केशवराज आमोदी‘घायलको घुयेँत्राे’ मा शब्दमय व्यङ्ग्यको प्रहार
सर्वसाधारण जनमानसले भोग्नुपरिरहेको दर्दनाक र कहालीलाग्दो कमजोर र रुग्ण शासन व्यवस्था, दण्डहीनतामा अल्झिएको सत्तामुखी प्रशासन र विच्छृङ्खलयुक्त अराजकताप्रति घुयेँत्राहरू बर्साउनु घायलको मौलिक कवि-कर्म हो ।

केशवराज आमोदी :
वि. सं. २०२५ साल श्रावण ३१ गते वागमती प्रदेशअन्तर्गत धादिङ जिल्लाको सलाङ्ग-९, को रमाइलो गाउँ आरुबासटारमा पिता जीवनाय सिलवाल र माता गङ्गादेवी सिलवालका पुत्र रत्नका रूपमा राजेन्द्र प्रसाद सिलवालको जन्म भएको हो। सम्प्रति उनी रत्ननगर नगरपालिका-३, विद्युत रोड, चितवनमा बसी सानोतिनो जागिर धान्दै नेपाली साहित्यको फाँटमा चेतनाभिमुख सुललित गीतिलय र विचारोत्तेजक पद्यधारामार्फत आफ्ना विचारहरूलाई अघि सार्दै निर्भीकरूपमा कलम चलाउने सशक्त प्रगतिवादी क्रान्तिकारी कवि हुन् । उनी चितवनमा जनप्रिय लोककविका रूपमा ‘घायल’ उपनामले चिरपरिचित छन् ।
सामाजिक, राजनीतिक र सांस्कृतिक विसङ्गतिप्रति आगो ओकल्दै व्यङ्ग्यपरक प्रगतिवादी रचना गर्ने घायलका पूर्वप्रकाशित कृतिहरूमा ‘छोरीको वेदना’ (तीज गीतसङ्ग्रह-२०५८), ‘आँसु र वेदनाको गीत’ (२०६०), ‘अचेल पैसाले गर्नु गऱ्या छ’ (गीतसङ्ग्रह, २०६१) र ‘वेदनाका छालहरू’ (कविता-सङ्ग्रह-२०६१) सासु, बुहारीको ठाकठुक (तीज गीत सङग्रह-२०६२) उल्लेख्य छन् । उनसँग ‘रत्नवाटिका’ (साहित्यिक, त्रैमासिक, २०६२) को सम्पादन र पत्रकारिताको अनुभव पनि छ । मृदुभाषी, सरलहृदय, कर्तव्यपरायण र व्यवहारकुशल घायलले २०३७ बाट लेखनयात्रा सुरु गरेका हुन् । हाल उनी चितवन साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ, छन्दकाव्य प्रतिष्ठान नेपाल, जनसांस्कृतिक महासङ्घ चितवन र रत्ननगर वाड्मय प्रतिष्ठानजस्ता संस्थाहरूमा आवद्ध रहेका छन् । आफू आवद्ध रहेका संस्थाले सुम्पिएका दायित्त्वलाई इमानदारीपूर्वक पूरा गर्दै आइरहेका छन् । आकर्षक शैलीमा उद्घोषण गर्न खप्पिस घायलले कविता प्रतियोगिताहरूमा दर्जनौं प्रथम स्थान प्राप्त गरेका छन् र विभिन्न साहित्यिक, शैक्षिक र प्रशासनिक क्षेत्रहरूबाट पुरस्कृत र सम्मानित हुँदै आइरहेका पनि छन् ।
यतिखेर कवि राजेन्द्र प्रसाद सिलवाल अर्थात् राजेन्द्र घायल चेतनाको भर्भराउँदो मसाल सल्काउँदै व्यङ्ग्यका घुयेँत्राेहरू बर्साउँदै समाजमा बसेर ठगी, तस्करी, बेइमानी, दलाली र अराजकताद्वारा जनताप्रति थिचोमिचो, शोषण र अन्यायका जालो बिच्छ्याउँदै मनपरी गर्नेहरूप्रति व्यङ्ग्यका घोचक, रोचक, पोटिलो र चोटिला शाब्दिक घयेंत्राहरूले प्रहार गरी विभिन्न छन्द, विभिन्न रस र विभिन्न विषयमा आधारित पृथक् शैली, शिल्प र चिन्तनले ओतप्रोत नवीनतम कृति ‘घायलको घुर्येत्रो’ (कवितासङ्ग्रह, २०८१) प्रकाशनको तयारीमा जुटिरहेका छन् । कृति प्रकाशनको यस सुखद्घडीमा हर्ष प्रकट गर्दै घर परिवारको सहयोग, सहानुभूति र ममत्व अझै गहिरिरहोस् र कृतिकारको सुख, शान्ति, सम्वृद्धि, आरोग्य र यशोऽभिवृद्धिको कामना गर्दछु ।
नवीन कथ्य र शिल्पले भरीपूर्ण माक्र्सीय सौन्दर्यावलम्बी वृत्तमा केन्द्रित रही वर्तमान राजनीतिक स्वरूप, शासनव्यवस्था, स्वास्थ्यस्थिति, शिक्षाप्रणाली, संस्कृतिपरिवेश, न्यायपद्धतिका मक्किएका पुरानै सामन्ती रङ्ग-रूप र ढाँचा-व्यवहारको घोडादौडको राजनीतिक मैदानमा व्याप्त विकृति र विसङ्गतिप्रति व्यङ्ग्यका कसिला घुर्येत्राहरूको वर्षा गरी जनतामा नयाँ तरङ्ग उत्पन्न गर्नु उनको रचनात्मक वैशिष्ट्य हो । कविताद्वारा चेतनाको मसाल सल्काउनु चाहि रचनात्मक प्राप्ति हो । आजको गणतान्त्रिक परिवेशमा पनि सर्वसाधारण जनमानसले भोग्नुपरिरहेको दर्दनाक र कहालीलाग्दो कमजोर र रुग्ण शासन व्यवस्था, दण्डहीनतामा अल्झिएको सत्तामुखी प्रशासन र विच्छृङ्खलयुक्त अराजकताप्रति घुयेँत्राहरू बर्साउनु घायलको मौलिक कवि-कर्म हो । समयको गतिमा एकाकार हुँदै कविता-यात्रामा अविश्रान्त दौडिरहन सक्नु वैचारिक दृढता र आत्मिक साहसको बेजोड उदाहरणीय पक्ष हो र भावनाद्वारा निश्रित त विद्रोह र क्रान्ति चेतनाको उभारजन्य कवितामय रसोद्रेकता नै वर्तमानको यथार्थ हो, समयको पदध्वनि हो र आजको युगको बुलन्द आवाज पनि हो ।
कवि राजेन्द्र घायल नेपाली प्रकृतिमा रमाउने यथार्थतः राष्ट्रवादी कवि हुन् । कविभित्रको राष्ट्रवाद कृतिभरि नारायणीको जलप्रवाहझै छचल्किएको छ। यहाँ नमुनाको निम्ति राष्ट्रप्रेममा अवलम्बित एउटा पद्यांश प्रस्तुत छ-
चले तिम्रा मेरा कति कति कुरा देशभरमा
तिमीले जित्छौ या म पनि त छु जित्ने लहरमा
यहाँ तिम्रो मेरो क्षणिक सपना हो मतलबी
जितौं हारौं जे होस् बरु हुनसकोस् राष्ट्र विजयी
घायलको घुयेँत्रोले सामाजिक, राजनीतिक र साँस्कृतिक तहमा देखिने विद्रूप विकृति विसङ्गतिप्रति अचुक निसानासहित जोडदार दनकयुक्त रचनात्मक बिम्बमा मुखरित हृदयाकर्षक पद्यखण्ड-
जो गद्दार हुँदैछ भन्दिनु अरे ऊ राष्ट्रवादी भनी
धोकेबाज अगाडि घोप्टिनु अरे लाचार सिल्ली बनी
भेट्दा तस्कर गर्नुपर्दछ अरे गुच्छा दिँदै स्वागत
मुक्का हान्न बजार्न पो मन भयो बौलाउँ क्यारे म त
देश र जनताका निम्ति शहादत प्राप्त गर्ने शहीदहरू र ज्यानको बाजी राखेर क्रान्तिको महाज्वालामा उत्रने कान्तिवीरहरूको उच्चाकाङ्क्षा र सपनालाई बेवास्ता गरी सत्ता, सुरा र सुन्दरीमा अल्झिरहेका आजका स्वार्थलिप्सु नेताहरूप्रति आक्रोशका घुयेँत्राहरूको मर्मभेदी छनकयुक्त अनुप्रासिक अलङ्कारमा यसरी रसास्वादन गर्न सकिन्छ ।
भान्सा भोज भतेर भव्य भरिलो भर्दै भुँडी भ्याउने
भिर्दै भेष भिलेन भ्रष्ट भइँवा भन्की भए भुन्भुने
भाषा भाषण भीडमा भ्रम भरी भोक्ता भए भोटको
भ्रष्टचार भकार भार भरियो भाङ्ग्रो भिरे भोरको
समाज रूपान्तरणको हावादारी अनुत्तरदायी क्रान्ति, दिशाहीन चेतनाशून्य मसाल जुलुस र रहरै रहरका देशव्यापी चक्काजामले न शासन व्यवस्थामा सुधार ल्यायो, न राजनीतिक अनुशासन नै कायम गर्यो न शहीदहरूका सपना साकार हुने लक्षण नै देखापर्न सक्यो । यिनै यस्तै दर्शनशून्य, अदूरदर्शी र अकर्मण्य आजका तथाकथित एकाध नेताका लहडबाजीले युवाशक्ति विदेशिंदै छ. दिनोत्तर आर्थिकमन्दी र भ्रष्टाचारले राज्य झनझन खोक्रिएर कमजोर भएको छ । गणतन्त्र र विकासको नाममा राष्ट्र-दोहनमात्र भएको देखी कविभित्रको विद्रोह आँधीहुरी झै मडारिन पुग्दछ र कवि घुयेँत्रोका पर्राहरू बर्साउन विवश हुन्छन् ।
नेपाली साहित्यमा कविता, नाटक, निबन्ध र आख्यान गरी चार प्रमुख विधाहरू रहेका छन् । साहित्यका यी चार विधामध्ये गीतिलय वा छन्द कविताको अनवरत साधनाद्वारा घायलजस्ता प्रतिभाशाली कविलेमात्र सहज सिद्धि प्राप्त गर्न सक्दछन् । यस सङ्ग्रहमा छन्द साधनाका निम्ति अपरिहार्य मानिने गति, यति र लयको तालमेलको सरस प्रस्तुतिसहित भाव, शैली र शिल्प अनि नवीनतम उपमा, प्रतीक, रूपक, दृष्टान्त वा बिम्ब प्रतीकादिको सुष्ठुतर प्रयोगले कृतिलाई सार्थक र उपलब्धिमूलक तुल्याइएको छ ।
अन्त्यमा उनका पूर्व कृतिहरूले झै यस कृतिले पनि लोकख्याति प्राप्त गर्न सफल होस् । सबैतिरबाट प्रशंसाका फूलहरू बर्सिऊन् । आगामी दिनमा अझै परिस्कृत र परिमार्जित रचनाहरू पढ्न पाइयोस् । लेख्ने उर्जा प्राप्त भइरहोस् । यिनै शुभकामनाका साथ लेखनीलाई विश्राम दिन्छु ।
०००
–आमोदी निकेतन, रत्ननगर, चितवन
घायलकाे घुयेँत्राे (२०८१) मा भूमिका
Subscribe
Login
0 Comments
Oldest







































