हरि कोर्कालीसिंहदरबार याने सरकारको शयनकक्ष
तालिमको दीक्षान्त समारोहमा भाषण दिन पुग्नु छ । देशैभरि छरिएर रहेका आफ्ना चम्चा, विचौलिया र कमिसन इजेन्टहरूसँग अन लाइन मिटिङमा बस्नु छ । यस्तो व्यस्त सरकारलाई उसको काम गर्न छाडिदिनोस् ।

हरि कोर्काली :
सिंहदरबार
याने देशको सरकार सुत्ने
शयनकक्षको कानैमा आएर
पुङ न पुच्छरका मागहरू तेर्स्याएर
कलकलेका बच्चाले झैं
हल्ला गर्दा
सरकारको निद्रा खलबलिन सक्छ
कृपया शान्त रहनुस् ।
हामी कृषिप्रधान नागरिक
गरिखान पुग्ने जमिन सबैसँग छ ।
नहुनेले पनि सरकारी ओगट्न पाइराखेकै छ ।
खोल्साखोल्सी पनि बाँकी नराखी
दर्ता गरिदिने अड्डाहरू पनि
रमाई रमाई चलिरहेकै छन् ।
भ्रष्टाचारीलाई यथाशक्ति भ्रष्टाचार गर्न प्रोत्साहन दिएकै छ ।
कालाबजारीलाई पनि हत्केलैले घाम छेलेर
कालो बजार चलाउने सुविधा मिलेकै छ ।
नाफाखोरले नाफाको सगरमाथै चुल्याउँदा पनि भएकै छ ।
चोरले चौतारो पाएकै छ ।
ठगलाई ठग्नै छुट छ ।
डाकाले पनि डकैती मचाउँदा भएकै छ ।
लुटेराले लुट्न पाएकै छन् ।
लाठी अनुसारकै भैंसी न्याय पनि फस्टाएकै छ ।
भुक्न चाहनेले मनलाग्दो भुक्न पाएकै छ ।
एउटै राष्ट्रमा एकै पटक
यति धेरै सुविधा कहाँ पाइन्छ र ?
तैपनि चित्त नबुझाएर–
समानुपातिकमा नेताले
आआफ्ना श्रीमती मात्र घुसाए
जागिरमा पनि आफ्नालाई मात्र पसाए
पदोन्नतिमा पनि आफ्नालाई मात्र बसाए
मनपरी सरकारी ढिकुटी रित्याए
चानचुने भ्रष्टाचारमा कर्मचारीलाई अल्मल्याएर
नम्बरीमा नेताहरू आफै रमाए भन्दै
यत्रो ठुलो होहल्ला मच्चाएर
जनप्रिय सरकारको निद्रा बिगार्न पनि हुन्छ र यसरी ?
कृपया शान्त रहनुस् ।
के रे ?
उखुको मूल्य भुक्तानी पाइएन रे ?
किन गर्नुभयो त उखु खेती ?
चिनी त विदेशबाट आइरहेकै छ ।
जानुस् चिनी मिल घेर्न
हामी सुरक्षा पठाइ दिन्छौं ।
धानको मूल्यले लगानी नै उठेन रे ?
किन फलाउनु भयो बढी
आफ्नो चुलो चलाउन पुग्ने मात्र फलाउनु पर्थेन ?
हिलो मैलोमा जनताले दुख गरिरहनु नपरोस् भनेर
न मल झिकाएका छौं न बिउ
तैपनि तपाइँहरू दुख गर्ने ?
ल भैगो अब
सरकार सुतिरहेकै छ
कृत्रिम अभाव र कालोबजारको सुबिधा उपयोग गर्नुस्
र, भरपुर फाइदा उठाउनुस् ।
वन मासियो रे ?
सरकारले मासेको हो र यहाँ आएर कराउने ?
तपाइँहरूकै काम होइन ?
आफै बोक्सी र आफै झाँक्री हुने ?
रोटी–बेटीले यस्तो भयो रे ?
त्यसै हो भने
रोकिहाल्नुस् त्यसलाई ।
विद्यालयमा पठनपाठन राम्रो भएन रे ?
राम्रो पढेका जति सबै
विदेश गएर नफर्कने
कम पढेकाले
टन्न रेमिट्यान्स पठाउने भएपछि
किन चाहियो राम्रो पढाइ ?
जे जे भैरहेछ ठिकै त भैरहेछ
कुरा बुझ््नुहोस्
उमेरले दिए
आफै पनि खाडीतिर कुद्नुहोस्
हल्ला गर्न नआउनुहोस् ।
के रे ?
स्वस्थ्य सुविधा भएन रे ?
यति राम्रो हावापानी भएको देशमा पनि
रोग लाग्छ र ?
अल्छी हुनुभयो होला !
फूर्तिलो हुनुस्
योग गर्नुस्, जोक भन्नुस्
हाँस्नुस्, हँसाउनुस्
रोग लागिहाले
धामीझाँक्री कहाँ पठाउनुस्
पुगिहाल्छ ।
कोरोनालाई भएन रे ?
किन नहुनु नि ?
डा. होलीको टोढ्का/नुक्सा प्रयोग गर्नु भएन कि ?
नगरेको भए गरिहाल्नुस्
घरैमा पाइने
अदुवा र वेसारको तातो तातो झोल प्युनुस
दुईचार पटक हाच्छ्यिुँ साच्छ्यिुँ गर्नुस्
ठिक भै हाल्छ ।
खाने पानी भएन रे ?
निपानेतिर बस्नु हुन्छ कि ?
पानी भएतिर सर्नुस्
देशमा यत्राविधि खोलानाला छन्
मुहान, पोखरी छन्
ताल, तलैया छन्
जानुहोस्, गएर तिनकै
तीर, किनारतिर सर्नुहोस्
ऐलानी दर्ता गरिदिने हाकिमहरू
भोका जुकाझैं
स्याउँस्याउँ गरि बसेका छन्
उनीहरूको भोक मेटाएर आफ्नो दुनो सोज्याउनुहोस् ।
बाटोघाटो भएन रे ?
ए ! पख्नोस् है
रेल र पानीजहाज
नेटैपारि आइसकेका छन्
केही दिनमै
फिलिली फेला पर्ने छन्
नआत्तिनोस् ।
अझै ! केरे !
देशमै रोजगारी चाहियो रे ?
यहीं किन चाहियो रोजगारी
विदेश जान दिएकै छ
त्यो पनि विना ढेउवा ।
ल, सबै मागहरू पूरा भएकै छन्
कुरा नबुझेको मात्र हो
अब बुझिहाल्नु भो
उठ्नुहोस र लाग्नुहोस आआफ्नो घरतिर
सरकार ऐले भर्खरै उठेर
नक्कली शरणार्थी तयार गर्ने काममा व्यस्त छ
निर्दोषलाई फसाएर
अपराधीहरूलाई बचाउने उपायको
खोजिमा मस्त छ ।
त्यसपछि पनि फुर्सद छैन
अरिङ्गाल, बच्छिउँ, बारुला र खाइबर सेनाका लागि आयोजित
तालिमको दीक्षान्त समारोहमा भाषण दिन पुग्नु छ ।
देशैभरि छरिएर रहेका आफ्ना चम्चा, विचौलिया र
कमिसन इजेन्टहरूसँग अन लाइन मिटिङमा बस्नु छ ।
यस्तो व्यस्त सरकारलाई
उसको काम गर्न छाडिदिनोस् ।
हैन र बाधा पार्नपट्टि लाग्नुभयो भने
घनघोर लाठीचार्ज गरिने छ
र त्यसको जिम्मा पनि
तपाइँहरूकै थाप्लामा राखिने छ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































