ईश्वर पाेखरेलनेपाली राजनीति र अमरिशको खलनायकी
बजारतिर जाँदा जब टाउको चिलाउँछ र मेरा हातहरू टाउको कन्याउन पुग्छन्; ठीक त्यतिबेला कुनै नेताजीलाई अभिवादन गर्न छुट्यो होला र उसले मबाट अपमान भएको ठान्यो होला भनेर पिरोलिने गर्दछु ।

ईश्वर पोखरेल :
इमान धर्म सम्झेर भन्ने हो भने म भन्छु— मलाई नेताजीप्रति अगाध आस्था छ । यही आस्था भएकै कारणले जब नेताजी कोठाभित्र लुकेर सडकमा ढङ्गा हान्ने आदेश दिनु हुन्छ; म गानो जाने हो कि भन्नेतिर सोच्दै नसोची बलबुताले भ्याएसम्मको ढुङ्गा बोकेर दौडिन्छु । यही आस्था भएकै कारणले नेताजीले बेलाबखतमा आह्वान गर्ने उपत्यका बन्द र नेपाल बन्दलाई सहयोग पुगोस् भनेर मैले अचेल प्रायः चुलो–बत्द गर्ने गरेको छु । भनिएला— ‘श्रीमतीको एकछत्र शासन चल्ने चुलाको ताला–साँचो तैले कसरी पाइस् र चुलो बन्द गरिस् ?’ धेरैलाई हेक्का हुनुपर्छ— चुलो बन्द गर्न चाला साँचो केही चाहिदैन र चुलोसम्म पुगिरहनु पनि पर्दैन । ठीक समयमा ठीक ठाउँमा दबाब दिने हो भने चुलो अन्यत्र बसेर पनि सञ्चालन गर्न सकिन्छ— नेपालको राजनीति जस्तै । मट्टितेल किन्ने पैसा ‘अन्न–तेल’मा सकिदिनु चुलो बन्द गर्ने एउटा स्वीच हो । पीठो किन्ने पैसा पप्लुमा उडाइ दिनु चुलो बन्द गर्ने अर्को स्वीच हो । भान्टा किन्ने पैसा लिएर भुन्टीसंग सिनेमा हेर्न जानु चुलो बन्द गर्ने अर्को स्वीच हो ।
यस्ता स्वीचहरू कति हुन्छन्, कति ! बस्, कुनै एउटा स्वीच—अफ गरिदिनु र हेर्नु; अघिसम्म क्रान्तिकारीपारामा चलिरहेका चुलाका यावत् क्रियाकलापहरू एकाएक अस्तव्यस्त हुन पुग्छन्— शक्ति–केन्द्रसंग ‘लाइन’ ‘कट’ भएका राजनीतिक दलहरूको राजनीतिक कार्यक्रम जस्तै ।
नेताजीप्रतिको यही आस्थाकै कारणले जब वयोवृद्ध नेता पारिवारिक स्वार्थको वृत्तभित्र लट्पटिदै, ढुन्मुनाउँदै, घरीघरी मुर्छा पर्दै र घरीघरी बहर गोरु जस्तो बनेर संविधान, नियम–कानून र प्रजातान्त्रिक मूल्य तथा मान्यताका साँध–सीमा कुल्चिदै संसद–संसदलाई भाँचकुँच पारेर भन्डार कोठामा लगेर थन्क्याइदिनु हुन्छ; धेरैलाई हेक्का हुनुपर्छ; अमरिश पुरीको चरम फिल्मी खलनायकीमा मात्र होइन; त्यससंग ससम्मान तुलना हुनसक्ने राजनीतिक दृश्य, परिदृश्यमा पनि मेरो ताली अगाडि बज्ने गरेको छ ।
ताली बजाउन एकजोर दह्रो हात हुनुपर्छ; मलाई मात्र होइन, नेताजीप्रति आस्थावान् हुन पाउने हक सबै नेपालीलाई उपलब्ध छ । नेताजीप्रति आस्थावान् बनेर बितेको मेरो सुदीर्घ विगत भन्छ— प्रायः नेताजीहरूलाई ताली र साली औधि मन पर्छ । साली हुन नसकेकोमा मलाई अफसोच छ । त्यसैले ताली चै म नेताजी बोल्दा मात्र होइन; नेताजीले ‘हाई..’ गर्दा पनि बजाई दिन्छु । मेरो दह्रो विश्वास के छ भने, नेताजी जे गर्नुहुन्छ; देश र जनताकै लागि गर्नुहुन्छ । त्यसैले नेताजीले भ्रष्टाचार गर्दा, कमिसन खाँदा मात्र होइन; नेताजीबाट मैले गाली खाँदा पनि मलाई औधि आनन्द लाग्छ ।
पहिले पहिले मलाई चिन्ता हुन्थ्यो— नेताजीलाई कसरी चिन्ने ? तर अक्किलका साथ हेर्ने हो भने नेताजीलाई जस्तै भीडमा पनि ठ्याक्कै चिनिदोरहेछ— जन्तीहरूका बीचमा बेहुलालाई चिने जस्तो । पहिलो कुरा त दुलाभित्र लुक्ने मात्र होइन; बाहिर घामले सक्ने मात्र पनि होइन; भट्टीतिर ढुक्नेदेखि लिएर बाह्य शक्तिकेन्द्रसामु झुक्नेसम्म सबै सम्मानित नेताजीहरू भजनमण्डलीका बीचमा विराजमान हुन रुचाउनु हुँदोरहेछ । दोस्रो कुरा, जो आफ्नो प्रत्येक सनकलाई संविधान अनुकूल देख्छ; नेता भनेर चिने हुन्छ । अझ सजिलो तेस्रो तरिका पनि छ; यो सर्वमान्य पनि छ— नेता चिन्न उसको आगतविगत केही ख्याल गर्नु पर्दैन; मात्र पहिरन हेरे पुग्छ : लामो कुर्था र पाइजामाभित्रको प्रत्येक जीव गान्धी र नेहरूको प्रजातान्त्रिक नेपालमा उपलब्ध नेपाली संस्करण हो; जय नेपाल, लाल सलाम, प्रणाम र नमस्कार मात्र होइन; नेताजीको दुर्लभ साक्षात्कारको महिमा स्वीकार गरी तत्काल साष्टाङ्ग दण्डवत् गरे पनि अन्यथा हुँदैन; ठीक ठाउँमा पर्छ ।
दुर्लभ नेताजीहरू सर्वसुलभ हुनु चै प्रजातान्त्रिक नेपालको उपलब्धि हो । नेताहरू प्रत्येक घरमा नभए पनि प्रत्येक टोलमा अब उपलब्ध छन् । बाबुले छोरालाई र छोराले बाबुलाई सम्बोधन गर्दा समेत ‘नेताजी’ भनेर सम्बोधन गर्दा गौरव गर्ने यतिबेलाको नेपालमा नेता नहुनु भनेको पञ्चको बेलामा मण्डले नहुनु, काग्रेसको सरकार हुँदा कांग्रेस नहुनु र वामपन्थीले जितेको ठाउँमा वामपन्थी नहुनु स्तरकै मुर्खता हो ।
अचेल, जब म घरबाहिर निस्किन्छु; आफ्ना दुबै हत्केला लिसो लगाएर टाँसेर निस्कूँ जस्तो लाग्छ । त्यसो भएपछि जसका सामु पुग्छु; हात जोडेरै पुग्छु । बजारतिर जाँदा जब टाउको चिलाउँछ र मेरा हातहरू टाउको कन्याउन पुग्छन्; ठीक त्यतिबेला कुनै नेताजीलाई अभिवादन गर्न छुट्यो होला र उसले मबाट अपमान भएको ठान्यो होला भनेर पिरोलिने गर्दछु । त्यसो त सामान्य स्थितिमा हुँदा कतै दर्जीले सिलाउँदै गरेको कुर्था देखें भने पनि मैले हात जोड्ने गरेको छु ।
सिद्धान्त र नीतिलाई सितिमिति हेर्दै नहेर्ने, संविधान र नियमकानूनलाई सितिमिति टेर्दै नटेर्ने र देहमा परेको कुर्थालाई जुम्रा नपरीकन सितिमिति फेर्दै नफेर्ने सबै सम्मान्य नेताजीहरूप्रति मेरो समान आदर छ; समान आस्था छ; जय नेपाल, लाल सलाम, नमस्कार, जय हिन्द, प्रणाम र राम! राम!! छ ।
०००
बोझेपोखरी, ललितपुर
विश्वमित्र’ पाक्षिक खबरपत्रिका (२०५१)
Subscribe
Login
0 Comments
Oldest







































