विष्णु प्रभातओम् वासुदेवाय नमोनमः
लुइँटेलको नाम राख्न जो खोज्यौ सो ठूलो भूल भयो । त्यसैले यस्ता मान्छेलाई के शुभकामना दिने ? एक मनले त जयरामको हरियो बाँस पठाइदिउँ झैं झोंक पनि देखायो तर अर्को मनले निकै टिठ मान्यो ।

विष्णु प्रभात :
‘सञ्चै छ ?’ एकाविहानै टुप्लुक्क आइपुगेका जुङ्गे काजीलाई मैले भनेँ- ‘सुनाऊ न त ताजा हालखबर !’
‘हालखवर’ सुनाउने सिद्धिइ हाले । सञ्चो विसञ्चोकाे खबर ‘चिठ्ठी चपेटा’ बाट चलिहाल्छ । भेट हुँदा त ‘बाह्र मज्जा’ का कुरा पो गर्नु पर्छ । अरूको सञ्चो विसञ्चो सोध्ने चलन त ‘इतिश्री’ भइसक्यो । उहाँ तीन शहर नेपालाँ त झन् – आफूकहाँ कोही पाहुना आयो भने पनि- ‘ल तपाईं’ एकछिन बस्दै गर्नोस् है, म खाना खाएर आाउँछु’ भन्ने चलन चलिसक्या छ रे ।’
‘ल ल भैगो – ख्याल ख्यालमा गैगो, उल्ली बिल्ली नपार’ मैले थपें ।
‘ए आशावादी अर्जेल ! तिमी त गलबन्दी’ भिर्ने मान्छे ! थाहा पायौ होला नि ‘काकाका कुरा’ । उनले त हाँस्नेलाई हैन हँसाउनेलाई हैरान पार्ने हरकत शुरू गरेछन् नि ! सधैंभरी जुठाे परेको अनुहार लिएर हिँड्ने तिम्रा सगोत्नीदेखि ठूटो अड्किएको अनुहारका पिँडालु बजेसम्म सबले शुभकामना दिइसके छन्, बढिया भो भनेर ।’
‘आ के को बढ़िया, हाँस्नेलाई हैरान पार्ने कुरा पो बडिया । हँसाउनेलाई हैरान पार्नु कुन ठूलो काम भो त ? आखिर तिम्रो हाम्राे जस्ताे हातमुख जोर्न हम्मे पर्ने हन्तकालेहरूलाई हुने केही होइन । सबैतिर मपाईंवाद मल्किएको जुगमा रुनेको समस्या भन्दा हाँस्नेकै हर्षमा त सबका सब रमाउँछन् ।’ – मैले आफ्नो मनको वह र बिचार सँगसँगै पोखेँ ।
‘जे भए पनि नि ! जिन्दगी झुण्डाउने जन्तर भनेकै जदौ गर्नु हो, त्यसैले कुनै न कुनै तरिकाले हामी पनि जदौ गरौँ !’ जुङ्गे काजीले जिरह गरे र ‘लौ सोचीराख्नु है म दमाहा दाइकहाँ पुगी आउँछु’ भनेर हिँडे ।
उनी त हिँडे तर मेरा मनको जिरह भने हिँडेन । आखिर सोचीराख्नु भनेर न हिँडेका छन् । अहिले आउलान् र सोध्लान् ! के भन्नु बडो झन्झटिलो काम आइलाग्यो भन्ने सोच्दै मनमनै गुन्न थालेँ- आखिर हाम्रा पुर्खाहरूले पनि परोपकारः पुण्याय पापाय परपीडनम्’ भन्थे । अर्थात् अरूलाई हँसाउनु नै धर्म हो । त्यसैले होला हाम्रा एउटा फाईंफुट्टीराजले आफू सिद्धिए पनि बाँच्नेलाई हँसाइ राख्न भएभरको जेथा हँसाउनेहरूका निम्ति सुम्पिन खोजेको । तर मान्छे त्यसै हाँस्दैन । हाँस्नका निम्ति पहिला खानुपर्छ अथवा भनाैं भरपेट खान पाउनुपर्छ । पेटभरी नखाई बच्चाबच्ची पनि हाँस्दैनन्, बूढाबूढी पनि हाँस्दैनन् । बाँच्न र हाँस्न चाहिने पहिलो कुरा खान्की हो । शायद यस्तै सोचेर होला कौवा बाजेले पनि सवभन्दा पहिला हँसन्तेहरूका हातमा ‘कुराउनी’ बाँड्ने विचार गरेको ।
मान्छे किन जन्मन्छ ? खान । जन्मेदेखि मर्ने बेलासम्म उसको मूल काम नै खानु हो । हल्ला गर्नु र खानु मान्छेका दुई मुख्य विशेषता भने हुन्छ । आाउँदा कंकला शब्दले हल्ला गर्नु र आमाको दूध खान जाँदा ‘ओम वासुदेवाय नमो नमः’ भन्नु र पानी खानु दुबै उस्तै उस्तै कुरा हुन् । दुवै अर्थहीन हल्ला झोल पिउँदै मच्चाइन्छ । शुरू-शुरुमा हल्ला गरेर खाने बानी भए पनि मान्छेलाई समाजले चूपचाप खाने नियम सिकाउँछ । ‘खानु गुप्त मर्नु प्रगट्ट’ – भन्दै आचार-संहिता घोकाइन्छ । अनि त मान्छेले लुकी लुकी खान थाली-हाल्छ । कर्मचारीले घुस लुकेर नै खान्छन्, मन्त्रीहरूले कमिशन लुकाएर तान्छन्, ठूला ठूला उपहार खाने मान्छेहरू पनि सवथाेक लुकाएरै खान्छन् । शायद उनीहरू रीत पुर्याएर खान्छन् । आजको जमानामा हल्ला गरेर खाने त कौवा मात्रै बाँकी छ क्यार !
फेरि रीत पुऱ्याएर खाने काम ज्यादै ठूलो समस्या पनि हो । शुरू शुरूमा रीत पुर्याएर झोल खाने मान्छे कहिलेकाहीँ रीत पुर्याउन नजान्दा नोल खाने पनि भयो । भात खाने र बात खाने, हात खाने र लात खाने मात्र नभै कोही कोही त थानकोटे बाहुनको जात समेत खाने भए । मान्छेको खाने कला अचम्मैसँग विकास मयो । होटल-वोत्तल, सत्तल-पित्तल, नुन सुन, अण्डा-डण्डा, डोजर-क्रेसर, मोटर-जहाज, योजना-बजेट, नासो हाँसो के खाएन मान्छेले ? सबथोक खायो । रीत पुर्याएर खानेले पचायो, रीत पुर्याउन नजान्नेले पचाएन ।
त्यसो हुँदा हाम्रो समाजले रीत पुर्याउने चलनलाई निकै महत्त्व दिन्छ । अड्डा-अदालतमा रीत पुर्याउने कुरादेखि ठट्टा-मजाकमा रीत पुर्याउनेसम्मका भाँति-भाँतिका कुराहरू यसभित्र पर्दछन् । बिहेको कुरामा रीत पुर्याउन तोङ्वा तान्न र हान हसुर्ने कुरा होस् अथवा राजनीति र साहित्यका वादहीन विवादका कुरामा होस् रीत पुर्याउनु ज्यादै जरूरी हुन्छ । अरूका तर्क सुन्ने र मान्ने कुरामा पनि पहिलो शर्त रीत पुगेको हुनु पर्दछ । रीत-भाँती नपुगी कुनै कुरा हुँदैनन् । तर रीत-भातिका सबै कुराहरू नियम कानुनमा हुँदैनन् । वेनियमका कुरामा पनि रीत पुर्याएर काम गर्ने कला हाम्रा ठूला बडा नेताहरूसँग छ, अरू सर्वसाधारणसँग छैन ।
त्यसैले फोट लाउन होस् वा खोट लाउन, भोट पाउन होस् वा नोट पाउन अथवा स्याऊ गाले साइँलीसँग ओठ मिलाउन पनि रीत नपुर्याइ सुख छैन । ज्यूँदो मान्छेका आँखामा छारो हाल्न अथवा मरेका मान्छेलाई घारो हाल्न पनि रीत पुगेन भने काम बन्दैन । भूतको भिनाजुले रित पुर्याए वा पुर्याएनन् त्यो भने थाहा छैन ।
समाजमा जता पनि ठिक्क पार्न सक्नु रित पुर्याउने कलाको देखल-विधि रहेछ । त्यसो भएर न हाम्रा प्रधानमन्त्रीजीले पनि मजदूरहरूको कार्यक्रममा ‘म मजदूर नै हुँ’ भन्दछन् र पत्रकारहरूको कार्यक्रममा- ‘म पनि पहिले पत्रकारै थिएँ’ भन्ने गर्दछन् । यदि अमेरिकामा झैं समलिङ्गीहरूले सभा गर्ने र त्यसमा उनलाई पाहुना बनाउँथे भने त्यस बखत उनले ‘म पनि समलिङ्गी नै हुँ’ भन्थे वा भन्दैनथे ठूलो जिज्ञासाको विषय भएको छ । पञ्चहरूले उनलाई पहिले नै बोलाएर प्रमुख अतिथि बनाएको भए पञ्च भई दिने अथवा चोरहरूले जेलमा एउटा सभा राखेर डाकेमा ‘म पनि चोर हुँ’ भन्दै कैदी भइदिन्थे वा भैदिदैनथे यो पनि जिज्ञासाकै विषय मात्र बनेको छ । तर रित पुर्याउने कुरा राकुपाले भने झैँ- काम चलाऊ कुरा मात्र हो। यदि लौरीपिञ्जर मान्छेलाई एक टन च्यूरा उचाले पछि मात्र खान दिने रीत बाँध्ने हो भने उसको गति के हुँदो हो ? त्यसो हुँदा काम गर्ने मान्छेले रित पुर्याउने चलन पर्खेर बस्दैनन् ।
मलाई भने हँसाउनेलाई हैरान पार्ने काम भन्दा हाँस्नेलाई हैरान पार्ने काम मन पर्छ । मैले पहिले मास्के साहूलाई हँसाउँथे । धेरै धेरै काम बिनादाम गरिदिँदा ऊ खुशी हुन्थ्यो र हाँस्थ्यो। तर पछि मैले काम गरेपछि दाम चाहिन्छ, नाम न जस खरानी घसको तरीकाले सधैं व्यवहार चल्दैन भनेपछि ऊ मुर्मुरियो र मलाई हैरान पार्ने काम गर्याे । त्यहाँदेखि मैले हसाउनेलाई माया गर्न थालेँ र हाँस्नेहरूलाई हपार्न थालेँ । एकदिन हाँस्ने जतिलाई मास्नै पर्छ भन्ने माग गर्दै जुलुस निकालेँ । अनि त मेरा उपर सब खनिए, लाठीमुङ्ग्री पो गरे । एउटा खुट्टा भाँचेर पिंजरामा थुनिदिए । यो घटना सम्झदा अहिले पनि मन रुन्छ । त्यसो हुँदा म हँसाउनेहरूलाई हैरान पार्ने कुरालाई समर्थन गर्नै सक्दिन ।
‘ए के सोच्यौ त ?’ यस्तैमा जुङ्गे काजी फर्किए ।
‘के सोच्नु नि ! तिमी हिँडिहाल्यौ, म गोठधन्दामा भिडेँ ।’ मैले उत्तर दिएँ ।
‘हेर आशावादी ! हँसाउनेलाई हैरान पार्ने हरकत हरहमेशा उस्तै हुँदैन । सब कुराहरू परिवर्तनशील छन् । त्यसैले यो त बिर्सेकालाई सम्झिने, मरेकालाई बचाउने र बसेकालाई नचाउने उद्देश्यमा पो आएको छ रे । तिमीहामी जस्ताको कल्याणमा केन्द्रित छ रे ! अगुल्टो खाएको मान्छे विजुलीबाट तर्सिन्छ- भने झै गर्नु हुँदैन।’ जुङ्गे काजीले पुराण भने ।
‘लौ त्यसो भए तिमी नै लेख शुभकामना । म आँखा चिम्लेर सही ठोकी दिउँला । तर एउटा कुरा भने लेख्न नभुले नि ! मैले कबुल गराउन थालें ।
‘के हँ ?’ उनको आँखा सुत्केरी हुन थालेकी श्रीमतीको पोइका झैँ बने ।
मैले चकलेट खाएको बाल श्रनुहारमा भनें- ‘बुढ्याैतीका मान्छेहरू भगवान् भक्त हुन्छन् भजन गर्न रूचाउँछन् । त्यसैले टाउकोमा ओम् वासुदेवाय नमो नमः लेखेर मात्र अरू कुरा शुरू गर्नु ।’
‘ठिक !’ जुङ्गे काजी हर्षले उफ्रिए । र लेख्न थाले-
ओम् वासुदेवाय नमो नमः
स्वस्ति श्री मान्छेको मुखमा अन्न पसाल्ने मन्त्र, मान्छेको सुखमा ईश्वर बसाल्ने तन्त्र, तिमीलाई हाम्रो पनि शुभकामना ! लाख लाख वन्दना ! बाहुनहरूको कर्म चलेपछि तिम्राे नाम जप्नु पर्ने गणेश पूजा सरहका हे गोबर गणेश ! बाङ्गा बूढा ! आफ्नो जुनिभरको कमाई अर्कालाई थमाई कुन नाकले आफ्नो वंश पालकको अंश खोस्यौ ? यसको रहस्य जान्न हामीलाई ज्यादै रहर छ । शहरमा बसेर गाउँले नाम राख्दै नेपाली भाषामा भजन गर्ने शिवसाँझका भजमने भक्तको यो अशक्त कर्मले अरू भाषाको रक्त पिउने खतरा देखेर दौँतरीहरूले तिम्रो विरोध गर्ने छन् र तिम्रा नाममा बालाचतुर्दशी नपर्खी पशुपतिनाथमा मास छर्ने छन् । अविद्याको जागिर हर्ने छन् । कुन कुमतिले उल्क्याएर यत्नो खति गर्याै ? तुरून्तै सोच र पुरस्कारको घोषणालाई ख्यालख्यालमा गरिएको कौवा कथन हो भनिदेऊ !
हाम्रो कुल परम्परामा पनि जात खस्दा वा व्रत बस्दा पतिया वा गोदान गरेर चोखिने चलन छ तिमीले आफ्नो नून तेलको समस्या भुलेर लुइँटेलको नाम राख्न जो खोज्यौ सो ठूलो भूल भयो । त्यसैले यस्ता मान्छेलाई के शुभकामना दिने ? एक मनले त जयरामको हरियो बाँस पठाइदिउँ झैं झोंक पनि देखायो तर अर्को मनले निकै टिठ मान्यो । चन्द्र शमशेरको चापी चड्काएर मस्ती गर्ने मदन शमशेरको संगत लागेर हो वा कमलमणिको कचकचका विरूद्ध को भन्दा को कमको रौसमा जागेर हो, जो हुनु भइसक्यो ! त्यसैले बाँसको सट्टा हाँस पठाइदिएका छौँ । हाँसलाई हाँस्ने कुराको चीनो सम्झे पनि हुन्छ । सरस्वतीको वाहन भने पनि हुन्छ । आफ्नो इच्छा अनुसार – ‘वासुदेवं गदाचक्रं’ फलाक्दै गाँस हाले पनि हुन्छ पछि कुनै टीका टिप्पणी गर्ने छैनौँ। अहिलेलाई यत्ति, पछि जति चाह्यो त्यत्ति लेखाैँला । जदौ !
तपाईंको भलो चिताउने –
आशावादी अर्जेल एवं
जुङ्गेकाजी लुइँटेल ।
बास बिनाको निवासस्थान ।
काठमाडौं, नेपाल ।
०००
वासुदेव शर्माले २०५१ सालमा हास्यव्यङ्ग्यका लागि रू. १ लाख राशीकाे पुरस्कार प्रदान गर्ने घाेषणा सावर्जनिक भएपछि माड्साबलाई संवाेधन गर्दै लेखिएकाे याे निबन्ध पहिलाेपटक प्रकाश साप्ताहिककाे छेपन स्तम्भमा २०५१ सालमा प्रकाशित भएकाे थियाे ।
खुर्सानी पुराण (२०५१)
Subscribe
Login
0 Comments
Oldest








































