स्पष्टवादी निर्भिक लेखक, नेपाली वाङमयका साधक, हास्यशिरोमणि एवं करुण व्यङ्ग्यकार आदि ।
पिंडालीको व्यक्तित्व नियाल्दा उनी एउटा आधुनिक लेखक मात्र हैन, विचारमा लचकता रहेको उदार प्रजातन्त्रवादी व्यक्तिका हैसियतमा पनि देखा पर्दछन् । चाकरीबाट सम्पत्ति कमाउने काम पिंडालीले गरेनन् । पिंडालीको स्वाभिमानी गुणमा अहंको मात्रा रहेको भए पनि त्यो लेखकीय स्वभाव पनि हो। उनको त्यस गुणको कदर गर्दै अच्यूतरमण अधिकारीले पिंडाली जिउँदो हुँदैमा विशेषाङ्क प्रकाशित गरे ।
व्यक्तित्वको मूल्याङ्कन गर्दा हाम्रा समालोचकहरू प्रायः तुलनात्मक पद्दति अँगालेर यो लेखकभन्दा त्यो लेखक महान् भन्ने गर्छन् । परन्तु प्रत्येक लेखक आफ्नै स्वतन्त्र व्यक्तित्वमा खडा हुन्छ, उसको आफ्नै विशिष्ठ लेखनशैली हुन्छ र दृष्टिकोण र दृष्यको फरक-फरक प्रस्तुतिमा उनीहरूले बाफ्ना रचनाको प्रयोजन, प्रभाव र परिणाम पस्कन्छन् । पिंडाली पनि अफ्नो लेखनको विशिष्ठतामा राजनीतिक सम्बद्धता प्रस्तुत गर्छन् । कहीं पड्कन्छन् कहीं पग्लन्छन् । त्यसैले साहित्यकार परस्पर तुलनीय नभए पनि तुलनीय बन्दछन् र कालक्रमिक वा कलागत श्रेष्ठताको पगरी पाउँछन् । यो पद्दति विशेषगरी विश्वविद्यालयको पठन-पाठनमा प्रयुक्त छ ।
२. पिंडालीको सिर्जना
पिंडाली मूलतः गद्य लेखक हुन् । उनका केही कवितालाई आधार मानेर अनुभूतिजन्य सष्टाको रूपमा कवित्व चर्चा गरे पनि पिंडालीको साहित्यिक व्यक्तित्व आख्यानिक निबन्धकार नै हो। उनको औपन्यासिकतामा निबन्धकारिता र निबन्धमा कथाकारिता मिसिएको पाइन्छ । पिंडालीका सिर्जनाहरू पनि व्यक्तित्वको त्रिआयामिक आकार जस्तै छन् । पहिलो अनुभूतिजन्य, दोश्रो सामाजिक यथार्थको अङ्कन र तेस्रो अखवारी लेखनको सतहीपन ।
निजात्मक अनुभूतिजन्य सिर्जनामा पिंडाली रतिरागात्मक पीडा पोख्छन् श्रीमतीप्रति गरिएका व्यङ्ग्यहरूले मात्र यसको साक्षी बकिरहेको नभै ‘भोग सुन्दरी’ जस्ता रचनाले पनि उनको यौन भावनाको भण्डारमा गुम्सिएको विसङ्गति बोल्छ । संचनयात्राको पूर्वाद्धमा उनले सामाजिक यथार्थको अङ्कनलाई आफ्नो सिर्जना- मीयो बनाएका छन् तर उत्तरार्धमा राजनैतिक आग्रहवश त्यसलाई भुल्दै सामाजिक कल्याणको प्रश्नलाई नै छाडेर दलीय प्रचारमूल्य अँगाल्न पुग्छन् । आफ्नै मान्यतामा अएको विचलन उनमा रहेको हीनतावोधद्वारा अभिप्रेरित छ ।
बहुदलको पुनर्स्थापनापछि उनले आफ्नो लेखन-मान्यतालाई भताभुङ्ग पार्दै व्यक्तिका नीजिमामिलामा समेत हस्तक्षेप गर्न पुग्दछन् । २०१६ को ‘खै खै’, २०३२ को ‘फेरी उल्टै मिल्याे’ र २०४६ को ‘व्यङ्गै व्यङ्ग्य’को सिर्जनात्मक मूल्यलाई यसप्रकारको अतिले खति गर्यो । व्यक्तिवादी लेखनप्रवृत्ति र दलगत स्वार्थको कारण यो भएको थियो, जसलाई नेपाली पाठकहरूले विद्या भण्डारीको चरित्रहत्याको चरणमा पुगेपछि मात्रै पाहा पाए ।
केशवराज पिंडालीको रचनाकर्मको सन्दर्भ र सीमा विधागत क्षितिजसँग जोडिन्छ । पिंडालीलाई विशेषत हास्यव्यङ्ग्य लेखनका सन्दर्भमा केन्द्रीत भएर हेरिन्छ। यद्यपि उनको यो फाँट बाहिर परेको अर्को सबल विधा उपन्यासको छ । एकादेशकी महारानी’ (२०२६) ‘अन्त्यदेखि सुरू’ (२०३८) ‘बाँच्नु एउटा जिन्दगी’ (२०४७), ‘साँझ घर फर्केको मान्छे’ जस्ता कृतिमा उनको सामाजिक यथार्थ अङ्कन प्रवलतम छ र यसले नै उनलाई नेपाली साहित्यमा अविस्मरणीय बनाएको छ। अखवारी लेखन स्वाभावतः हल्का हुने हुँदा विषयको गहिराईमा पुग्दैन, सतहमा तैरिन्छ ।
पिंडालीको साहित्य सिर्जनामा पनि विशेषगरी २०४७ पछिको लेखनमा यो कमजोरी प्रकट भएको पाइन्छ । उनका टिप्पणी र व्यङ्ग्यहरू केही मात्रामा हिनताबोधको सिकार भएका छन् । खासगरी सरकारले साहित्यकारलाई उपेक्षा गरेको र कांग्रेसकै सरकार हुँदा पनि आफूलाई नहेरेकोमा उनी आक्रोशित बनेको भेटिन्छ । त्यति भएर पनि हास्य-प्रधानताको ठाडो लेखन अँगाल्दै समसामयिक विसङ्गतिमाथि प्रहार गर्ने शब्दकलाका पारखी श्री पिंडाली धारिलो कलम भएका पत्रकारको रूपमा समेत परिचित छन् । ‘कुराको कुरा’ मा होस् वा ‘यथोचित’ मा उनी आफ्नो व्यङ्ग्यकारितालाई सामेल गरिछाड्छन् । पिंडालीको व्यङ्ग्य लेखनलाई आधार बनाएर प्रजातन्त्रले उनलाई कैदसमेत गर्यो ।
पिंडालीको लेखनको विशेषता हेर्दा सरलता, रसिकता र अलड्ङ्कारिताको संगम फेला पर्छ । उनको लेखन सामाजिक शोषणका विरुद्धसमेत लक्षित छ । सामाजिक सुधारको सन्देश दिँदै पिंडाली अघि बढ्छन् । अनेकौं राम्रा गुण हुँदाहुँदै पनि उनका केही दुर्गण पनि थिए । समकालीन व्यङ्ग्य लेखनप्रतिको डाहा यस्तै एउटा दुर्गुण थियो । स्रष्टाने विद्यागत रूपमा आफ्ना उत्तराधिकारी तयार गर्ने, तिनीहरूलाई प्रशिक्षित गर्ने र प्रोत्साहन दिने महत्वपूर्ण कार्यभारलाई उनले ध्यान दिएनन् । तैपनि जेष्ठताले मात्रै आफू अगाडिरहेको स्वीकार्दै स्तरीय रचनात्मकतामा भैरव अर्यालले उछिनेको कुरा स्वीकार्दछन् । (पिंडाली, उन्नयन (पिंडानी विशेषाङ्क), २०५०, पृ. ५९४।) यो उनको राम्रो पक्ष हो।
३. खै-खै सङ्ग्रहका व्यङ्ग्यकार पिंडाली
‘खै-खै ! र ‘खैऽखै !’ उत्सुकता र निराशाको भावलहर ध्वनिको धरामा हराभरा हुन्छ । अघिल्लोले खोजी-खन्तरी, जिज्ञासा र मागलाई समेटेर हिन्छ भने पछिल्लोमा दिक्दारी र बेवास्ता सल्बलाउँछ । तेस्रो ‘खै’ खइ भई खिया बुझाउँछ। परन्तु पिंडाली-केराले भने अम्मलीको झिलिमिली-गफ गर्दै चुरोट खाने बिरालकाने कञ्जुसको कथा सुनाउँछन् । उनको ‘खै-खै’ हास्यव्यङ्ग्य सङ्ग्रहले पूरा एकमुरी रचना पस्केको छ । डढेलो चुस्ने डेढ-अक्कली दुईखुट्टे जनावरको चर्तिकलाबाट सुरू भएको पुस्तकले कलाको पारखी खोज्छ । कला चिन्ने को छ ? भन्दै यातायात क्षेत्रमा रहेको अव्यवस्था अङ्कन गर्दा केरापिले गुन्टाको पद्यासनबाट तीन बल्याङ खाँदै ढाड दुख्ने रोगको ‘थेरापी’ गर्न पुग्छन् । अलिकता हाँसो फुत्कन्छ र भाँडानै ठाढा भनाभन बीच कलाकारिताको अन्त्य हुन्छ ।
हास्यको हल्का हलुवा स्वाद है मलुवा लाग्छ । तर जब ‘आखिरी दृष्य’ सुरु हुन्छ तब गरीविको पीडाले पिल्सिएको पुने र रफ्फुमायाँ बनाइएको पुरेन्द्र बीच समलिंगी बिहे रचिन्छ । घरजम बसाउने तृष्णामा तड्पेर बाँचेका कामदार कान्छाहरू दामदार दानवद्वारा रचिएको हंसी- मजाक बुझ्न सक्दैनन् । पुने पनि सोझो थियो, हो न हो साँच्चै बिहे बुझेर मख्ख परेको थियो । रहस्यको कुवामा डुवाएर पुनेलाई बर्बाद पारिएको संवेदनशीत कथाको रूपमा रहेको छ ‘आखिरी दृष्य’ । त्यसभित्र राणाकालीन कुलीनहरूको कर्तुत मात्र हैन ख्यालबाट एउटा जीवनको बेहाल व्यथा पनि पँजिएको छ । पिंडालीको कलम राम्ररी माझिएको छ । ठट्टाको गट्टा खेल्दै समाजको लट्टा फोर्न लम्केका पिंडाली, रचनामा लामा केश बाट्ने ललिताहरूको लैबरीभाका बोल्छन् । दौरा- सुरुवाल र टोपीहरूका पुर्ख्याैली टुप्पी पोल्छन् र हास्यव्यङ्ग्य रचनालाई साहित्यको विधा हो भन्छन् । प्रचलित साहित्य-शास्त्रलाई विदा दिँदै गरिएको विश्लेषण विचारणीय छ ।
एक त हास्यव्यङ्ग्य रचना-कलाको एउटा विशिष्ट शैली हो भन्ने जागजाहेर तथ्य हाम्रा सामु छँदैछ, अर्को यो सिप, सिर्जना-शिल्प बनेर साहित्यका सबै विधामा प्रयोग हुँदै आएको छ । रंगमञ्च र चित्रकारितामा पनि हास्यव्यङ्ग्य शैलीको भरपूर प्रयोग भइरहेको छ । हास्यमा रसिकता रहन्छ श्रृंगारिकता बहन्छ तर व्यङ्ग्यमा बौद्धिकता बोल्छ र विसङ्गतिलाई पोल्छ । यो कुरा स्वयं पिंडालीको ‘खै- खै’ भित्र अन्तरगुम्फन भएको छ । केरापिको कथनकला अन्तरव्यङ्ग्यको थेरापि हो भन्दै अभि सुवेदीले उनलाई यसको प्रथम प्रयोगकर्ता मानेका छन् । (अभि सुवेदी, कोपेहेगेनमा खै-चै, उन्नयनः (पिंडाली विशेषाङ्क, पृ. ३४७।)
यसैका आधारमा उनी हास्यव्यङ्ग्यलाई एउटा छुट्टै विधा मान्न तयार हुन्छन् । मृत्युपछिको जीवनका बारेमा अनन्त-भ्रम पालेका मानिसहरू माझ भूताहा घरको कथा रमाइलै हुन्छ । ‘सपना-विपना सरोबरी पारेर रचना सिंगारे पनि कल्पनाका कथाहरूको व्यथा त जीवनसँगै गाँसिएको हुन्छ’ भन्ने सत्य अघि सार्दै पागलको कथा सकिन्छ। प्रेम र वियोगको द्वन्द्व जस्तै ज्ञान र अज्ञानको झगडा पनि लामो छ । टुडिखेलको आत्मकथा अलि बेग्लै किसिमको छ । केराको डेरा कता थियो कता, तर जता भए – दुडिखेल घुमेर कुराको फेरा मार्नु उनको नित्यकर्म थियो । त्यसैले भूमिलाई चुमी मानवीकरण गरेर बोल्छन् । केरा हास्यव्यङ्ग्यमा मीठो खान्की मानिन्छ । केरा खान र खुवाउन रमाइलो मान्ने रसिकहरूले केशवको पहिलो अक्षरसँग राजको ‘ज’ – मातेर जम्ने गुनिलो फल बुझे पनि, अथवा आ-आफ्ना मनको मैदानमा मडारिएका -भाव माफिक अर्थोकै बुझे पनि पिंडालीको ‘पि’ जोडिएपछि त्यस्तो गडबडी हुन – पाउँदैन । त्यसैले डामुरा रीरे भन्छन्- “व्यङ्ग्यकारका रूपमा केतु राहुको अमरता पिडालीज्यूको लेखन शैलीमा छ । (डा. मुरारि रेग्मी, उन्नयन है ५ ४१९।)
कुरा टुंडिखेलको आत्मकथाका बारेमा हुँदै थियो । तर वीचमा केराको अर्थ फलफूल वर्गसँग जोरिन पुग्यो । धन्न आँपको कुरा उठेन । हुन त टुंडिखेलमा के पाइँदैन र ? झुरुम्-झरुम् बदाम बेच्ने बाबुचादेखि परेड खेल्ने पल्टनियाँसम्मका सबैको सन्दर्भ आइहाल्छ । सुन्दरीको सुकुसुकदेखि सुँगुरको घुँक-घुँकसम्म फैलिने टुंडिखेलमा दरबार, घरबार र तरबारका कुरा पनि पाइन्छ । मान्छेका सीमित ज्ञानको अहंकारलाई चुनौति दिदै टुंडिखेल भन्छ- “मान्छे दश बाह्र वर्षको एउटा सानो अवधिमा चारवटा किताव पढेर कलेजबाट के निस्केको हुँदैन, आफूलाई विद्वानहरूको शिरोमणि सम्झन्छ भने मैले त शताब्दीदेखि अनेक शास्त्रको श्रवण गरेर आएको छु त म किन आफूलाई मान्छेभन्दा श्रेष्ठ नसम्झूँ ?” वास्तवमा यो निकै चोटिलो व्यङ्ग्य प्रहार हो हाम्रो अहंकारप्रति । अध्ययनको आलोकाँचो दम्भप्रति । टुंडिखेल टुक्रिएर रत्नपार्क बन्यो, शहीद मञ्च र सैनिक मुख्यालय बन्यो तर उसको गन्थन-गुनासोको विषय यथावत् छ । खुल्लामञ्च भनिने हिस्सामा गरिने सभाको दुर्गति अलि भिन्न छ । नागरिक सुरक्षाको समस्या सेनाबाट उब्जिने तर्फ सङ्केत गर्न खुला चउरलाई चर्पीसरह सोमर्ने बिहानी भ्रमणकारी-मनुष्यप्रति व्यङ्ग्य गर्न टुंडिखेल सक्षम छ ।
विजुली अड्डालाई चन्द्रज्योति-अड्डा भने के फरक पर्ला र ? जब अस्पताल वीर हुन्छ भने । सडक जुट हुन्छ भने । केरापि तर्क गर्छन् । परम्परा र संस्कृति व्यक्तिका नाममा चल्छ भने के फरक पर्ला त भन्दै व्यक्तिवादप्रति छेप्पन हान्न होस् वा गोरखाभर्तिका नाममा विदेशिएका भाेका नाङ्गाको हिसाबभन्दा नगरपालिकाभित्र कुकुर-गणनाको हिसाव ठूलो छ भनेर होस् उनी समाजको यथार्थप्रति निगरानी गर्छन् । रेडियो रहर, टिभीको टनटन, गृहिणीको गनगन सबैको नाफानोक्सानको तराजु हल्लिन्छ । टर्घ बालेर बिजुली बले नबलेको हेर्न अनुरोध गर्ने छोरीको सरल भनाईसँगै चन्द्रज्योतिको अर्थ निकाल्दै निबन्ध टुङ्गिन्छ । पिंडाली प्रश्न गर्छन्- ‘यस्तो पनि हुन्छ ?’ हो यस्तो पनि हुन्छ । जलश्राेतको धनी देशमा विजुली महँगो हुनु स्वाभाविकै कुरा हो। सिनेमा र शिक्षाकाे सम्बन्ध, जनजीवन र ध्वनि प्रदूषणको दुर्गन्ध, शहरी सभ्यताको कुप्रबन्ध, खुजुरा पैसाको अभाव देखाएर बढी रकम लिने तरिका, सिनेमा हलको अव्यवस्था अड्कन गर्दै जवाफ दिन्छन् ।
‘परदेशी’ कथात्मक शैलीमा लेखिएको छ । ‘सालिक बोल्यो’- कल्पनाको कार्चाेपी कडाइमा दगुर्छ । निर्जीव मूर्तिहरूको भेला खरीको रुखमुनि भइरहेछ । परन्तु प्रखर बौद्धिकता, व्यङ्ग्य र विकल्पको खोजीमा बहस बधि बढ्छ । राणा-शासनको अन्त्यपछि पनि शहीदहरूलाई यथोचित स्थान र सम्मान नदिएको, कुंवरपुत्र जङ्गबहादुर राणाले देशघाती काम गर्दै अंग्रेजको चाकडीवाजी गरेको, सर्वसाधारण जनता पनि बराबरीको हैसियतमा आएको अवस्था उल्लेख गर्दै माथवरसिंह र लखन थापाको सालिक इन्द्रचोक र असनमा राख्ने सल्लाह दिएको छ । वेवारिसे लास, गुप्तहत्या र अनाहकमा मारिएकाहरूप्रति इन्साफ खै ? भनेको छ ।
पिंडालीलाई ‘हास्यव्यङ्ग्य शिरोमणि’ मान्ने हो भने भैरव अर्याल ‘हास्यव्यङ्ग्य महाकवि’ बन्न पुग्छन् । लेखनाथ, देवकोटा संझेर यसो भन्दा कति ठीक कति बेठिक ? घरिघरि सोंचाइको श्रृंखलामा तल-वितल हुन्छ । ‘पत्नी’ले लाहुरेनी नानीको नकच्चरोपन नङ्ग्याउँछ । ‘दौरा-सुरुवाल’ गरीवि र अभावको अर्चना मात्र होइन जाडोमा लगाउने न्यानो कपडाको तिर्सना पनि हो । परन्तु सिउने सिपको अभावमा झ्याउरे दमैले लुगा बिगारी दिन्छ र त्यो तिर्सना त्यसै मर्छ । कथात्मकतासँगै आफै अन्तर्व्यथा पस्के जस्तोगरी केरापिको कलम अधि-अधि दगुर्छ ।
टेलिफोन राख्ने कुरा शहरिया सोख होइन, खाँचो बन्दै गएको छ । परन्तु पिंडाली केराले ‘न बज्छ बाँसुरी नै’ का माध्यमले अत्यन्तै रोचक र घोचक मिठास हाम्रा लागि दिन्छन् । हाँसोले पेटै गुटुमुटु पार्ने खुबीको कला प्रस्तुत गर्दा प्रशासन, गृहस्थी र मनुष्य सिंगैको अनौठो शैली, अबुझपनालाई उदाङ्ग पार्छन् । टेलिफोनीयाँ सङ्कट सामान्य गाली-गलौजदेखि अनेकौं घरिथरिका अल्झाेसम्म फैलिन्छ । धन्न उनलाई अरुको फोन बोलाइदिने झन्जट परेनछ । नत्र अर्को थप फजिती आईलाग्थ्यो ।
‘आधुनिक पत्नी’ अर्को निकै रमाइलो र हाँसो उठाउने रचना हो । आत्मपरक अभिव्यक्तिमा आफ्नै कथाव्यथाझै बनाएर प्रस्तुत गर्ने कुशलता केरापि कला हो । नारी मुक्तिका नाममा हुर्किएको पारिवारिक विखण्डनप्रति मसिनोसँग प्रहार गरेका भए पनि छोरो राजन भुलाउन मसीको सिसी दिँदा त्यसैले पाएको दनकबाट उत्पन्न अवस्थाले अनौठो हास्य-सिर्जना गरेका छन् । अनुहारदेखि शरीरसम्मैं सिंगारिएको अदभुत अवस्था मात्र हैन, भरेङमा लर्कन्ताम् भै खंगारिनु र चोटपटकहरूमा रुई टाँस गर्दै ओखति लगाएपछिको अनौठो आकृति पैदा गरेर अचम्मै कल्पना कथुरेका छन् । ठीक त्यसैबेला नडिनीको आगमन गराएर अर्को चमत्कार थपेका छन् । हुलाकीलाई सहजै टारे पनि महीकर टुप्लुकिन्छ । छोरो राजन ब्यूँझेर कुइँकुई गर्छ । साथीले धक्का दिदै जान्छ- “पख तेरो म जात्रा देखाइ- दिन्छु !” आफै जात्रा व्यहोरेका बेला ‘पत्नीलाई बाहिर पठाएर घुँडुलीसँग खेलेको’ आरोप कसरी सहनु ? म फसें । भन्दै बडो बिचित्र मनोदशाको यथार्थ अघि सार्छन् । खै-खै सङ्ग्रहमा अनौठोसँग पाठकलाई खित्काउने कथा बन्न पुगेको छ- आधुनिक पत्नी ।
‘प्रजातन्त्र खोजसंघ’ राजनैतिक विषयवस्तुमा आधारित छ । प्रजातन्त्रको दुहाई दिँदै च्याउनेताले गरेका मनपरी, कुर्ची दौड र धाँदली नङ्ग्याउनु यसको कर्म बनेको छ । अर्काको पाए तीनमाना चुक पिउने विच्छिभाइ ठड्याएर कन्जुसप्रति मात्र हैन बहुदलीय संसदवादको बकन्ता बनेका वाबुजीहरूप्रति पनि बज्रबाण हानिएको छ । ‘नलेखिएको कथा’ धेरै लेखन्तेहरूले विषयवस्तु बनाएको कथानकमा दिएको भए पनि ल्युसुनको ‘सुखी परिवार’ लाई आधार बनाएर झण्डैझण्डै नक्कल गरिएको झझल्को दिँदै उपस्थित हुन्छ । ठ्याक्कै अनुकृति त कसरी भनूँ ! हात्यव्यङ्ग्य लेखनका टुप्पी मानेका लामिछाने दाइलाई । पाठकवृन्दले खोजेर हेर्नु भो भने, ढाकछोप गरेर भाम गफ गर्ने भजनीयाँहरू आफै नै भागो रे भागो ! भइहाल्छन् ।
हुन त ‘नलेखिएको कथा’ मार्फत हाम्रा साहित्यकारहरूको आर्थिक दुरावस्था र दुखेसो नङ्ग्याउने काम राम्रै भएको छ । देवकोटा हुन् वा श्यामप्रसाद, गोकुल जोशी हुन् वा गोपाल रिमाल कसको पो अवस्था अव्वल दर्जाको रह्यो र ? तर यसको नेपथ्यबाट निर्धक्कै निस्कन्छ उही सुखी परिवार । ‘बागबजारको बाटो’ आत्मपरक निबन्धका रूपमा रहेको छ । राजधानीको एउटा ब्यस्त सडक तर भत्केर जीर्ण । हास्यको भन्दा व्यङ्ग्यको पउल रहेको यो निबन्धमा असामान्य चित्रणको पिंडाली-कला भेटिन्छ । विशिष्ठ पात्र, परिवेश र प्रस्तुतिले सामान्य प्रतिनिधि पात्र र परिवेशलाई पन्छाउँछ । यथार्थ टिप्दा हौसिए पनि त्यसलाई सुन्दरतासँग जोड्न लक्ष्यबद्ध नहुने उनको कमजोरी दर्शाउँछ । खानपिन, बोलीबचन र आवाजाहीमा फल्कने नेपाली काइदा, पेटिहुँदो हिन्नेलाई छ्याप्ने मोटरलाई ढुड्गै उछिट्याएर पुर्पुरो सेकन्ताम् गरेको घटना करुण व्यङ्ग्यमा बसेका छन् । मृत्यु त्रासको पीडासँगै अतिरञ्जित यथार्थले हाँसो उमार्न सकेको छैन बरु राजनीतिको रमरम चढाएको छ ।
‘सवाल छ खाजाको’ व्यङ्ग्यकथा हो । प्रजातन्त्र पछिका सबै मन्त्री – महोदयलाई भेटेर आफ्ना समस्या सुल्झाउन चाहने जनताको दुर्दशा, मन्त्रीको नाटकीय व्यस्तता र सचिवको सविनय चाकरीलाई यसले चित्रण गरेको छ । परन्तु धेरै मात्रामा स्वाभाविक रहेर पनि साहुजमिनदारको मोटर लिएर मन्त्री टाप ठोक्नु असहज स्थिति हो । हाँसो उत्पन्न गर्नका लागि यस्तो कल्पना गरिएको हुनसक्छ, तर शीर्षक भने विषयवस्तुको बिब्ल्याँटो बनेको छ । नास्ता खाएर मन्त्री क्वाटर जानुकै अर्थमा हेर्दा- जनतालाई मन्त्रीले खानपिन गराउँदैनन् भन्ने सङ्केत गरेजस्तो लाग्छ र सवाल छ खाजाको होइन, सद्भाव छ- जाजाको । भन्ने सन्देश दिनमा पिंडाली सफल छन् ।
‘शूरवीरहरूको नरक यात्रा’ अत्यन्तै हँस्यौली कथा बनेको छ । अमलेखगञ्जबाट बस चढेर काठमाण्डू आउँदा त्रिभुवनराजपथको बाटो र त्यसमा गुडाइने यात्रुहरूको बिजोक-विवशता अङ्कन गरेको यो हास्य-प्रधान कथा साँच्चि नै हास्यास्पद छ। पढ्दा हाँसिने मात्र हैन त्यस अवस्थामा फँस्दा नासिने डर पनि रहेको हुन्छ । केरापिले आफ्ना कलमको कुशलताद्वारा कथाेपकथनमा कुनै कैफत नराखी काम गरेका छन् । मारवाडीको मरन्ता स्थिति, दारीबाबाको बहेर निर्माणका सम्बन्धमा चलेको बहस बीच हाँस्दा हाँस्दै शूरवीरहरूको नरकयात्रा सकिन्छ । ‘मटुछेडकाव्य’ कथुर्दा केरापिले के भुल्छन् भने कविता सुनेर काेइ परमधाम पुग्दैनन् । घस्यौटा हास्य लेखेर लल्लिनुमन्दा मस्यौरा बेचेर सहल्लिनु हितकर हुनसक्छ । तर तिवारी बाजे जङ्गिए भने अर्को आपत आइलाग्ने भएकाले ‘प्रभुजी ! कवि बनाइदिनोस्’ भनी पुकार-प्रार्थनामा पिंडाली लागे।
खै-खै संग्रहको पुछारमा रहेको यो अनुरोध कुनै प्रभुसँग होइन, तपाइँले खप्तडबाबासँग होस् वा साईबाबासँग भनेर पनि बिल्कुल नसोच्नु होला । हाम्राे देशको राष्ट्रिय प्रसारण संस्था बनेको रेडियो नेपालसँग हो । रेडियोबाट साहित्यकार कहलिए पछि कसैका बाबुको दाल गल्दैन । त्यसकारण कवि बनाइदिन हार्दिक अनुरोध गर्दै केरापि कल्लाउँछन् । जब त्यहाँ काम गर्ने तबल्ची यथार्थवादी कवि बन्छ, तब लेखक बन्न चाहने व्यक्तिले उसलाई नपुकारेर भयाे त ? भएन । जसरी आज लेखक बन्न चाहने हरकोही व्यक्तिले सरकारी संस्थानमा जागिरे सम्पादकसँग मात्र हैन महान् सिर्जनाकारसँग साक्षात्कार गरी अनुरोध गर्ने होटलमा लगेर नास्ता-खाजा ख्वाउने गरेपछि रचना छापिन्छन् त्यसैगरी पनि रेडियोका कामदार, नामदार र दामदारसँग व्यवहार हुन्थ्यो भन्ने तर्फ पनि पिडाली सङ्केत गर्दछन् । एकातर्फ त्यसले सहित्यकारप्रति गर्ने भेदभाव देखाएको छ भने अर्कोतर्फ प्रशारित रचनाको पारिश्रमिक हजम पारिदिने दुभांव औंल्याएको छ। त्यस भित्रका थुप्रै विसङ्गति सुनाउँदै सङ्ग्रह सकिन्छ ।
निष्कर्षमा भन्दा ठट्यौलो मिजासका रचनाशिल्पी होइन, ठट्यौलो भाषाले व्यङ्ग्य-शिल्पी बनेका केरापि आँसुभित्रका हाँसो हुन् कि हाँसो भित्रका आँसु हुन् भन्ने विषयमा ‘दुवै रहेछन् ।’ भन्नुपर्ने भइदिन्छ । अन्तरमनका अनुभूति र आफ्नै जीवनका गतिविधिहरू उनका रचनाको मियो बनेको छ । लेख्दा-लेख्दा कहिले गन्थन मारी दिन्छन् । कहिले गन्थनभित्र मन्थन घुसारी दिन्छन् । कहिले अर्यालको आहारिसमा अधैर्य बन्न पुग्छन् । अर्याल अकालमै अलप भए लामिछाने पिंडाली लामै समय रहे । खै-खै नै उनको पहिचान दिने मूलरचना मानिन्छ । समाज सुधारको सन्देश यस कृतिको वृत्ति हो ।
आफैसँग गफिने खूबी पिंडालीको पहिलो विशेषता हो भने अरुलाई अलमल-गोत्र पार्दै हँसाउने सामर्थ्य दोश्रो विशेषता हो। भित्री चुरोलाई बाहिरी कुरो बनाएर बतुर्नु तेस्रो विशेषता हो भने कथात्मक प्रस्तुति चौथो विशेषता भएको छ । विषय र पात्र दुवैमा द्वन्द्वपूर्ण भाव, भाषा, शैली र समझलाई सल्ल बगाउनु पाँचौ विशेषता हो भने उखान टुक्का, अलंकार र अन्य भाषा मिसाएर बोलीलाई लोलीमय पार्नु छैठौं विशेषता बनेको छ । व्याक्तिवाद उनको रचनादृष्टिको दर्शन रहनु सातौं विशेषता हो र यिनैका आधारमा पिडालीको ‘खै-खै’ आज पनि खै खै सर्र हेरौं त । हुन पुगेको छ ।
०००
२०५८ । ६। १२
एघाराैँ अवतार (२०५८)









































अत्यन्त सटीक जानकारीमूलक लेख