रेहित सैजुधनी बन्नै पर्छ अब
मैले धन कमाउने मामलामा आमालाई धनी बन्नुपर्छ आमा हामी पनि भन्दा उहाँले भन्नु थियो, ‘जुत्ता लगाउनेले चप्पल लगाउनेलाई हेर्नुपर्छ, चप्पल लगाउनेले खाली खुट्टालाई हेर्नुपर्दछ र खाली खुट्टा हुनेले खुट्टा नै नभएकालाई हेर्नु पर्दछ ।

रेहित सैजु :
साउन महिनामासमा झ्याउकिरी कराए झैँ गरी आज एक्कासी जिन्दगीमा धनी बन्ने सोच पलाएर आयो । तपाईंलाई अचम्म लाग्न सक्छ यो फुच्चेको कुरा सुनेर । हुन पनि हो, हेर्नुस् न धर्तीमा प्रवेश भएको दुई दशक पुग्न लागि सक्यो तर मैले भने उल्लेख्य केही गर्न सकेको छैन । अझ भनौँ गन्तव्य मार्ग समेत पहिल्याउन सकेको छैन । म मध्यम वर्गीय परिवारमा जन्मे हुर्केको पिउँसे । हुँदा मात्र खाने । साधारण खान लगाउन ठिक्क पुग्ने सम्पत्ति छ हामीसँग । कुनैबेला अपर्झट केही आइपर्यो भने ऋण झिक्नु सिवाय केही छैन । विकल्पको बाटो टुकुचा खोला जस्तै साघुँरो छ । फेरी यो मध्यम परिवारमा जिउनेहरूको जिम्मेवारी किशोरअवस्था सकिन नपाउँदै काँधमा सगरमाथा बनेर ठडिँदो रहेछ । पैसा कमाउने बाटोमा अन्धकारले चुनौति दिइरहेका छन् । खास १९ वर्षको उमेर त पढेर बस्ने हो नि तर के गर्नु, हजुर पढ्नलाई पनि पैसा नै त चाहिँदो रहेछ नत्र मन हुँदा हुँदै किन पढाइमा पुणर्विराम लगाउनु पर्थ्यो र… !
वि.सं. २०७४ पुसमा सार्वजानिक भएको डाटानुसार नेपालमा २८.४ % मानिसहरू गरिबीको चपेटामा फसिरहेका छन् । नेपालका प्रायजसो मानिसहरू मध्यम वर्गीय परिवार भित्र पर्दछन् । थोरै मानिसहरू मात्र उच्च वर्ग अर्थात् खानदानी अझ सोझो भाषामा भनौँ हुनेखाने । मलाई पनि यी थोरै मानिसहरूको सूचीमा अटाउन मन छ । कुरा नै गर्ने हो भने नेपालका धेरै मानिसहरूको एक्स्ट्रा पकेट खर्च नै हुँदैन । साथी भाइ भेट्दा चिया समेत खुवाउन सक्ने हैसियत छैन हाम्रो । अझ मजस्ता भर्खरैका कलिला युवाहरूको त कुरा नै अलग । लौ हेर्नुस् न खल्तीमा गाडीभाडा तिर्ने पैसा समेत हुँदैन । भाडा तिर्ने पैसा जोगाउन काम गर्ने अफिस बागबजारबाट दर्जनौं चोटि हिँडेर भक्तपुर आफ्नो डेरामा आएको छु । साथी भाइले चिन्लान् भनेर मुखमा माक्स लगाएर हिँड्ने गरेको छु । कता कता डर पनि लाग्छ कतै देश विरोधी भनेर पुलिसले समात्ने पो हो कि । कुरा त्यस्तै चलिरहेको छ, माक्स लगाएर मुख छोप्नेलाई विरोधीको उपमा दिइन्छ रे ।
बरू विद्यालय पढ्दा हल्का भए पनि पैसा हुन्थ्यो । मेलापात गरेर, कहिले भारी बोक्न गएर मामा घरतिरबाट आएको केही रकम हुन्थ्यो । अर्काको खेत जोत्ने हली बनेर भएपनि पैसा आउथ्यो । भक्तपुर छिरेपछि त उफ् के कुरा गर्नु । खास म भक्तपुरमा विज्ञान विषय पढ्न आएको हुँ । तर पकेट खर्च त चाहियो नि । गाडीमा ढ्यापढ्यापे खलासी गर्दै पढेको हुँ । हुन त गाउँमा बजार थिएन । गाउँमा पैसाको महत्त्व अलिकति भए पनि कम हुन्छ शहरको भन्दा । गाउँबाट किनमेल गर्ने बजार टाढा छ त्यसैले पनि पैसा जोगिन्थ्यो ।
म बागबजार प्रेसमा काम गर्दा मेरो तलब ठ्याक्कै ६ हजार थियो । त्यो पैसाले आउन र जान मात्रै । मैले त्यहाँ जम्मा तिन महिना मात्र काम गरेँ । मेरो आवश्यकता नधान्ने भएपछि त्यसमा काम गर्नुको के अर्थ ? आउनु र जानु मात्र मेरो काम होइन नि । मैले एउटा कुरा सुनेको छु । अर्थशास्त्रमा एउटा भनाइ प्रसिद्ध छ, ‘मान्छेको इच्छा असीमित हुँदा आवश्यकता पनि चुलिँदै जान्छन्’ । हुन पनि हो, अहिले म शङ्खमुलको टेण्ट हाउसमा काम गर्छु । यहाँ खाएर बसेर १८ हजार छ जुन बागबजारको भन्दा तिनगुणा हो र पनि मलाई यस पैसाले पुगिरहेको छैन । उमेरको अङ्क बढेसँगै मान्छेको इच्छा आवश्यकता पनि बढ्दो रहेछ । सायद जिम्मेवारीपन भनेको यही हो । बल्ल बुझ्दै छु । अनि तपाईंले नै भन्नुस् न मभित्र धनी बन्ने रहर किन नलाग्नु त… ।
समाजमा धनी मानिसहरूलाई हेर्ने नजर बेग्लै हुन्छ । उनीहरू शानदार जिन्दगी व्यतित गरिरहेकाका हुन्छन् । अभाव, दबाव भन्ने कुरा तिनीहरूको जिन्दगीमा सायद आउदैनन् होला। मेरो एकजना विपीन भन्ने साथी थियो । ऊ +२ पढ्दाताको मात्र । ऊ धनी खान्दानी ऊ पढ्न आउँदा नयाँ नयाँ मोडेलको बाइक कुदाएर आउँथ्यो । केहीगरी मोबाइल बिग्रियो भने भोलि पल्टै नयाँ मोबाइल किनिहाल्थ्यो तर यो सिद्धान्त मेरोमा लागू हुँदैन । धेरै कुरा किन लुकाउनु । अहिले मैले बोकेको मोबाइल दिदीको मोबाइल हो । दिदीले आफ्नो मोबाइलको डिस्प्ले गएपछि रिपेयर गरेर मलाई चलाउन दिनु भएको । कहिलेकाहीँ चार्ज पनि लिँदैन । कहिले चार्जमा राख्दा ब्याट्री बढ्नु पर्ने तर यसको प्रतिशत घटिरहन्छ । एउटा राम्रो गतिलो मोबाइल किन्ने हैँसियत सम्म छैन ।
मलाई जानकारी छैन धनीहरू कुन सिद्धान्तनुसार काम गर्छन् । उनीहरूले कसरी पो थुप्रै धन थुपार्न सकेका होलान् । मजस्ताहरू कहाँ चुकेका छौँ यो धन कमाउने मामलामा । हामीले बगाएको पसिना किन यति सस्तो ? यो प्रश्नको जवाफ कसले दिन्छ ? परिश्रम नगरेको पनि हैन, कस्तो कुन प्रकारको परिश्रम गरिरहेका छौँ, बिन्ती कसैले बताइदिन पर्यो ।
डाक्टर बन्छु भनेर एसएलसीमा प्रथम श्रेणीमा पास गरेँ । फलामको चिउरा चपाउन सहज होला तर सरकारी विद्यालयबाट एसएलसी पास गर्न ठूलो चुनौति हुन्छ । हुन त अहिले ग्रेडिङ पद्धति आएको छ रे, कोही पनि फेल हुँदैनन् रे । नेपाली माध्यमबाट एसएलसी दिएर म अंग्रेजी माध्यममा पढाइ हुने विज्ञान सङ्काय रोज्नु सानो कुरा होइन । सगरमाथा पुग्ने सपना भएर होला, +२ पनि प्रथम श्रेणीमा पास गरेँ । एमबिबिएस तयारीको लागि इन्ट्रान्स कक्षा पनि जोइन गरेँ तर बीचमै छोड्नु पर्यो । यो सबै गरिबीको कारणले हो । गरिबीले नलडाएको भए सायद म अहिले एमबिबिएसको कुनै तहमा अध्ययनरत हुन्थेँ ।
यस्तै घटनाहरूले मलाई पैसा सबैथोक हो झैं लाग्दछ । पैसा साथमा भयो भने धेरै कुराहरू सहजै प्राप्त गर्न सकिन्छ । हुन त म स्कुल पढ्दा ‘धन भन्दा विद्या ठूलो’ भन्ने शीर्षकको वादविवाद प्रतियोगितमा प्रथम भएको थिएँ । अहिले सम्झदा पश्चात्ताप लाग्छ मनमा । उक्त समय मैले विपक्ष तर्फ बाट किन बोलिनँ । +२ पढ्दाताका एकजना केमिस्ट्री पढाउने सर हुनुहुन्थ्यो, उहाँपनि सायद तलब कम भयो भनेर युरोपेली मुलुकतिर नोकरी गर्न जानु भयो । अनि विद्या सबथोक हो भनेर पनि के गर्नु । अब मैले यहाँ भन्नै पर्ने भयो विद्या भन्दा ठूलो धन हो । फेरि मलाई पिट्न आउने होलान् कोही । नआउनु है मैले केवल आफ्नो विचार पोखेको ।
मेरो एकजना अङ्कल प्राइभेट स्कुलको गणित शिक्षक । उहाँ भन्नु हुन्छ, ट्युसन कोचिङबाट आएको पैसाले घरखर्च चलाउन धौ धौ छ । धेरै जसो घरखर्च घरैबाट हुने खेतीपातीबाट चल्दछ । स्कुलमा कति विद्यार्थीहरूलाई पढाएर करोडपति बनाइयो तर आफ्नो जिन्दगी उकास्न बहुत गाह्रो भयो ।
धनी बन्ने रहर सबैलाई हुन्छ जुन मलाई पनि भइरहेको छ । धनी बन्ने दौडमा मजस्ता मानिसहरू बिहानदेखि बेलुकासम्म काम गर्छन् तर सफल भने भइरहेका हुँदैनन् । ऋणको भार थपिँदै थपिँदै जान्छ तर मानिस धनी बन्न सकिरहेको हुँदैन । घरमा धन भित्रियोस् भनेर लक्ष्मी पूजा गर्ने, विभिन्न भाकल पूजा गर्ने प्रविधि हिन्दु देशमा प्राय हुन्छ । हाम्रो मानसिकता यति कमजोर छ कि हामी त ढुङ्गा माटोमा चामल छ, गाइको दुध चढाएर धनी बन्न खोजिरहेका छौँ । यस्तो विधि अपनाएर धनी बन्न सकिएला र..! यस्तो गर्नु सही कि गलत समयले कहिले बताउने ?
विकसित तथा धनी देशहरूले लक्ष्मी पूजा गर्दैनन् । ढुङ्गा माटो मूर्तिको पूजा गर्दैनन् । तैपनि उनीहरू दिन प्रतिदिन धनी बन्दै गइरहेका छन् । फेरि यसमा गलत अर्थ नबुझ्नु है, हिन्दु धर्मको विरोध गर्यो भनेर म आफैँ पनि हिन्दू हूँ। हिन्दु हुनुमा मलाई बडो गर्व छ । हामी पश्चिमी चलन चल्तीलाई घोर विरोध गर्छौँ कपाल रङ्ग्याउन टाइसुट पाइन्ट विदेशी रक्सी सुइँक्याउन पछि पर्दैनौँ यो कुरा सत्य हो नराम्रो कुरा ग्रहण गर्न एकछिन समय लाग्दैन तर राम्रो कुरालाई अनुसरण गर्न गाह्र पर्ने रहेछ । राम्रो कुरा चाहे जहाँ कै होस् समर्थन गर्नुपर्छ । हामी शास्त्रीय समाजका मानिस हौँ । विज्ञान प्रविधिलाई लत्याउन खोज्छौँ । यही पो कमजोरीपन हो कि । विज्ञान र शास्त्रको फ्युजनले धनी हुन सक्छौँ कि ।
मैले धन कमाउने मामलामा आमालाई धनी बन्नुपर्छ आमा हामी पनि भन्दा उहाँले भन्नु थियो, ‘जुत्ता लगाउनेले चप्पल लगाउनेलाई हेर्नुपर्छ, चप्पल लगाउनेले खाली खुट्टालाई हेर्नुपर्दछ र खाली खुट्टा हुनेले खुट्टा नै नभएकालाई हेर्नु पर्दछ । मान्छे धेरै महत्वकांक्षी बन्नु हुँदैन । आशावादी बन्नु पर्छ । सधै कारमा हिँड्ने, अलिसान महलमा बस्ने सपना देखेर निराश बन्नु हुँदैन । यसले मानिसलाई अशान्ततिर धकेल्छ । कुरुपता बनाउँछ । उहाँको दार्शनिक कुराले मनलाई एकछिन भएपनि आनन्दित तुल्यायो तर चित्त बुझेन । मेरो चाहाना के हो भने न्यून आयस्रोत भएको मान्छे मध्यम वर्ग र मध्यम वर्गमा भएकालाई उच्च वर्गमा स्थान्तरण हुनु पर्दछ । यहाँ मान्छेहरू ज्वरो आउँदा सिटामोल सम्म किन्न सकिरहेका हुँदैनन् । झाडापखाला लाग्दा जीवनजल किन्न नसकेर बालबालिकाहरूको रोगसँग लड्ने क्षमता घट्दै गइरहेको छ । यो अवस्था अन्त्य हुनै पर्छ भन्ने मेरो माग हो ।
मेरो विचार मेरो सोचाई धन नै सबथोक हो भन्ने पनि होइन । विचारको कुनै दायरा हुँदैन । विचार त समयानुकुल परिष्कृत परिवर्तन हुँदै जाने हो ! तपाईंलाई लाग्न सक्छ म धनतर्फ स्वार्थी भएको छु । मैले भन्न खोजेको कुरा सबैले समानरूपी जिन्दगी चलाउने वातावरण सिर्जित हुनुपर्छ । पैसाको सङ्कट कसैलाई नपरोस् । पैसाको अभावले कसैमाथि दबाव उत्पन्न नहोस् । यो हामीले भाग्यले पाएको चोला हो । हामी धर्तीका सुन्दर सिर्जना हौँ । हामी धर्तीका उपज हौँ । हाम्रो अन्त्य पनि निश्चित छ । बाचुन्जेल खुसीसाथ बाँच्ने अवस्था हुनुपर्छ । आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन हुँदो हो जिन्दगी कति काइदा हुन्थ्यो… । यिनै कुराहरूलाई मनभरि अठोट पालेर अघि बढिरहेको छु ।
हेरौँ कहाँसम्म पुगिन्छ । लौँ तपाई पनि अघि बढ्नु है ? म र तपाईं अघि बढे मात्र हाम्रो देश अघि बढ्ने छ । देशलाई धनी बनाउन मैले र तपाईंले अब धनी बन्नै पर्छ । यहाँ नेता मात्रै धनी भए । उनीहरूलाइ मात्र कति धनी बनाउने ? उनीहरूलाइ मात्र कति धनी हुन दिइरहने ? कि कुराे कसाे हाे ? जय होस् ।
०००
रामेछाप, हाल कलङ्की
रचनाकाल २०७६/०३/०४
Subscribe
Login
0 Comments
Oldest









































