कविजी ! खै त नैतिकता ?
कविजी ! तपाईंलाई बोक्दा बोक्दा अब हामी थाकिसकेका छौँ हामीले प्रत्येक पटक तपाईंलाई सुम्पिएको नैतिकताको यौटा सानो पोको थियो । कविजी ! खै त त्यो विश्वास ? कविजी ! खै त त्यो नैतिकता ??
राजेन्द्रप्रसाद अधिकारी :
जुनबेला तपाईं
खोलाको पानीले जस्तै
समुद्र खोज्दै हुनुहुन्थ्यो
हामीले तपाईंलाई बीचैबाट
बाफलाई जस्तै उडाउँदै
बादलभित्र लुकाउँदै लुकाउँदै
हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै
हिमालका टाकुराहरूमा राख्दै गयौँ ।
बिहानी सूर्यको किरणको स्पर्शसँगै
चम्कनु पर्ने तपाईंको छवि
दिनको घामको तापले तपाईंलाई
आकर्षण गरिरह्यो, र
तपाईं पग्लिरहनु भएकै हो।
फेरि पनि
आफ्नै देशको अग्लो हिमाल
सगरमाथाको टाकुरामा नै लगेर बिसायौँ, र
सोच्यौँ-
तपाईं सगरमाथाको शिरबाट
हिमालदेखि मधेससम्मका भू-भाग हेर्दै
हल्का फुल्का क्रान्तिकारी हिउँका डल्लाहरू
पग्लेका र चिप्लिएका हेरिरहनु हुनेछ
रातो गुराँसझैँ
तपाईंको शिरको नैतिक ताज
अन्धकार रातमा पनि
उत्तिकै चम्किरहेको हुनेछ,
र हामी आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरू
तपाईंलाई माथिमाथि अझै माथि
सगरमाथाको शिरमा
रातो चम्किरहेको गुराँसको रूपमा हेरिरहने छौँ, र
संभवतः शताब्दीकै
यौटा इतिहास शिरमा बोकेर
सगरमाथा
गर्वले छाती फुलाइरहेको हुनेछ, र
नैतिक बल जगेर्ना गर्न सकेका
विश्वका आरोहीहरू
अनन्त कालसम्म लामबद्ध भएर
सगरमाथाको उचाइसम्म पुगेर
नैतिक साहसको परिचय दिनेछन्,
तपाईंको रातो र गर्विलो चम्काइलाई
न्यानो चुम्बन गर्नेछन्, र
धर्तीको फूलबारीमा
तपाईंको शालीन समाजवाद
तपाईंको अटल विचार, र
उद्देश्यप्रतिको तपाईंको प्रतिबद्धताको
अमर गीत,
किसान र श्रमिकहरू
दिनभरिको कामपछि
आफ्नो थकाइ बिर्सन
गाइरहने छन्
निरन्तर गाइरहने छन् …
तर कविजी !
के भयो तपाईंलाई
त्यत्ति घामको तातोमा
फेरि तपाईं पग्लिसक्नु भएछ
फेरि तपाईं गलिसक्नु भएछ
मैले त तपाईंलाई फोहोर पानीको
सानो कुण्डमा जमिरहेको पो देखेँ;
खोलाको पानी
बाफजस्तै उड्दै उड्दै
बादलसँगको यात्रा
हिमालका टाकुराहरूको
हिउँ बारम्बारको स्खलन, र
सगरमाथाको शिरको ताज हुँदै
पुनः स्खलन, र
सानो कुण्डमा
जमेको पानी ।
कविजी !
तपाईंलाई बोक्दा बोक्दा
अब हामी थाकिसकेका छौँ
हामीले प्रत्येक पटक
तपाईंलाई सुम्पिएको
नैतिकताको
यौटा सानो पोको थियो
कविजी !
खै त त्यो विश्वास ?
कविजी ! खै त त्यो नैतिकता ??
०००
‘आजको आकाश’ (२०७९)